election background

प्रतिनिधि सभा निर्वाचन २०८२

गगनले टिकट बाँड्न गरे बोर्ड गठन, देउवा पक्ष आज सर्वोच्च अदालत जाने

महाधिवेशनले कांग्रेसमा किचलो

गगनले टिकट बाँड्न गरे बोर्ड गठन, देउवा पक्ष आज सर्वोच्च अदालत जाने
सुन्नुहोस्

काठमाडौं : पूर्वसभापति शेरबहादुर देउवाको हस्ताक्षरमा बुझाइएको समानुपातिकतर्फको बन्दसूचीको स्वामित्व लिँदै कांग्रेसले प्रत्यक्षतर्फका उम्मेदवार चयनका लागि बोर्ड गठन गरेको छ। फागुन २१ मा निर्धारित प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवारको मनोनयन मंगलबार तोकिएकाले कांग्रेसले पार्टीका उम्मेदवार चयनको गृहकार्य अघि बढाएको हो। 

पार्टी सभापति गगन थापा, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित १३ सदस्यीय बोर्ड गठन गरिएको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए। उनका अनुसार कांग्रेसले १ सय ६५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार दिने गरी गृहकार्य गरिरहेको छ। पार्टीमा आधिकारिताको विवादका कारण कांग्रेसले अरू दलभन्दा ढिलो गरी उम्मेदवार छनोट गर्दैछ।

पार्टी सभापति थापाको अध्यक्षतामा शनिबार साँझ बोर्डको बैठक बसेको थियो। निर्वाचन आयोगको निर्णयमा असन्तुष्टि जनाइरहेको पूर्वसभापति शेरबहादुर देउवा समूहलाई समेत समेट्ने गरी टिकट वितरण गर्ने तयारी भएको प्रवक्ता देवराज चालिसेले जानकारी दिए। ‘सबैलाई समेट्ने प्रयास हुनेछ,’ उनले भने, ‘यो पक्ष वा त्यो पक्ष भन्ने हुँदैन। कांग्रेस हामी सबै सँगै छौं र एउटै हो। सभापति र उपसभापतिजीलगायत सबैको यही तयारी छ सबैलाई समेट्ने।’ 

यसअघि शेरबहादुर देउवाको हस्ताक्षरमा बुझाइएको समानुपातिक उम्मेदवारको सूचीको स्वामित्व लिने पनि कांग्रेसले निर्णय गरेको छ। चालिसेले समानुपातिकको स्वामित्व स्वाभाविक ढंगले लिनैपर्ने भएको बताए। ‘केन्द्रीय समिति पार्टीको अविछिन्न उत्तराधिकारी संस्था भएकाले निर्वाचनसँग जोडिएका विषय स्वीकार गर्छौं,’ चालिसेले भने, ‘प्रत्यक्षतर्फको शनिबारदेखि छलफल हुन्छ। बोर्ड बनाएर जाने निर्णय भएको छ।’
कांग्रेसले सभापति थापाको नेतृत्वमा निर्वाचन घोषणापत्र समिति गठन गर्ने निर्णय गरेको छ भने उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा निर्वाचन परिचालन समिति बनाउने निर्णय पनि गरेको छ। 

यसअघि बसेको केन्द्रीय कार्यसमितिको बैठकले पूर्वपार्टी सभापति देउवालाई अभिभावकीय भूमिकामा निरन्तर रहन आग्रह गरेको छ। विभिन्न कारणले पार्टीबाट निष्क्रिय रहेका र पार्टी छाडेका सबै नेता, कार्यकर्तालाई पार्टीमा पुनः जोडिन पनि बैठकले आह्वान गरेको छ। निर्वाचन आयोगले कांग्रेसको दोस्रो विशेष महाधिवेशनका निर्णयहरूलाई संविधान, कानुन र पार्टी विधानअनुसार मान्यता दिई अद्यावधिक गरिसकेको परिप्रेक्ष्यमा उक्त निर्णय कसैको जितहार नभई विधान र लोकतन्त्रको विजय भएको समेत बैठकले निष्कर्ष निकालेको छ। कांग्रेसले पार्टीका पूर्वसभापति शेरबहादुर देउवाको अभिभावकीय भूमिकाको आवश्यकता रहेको भन्दै बैठकले देउवालाई अभिभावकीय भूमिकामा निरन्तर रहन आग्रह गर्ने निर्णय गरेको हो। 

बैठकमा देउवाले पार्टीलाई पु‍र्‍याएको योगदान र प्रदान गरेको नेतृत्वको उच्च मूूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय गरेको छ। बैठकमा सभापति थापाले भनेका थिए, ‘पूर्वपार्टी सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसलाई पु‍र्‍याउनुभएको योगदान र दिनुभएको नेतृत्वको उच्च मूल्यांकन गर्दै आभार व्यक्त गर्ने निर्णय भएको छ। आगामी दिनमा पनि उहाँको अभिभावकीय भूमिका पार्टीका लागि निरन्तर रहिरहनेछ।’ बैठकले निर्वाचन आयोगले कांग्रेसको विधान र संविधानअनुसार नै पार्टीलाई आधिकारिकता प्रदान गरिसकेको उल्लेख गर्दै यस विषयमा मुद्दामामिला नगर्न अर्को पक्षलाई आग्रह पनि गरिएको चालिसेले जानकारी दिए।

देउवा समूह अदालत जाने 
कांग्रेसको विघटित केन्द्रीय कार्यसमिति बैठकले निर्वाचन आयोगको निर्णयविरुद्ध कानुनी र संवैधानिक उपचारका लागि अघि बढ्ने निर्णय गरेको छ। 
कांग्रेस पार्टी कार्यालय सानेपामा पूर्वसभापति देउवापक्षीय नेताहरू सहभागी बैठकले यस्तो निर्णय गरेको हो।

पूर्वउपसभापति पूर्णबहादुर खड्काले बोलाएको बैठकमा शेखर कोइराला र उनी पक्षीय नेताहरूको समेत उपस्थिति रहेको थियो। बैठकमा ‘निर्वाचन आयोगको निर्णय पार्टीको विधान र संविधानविपरीत भएकाले यसको कानुनी उपचार खोज्ने निर्णय भएको छ। राजनीतिक रूपमा समेत प्रतिवाद गरेर जाने निर्णय भएको छ,’ पूर्व प्रवक्ता डा. प्रकाशशरण महतले भने। बैठकमा रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता पनि सहभागी थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.