प्रश्नले उनलाई कोतरिहाल्छ– के कारणले भत्किन पुग्छ होला प्रेमको डोरी ? बुझ्न सक्तिनन्– प्रेमको आनन्दमा कहाँबाट छिर्छ होला भरोसाको संकट ?
पछिल्लो पुस्तामा, खासगरी नारी हस्ताक्षरमा एउटा अलग्गै पहिचान लिएर देखापरेकी एक कवि हुन्– सुमन थापा ‘संगम’। अलग्गै यस अर्थमा कि उनका कवितात्मक भावहरूले सामान्यत : अन्यका कविताहरूले भन्दा भिन्न खालको अनुभूति दिलाउँछ। केही समयअघि प्रकाशित ‘अभ्युदय’ नामको उनको नवनीत कवितासंग्रहभित्र संग्रहीत कविताहरू यसका ज्वलन्त उदाहरण हुन्।
यसो किताबको नाम हेर्दा, कुनै साहित्यिक पत्रिका हो कि भन्ने भान परे पनि किताबका पृष्ठहरू पल्टाउन थालेपछि त्यो नामको अर्थ खुल्दै जान्छ। अर्थात्, खुल्न नसकेका रहस्यहरू बिस्तारै खुले झैं कठ्यांग्रिँदो चिसो बिहानीमा घामको न्यानो किरण उद्घाटित हुन्छ। त्यो किरणको दास्रो नाम हो– प्रेम।
प्रेमको गहिराइ नाप्न सक्ने कुनै मेसिन दुनियाँमा बनेको छैन। प्राकृतिक तवरले स्वनिर्माण ‘हृदय’ नै त्यस्तो एउटा मापक–यन्त्र हो, जसले साँच्चो प्रेमको आयतन मापन गर्न सक्छ। यस्तो हृदय बोक्न सकेकै कारण वास्तविक प्रेमको अनुभूत गराउन सक्ने क्षमताकी उनका कविताका पंक्तिहरूले राखेका छन्।
प्रेमको कुनै नियम छैन, नियम हुँदैन। यो बेनियम बाटोमा हिँड्छ। आफ्नो यात्रा तय गर्ने प्रेमको कुनै प्रणाली हुँदैन। जब प्रेम गरिन्छ; गरिन्छ अर्थात् प्रेम हुन्छ। र, जब प्रेम हुन्छ त्यहाँ उन्मुक्ति हुन्छ। भनिन्छ नै– युद्ध र प्रेममा सबै जायज हुन्छ। माथि– आमाको अस्तित्वविहीनतालाई बाबुले आमाका उपस्थितिलाई झैं गरेको प्रेम कवयित्री सुमनको कवितामा जसरी हृदयस्पर्शी भएर कोरिएका छन्, त्यो प्रेमको भाव कुनै नवयुगल जोडीको भन्दा पनि माथिल्लो कोटीको छ।
ढुंगामा या रूखमा प्रेमी–प्रेमिकाले एकआपसका नाम खोपेर आफ्नो प्रेमलाई अमर मान्ने प्रचलन त पुरानै हो। तर बालुवमा, त्यो पनि सागरको किनारमा प्रेमलाई अमर बनाउन खोज्नु, योभन्दा ठूलो प्रेममाथिको समर्पण के हुन सक्छ अर्को ? प्रेममा कति विलीन भएको छ एक प्रेमी ! वाह !! स्वभावत : प्रेममा उनी अत्यन्त विश्वास राख्छिन्। त्यसैले त प्रेममा घातको प्रसंग आयो भने आश्चर्यचकित हुन्छिन् उनी।
एउटा प्रश्नले उनलाई कोतरिहाल्छ– के कारणले भत्किन पुग्छ होला प्रेमको डोरी ? बुझ्न सक्तिनन्– प्रेमको आनन्दमा कहाँबाट छिर्छ होला भरोसाको संकट ? आफैंलाई सोध्छिन्– के, कतै संकेत नै नभई निस्तेज हुन सक्छ प्रेमको बुलन्द आवाज ? यस्तो अवस्थामा कतै त खुलेरै उनको स्वीकारोक्ति देखिन्छ– अस्ताउन लागेको घामजस्तै माया/प्रेमको पनि रङ फेरिँदो रहेछ।
तथापि, प्रेम त आखिर प्रेम हो। लाख कोसिस गरे पनि प्रेममाथि विश्वासघात गर्न सकिन्न। कदाचित् प्रेम भंगै भएछ भने पनि त्यसलाई हृदयबाट छुट्ट्याउन सकिन्न। चाहे त्यो प्रेमी–प्रेमिकाको प्रेम होस् या मातृप्रेम होस् या होस् कनै स्मृति–विशेषको प्रेम।
आमाको पछि–पछि सन्तान लागे झैं
मेरै पछि लागेर आउँछन्
बालापनका सम्झनाहरू
...माफ गर !
