सफलता कुनै संयोग वा एक सूत्रबाट प्राप्त हुँदैन। यो सोच, बानी, अनुशासन, अभ्यास, लक्ष्य, समयको व्यवस्थापन, सम्बन्ध र सन्तुलनको संयोजन हो।
सफल जीवन केवल संयोग वा जन्मसिद्ध प्रतिभाको परिणाम होइन। आधुनिक मनोविज्ञान, न्युरो–साइन्स, व्यवहार विज्ञान र जीवनका अनुभवले के देखाउँछन् भने सफलता पूर्वतयारी, योजना, कामप्रति समर्पण, अनुशासन, कडा मेहनत र सकारात्मक सोचको प्रतिफल हो।
सफल व्यक्ति कुनै असाधारण परिस्थितिमा जन्मिएको कारण हुने होइन। उनीहरूले त आफ्नो जीवनलाई निरन्तर सफलताका लागि पूर्ण अभ्यास गर्ने गर्छन्। योजनाहरूलाई जिम्मेवारीपूर्वक सम्पादन गरेर जीवनलाई असाधारण बनाउँछन्। यस लेखमा जीवनको सफलता प्राप्तिका प्रमुख निम्न स्तम्भहरू, वैज्ञानिक आधार र व्यावहारिक उपायहरू समेटेका छौं।
१. स्पष्ट लक्ष्य निर्धारण : लक्ष्यबिना कामहरू दिशाहीन हुन्छन्। निश्चित दिशाबिना सफलता प्राय : असम्भव हुन्छ। सफलता त्यतिबेला मात्र सम्भव हुन्छ, जब हामीलाई थाहा हुन्छ। हामी कहाँ पुग्न चाहन्छौं र किन जान चाहान्छौं ? मानव मनोविज्ञानले प्रमाणित गरेको छ कि स्पष्ट, चुनौतीपूर्ण र मापनयोग्य लक्ष्य भएका व्यक्तिहरू बढी सफल र परिणाममुखी नतिजा ल्याउन सक्छन्। सफलताको लागि सैद्धान्तिक र व्यावहारिक कार्यान्वयनका उपायहरू अपनाउन सकिन्छ।
प्रत्येक लक्ष्यलाई व्यवस्थित ढंगले संस्थागत गर्नुपर्छ। लक्ष्यहरूलाई समयावधिको हिसाबले तत्कालीन मध्यकालीन र दीर्घकालीन रूपमा विभाजन गर्नुपर्छ। लक्ष्य प्राप्तिका लागि कामहरू विभिन्न चरणमा सम्पादन गरी पूर्ण नतिजा लिन सक्नुपर्छ। सफलता प्राप्त गर्न निर्धारित समय र कार्यतालिका मिलाएर कार्य सम्पादन गरी दैनिक अनुगमनमार्फत कति प्रगति भयो भनी जाँच पड्ताल गर्नुपर्छ। उदाहरणका लागि थोमस एलबा एडिसनले बल्ब आविष्कार गर्दा सयकडौं असफलता हात पारे। तर नथाकी स्पष्ट लक्ष्य र निरन्तरता मेहनतले उनलाई सफलता दिलायो।
२. कडा मेहनत : परिश्रमबिनाको उपलब्धि केवल कल्पनामात्र हो। न्युरो साइन्सले देखाएको छ कि अभ्यासले मस्तिष्कको संरचना र क्षमता बदल्छ। मेहनत केवल शारीरिक श्रम होइन, यसमा बौद्धिक लगानी, मानसिक प्रतिबद्धता र दीर्घकालीन धैर्य पनि समावेश हुन्छ। यसमा पुँजी, प्रविधि र कडा परिश्रम नै सफलताका पूर्व सर्त हुन्। प्रतिबद्ध भएर काममा लागे सफलता हातमा प्राप्त हुन्छ। व्यावहारिक रूपमा दैनिक कार्यसूची बनाएर प्राथमिकता निर्धारण गर्नुहोस्। समय र स्रोतको सदुपयोग गर्नुहोस्। असफलतामा पनि निरन्तर प्रयास जारी राख्नुहोस्। समर्पण साथ काममा लागे कुनै पनि लक्ष्य टाढा हुँदैन।
३. धैर्यबिना ठूला उपलब्धि असम्भव : सफलता आकस्मिक हुँदैन। धैर्यले असफलतालाई सफलतामा पु¥याउने सिकाइ र अवसर प्रदान गर्छ। रेजिलिएन्स थ्यौरीका अनुसार धैर्यवान् व्यक्ति कठिन परिस्थितिमा पनि सही निर्णय लिन सक्षम हुन्छ। उदाहरणका रूपमा जे. के. रोलिङलाई ‘ह्यारी पोट्टर प्रकाशनअघि १२ पटक अस्वीकार गरिएको थियो। धैर्य र निरन्तरताले उनलाई विश्वव्यापी सफलता दिलायो र परिचित गरायो।
४. समर्पण वा बलिदान : ठूला सपना देख्नेले केही गुमाउने तयारी गर्नैपर्छ। स्ट्यानफोर्ड मार्समाल्वो एक्सपेरिमेन्टले देखाउँछ कि ढिलाइ गरिएको सन्तुष्टि अर्थात् डिलेड ग्राटिफिकेसनले दीर्घकालीन सफलता सुनिश्चित गर्छ। हामीले कहिलेकाहीँ समय, प्रविधि लगानीलाई दाउमा राखेर काम थाल्नुपर्छ। जोखिम मोलेर तत्काल सुख र आरामको त्याग गर्नु आँट गरी ध्यान लक्ष्यमा केन्द्रित गर्नुहोस् ! नतिजा तपाईंको हातमा आउँछ।
