प्रिय नानीहरू,
बजारले भने झैं
हर्लिक्स, चकलेट, म : म : , चाउमिन,
बर्गर–पिज्जा खाऊ र टन्न मोटाऊ,
तिनले तिमीभित्रको बोसो निकालेर
– नयाँ फ्याट्ट हालिदिने छ।
बिर्सिदेऊ
जिजु पुस्ताले गाउने
‘घरको खाजा
– स्वच्छ र ताजा’ भन्ने गीत।
जून फुल्ने रैथाने जीउबाट
निकालिँदै छ हाम्रो सक्कली बोसो,
अग्निकुण्डमा हालिँदै छ देशको नक्सा,
र, लम्ब्याइँदै, फेरिँदै छ– सत्ता।
हाम्रा सक्कली बीउलाई
हाइब्रिड ब्रेन बनाइँदै छ।
प्राचीन बस्तीमा
नाचिरहेछ विनाशको ताण्डव
इतिहास मेटाउन– चलाइँदै छ बुल्डोजरहरू !
देशको छानोमाथि
मडारिरहेछ परतान्त्रिक धुवाँ,
मृत्युदर घटाउन– बढाइँदै छन् चिहानहरू !!
नानीहरू हो,
भित्ताको कान निमोठिँदै छ–
सुराकीको आरोपमा
नहेर चियाइचियाई
– बरको हाँगामा बसेको जुरेलीलाई
त्यहीँ कतै बरमुनि–
आराम गरिरहेको हुन सक्छ
– ‘जान्नेलाई छान्ने’ व्यवस्था !
नानीहरू हो,
नजिकको खहरे खोलामा जाऊ
र, सिक पौडी खेल्न।
किनकि ‘नो एन्ड नट अगेन’ भन्दै
बाटोको डिलमा छलिएर बसेको यथास्थिति,
सबैभन्दा सुरक्षित वर्ग, जात र लिंग
हरेक व्यवस्था परिवर्तनपछि
सत्ताको मिठाई खान आइरहेको हुन सक्छ।
‘गाउँगाउँबाट उठ’ भन्ने जनवादी गीतले
रित्याइरहेछ गाउँ
सहरमा लोडसेडिङ हटेको छ
दरबारमा, मलमा, शैक्षिक, प्राज्ञिक
र, व्यापारिक केन्द्रमा लागेको छ आगो।
आदिवासी चराका गुँड भत्काइरहेछ
स्वयं आदिवासी– उज्यालोका कथित देउता
पहिचान, मौलिक संस्कृतिमा नदेखेर सत्ताको
तर पलायन भएको छ निवर्तमान क्रान्तिकारी।
फाटेको भित्री वस्त्र लगाएर
अन्तर्राष्ट्रिय सभामा विराजमान छन्
भ्रष्टाचार र परम्परागत सत्ताविरोधी नयाँ पुस्ता
तिमीहरू हत्केलाले मुख छोपेर बस,
नभन— ‘नवमहाराजहरू नाङ्गै छन्।’
नानीहरू हो,
ज्ञानी मान्छेले प्रश्न गर्नु हुँदैन रे—
नियत, चरित्र र आचरणबारे।
चुनावपछि
हरिया चौतारा र सत्ताको पँधेरामा
उज्यालो, समता, न्याय र समृद्धिको सपना बाँडिरहेका
अपरिचितजस्तो परिचित अनुहार देख्दा
‘को हुन् ?’ भनी नसोधिदेऊ !
म भन्न नसकुँला
उनीहरू मिसन– सरकार हुन् भनेर !
किनकि
मेरो जबाफपछि
तिमीहरूको जून फुल्ने बारीमा
के उम्रिने हो ?
म त्यसैबाट डराइरहेछु।
– भक्तपुर
प्रतिक्रिया दिनुहोस !