त्यो मीठो बालप्रेम त्याग्न सक्ने
म सिद्धार्थ हुनै सकिनँ।
यसरी, सुमनका अधिकांश कविता प्रेमको परिवेशमै फनफनी घुमेका छन्। प्रेमको सन्दर्भमा उनी कतिसम्म विश्वस्त छन् भने यात्रा थालिएपछि पहाडको शिखरबाट उदाएको न्यानो घामको झुल्को ओढेर हिँडेपछि पक्कै पनि गन्तव्यमा पुगिन्छ भन्ने उनलाई लागेको छ। एक ठाउँ फूलमायालाई सम्बोधन गर्दै विश्वास दिलाउँछिन् कि विश्वास नै एउटा त्यस्तो अनुभूति हो जसको भरोसामा आड लागेर रोकिने हो भने सपनाको अन्तिम साँझसम्म भए पनि सुनौला घाम भएर आफ्नो विश्वास उदाउनेछ।
साँच्चै नै, कवयित्री सुमन सपनाको कुरा गर्न खप्पिस छन्। कतै बा’का आँखामा सपनाका लहरहरू बगेका कुरा गर्छिन् भने आमाका औंला समातेर आफूले उन्मुक्त सपना देख्ने कुरा गर्छिन्। फेरि, यही सपनाकै दौडमा आफ्नो अस्तित्वलाई कुल्चेर, आफ्नो जिम्मेवारीलाई बिर्सेर, यतिसम्म कि आफ्नै परिचयसमेत भुल्न पुगेकी कुरा गर्छिन्। अन्तत : सडकसँग सडक नै भएर स्वतन्त्र सपनाको खाका कोर्न पुग्छिन्। यसको सीधा अर्थ हो– स्वतन्त्रता उनको जीवनको ध्येय हो। यस अर्थमा, उनी बन्धन पटक्कै स्वीकार्दिनन्। अर्को शब्दमा भन्नुपर्दा, उनी नारी स्वतन्त्रताको पक्षमा अझ बढी जोड दिएर आह्वान गर्छिन्–
विभेदको झोक्कामा ठोक्किएर
फूलका नरम पातहरू काँपे झैं
नकाँप तिमी
जीर्ण भित्ताहरू भत्किए झैं
नभत्क तिमी...।
सम्भवत : सुमनका निजी वक्तव्य हुन् यी कविता। यसैले त कविता पढ्दै जाँदा यिनमा एउटा विशेषता भेटिन्छ। त्यो हो– कवितामा उनले आफ्नै पात्रतालाई प्रयोग गरेकी छन् भने आफूसँग जोडेर ‘तिमी’ पात्रका रूपमा कहीँ आमा, कहीँ बाबु, कहीँँ जून, कहीँ घाम, कहीँ बतास, कहीँ बगर; यावत् सर्वनामहरूलाई समावेश गरेकी छन्। कविताको अभिव्यक्ति, शैली र भावको आधारमा ‘अभ्युदय’का सम्पूर्ण कविताहरू बौद्धिक, मार्मिक र सबैभन्दा बढी अनुभूतिजन्य छन्। कविताको नाममा केवल आकारले कवितात्मक ढाँचामा लेखिने प्रवृत्ति बढिरहेको हुलमुलमा सुमन थापा ‘संगम’का
यी कविताहरूले नेपाली काव्यजगत्मा नौलो चेतका साथ उमंग थप्न पुगेका छन्। यसका लागि कवयित्रीलाई धन्यवाद नदिई रहन सकिन्न। तर, यिनै कविता पढिरहँदा प्रयुक्त व्याकरणले भने कविताहरूको हुर्मत नै लिएको देखिन्छ। सामान्यत : प्राथमिक स्कुलमा सिकेको व्याकरणको ठीक विपरीत ह्रस्व–दीर्घहरूको दुरुपयोगले सही व्याकरणका जानकारी राख्ने पाठकको मनलाई बिझाउन सक्छ। आगामी प्रकाशनमा कवयित्रीले यसलाई सुधार्न आवश्यक छ।
प्रतिक्रिया दिनुहोस !