election background

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रश्न निषेधित क्षेत्र

कविता

प्रश्न निषेधित क्षेत्र

प्रिय नानीहरू,

आमाले भन्नुभएको कुरा नमान।

बजारले भने झैं 

खाऊ– कम्प्ल्यान र बढ– हर्लक्क।
हर्लिक्स, चकलेट, म : म : , चाउमिन,
बर्गर–पिज्जा खाऊ र टन्न मोटाऊ,
तिनले तिमीभित्रको बोसो निकालेर 
– नयाँ फ्याट्ट हालिदिने छ।

बिर्सिदेऊ
जिजु पुस्ताले गाउने
‘घरको खाजा
– स्वच्छ र ताजा’ भन्ने गीत।

जून फुल्ने रैथाने जीउबाट
निकालिँदै छ हाम्रो सक्कली बोसो,
अग्निकुण्डमा हालिँदै छ देशको नक्सा,
र, लम्ब्याइँदै, फेरिँदै छ– सत्ता।
हाम्रा सक्कली बीउलाई
हाइब्रिड ब्रेन बनाइँदै छ।

प्राचीन बस्तीमा
नाचिरहेछ विनाशको ताण्डव
इतिहास मेटाउन– चलाइँदै छ बुल्डोजरहरू !
देशको छानोमाथि
मडारिरहेछ परतान्त्रिक धुवाँ,
मृत्युदर घटाउन– बढाइँदै छन् चिहानहरू !!

नानीहरू हो,
भित्ताको कान निमोठिँदै छ– 
सुराकीको आरोपमा
नहेर चियाइचियाई 
– बरको हाँगामा बसेको जुरेलीलाई
त्यहीँ कतै बरमुनि– 
आराम गरिरहेको हुन सक्छ
– ‘जान्नेलाई छान्ने’ व्यवस्था !

नानीहरू हो,
नजिकको खहरे खोलामा जाऊ
र, सिक पौडी खेल्न।
किनकि ‘नो एन्ड नट अगेन’ भन्दै 
बाटोको डिलमा छलिएर बसेको यथास्थिति,
सबैभन्दा सुरक्षित वर्ग, जात र लिंग
हरेक व्यवस्था परिवर्तनपछि
सत्ताको मिठाई खान आइरहेको हुन सक्छ।

‘गाउँगाउँबाट उठ’ भन्ने जनवादी गीतले
रित्याइरहेछ गाउँ 
सहरमा लोडसेडिङ हटेको छ
दरबारमा, मलमा, शैक्षिक, प्राज्ञिक
र, व्यापारिक केन्द्रमा लागेको छ आगो।

आदिवासी चराका गुँड भत्काइरहेछ
स्वयं आदिवासी– उज्यालोका कथित देउता
पहिचान, मौलिक संस्कृतिमा नदेखेर सत्ताको
तर पलायन भएको छ निवर्तमान क्रान्तिकारी।

फाटेको भित्री वस्त्र लगाएर
अन्तर्राष्ट्रिय सभामा विराजमान छन् 
भ्रष्टाचार र परम्परागत सत्ताविरोधी नयाँ पुस्ता
तिमीहरू हत्केलाले मुख छोपेर बस,
नभन— ‘नवमहाराजहरू नाङ्गै छन्।’

नानीहरू हो,
ज्ञानी मान्छेले प्रश्न गर्नु हुँदैन रे—
नियत, चरित्र र आचरणबारे।

चुनावपछि
हरिया चौतारा र सत्ताको पँधेरामा
उज्यालो, समता, न्याय र समृद्धिको सपना बाँडिरहेका
अपरिचितजस्तो परिचित अनुहार देख्दा
‘को हुन् ?’ भनी नसोधिदेऊ !

म भन्न नसकुँला 
उनीहरू मिसन– सरकार हुन् भनेर !

किनकि
मेरो जबाफपछि
तिमीहरूको जून फुल्ने बारीमा
के उम्रिने हो ?
म त्यसैबाट डराइरहेछु।

– भक्तपुर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.