झापा अस्तित्वमा आएको शताब्दीभन्दा बढी भइसकेछ। यही झापाको उसबेलाको इतिहासलाई पत्रकार तीर्थ सिग्देलले पुस्तकभित्र तीन खण्डमा उत्खनन गर्ने प्रयास गरेका छन्। भर्खरै उनको ‘त्यो झापा औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधार’ पुस्तक प्रकाशित भएको छ।
पुस्तकका माध्यमबाट लेखकले झापामा औलोको प्रकोप, बसाइँसराइ र भूमिसुधारको प्रभावका बारेमा तत्कालीन अवस्थालाई नजिकबाट नियाल्ने प्रयास गरेको पाइन्छ। पुस्तकभित्र परीवार (पृ.३६), विराटपोखर, महारानीगञ्ज (पृ.४३), संचालन (पृ.४६), अन्चल, राष्ट्रिय पन्चायत, साँसद (पृ.४७) जस्ता शब्दको हिज्जे लेखनमा त्रुटि रहेको पाइन्छ। त्यसैगरी भूमिसुधार सम्बन्धी (पृ.२२), यस सम्बन्धी (पृ.२७४), नीति अन्तर्गत (पृ.४९), प्रणाली अन्तर्गत (पृ.२०), जमिन सम्बन्धी झै झगडा (पृ.४२) जस्ता पदयोग र पदवियोगमा त्रुटिलगायत क्षेत्र नं. ३० झापाबाट (पृ.४७) जस्ता पदावलीहरूमा पनि सम्पादन कार्यमा समस्या पाइन्छ। त्यो हाट दुुईदिनसम्म लाग्थ्यो (पृ.२५८) भनेर गौरीगन्जको हाटबारे उल्लेख छ। तर हाट दुुई दिनसम्म लाग्थ्यो कि ? हप्ताको दुुई पटक लाग्थ्यो ? सिग्देलको यो पुस्तकमा तराईतर्फ पहाडी जनसंख्याको बसाइँसराइ २००७ सालतिरबाट सुरु भएको मान्न सकिन्छ (पृ.१९)।
...बसाइँ सर्ने प्रवृत्ति सन् १९५० तिर आइपुुग्दा तीव्र अवस्थामा पुगिसकेको थियो (पृ.२०) भनेर उल्लेख छ तर २००७ साल र सन् १९५० ले एउटै समय रेखालाई बुुझाउँदैन र ? पुस्तक पढ्दै जाँदा पाठक अलमलमा पर्छन्। लेखकको स्रोत भन्छ– ‘महारानीझोडा क्षेत्र चन्द्रशमशेरकी महारानीको बिर्ता हो (पृ.२६३)।’ तर यो क्षेत्र त राजा त्रिभुवनले आफ्ना दुुई रानीमध्ये जेठी रानी कान्ति राज्यलक्ष्मीदेवी शाहको चाहिँ बिर्ता थियो। २०३६ सालपछि गौरादहबाट अलग भएको महारानीझोडा (पृ.२५९) भनेर उल्लेख गरिएको छ। तर २०३८ सालमा तत्कालीन गौरादह गाउँ पञ्चायतलाई फुुटाएर महारानीझोडा गाउँ पञ्चायत बनाइएको थियो।
पुस्तकमा स्रोत बोल्छ– ‘गौरीगञ्ज र यसको वरिपरिको क्षेत्र आठमौजामा पर्दथ्यो। यसभित्र थिए सबै ठाउँहरू। यसमा दमक, जुरोपानी, लखनपुर, गौरादह, रंगपुर, टटुवामारी, गौरीगञ्ज पर्दथे भनिन्छ (पृ.२५८)।’ तर आठमौजामा आठवटा मौजा थिए। पुस्तकमा सातवटा मात्र नाम उल्लेख गरिएको छ। त्यसमा पनि पुस्तकमा उल्लेख गरिएका उक्त स्थानमध्ये गौरीगन्जबाहेक आठमौजाभित्र कुनै पनि ती मौजा थिएनन्। आठ मौजाभित्र त आठमौजा, अल्ताबारी, तुलाचन (बुट्टाबारी), गौरीगन्ज, मादलडाँगा, फकिरढिप, फत्तेहपुर र गौरियाडाँगी गरी आठवटा मौजा थिए। त्यसबेला गौरादहको भूूभाग मादलडाँगा मौजाभित्र पर्दथ्यो।
भीमबहादुर बस्नेत (पृ.२३) नभर नरेन्द्रबहादुर बस्नेत र मनकुमार श्रेष्ठ (पृ.२३) नभएर मदनकुमार श्रेष्ठ हुनुपर्ने थियो। पुस्तकमा जमिन्दारको सहयोगका लागि सरकारी कर्मचारीको रूपमा पटवारी नियुुक्त गरिएको हुन्थ्यो (पृ.२२) भनिएको छ। तर त्यसबेला पटवारी कुनै सरकारी कर्मचारी हुँदैन थिए। जमिन्दार आफैंले राख्थे। ‘बाध्यतावश १८१६ मार्च ४ मा सुुगौली सन्धिमा नेपालले हस्ताक्षर गर्नुपर्यो (पृ.१५)’ भनी उल्लेख छ। मिति त सुुगौली सन्धिमा हस्ताक्षर गरिएको पुष्टि भएको मिति चाहिँ होइन र ?
पुस्तकमा ‘समयगढ, झोरपाटा, त्रिभुवन नगर, चन्द्रपुर, विराटपोखर, महारानीगञ्ज, झापा, राजगढ, नजरपुर, चम्पापुर, रामपुरजस्ता नाम गरेका सयौं मौजाहरू’ (पृ.४३) रहेको उल्लेख गरिएको छ। तर उसबेला झापा १२ वटा प्रगन्नामा विभाजित थियो। ती प्रगन्नामा आठमौजा, रामपुर, चम्पापुर, नजरपुर, राजगढ, झापा, घातज्यान, विराटपोखरी, चन्द्रपुर, त्रिभुवन नगर, झोरपाटा र समयगढ थिए। यी प्रगन्नाभित्र चाहिँ अन्य मौजा थिए।
इतिहास बितेका सत्यतथ्य घटनाहरूको यथार्थ विवरण हो। इतिहास निरन्तर खोज र अनुसन्धानको विषय पनि हो। यसको लेखनमा केही समस्या छन्। यसको मुख्य कारण भनेको सामग्रीहरूको अपर्याप्तता र अस्पष्टता पनि हो। तथापि पुस्तक लेखनमा लेखक तीर्थ सिग्देलले तथ्य र तथ्यांक, अनुुभव र अनुुभूति उल्लेख गर्ने सन्दर्भमा आलोचनात्मक र विश्लेषणात्मक चेतको प्रयोग गर्न सकेका भए पुस्तक अझ प्रभावकारी हुने थियो।
प्रतिक्रिया दिनुहोस !