election background

प्रतिनिधि सभा निर्वाचन २०८२

बाटो देखाउने ती सेता छडी

व्यक्तित्व

बाटो देखाउने ती सेता छडी
सुन्नुहोस्

अमेरिकामा लोकप्रिय रियल्टरको छवि बनाएका जितमान बस्नेतले नेपालका दृष्टिविहीनहरूका लागि चलाएको सेतो छडी अभियान साँच्चिकै प्रशंसनीय छ।

अमेरिकाको नर्थ क्यारोलिना राज्यका कहलिएका नेपाली रियल्टर हुन्, जीतमान बस्नेत। चार वर्षदेखि निरन्तर नर्थ क्यारोलिनामा उत्कृष्ट रियल्टरको अवार्ड पाउँदै आएका उनी पेसाबाहेकको समाजसेवाको पाटो पनि निकै सशक्त र अनुकरणीय छ। नेपालमा रहेका दृष्टिविहीनका लागि उनले चलाएको सेतो छडी अभियान प्रवासमा बसेर पनि मातृभूमि लागि केही गर्न सकिन्छ भन्ने सशक्त उदाहरण हो। 

सन् २०२१ मा ९०० छडीबाट सुरु गरेको उनको सहायता कार्यक्रमले निकै ठूलो आकार लिइसकेको छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म वितरण गर्ने योजना रहेको उनी बताउँछन्। ‘आवश्यकता र पहुँचको आधारमा वार्षिक छडी वितरणको संख्यामा तल माथि हुन्छ। अहिले वार्षिक सरदर दुई हजारभन्दा बढी वितरण गरिरहेका छौं’ बस्नेत भन्छन्, ‘यसलाई आवश्यकताअनुसार बढाउँदै लैजान्छौं।’ नेपालमा ब्राइट स्टार सोसाइटी बागबजार काठमाडाैँ, हेल्पिङ आइज चाबहिल काठमाडाैँ गरी दुई संस्थामार्फत जीतमानले सेतो छडी वितरण गर्दै आएका छन्। ‘आवश्यकता कति छ ? त्यहीअनुसार व्यवस्थापन गरेर वितरण गर्छौं’, उनी भन्छन्, ‘सकेसम्म छडी नपाएका र ग्रामीण भेग कुना, कन्दराका सबैलाई पुर्‍याउन लागिपरेका छौं।’

हरेक वर्ष जीतमान आफैं नेपाल पुग्छन्, ‘दृष्टिविहीनका पिडा सुन्छन्, सहयोग गर्छन् अनि यो अभियानलाई अझ सशक्त बनाउन प्रयासरत छन्। गत वर्षमात्र पोखरा, तनहँु, स्याङ्जा, काठमाडौं, भक्तपुर, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक पुगेर त्यहाँका दृष्टिविहीनलाई सहायता दिएर फर्किए। ‘सधैं त सम्भव हुँदैन तर २०२२ देखि सकेसम्म हरेक वर्ष गाउँगाउँ पुग्ने कोसिस गरिरहेको छु’, बस्नेत थप्छन्, ‘आफैं पुग्दा वास्तविक समस्या बुझ्न सहयोग मिल्छ। छडी नपुगेका, कुनाकन्दरा, कहिल्यै कसैले नछामेका गाउँहरू बस्तीहरूमा पुर्‍याउने नै हाम्रो ध्येय हो।’ उनको अनुपस्थितिमा दुई संस्थाले नियमित काम गरिरहेका छन्, उनको सहयोगमा।

कमाइको केही हिस्सा समाजसेवामा  :  मेचीकाली सेतो छडी अभियान नाम दिइएको उनको यो कार्यक्रममा आफ्नो कमाइको निश्चित प्रतिशत यसैमार्फत सहयोग गर्छन्। लिखुपिके गाउँपालिका, गोली सोलुखुम्बुका बस्नेत भन्छन्, ‘मेरो पेसाबाट आएको कमाइको केही हिस्सा समाजमा खर्चिरहेको छु।’

