election background

प्रतिनिधि सभा निर्वाचन २०८२

तारा हराएको रात

तारा हराएको रात

यथार्थवादी समालोचनाको परम्परामा ताराकान्त पाण्डे सरको योगदान बहुआयामिक छ। उहाँले नेपाली साहित्यमा सौन्दर्यशास्त्रीय विश्लेषणलाई सामाजिक सान्दर्भिकतासँग जोड्नुभयो।

जनवरी १२, २०२४ को रात १० बजे। फेसबुकमा मित्र उमेश आचार्यको पोस्टमा आँखा अडिए, प्राध्यापक डा. ताराकान्त पाण्डेय सरका बारेमा अशुभ खबर ! बिना पृष्ठभूमि अचानक आएको अप्रिय खबरले आङ सिरिङ बनायो। केही दिन अघिसम्म लमजुङ, पोखरा, स्याङ्जा र पश्चिम तराईतिर साहित्यिक गोष्ठी र वैचारिक प्रशिक्षणमा जुटिरहनुभएको थाहा थियो। हट्टाकट्टा, सकुशल मानिस। यस्तो कसरी भयो ?

उमेशजीलाई सोधें। ‘नेपालगन्जबाट काठमाडौं फर्कने क्रममा भालुवाङमा बस दुर्घटना भएछ।’ अब सोध्नुपर्ने केही रहेन। आँखा चिम्लें। मन मस्तिष्कभरि ताराकान्त सर घुम्नुभयो। उहाँसँगका कुराकानी कानमा गुञ्जिरहे। आँखा खोली आकाशतिर हेरें। चिसो चकमन्न रातमा मैले हेरिरहने एउटा तारा कतै हराए झैं लाग्यो।

आज दुई वर्ष बितिसकेछ। ताराकान्त सर नेपाली यथार्थवादी समालोचनाको क्षेत्रमा एक ऊर्जाशील र प्राज्ञिक व्यक्तित्व थिए। धेरैका गुरु। दर्जनौं विद्यावारिधि अनुसन्धानकर्ताका शोधनिर्देशक। साहित्यिक र वैचारिक गोष्ठीका प्रशिक्षक। कुशल संगठक, सांस्कृतिक आन्दोलनका निष्ठावान् सिपाही। सौन्दर्यशास्त्रका व्याख्याता अनि नयाँ लेखक साहित्यकारका उत्प्रेरक अभिभावक।

साहित्यमा सानैदेखि रुचि भए पनि प्राविधिक क्षेत्रको विद्यार्थी भएको हुनाले म उहाँको प्रत्यक्ष विद्यार्थी थिइनँ। यद्यपि उहाँको बौद्धिकताबाट प्रभावित व्यक्ति हुँ भन्न पाउँदा गर्व लाग्छ। ताराकान्त सर मेरा लागि यस्तै थोरै सत्पात्रमध्ये पर्नुहुन्छ— जोसँग तुलनात्मक रूपमा कम बसउठ भयो तर जो मेरो मानसपटलमा सदा श्रद्धाका साथ बसिरह्यो। सायद उहाँसँग उच्च खालको बौद्धिकता थियो, व्यवहारमा सरलता र शालीनता थियो। वैचारिक अडान थियो तर प्राज्ञिक क्षेत्रमा आफ्ना अनुज पुस्तालाई अत्यन्त प्रेमपूर्वक मार्गदर्शन गर्ने खुबी थियो।

पहिलो भेट र प्रारम्भिक प्रभाव  :  २०५४ मा गोरखामा पारिजातको स्मृतिमा भएको साहित्यिक कार्यक्रममा ताराकान्त सरसँग पहिलो भेट भयो। म पोखरामा वन विज्ञानको विद्यार्थी थिएँ। कविता र गजल सिर्जना गर्थें। साहित्यिक पत्रिकामा रचना प्रकाशित हुन्थे। गोरखाका साहित्यकार मोदनाथ मरहट्टाको निमन्त्रणामा त्यो कार्यक्रममा सहभागी भएको थिएँ। काठमाडौंबाट अतिथिको रूपमा आउनुभएका उहाँले कार्यक्रममा वाचन भएका कवितामाथि टिप्पणीसहित मन्तव्य राख्नुभयो।

कविताका कला पक्ष र सामाजिक चेतनाबारे उहाँले गहन विचार प्रस्तुत गर्नुभयो। मेरो कवितालाई उद्धरण गर्दै सम्भावना बोकेको नयाँ कविको रूपमा मलाई चित्रित गर्नुभयो। भोलिपल्ट काठमाडौं जाने क्रममा संयोगले हामी एउटै बसमा पर्‍र्यौं। बाटामा साहित्यिक कुरा भए। उहाँले लेखनलाई निरन्तरता दिन सुझाउनुभयो। लेखेका सामग्री आफूलाई पठाउन भन्नुभयो। आफ्नो पुस्तक ‘कला, साहित्य :  भूमिका र मूल्यांकन’ मलाई उपहार दिनुभयो। काठमाडौं पुगेपछि हामी आ–आफ्नो गन्तव्यतिर लाग्यौं। तर त्यो भेटले मेरो साहित्यिक  यात्रामा एउटा महŒवपूर्ण मोड थप्यो।