५. निरन्तरता : सानो प्रयासका साथ कामलाई निरन्तरता दिइयो भने ठूलो परिवर्तन ल्याउँछ। जेम्स क्लियरको अटोमेटिक ह्याबिटस्का अनुसार दैनिक एक प्रतिशत सुधार गर्न सके वर्षको अन्त्यमा ठूलो परिणाम लिन सकिन्छ। निरन्तर अभ्यासले आत्मविश्वास र क्षमता दुवै बढाउँछ। काम जतिसुकै कठिन भए पनि नथाकी, नअल्मलिइकन निरन्तर लगिरह्यो भने सफलता लिन सकिन्छ।
६. अनुशासन : अनुशासनबिना प्रतिभा दिशाहीन हुन्छ। अनुशासन समय, आर्थिक, नैतिक र व्यक्तिगत आत्मसंयमको संयोजन हो। यसले जीवनलाई संरचना र दिशा दिन्छ। व्यावहारिक उपाय भनेको नियम र लक्ष्यमा प्रतिबद्ध रहनुहोस्। आन्तरिक प्रेरणालाई प्राथमिकता दिनुहोस्।
७. आत्मविश्वास : आफ्नो क्षमतामा विश्वास गर्नु सफलता प्राप्तिको पहिलो कदम हो। अल्बर्ट बन्दुराको सेल्फ इफिसिएन्सी सिद्धान्तअनुसार आत्मविश्वासले जोखिम लिने क्षमता बढाउँछ र असफलतालाई सिकाइको अवसर बनाउँछ।
८. सकारात्मक दृष्टिकोण : सकारात्मक सोचले चुनौतीलाई अवसरमा बदल्छ। सकारात्मक सोचले मस्तिष्कमा डोपामिन र सेरोटोनिन सक्रिय गर्छ, जसले मानसिक ऊर्जा र समाधान क्षमता बढाउँछ। नकारात्मक सोचले डर पैदा गर्छ तर सकारात्मक दृष्टिकोणले आशा र समाधानको बाटो खोल्छ। तब सफलताले तपाईंलाई पर्खिरहन्छ।
९. समय व्यवस्थापन : समयलाई नियन्त्रण गर्न सक्ने व्यक्तिले जीवन नियन्त्रण गर्छ। सफल मानिसहरू समयको मूल्य बुझ्छन् र अनावश्यक गतिविधि घटाएर प्राथमिकता निर्धारण गर्छन्। व्यावहारिक उपाय भनेको महत्वपूर्ण कार्य पहिचान गर्नुहोस्। अनावश्यक गतिविधि घटाउनुहोस्। समयलाई नियन्त्रण गर्ने बानी बसाल्नुहोस्।
१०. निरन्तर अध्ययन र सिकाइ : अध्ययन र सिकाइ रोकिएपछि प्रगति पनि रोकिन्छ। सफल व्यक्तिले ज्ञान र सीपलाई अध्यावधिक राख्छ। व्यक्तिले नयाँ सीप, प्रविधि र विचार ग्रहण गर्ने बानीले प्रतिस्पर्धात्मक र सिर्जनशील बनाउँछ। प्रतिस्पर्धामा विजय दिलाउँछ।
११. सम्बन्ध र सञ्चार : तपाईंको नेटवर्क नै तपाईंको नेटवर्थ हो। मानव जीवन एकल यात्रा होइन। सफलताका लागि सकारात्मक सम्बन्ध, सहकार्य र स्पष्ट सञ्चार अनिवार्य छ। सैद्धान्तिकमात्र होइन, सफलताका लागि व्यावहारिक उपाय पनि अपनाउनु पर्छ। अर्काको मन जित्न सहानुभूतिपूर्ण व्यवहारको अभ्यास गर्नुहोस्। सहयोग र नेटवर्किङमा सक्रिय रहनुहोस्। नेतृत्व क्षमता विकास गर्नुहोस्। नेतृत्व, संगठन
र सम्बन्ध एकै चोटी विकास हुन्छ।
१२. मानसिक र शारीरिक सन्तुलन : स्वास्थ्यबिना सफलता अधुरो हुन्छ। शरीर र मन दुवै स्वस्थ रहँदा मात्र दीर्घकालीन सफलता सम्भव हुन्छ। योग, ध्यान, व्यायाम र आत्म–अनुशासनले दीर्घकालीन सफलता सुनिश्चित गर्छ। मानिस स्वस्थ रहनु, विचार र कार्य पद्धति पनि सन्तुलन र स्वस्थ राख्नु सक्नुपर्छ।
अन्त्यमा : सफलता कुनै संयोग वा एक सूत्रबाट प्राप्त हुँदैन। यो सोच, बानी, अनुशासन, अभ्यास, लक्ष्य, समयको व्यवस्थापन, सम्बन्ध र सन्तुलनको संयोजन हो। सफलता केवल लक्ष्य प्राप्तिको साधन मात्र होइन, यो आफूलाई निरन्तर उन्नत बनाउने प्रक्रिया हो। सफलता प्राप्त गर्ने होइन, सफल बन्ने बानी बसाल्नु हो।
सफल जीवनका लागि अवलम्बन गर्ने मार्ग चित्र जीवनमा सफलता संयोग होइन, पूर्वतयारी, कडा परिश्रम अनुशासन र सही सोचको परिणाम हो। सफल मानिसहरू कुनै असाधारण जन्मका कारण होइन, आफ्नो व्यवहार, सोच र कार्यशैली र कडा परिश्रमको कारण असाधारण बन्छन्। सफलता कुनै ‘गन्तव्य’ होइन, यो निरन्तर यात्राको प्रतिफल हो। जसमा हरेक दिन आफूलाई सुधार्ने र परिवर्तनका प्रयासले नै सार्थकता प्रदान गर्छ।
प्रतिक्रिया दिनुहोस !