मेचीकाली नाम दिइनुको अर्थ मेचीदेखि महाकालीसम्म ७७ जिल्लाका दृष्टिविहीनलाई सहायता गर्न सुरु गरिएको कार्यक्रम हो। खासमा सुरुमा नर्थ क्यारोलिना रालेमा बस्ने एकै गाउँका कर्मा शेर्पा गोलेले समुदायका सहृदयीको कपाल काटेर आएको पैसाबाट यो कार्यक्रम सुरु भएको थियो। शेर्पाको संकलन गरेको रकममा त्यति नै थपेर जीतमानले सुरु भएको अभियान सुजन न्यौपाने, बाबु सुवेदी, भीमसेन बस्नेतलगायतको सहयोगबाट बृहत् बन्दै गयो। नर्थ क्यारोलिनामै बस्ने व्यवसायी तथा समाजसेवी सुजन न्यौपानेले वर्षको एक हजार सेतो छडी यो अभियानलाई हस्तान्तरण गर्ने प्रतिबद्धता गरेका छन्। उनले अघिल्लो वर्ष एक हजार छडी उपलब्ध गराएका थिए।

‘मागेरभन्दा पनि स्वत : स्र्फुत सहयोग गर्ने धेरै छन्’, जीतमान भन्छन्, ‘अब धेरैलाई सहयोग गर्न सक्छौं तर दूरदराजका वास्ताविक दृष्टिविहीनलाई सहयोग पुर्‍याउन चुनौती छ। सोलुको बुङ छेस्काम वा कालीकोटको एउटा दुर्गम गाउँका दृष्टि नभएकालाई पुर्‍याउन सक्दा धेरै खुसी हुन्छौं।’ गाउँगाउँमा जाँदा सहयोगभन्दा यातायात खर्च धेरै भएको अनुभव छ। हामीलाई ‘ह्वाइट केन’ धेरैभन्दा धेरै चाहिन्छ तर नेपालमा किन्न पनि महँगो भएको सुनाउँछन्। ‘पर्ने मूल्यभन्दा धेरै छ, त्यही भएर बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ’, उनी दुखेको पोख्छन्। नेपालमै उत्पादन गर्न प्रारम्भिक छलफल भइरहेको उनी बताउँछन्।

अँध्यारो २५८ दिनले सिकाएको पाठ  :  विगतमा कुनै समय पत्रकारिता तथा वकातल गर्थे जीतमान नेपालमा। सगरमाथा टाइम्स पत्रिकामा सम्पादकीय नेतृत्वमा थिए भने मानवअधिकारीवादी वकिलको रुपमा नेपालमा डेढ दशक दु : खीपीडितको पक्षमा वकालत गरेका थिए। माओवादी द्वन्द्व तथा राजाको प्रत्यक्ष शासनको बेला पत्रिकामा सम्पादकीय लेखेको तथा माओवादीलाई सहयोग गरेको भन्दै सेनाले समातेर भैरवनाथ गणमा २५८ दिनसम्म बाहिरी संसार नदेख्नेगरी आँखामा पट्टी लगाएर हिरासतमा राखेको थियो। माओवादी द्वन्द्वको कठोर समय भोगे उनले।

‘संसार नदेख्नेको पिडा २५८ दिनसम्म भोग्दा त्यसैले यस क्षेत्रमा सहयोग गर्न उत्प्रेरित गर्‍यो।’ हिरासतभित्र रहँदा पाएको यातनाको कहालीलाग्दो समयको विषयमा अँध्यारा २५८ दिनहरू पुस्तकसमेत लेखेका छन् उनले। जसमा सेनाको हिरासतामा भोगेका यातना उतारिएको छ। जीतमानको यो पुस्तकमाथि वधशाला नामक चलचित्रसमेत बनेको छ।

सेतो छडीभन्दा पर शिक्षा, स्वास्थ्य  :  मेची महाकाली सेतो छडी अभियान अघि द्वन्द्वमा आमाबाबु गुमाएका टुहुराको शिक्षाका लागि सहयोग कार्यक्रम चलाए। स्कुलमार्फत दिइने यो कार्यक्रम स्कुलले दुरुपयोग गरेपछि उनले बन्द गरेका थिए। लठ्ठीबाहेक दृष्टिविहीनको शिक्षा, स्वास्थ्यमा पनि सहयोग गरिरहेका छन् केहीलाई। दृष्टि नभएकाहरू दुर्घटना हुँदा उपचार गर्न नसक्नेलाई उपचार गरेका छन्। भन्छन्, ‘गाउँ जाँदा लठ्ठी दिनुभयो, बस्ने ठाउँ छैन, खाने छैन, पढ्ने खर्च छैन भन्छन्। मानवीय हिसाबमा पनि केहीलाई सहायता दिएका छौं। तर हामीले सबैलाई गर्न सक्ने भनेको चाहिँ सेतो छडी हो।’ देशका कुनाकन्दरामा समस्या धेरै छन्, राज्यले गर्नुपर्ने जिम्मेवारी हो, तर गरेको छैन। यो क्षेत्रमा सकेको गरौं भनेर लागिपरेको बताउँछन् उनी।