भूमिका र मार्गदर्शन  :  त्यसपछिका दिनमा काठमाडौं जाँदा अनुकूल मिलेसम्म उहाँलाई भेट्ने र साहित्यिक कार्यक्रममा सहभागी हुने क्रम चलिरह्यो। बेलाबेला उहाँले मेरा रचना काठमाडौंका पत्रिकामा प्रकाशित गरिदिनुहुन्थ्यो। राजधानी नबसे पनि यथार्थवादी साहित्यको चर्चामा मेरा रचनाको पनि कतै न कतै उल्लेख हुन्थ्यो। रतिरागात्मक विधाको रूपमा चिनिएको गजलमा सामाजिक यथार्थवादी धारमा लेख्ने थोरै गजलकारको प्रभाव मलाई किशोर अवस्थादेखि नै खै कसरी पर्‍यो। पचासको दशकको सुरुमा म यस्तै प्रकृतिका गजल लेख्न सक्रिय रहें। पछि संग्रह निकाल्ने हुटहुटी जाग्यो।

भूमिका लेखाउन ताराकान्त सर नै उपयुक्त पात्र हो भन्ने मेरो मनले भन्यो। अनुरोध गर्नासाथ उहाँले सहर्ष स्वीकार्नुभयो। पोखराबाट त्रिचन्द्र क्याम्पस पुगेर पाण्डुलिपि बुझाएँ। एक हप्तापछि मेरो लेखनलाई केस्राकेस्रा केलाएर ‘ज्वालाका रापहरू अर्थात् समसामयिक चेतनाको तिख्खारता’ शीर्षकमा गम्भीर भूमिका लेखिदिनुभयो। अहिले पढ्दा यस्तो लाग्छ— यो भूमिका प्राज्ञिक हिसाबले उत्कृष्ट भइकन नवोदितहरूलाई उत्प्रेरित गर्ने खालको पनि थियो। पुस्तक प्रकाशित भएपछि केही थान लिएर म उहाँको डेरा कुलेश्वर गएँ। उहाँ खुसी हुनुभयो। मेरो पुस्तक उहाँमार्फत केही महŒवपूर्ण प्राज्ञिक व्यक्तित्वको हातमा पुग्यो।

पुस्तकको राम्रै चर्चा भयो। यथार्थवादी धारमा उदीयमान प्रतिभाको रूपमा मेरो पहिचान स्थापित गर्न उहाँको प्रेरणा र भूमिका उल्लेख्य रह्यो। पचासको दशकको उत्तरार्धपछि रोजगारी र अध्ययनको कारणले म लेखिरहे पनि प्रकाशनमा अलि पछि परें। देशमा द्वन्द्वको बेला परिस्थिति पनि सजिलो रहेन। ताराकान्त सर आफ्नै प्राज्ञिक र वैचारिक क्षेत्रमा लागिरहनुभयो। पछि त्रिभुवन विश्वविद्यालय, मानविकी संकायको सहायक डिन हुनुभयो। अनुसन्धानात्मक र सैद्धान्तिक समालोचनासम्बन्धी झन्डै एक दर्जन कृति प्रकाशित गर्नुभयो। इच्छुक प्रतिष्ठानको अध्यक्ष भएर साहित्यिक र वैचारिक 
आन्दोलनमा क्रियाशील हुनुहुन्थ्यो।

अमेरिका र अन्तिम सम्पर्क  :  सन् २०२३ मा उहाँ पारिवारिक भ्रमणमा अमेरिका आउनुभयो। फेसबुकबाट सम्पर्क भयो। बेलाबेला कुरा हुन्थ्यो। उहाँ मेरो लेखनको बारे चासो राख्नुहुन्थ्यो। म पनि आफ्ना प्रकाशित र अप्रकाशित रचनाहरू उहाँलाई पठाएर सुझावको अपेक्षा गर्थें। ‘प्रकाशन, अध्ययन–अनुसन्धानका लागि हामीलाई राम्रा साहित्यिक रचना चाहिरहन्छ, पठाइरहनुस्’, भन्नुहुन्थ्यो। मैले उहाँलाई ‘अनुकूल मिल्यो भने नर्थ क्यारोलाइनामा साहित्यिक जमघट पनि गरौंला,’ भनेर निम्तो दिएँ। उहाँ उत्साही हुनुभयो।

