election background

प्रतिनिधि सभा निर्वाचन २०८२

१८ वर्षदेखि थन्कियो रक्तचन्दन कानुन अभावले गोदाममै

१८ वर्षदेखि थन्कियो रक्तचन्दन कानुन अभावले गोदाममै
सुन्नुहोस्

परासी : कानुन स्पष्टता नहुँदा नवलपरासीमा १८ वर्षअघि बरामद भएका रक्तचन्दन डिभिजन वन कार्यालय परासीमा थन्किएका छन्। 

भारतबाट चोरी निकासी हुँदै आएका ती रक्तचन्दन नेपाल भारतबीचको वन्यजन्तु तथा वनस्पतिसम्बन्धी अन्र्ताष्ट्रिय सन्धि (साइटिस) अन्तर्गत संरक्षण सूचीमा परेकाले व्यवस्थापनमा समस्या भएको हो। यसको अवैध व्यापारले गम्भीर नकरात्मक असर पर्ने सक्ने भएकाले ओसारपसारमा कडा प्रतिबन्ध छ। 

विशेष उद्देश्यका लागि अनुमति लिएर मात्रै आयात–निर्यात गर्न सकिने व्यवस्था भए पनि भारतबाट चोरी भएर आएकाले भारतमै फिर्ता वा हस्तान्तरण गर्न नेपाल सरकारलाई समस्या परेको हो। यद्यपि बेवारिसे देखाएर नेपाल सरकारले भारतमै फिर्ता वा हस्तान्तरण गर्ने निर्णय गरेको थियो। तर अहिलेसम्म कार्यान्वयन हुन नसकेको वन कार्यालयले जनाएको छ।

२०६४ सालमा नवलपरासीका विभिन्न स्थानबाट रक्तचन्दनसहित कारोबारमा संलग्न व्यक्तिहरू पक्राउ परेका थिए। ती व्यक्तिहरूले कैद सजाय भुक्तान गरिसकेका छन्। कारोबारीहरूले कैद सजाय भुक्तान गरे पनि कानुन अभावका कारण रक्तचन्दनलाई व्यवस्थापन गर्न नसकिएको वन कर्मचारीहरूले बताएका छन्। 

साइटिस सन्धिअन्तर्गत जुन देश (उत्पत्ति देश)बाट आएको मालवस्तु हो त्यही देशमा फिर्ता पठाउन वा हस्तान्तरण गर्न सकिन्छ। सोही प्रावधानअनुसार नेपाल सरकारले २०६५ साल माघ ९ गते बेवारिसे देखाउँदै भारतलाई हस्तान्तरण गर्न मन्त्रिपरिषदद्वारा निर्णय गराए पनि भारत सम्पर्कमा नआउँदा रक्तचन्दन १८ वर्षदेखि कार्यालयमा राख्नु परेको डिभिजन वन कार्यालय परासीका रेन्जर प्रजेम्स श्रेष्ठले बताए। कार्यालयका दुई वटा कोठामा राखेका रक्तचन्दन व्यवस्थापन हुन नसक्दा कर्मचारीलाई काम गर्नका लागि ठाउँ अभाव भएको श्रेष्ठले बताए। 

अन्तर्राष्ट्रिय कानुनअनुसार रक्तचन्दनलाई लिलाम वा जलाएर नष्ट गर्न नसकिने भएकाले समस्या भएको हो। त्यसका लागि सरकारीस्तरबाटै स्पष्ट निर्णय र पहल आवश्यक रहेको वन कार्यालयले जनाएको छ।

कति समय जेल बसेर छुटेका थिए कारोबारी ?
नवलपरासीमा बरामद भएका रक्तचन्दन भारतबाट चोरी गरी ल्याइएका हुन्। तत्कालीन समयमा तस्करहरूले नेपालको सिन्धुपाल्चोक हुँदै चाइना पुर्‍याउने उद्देश्यले उक्त रक्तचन्दन ल्याएका हुन्। सोही क्रममा २०६४ वैशाख ६ गते ट्रकमा लोड गरी लैजाँदै गरेको अवस्थामा नवलपरासीको साबिक दाउन्नेदेवी गाविस–१ बाट ६ हजार १ सय ११ केजीबराबरका २ सय ७२ गोलिया रक्तचन्दन पक्राउ परेको थियो। रक्तचन्दन बरामदपछि कारोबारमा संलग्न रामग्राम नगरपालिकाका चार जनालाई केही समय पछि पक्राउ गरिएको थियो। 

उनीहरूले पाँच महिनादेखि आठ महिनासम्म कैद सजाय भुक्तान गरेर निस्केका थिए। त्यसैगरी साबिक प्रगतिनगर–४ (हाल पूर्वी नवलपरासी) महाराजा सामुदायिक वन जंगल क्षेत्रबाट २०६८ साल साउन ५ गते १ हजार ६ सय ७५ केजीका ५८ थान गोलिया रक्तचन्दन बरामद भएको वन कार्यालयले जनाएको छ। 

त्यस्तै, २०६४ वैशाख १३ गते रामग्राम नगरपालिकाको बैकुण्ठापुरबाट ट्याक्टर र मोटरसाइकलबाट १ हजार ५ सय ६ केजीका ४९ थान गोलिया रक्तचन्दन बरामद भएको थियो। उक्त कारोबारमा २ जना पक्राउ परेका थिए।

झ्याउ बिक्री भयो सुनाखरी गोदाममै
जिल्लाका विभिन्न ठाउँबाट अवैध रूपमा ओसार पसार गरिरहेको अवस्थामा झ्याउ र सुनाखरी पक्राउ परेका छन्। पक्राउ परेका झ्याउ बिक्री भए पनि सुनाखरी भने कार्यालयमै रहेका छन्। लामो समयसम्म कार्यालयको कोठालाई गोदामजस्तो बनाएर राखिएको वन कार्यालयले जनाएको छ। २०७८ माघ ३ गते जिल्लाको सरावल गाउँपालिका–६ भुजहवाबाट ठूलो परिमाणमा सुनाखरी र झ्याउ पक्राउ परेको थियो। कबाड संकलन गर्ने गोदामबाट ती जडीबुटी बरामद भएका थिए।

प्रहरीको सूचनाका आधारमा कबाड संकलन केन्द्रमा वन कार्यालयले छापा मारेर ५१ क्विन्टल (५ हजार १ सय केजी) ‘सुनाखरी’ र २१ क्विन्टल (२ हजार १ सय केजी) ‘झ्याउ’ बरामद गरेको थियो। सुनाखरी र झ्याउ बहुमूल्य जडीबुटी हुन्। नेपालमा उक्त जडीबुटी बिक्री वितरण, ओसारपसार र संकलनमा रोक लगाइएको छ। अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने भएकाले भारतततर्फ चोरी गर्ने उद्देश्यले उक्त जडीबुटी त्यहाँँ लुकाएर राखिएको वन कार्यालयले जनाएको छ।

दुवै जातिका जडीबुटी पहाडी र उच्च पहाडी क्षेत्रमा पाइने गरेको छ। यी जडीबुटी ठूलो रुखमा नभई बुट्यानमा हुने गरेको छ। पौष्टिक तत्त्व, आयुर्वेद्धिकलगायत ठूला रोगहरूको उपचारका लागि बनाइने औषधिहरूमा यसको प्रयोग हुने गरेको बताइएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.