election background

प्रतिनिधि सभा निर्वाचन २०८२

. . . जहाँ साढे चार शताब्दीदेखि न्याय बाँचिरहेछ !

विश्वनाथ ज्योतिर्लिंग

. . . जहाँ साढे चार शताब्दीदेखि न्याय बाँचिरहेछ !

१२/१२ वर्षमा कुम्भमेला लाग्ने यस वनारसीधाममा यही माघ ५ गतेदेखि १ सय ४४ वर्षपछिको ‘महाकुम्भ मेला’ लाग्दैछ। जहाँ नेपाल र भारतका विभिन्न राज्यबाट लाखौं श्रद्घालुको ओइरो लाग्दैछ।

  • जहाँ माटोमा इतिहास छ– यहाँका हरेक कणमा वीर पुर्खाहरूको कथा र सभ्यताको प्राचीन पदचापहरू कोरिएका छन्।
  • जहाँ पानीमा पवित्रता छ– हिमालयबाट बगेर आउने 
  • कञ्चन धाराहरूमा केवल तिर्खा मेट्ने शक्तिमात्र होइन, आत्मा शुद्ध गर्ने सामथ्र्य छ।
  • जहाँ हावामा ऊर्जा छ– हिमालका चुचुराहरूलाई छोएर आउने शीतल पवनले शरीरमा नयाँ प्राण र मनमा 
  • अदम्य साहस भरिदिन्छ।
  • जहाँ मानवमा मानवता छ– चराचर जगत् र जीवनलाई नै ‘अतिथि देवो भव : ’ मान्ने संस्कार छ र हरेक 
  • मुस्कानमा निस्वार्थ प्रेम झल्कन्छ।
  • जहाँ ढुंगामा कला छ– यहाँका मन्दिर र चोकहरूमा 
  • कुँदिएका आकृतिहरूले बोल्न नसके पनि जीवन्त इतिहासको वर्णन गरिरहेका छन्।
  • जहाँ प्रकृतिमा प्रार्थना छ– बिहानीको सूर्योदयदेखि 
  • अस्ताउँदो साँझसम्म जहाँको हरियाली र पहाडहरू आफैंमा एउटा शान्त ध्यानी जस्तै लाग्छन्।
  • आहा ! यस्तो पवित्र भूमि। आहा ! यस्तो पुण्यभूमि। आहा ! यस्तो दिव्यभूमि। हो, यो त्यही भूमि हो, जहाँ देवत्व छ।

सुदूरपश्चिमको एउटा तर पवित्र पहाडी काख बैतडी। जहाँको हावामा देवत्व र माटोमा इतिहासको सुगन्ध मिसिएको छ। पाटन नगरपालिकाको गुजरस्थित नीलपर्वतको फेदमा जब साँझपख मन्दिरका घण्टीहरू गुञ्जन्छन्, ‘श्री वनारसीधाम विश्वनाथ ज्योतिर्लिंग’मा एउटा भिन्नै उज्यालो देखिन्छ, एउटा भिन्दै ऊर्जा थपिन्छ अनि एउटा भिन्दै तरंग पैदा हुन्छ।

जुन उज्यालो केवल दियोको मात्र होइन, साढे चार शताब्दीदेखि जरा गाडेर बसेको जातीय विभेदको अन्धकार चिर्ने ‘समावेशी धर्म’को ज्योति हो। यो अद्भुत शक्तिपीठ आज दक्षिण एसियाकै लागि एउटा यस्तो जीवित विश्वविद्यालय बनेको छ, जुन मानवताको धर्म जातभन्दा धेरै माथि छ। त्यसैले सायद महाकवि लक्ष्मीप्रसाद देवकोटाले लेखेका थिए, ‘मानिस ठूलो दिलले हुन्छ, जातले हुँदैन।’