सेवानिवृत्त भए पनि कामबाट कहाँ निवृत्त भइन्छ र ? झन् क्रियाशीलता बढेको छ भन्नुहुन्थ्यो। अनुसन्धानमा लागेका शोधार्थीलाई सल्लाह, विद्यावारिधिको मूल्यांकन, इच्छुक प्रतिष्ठानका काम, लेखन र वैचारिक काम—उहाँको व्यस्तता अमेरिकामा रहँदा पनि कम थिएन। अमेरिकामा भएको बेला उहाँको विद्वताबाट अमेरिकावासी नेपाली साहित्यप्रेमीले लाभ लिन सकून् भनी मैले भर्जिनिया निवासी मित्र लेखनाथ भण्डारीजीसँग कुरा गरें। लेखनाथजीको पहलमा अनेसास डीसी मेट्रो च्याप्टरको आयोजनामा ताराकान्त सरलाई प्रमुख अतिथि बनाएर साहित्यिक कार्यक्रम भयो। एक दर्जनभन्दा बढी कविका कवितामाथि उहाँले बिम्ब, कला र संरचनाको आधारमा टिप्पणी गर्नुभयो। उहाँको विषय विज्ञता र व्याख्यान कला यति प्रभावकारी थियो कि कार्यक्रम एक प्रकारले कविताको पाठशालाजस्तै भयो।

पारिवारिक कारणले उहाँहरू यसपटकको अमेरिका बसाइमा नर्थ क्यारोलाइना आउन सक्नु भएन। तर नेपाल फर्किनुअघि शिला म्याडम, छोरी र ज्वाईंसँग फेसटाइम गरेर चिनापर्ची गराउनुभयो। अर्को वर्ष अप्रिलतिर फेरि अमेरिका आउने र त्यतिबेला नर्थ क्यारोलाइना आउने वाचा गर्नुभयो। ‘सम्पर्कमा बसौं। केही साहित्यिक–सैद्धान्तिक काम मिलेर गरौंला’, भन्नुभयो। पाश्चात्य जगत्का सामाजिक न्यायको क्षेत्रमा कलम चलाउने साहित्यकारहरूलाई नेपालमा लगेर अन्तरक्रिया गर्न सकिएला कि भन्ने उहाँको भित्री इच्छा थियो। उहाँ नेपाल गएपछि सेप्टेम्बरमा नर्थ क्यारोलाइना नेपाली साहित्य समाजको नियमित कार्यक्रमको संयोजन मेरो जिम्मा थियो। समकालीन कवितामा बिम्ब–सौन्दर्यसम्बन्धी उहाँका लेख पढिसकेको थिएँ।

जुमबाट भए पनि उहाँलाई आमन्त्रण गर्न पाए कार्यक्रम फलदायी होला भन्ने लाग्यो। ‘अमेरिकामा भेट्न पाइएन। अर्को चोटी विशेष कार्यक्रम गरौंला। अहिले जुमबाट जोडिएर भए पनि हामीलाई कविताका बारे केही प्राज्ञिक कुरा सिकाउन पर्‍यो’, भनी अनुरोध गरें। उहाँले आफ्नो कार्यतालिका हेरेर स्वीकार्नुभयो। कार्यक्रममा उहाँलाई नर्थ क्यारोलाइनामा उपस्थित स्थानीय साहित्यकार र अतिथिसँग परिचय गराएँ। उहाँले नर्थ क्यारोलाइनाका कविहरूका कविता ध्यानपूर्वक सुन्नुभयो। प्रत्येक कवि र तिनका कवितामाथि विस्तृत टिप्पणी गर्नुभयो। उहाँले यो भएन, त्यो भएन मात्र भन्नुभएन, कला र विचारमा परिस्कृत ल्याउन के गर्न सकिन्थ्यो भने विकल्प पनि दिनुभयो। कविहरूलाई एक हिसाबले ब्युँझाइदिनुभयो।

कविताका विज्ञ प्राध्यापकबाट नफुक्र्याइकन, कटु आलोचना नगरिकन मृदुभाषा र सकारात्मक सुझाव पाउँदा सहभागी खुसी भए। नेपाली कविताको मूल प्रवृत्ति, प्रवासमा लेखिएका नेपाली साहित्य र प्रवासमा रहेर साहित्यको उत्थानमा गर्न सकिने कार्यबारे सहभागीका जिज्ञासाको उहाँले शालीन जवाफ दिनुभयो। अघिल्लो पटक परिस्थिति नमिलेकोले नर्थ क्यारोलाइना आउन नपाएको भन्दै अब फेरि अप्रिलतिर अमेरिका आउने कार्यक्रम रहेको र समयले जुराएछ भने सबैसँग नर्थ क्यारोलाइनामै भेट्ने वाचा र मधुर मुस्कानसहित उहाँ बिदा हुनुभयो। त्यो वाचा सदाका लागि अधुरै रहने भयो।