बस्नेतले दृष्टिविहीन तथा श्रवण शक्ति गुमाएकी रूपन्देहीकी सरिता बानियाँलाई नयाँ जीवन दिने प्रयास गरेका छन्। उनको कानको इम्प्लान्ट सर्जरी गर्न रकम जोहो गरिदिएका छन्। बानियाँ कीर्तिपुर चोभारमा बसेर अध्ययन गर्दैछिन्। घरमा उनकी आमा, दाइ, दिदीलगायत चारजना दृष्टिविहीन छन्। तीमध्ये उनकी दिदी र सरिता भने आँखासँगै कान पनि सुन्दैनन्। आर्थिक अवस्था कमजोर छ। अरूको सहारामा चलेको छ दैनिकी। आँखा पनि नदेख्ने कान पनि नसुन्ने भएकाले यसअघि गम्भीर दुर्घटनामा परेकी थिइन् उनी। ‘गएको तिहारमा देउसी खेलेर जम्मा भएको पैसामा अरू आवश्यक रकम थपेर उनका लागि अपुग खर्चको जोहो गरेका छौं’, जीतमान खुसीको भावमा सुनाए, ‘आशा छ, हाम्रो प्रयासले सरिताले नयाँ जीवन पाउनेछिन्।’ यो सहायतामा बस्नेतलाई शुभचिन्तक, सहृदयीले स्वतस्फुर्त सहयोग थपेका थिए।

सेलेब्रेटी रियल्टर  :  नर्थ क्यारोलिनाको नेपाली समुदायमा उनले आफ्नो नाम यसरी बनाएका छन् कि घर किनबेच भन्नेबित्तिकै धेरैको मानसपटलमा उनकै नाम आउँछ। राले नजिकैको केरी सहरमा बसोबास गर्दै आएका बस्नेत नर्थ क्यारोलिनाको राजधानी राले र आसपासका सहरमा जीतमान मुख्य कार्यक्षेत्र बनाएर पूर्णकालीन रियलस्टेट पेसा गरिरहेका छन्। घरजग्गा कारोबार (रियलस्टेट)को क्षेत्रमा छोटो अवधिमै हात पारेको सफलता निकै लोभलाग्दो छ। यसै वर्षमात्र अमेरिकाकै टेक्सास यस क्षेत्रको गर्विलो अवार्ड युनाइटेड इस्टेट इलाइट अवार्ड हात पारे।

युनाइटेड रियल स्टेट नामक कम्पनीले टेक्सासको ड्यालस आयोजना गरेको एक समारोहबीच उनलाई सम्मान प्रदान गरिएको थियो। यो सम्मान पाउने जीतमान पहिलो नेपाली हुन् जीतमान अमेरिकाका २५ हजार रियल्टरहरू मध्येबाट सम्मानका लागि छनोटमा परेका थिए। जीतमानको पूर्णकालीन पेसा रियलस्टेट हो।null

‘पेसा नै यही भएपछि पूर्णत प्रतिबद्ध भएर उत्कृष्ट गर्न कोसिस गर्न पर्‍यो’, बस्नेत भन्छन्। व्यस्त महिनामा औसत ९/१० वटा घर किनबेच गर्छन् उनी। यो आँकडा त्यति सहज होइन। यहाँका व्यस्त अमेरिकन रियल्टरले पनि यति ठूलो संख्यामा घर किनबेचको कारोबार बिरलै गर्छन्। हालसम्म लगभग ४७० घर किनबेच गरिसकेका छन् बस्नेतले। मोरिसभिल नर्थक्यारोलिना बस्ने वातावरणविद् तथा साहित्यकार डा. ऋषि बस्ताकोटी भन्छन्, ‘घर कारोबारमा कहलिएका, अनुभवी, हरेक कुरामा सहयोग गर्ने स्वभावका कारण जीतमान यो क्षेत्रमा चम्किएका छन्।’ उनको सामाजिक काम तथा पेसामा अब्बल भएकै कारण मान्छेहरू खोजीखोजी आउने गरेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.