पौराणिक जग र ऐतिहासिक विरासत

स्कन्द महापुराणको मानस खण्डको ७८औं अध्यायमा यो भूमिको महिमा बयान गरिएको छ। स्वयं भगवान् शिवले गणगन्धर्व र नन्दीभृंगीलाई निर्देशन दिई हिमालयको काखमा सरयू र गोमतीको संगम, असी र वरुणको मध्य यस भागमा शिवलिंगको स्थापना गरेको पाइन्छ। १२औं शताब्दीदेखि नै पूजाको परम्परा रहेको यस धामको ऐतिहासिकता झनै गर्विलो छ। महाभारतका शल्य राजाले समेत ‘शल्य दशमी’का दिन यहाँ पूजा गरेर आफ्नो मन्त्र सिद्ध गरेको जनश्रुति छ।

वि.सं. १६०४ देखि १६६४ सम्म बैतडीको मैनावती कोटमा शासन गरेका महाराजा मानुक चन्दको समयमा यो धामले एउटा क्रान्तिकारी मोड लियो। समाजमा व्याप्त विभेद देखेर तत्कालीन राजगुरु वीरभद्र वशी पन्तले विभेदमुक्त समाजको बिन्तीपत्र चढाए। फलस्वरूप, १६६४ सालमा राजसभा परिषद्बाटै यो क्षेत्रलाई ‘विभेदमुक्त’ घोषणा गरिएको थियो। सोही समयदेखि सुरु भएको ‘दलित मूलपुजारी र ब्राह्मण सहायक पुजारी’ रहने परम्परा आज ४१८ वर्षसम्म अटुट रूपमा छ।

पीठाधीश गणेशप्रसाद पन्त :  आधुनिक सारथि र संघर्ष
वनारसीधाम जहाँ छ, १२ ज्योतिर्लिंगमध्येको एक विश्वनाथ। प्राचीन यो विरासतलाई आधुनिक युगको मूलधारसम्म ल्याउने श्रेय ज्योतिषाचार्य एवं पीठाधीश गणेशप्रसाद पन्तलाई पनि जान्छ। पीठाधीश यहाँको परम्परामा आधारित चलन हो। औपचारिक रूपमा मन्दिरका पुजारी पन्त वनारसीधाम विश्वनाथ सेवा समाजका कोषाध्यक्षसमेत हुन्। पीठाधीश विरासत (पितापुर्खादेखि निरन्तर) स्वत :  प्राप्त गरे पनि पन्तको यात्रा कुनै चलचित्रमा देखिने दु : खपीडाको कथाभन्दा कम छैन। २०५६ सालमा रित्तो हात तर मनमा वनारसीधामलाई राष्ट्रिय पहिचान दिलाउने अठोटका साथ उनी देशको राजधानी काठमाडौं छिरेका थिए।

रात्रिकालीन बसको यात्रामा यात्रुहरूलाई टीका लगाइदिएर संकलन भएको दक्षिणाबाट टिकटको पैसा तिरेको त्यो दिन उनी आज पनि भावुक हुँदै सम्झन्छन्। राजधानीमा टिक्न उनले के मात्र गरेनन् ? कस्तो मात्र संघर्ष गरेनन् ? ‘६ महिनाको अनवरत प्रयासपछि तत्कालीन राजा वीरेन्द्रसँगको आधा घण्टाका लागि भेट भयो’, उनी स्मरण गर्छन्। जुन पन्तको जीवनको ‘टर्निङ प्वाइन्ट’ बन्यो। जुन भेटमा राजाले आफ्ना पूर्वजले पूजा गरेको यो ठाउँको दर्शन गर्ने इच्छा व्यक्त गरे। यद्यपि दरबार हत्याकाण्डले त्यो सपना पूरा हुन दिएन, तर पन्त रोकिएनन्। उनी सुनाउँछन्, ‘काठमाडौंमा ज्योतिष कर्मबाट आर्जन गरेको करिब १ करोड ८३ लाख रुपैयाँ आफ्नै जन्मभूमिको यही धाम विकासमा अर्पिएँ।’

विभेदको पर्खाल ढल्दाको सौन्दर्य

पन्त केवल कर्मकाण्डी ब्राह्मणमात्र होइनन्, उनी एक समाज सुधारक पनि हुन्। उनले ७ सय ११ जना शिल्पी समुदायलाई जनै धारण गराएका छन् भने २७ वटा अन्तरजातीय विवाह गराएर सामाजिक सद्भावको नयाँ भाष्य कोरेका छन्। आज वनारसीधाममा मूल पुजारीका रूपमा धीरे लोहार, पद्मे लोहार आदिले गर्वका साथ पूजाआजा चलाउँछन् भने पन्त र अन्य ब्राह्मण समुदाय सहायक बनेर उनीहरूलाई साथ दिन्छन्।