गुमाएको अर्थ  :  भालुवाङको त्रासदीपूर्ण दुर्घटनामा हामीले एक विनयशील, तर्कशील र जीवनवादी चिन्तकलाई गुमायौं। मृत्यु अवश्यम्भावी छ तर हामीले उहाँलाई अप्रत्याशित गुमायौं। उहाँका योजना र कति काम अधुरा रहे। ताराकान्त सरको अनुपस्थिति नेपाली यथार्थवादी साहित्य र खासगरी समालोचना विधामा सदा खट्किरहने भयो। साहित्य किन लेख्ने, के लेख्ने र कसका लागि लेख्ने भन्नेबारे उहाँ सचेत हुनुहुन्थ्यो। लेखनलाई केवल लहड र स्वान्त सुखायका निम्ति र रतिरागका निम्ति लेखियो भने उपयोगिताका हिसाबले त्यो साहित्य खराब हुन्छ भन्ने उहाँको मान्यता थियो। साहित्यमा जीवनबोध, समाजबोध र भविष्यबोध आउनुपर्छ भन्ने उहाँको प्रस्ट धारणा थियो।

यथार्थवादी समालोचनाको परम्परामा ताराकान्त सरको योगदान बहुआयामिक छ। उहाँले नेपाली साहित्यमा सौन्दर्यशास्त्रीय विश्लेषणलाई सामाजिक सान्दर्भिकतासँग जोड्ने काम गर्नुभयो। कविताको बिम्ब–विधान, संरचना र भाषिक कलाबारे उहाँको विवेचना गम्भीर थियो। तर उहाँ कहिल्यै रूपवादको सीमामा बाँधिनु भएन। उहाँका लागि कविताको बिम्ब केवल सजावट होइन, सामाजिक यथार्थलाई गहन रूपमा प्रकट गर्ने माध्यम हो।
साहित्यले समाज र इतिहासलाई कसरी प्रतिबिम्बित र प्रभावित गर्छ भन्नेमा उहाँको लगातार चासो थियो। आफूले देखेको सत्यमा सदा दृढ ताराकान्त सर व्यवहारमा नरम हुनुहुन्थ्यो। सिद्धान्त र व्यवहारमा तादात्म्य, आवेगको सन्तुलन, कठोर टिप्पणी गर्दा पनि शिष्टता, मर्यादा र वस्तुपरक देखिन सक्नु उहाँको अद्भुत सीप हो। साहित्यका एक सच्चा माली, प्राज्ञिक व्यक्तित्व, धेरैका असल गुरु, प्रेरणाका स्रोत, एक असल र सादगी व्यक्तित्व प्राडा ताराकान्त पाण्डे सरलाई गुमायौं।

तर उहाँका असल कर्महरूले उहाँ सदा स्मरणीय हुनुहुनेछ। उहाँका शोधार्थीमध्ये एक शिष्य तथा साहित्यकार डा. गीता त्रिपाठीको भनाइ, ‘ताराकान्त सर, ज्ञान र गुरुत्वले टम्म भरिएको व्यक्तित्व ! पहिलो दिन एमफिलको कक्षामा उहाँको विद्यार्थी हुँदा उहाँप्रति मनमा जुन श्रद्धापूर्ण अनुभूति आएको थियो, मेरो विद्यावारिधिको शोधनिर्देशक हुँदाका वर्षहरूमा त्यो घनत्व अझै चुलिएको थियो। यसको कारण थियो, सिद्धान्तमा अटल पहाड, गुरु व्यवहारमा हिमनदी हुनुहुन्थ्यो।’ नेपाली साहित्य र नेपाली समाजले उहाँबाट पाउनु अझै धेरै थियो। हामी उहाँका अनुज पुस्ताले सिक्न निकै बाँकी थियो। तर जुन तारा हराएको छ, त्यसले छोडेको उज्यालो—त्यो ज्ञान, त्यो प्रेरणा, त्यो वैचारिक प्रतिबद्धता—हामीसँग छ। त्यही नै उहाँको सबैभन्दा ठूलो विरासत हो।

 


 
प्राडा ताराकान्त पाण्डे नेपाली यथार्थवादी समालोचनाको क्षेत्रमा एक ऊर्जाशील र प्राज्ञिक व्यक्तित्व थिए। धेरैका गुरु। दर्जनौं विद्यावारिधि अनुसन्धानकर्ताका शोधनिर्देशक। कुशल संगठक, सांस्कृतिक आन्दोलनका निष्ठावान् सिपाही।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.