स्वामी विवेकानन्दले भनेका थिए, ‘सेवा नै धर्म हो र मानिसको सेवा नै ईश्वरको वास्तविक पूजा हो।’ यो पनि एक सर्वत्र परिचित स्वामीले गुमनाम संघर्ष गरिरहेका अर्को स्वामीकै लागि लेखेका रहेछन्भन्दा अत्युक्ति नहोला। किनकि यो समावेशिताकै कारण आज यो ज्योतिलिंग वा भनौं धाम दक्षिण एसियाकै ऐतिहासिक धरोहर बनेको छ। गौरा पर्वको उद्गमस्थल मानिने यस धाममा कुनै पनि विवाद आएमा पञ्चांग निर्णायक समितिसँगको समन्वयमा समाधान गरिन्छ। पन्त स्वयं सरकारको नियुक्तिमा एक कार्यकाल पञ्चांगकार बने।

परम्पराको विरासत र पीठाधीशको गरिमा

श्री वनारसीधामको ऐतिहासिकता ४ सय २१ वर्षअघिको राजकीय निर्णयसँग मात्र जोडिएको छैन, यो त पीठाधीश र पुजारीहरूको अनुपम मर्यादाको कथा पनि हो। २०७५ साउन २५ देखि पीठाधीशको जिम्मेवारी सम्हालेका पन्तले नेपालका प्रथम जगत्गुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको निर्देशनमा मन्दिरको जीर्णोद्धार गरी नयाँ प्राण भर्न उनीलगायत स्थानीय लागिपरेका थिए, छन्। यहाँको परम्पराअनुसार पीठाधीशको नियुक्तिमा कुनै विवाद भएमा देशको राष्ट्रप्रमुख वा शंकराचार्यबाट हुने गर्छ। उनीहरूको अनुपस्थितिमा तत्कालीन राजा मानुक चन्दका सन्तान (बगाडीका चन्द परिवार)ले नियुक्ति दिने र मेलामा राजाकै सिंहासनमा बसी निर्देशन दिने जीवन्त इतिहास आज पनि कायम छ।

यस धामको पूजा पद्धति झनै अद्भुत छ। ‘सुरुमा पन्त, भट्ट, भाट, अवस्थी, जोशी र विष्टहरू पुजारी रहने चलन भए पनि ४ सय २१ वर्षअघिदेखि दलित समुदायलाई मूलपुजारी र पन्त समुदायलाई सहायक पुजारीका रूपमा स्थापित गरियो’, पीठाधीश पन्त भन्छन्, ‘यसरी शताब्दीऔं अघि नै परम्परालाई उल्ट्याएर दक्षिण एसियाकै ऐतिहासिक समावेशी मन्दिरका रूपमा यसलाई उभ्याइएको छ।’

शुक्ल यजुर्वेदाचार्य र वास्तुविद्समेत रहेका पन्तले झापादेखि बैतडी र भारतको पिथौरागढस्थित १ सय ४६ वर्ष पुरानो गौरीशंकर महाविद्यालयसम्म समावेशी धार्मिक कार्यक्रमहरू फैलाएर पुर्खाको विरासतलाई जीवित राखेका छन्। पाटनबाट सूर्नाय जलविद्युत्को नहरैनहर भिरको बाटो हुँदै ४५ मिनेट हिँडेपछि पुगिने यो धाम त्यही प्राचीन गौरव र आधुनिक चेतनाको संगमका रूपमा उभिएकै छ।

१४४ वर्षपछिको महाकुम्भ र विकासको चुनौती

१२/१२ वर्षमा कुम्भमेला लाग्ने यस वनारसीधाममा यही माघ ५ गतेदेखि १ सय ४४ वर्षपछिको ‘महाकुम्भ मेला’ लाग्दैछ। जहाँ नेपाल र भारतका विभिन्न राज्यबाट लाखौं श्रद्धालुको ओइरो लाग्दैछ। तयारी पूरा भइसकेको छ। तर, यति ठूलो सांस्कृतिक महत्व बोकेको धामलाई राज्यले भने उचित न्याय दिन सकेको छैन। सयौं किलोमिटर परको सिंहदरबारका आँखाले देख्न सकेको छैन। २२ करोडको विस्तृत परियोजना प्रतिवेदन तयार भए पनि सरकारबाट न्यून बजेटमात्र प्राप्त भएको छ।

पन्त दाबी गर्छन्, ‘आफ्नै पहलमा ६ लाख खर्चिए र बाटो खनाए, पार्किङ बनाए र हेलिप्याडसम्म निर्माण गरें।’ भारत चिहाउने हो भने यस्ता ज्योतिर्लिंग भएका धाममा सरकारले करोडौं, अर्बौं खर्च गर्छ, गरिरहन्छ। पीठाधीश पन्त भन्छन्, ‘भगवान्को कृपाले सेवा गर्ने अवसर जुटिरहेको छ। म त सौभाग्य ठान्छु जीवनको। धन्य छु। तर नदी कटानले गर्दा ब्रह्मनाल र श्मशानघाट संकटमा छन्। सरकार मौन लाग्छ। व्यक्ति तातेर पुगेन।’ जहाँ १०८ गौमुख धारा, १०८ तुलसी मोठ र अत्याधुनिक विश्वनाथ पुस्तकालय बनाउने अठोट उनले सबैसँग मिलेर गरेका छन्।

मानवताको साझा तीर्थ बन्दै वनारसीधाम

पन्त भन्छन्, ‘मन्दिर पुग्ने करिब आठ किलोमिटर सडकको स्तरोन्नतिमा लाग्दैछौं।’ व्यवस्थित गुरुकुल र एक हजार शिवलिंग स्थापना जस्ता महत्वाकांक्षी लक्ष्य उनीसँग छन्। १ सय ४४ वर्षपछिको यो महाकुम्भले बैतडीलाई मात्र होइन, सिंगो नेपाललाई धार्मिक पर्यटनको नयाँ गन्तव्य बनाउन सक्छ। यहाँनेर महात्मा गान्धीलाई सम्झन्छु, ‘तिमीले आफूलाई बदल्न सक्यौ भने तिमीले संसार बदल्न सक्छौ।’

वनारसीधामको कथाले सिकाएको छ कि ‘यदि संकल्प दृढ छ भने शताब्दीऔं पुराना कुप्रथाहरू बदल्न सक्छ।’ भक्तजनको भावले भन्छ, ‘जब माघको ठिहीमा २२ तालमा स्नान गरी भक्तजनले विश्वनाथ ज्योतिर्लिंगको दर्शन गर्नेछन्, तब त्यहाँ जात र वर्णको कुनै पर्खाल बाँकी रहनेछैन।’ २२ तालको कञ्चन पानीजस्तै सफा र निर्मल समावेशी धर्मको यो धार बैतडीबाट बग्दै अवश्य एक दिन सारा विश्वभर पुग्नेछ। पन्तसहितको यो ‘समावेशी धर्मयात्रा’ केवल एउटा मन्दिरको कथा होइन, यो त समृद्ध र समतामूलक समाजको एउटा बलियो जग पनि हो।

विश्वनाथ ज्योतिर्लिंगको शास्त्रीय महिमा

नेपालको सुदूरपश्चिमस्थित बैतडी जिल्लाको पाटन सहरभन्दा उत्तरतर्फ सरयू (सुर्नया) नदीको तटमा ऐतिहासिक एवं आध्यात्मिक महत्व बोकेको ‘वाराणसी पुरी’ छ, जहाँ ‘विश्वनाथ ज्योतिर्लिंग’ अवस्थित छ। यस पवित्र क्षेत्रको महिमा र विशिष्टता स्कन्द पुराणको मानस खण्डको ७८औं अध्यायमा विस्तृत व्याख्या छ। सरयू र गोमती नदीको पवित्र संगम स्थलको महत्वलाई पुराणले यसरी उजागर गरेको छ   : 
गोमती सङ्गमे दिव्या :  सङ्गता सा महानदी।
तत्र मध्ये महत् क्षेत्रं सर्वपापप्रणाशनम्।।
(स्क.पु.मा.ख.अ.७८, श्लोक–१७२)

अर्थात्, गोमती र सरयू नदीको दिव्य संगम नै विशाल वाराणसी क्षेत्र हो। यस क्षेत्रको दर्शन मात्रले पनि मानिसका सम्पूर्ण पापको नाश हुन्छ। यस क्षेत्रको निर्माण र यसको तुलनात्मक महत्ताका बारेमा चण्डीशद्वारा स्थापित गरिएको प्रसंग श्लोक १०९ र ११० मा यसरी उल्लेख छ   : 

तस्योद्देशे महापुण्यां चण्डीशेन प्रकल्पिताम्।
पुरीं वाराणसी नाम पुण्यां काश्या :  दशोत्तराम्।
तत्र मध्ये महालिङ्गम् देवविश्वेश्वराख्यम्।। (१०९)
पूजितं देवगन्धर्वै :  शैवं तेभ्य :  प्रदर्शयत्।
वशिष्ठानुग्रहार्थाय यत्र देवो महेश्वर : ।। (११०)
(स्क.पु.मा.ख.अ.७८, श्लोक–१०९÷११०)

पवित्र सरयू नदीको तटमा चण्डीशद्वारा स्थापित यो महापुण्यदायक वाराणसी पुरी, गंगातटमा अवस्थित प्रसिद्ध काशीभन्दा पनि ‘दश गुणाभन्दा बढी’ पुण्यदायक मानिन्छ। यसैगरी, वाराणसी पुरीको मध्य भागमा साक्षात् महालिंग स्वरूप भगवान् विश्वनाथ विराजमान हुनुहुन्छ। देव, गन्धर्व र शिवभक्तहरूद्वारा सदैव पूजित हुनुहुने भगवान् महेश्वर यहाँ महर्षि वशिष्ठलाई अनुग्रह प्रदान गर्न ज्योतिर्लिंगका रूपमा प्रकट हुनुभएको हो।
यस तीर्थको अद्वितीय स्थान र महिमा पुराणमा यस्तो छ   : 

वाराणसीसमं तीर्थं सरयूसम्मिता नदी।
नास्ति नास्ति महाभाग पुण्ये लोकत्रयेऽपि।।
काशीकोटिगुणं पुण्यं वक्तुं येषां न शक्यते।।
(स्क.पु.मा.ख.अ.७८, श्लोक–२१६/२१७)
तथा, परं हि विश्वनाथाख्यं तीर्थमस्ति सुशोभनम्।
स्नात्वा तत्र विधानेन स्नानं कृत्वा च मानव : ।।
विश्वनाथं समम्यच्र्य काश्या :  कोटिगुणं फलम्।।
(स्क.पु.मा.ख.अ.७८, श्लोक–३२८/३२९)

यी श्लोकले स्पष्ट पार्छन् कि जो मनुष्यले उत्तर वाराणसीस्थित सरयू र गोमतीको संगममा पुगी विधिवत् स्नान गर्छ र भगवान् विश्वनाथको आराधना गर्छ। उसले प्रसिद्ध काशी (भारत)मा आर्जन गरेको पुण्यभन्दा ‘कोटि गुणा’ बढी फल प्राप्त गर्दछ। काशी वा गया जस्ता प्रख्यात तीर्थमा गरिएका सत्कर्मको फलभन्दा पनि नेपालकै भूमिमा रहेका यी विश्वनाथको दर्शन र पूजनबाट अत्यन्त उच्च कोटीको फल प्राप्त हुने कुरा स्वयं व्यासजीले स्कन्द पुराणमा पटक–पटक उद्घोष गर्नुभएको छ। अत :  शास्त्रीय प्रमाणकै आधारमा नेपालको यो विश्वनाथ ज्योतिर्लिंग क्षेत्र सर्वोत्कृष्ट र आध्यात्मिक ऊर्जाको सर्वोच्च केन्द्रका रूपमा स्थापित छ। जगद्गुरु नेपाल सञ्चार केन्द्र, सुनसरीद्वारा प्रकाशोन्मुख कृति ‘नेपालमा रहेका द्वादश ज्योतिलिंगहरू’बाट।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.