अर्थमन्त्री बनाउने बाचासहित नेकपाले दियो डा. हरि रोकालाई टिकट
सुनसरी : प्रखर राजनीतिक विश्लेषक तथा संविधानसभा सदस्य डा. हरि रोका आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा खोटाङबाट उम्मेदवार बन्ने भएका छन्। स्वतन्त्र बाम बुद्धिजीवीका रूपमा चिनिएका डा. रोकालाई नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले खोटाङबाट उम्मेदवार बनाउने निर्णय गरेको छ। नेकपाको निर्णयमा डा. रोका चुनाव लड्न राजी भएका छन्।
नेकपा स्रोतका अनुसार डा. रोकाले पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरी प्रतिनिधिसभा सदस्यका लागि औपचारिक रूपमा टिकटसमेत लिएका छन्। यससँगै खोटाङको राजनीतिक माहोल तातेको नेकपा खोटाङका नेता विनोद आचार्यले जानकारी दिए। उनले डा. रोका उम्मेदवार बनेपछि जिल्लाका पार्टी कार्यकर्ता र समर्थकहरूमा नयाँ उत्साह थपिएको बताए।
पार्टीभित्रको उच्च तहमा भएको सहमतिअनुसार डा. रोका निर्वाचन जितेर नेकपा सरकार गठनमा सहभागी भएमा उनलाई अर्थमन्त्री बनाउने विषयमा समेत छलफल भइसकेको बताइएको छ। आर्थिक नीति, वैचारिक स्पष्टता र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा बनाएको छविका कारण डा. रोका अर्थ मन्त्रालयको जिम्मेवारीका लागि उपयुक्त व्यक्ति भएको नेकपाका नेताहरूको भनाइ छ।
डा. रोका देशकै बौद्धिक वर्गमा प्रभावशाली व्यक्तित्वका रूपमा परिचित छन्। उनी राष्ट्रिय राजनीति मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमा समेत चिनिएका विश्लेषक हुन्। स्पष्ट विचार, हक्की स्वभाव र निडर अभिव्यक्तिका कारण उनी युवा तथा बौद्धिक वर्गमा लोकप्रिय मानिन्छन्।
उनले आफू नेकपाको तर्फबाट निर्वाचन लड्ने निर्णय अन्तिम भइसकेको बताए। ‘खोटाङवासी जनताले मलाई विश्वास गर्नुहुन्छ भन्नेमा म ढुक्क छु,’ डा. रोकाले भने, देशको समग्र आर्थिक, राजनीतिक र सामाजिक रूपान्तरणका लागि संसदमा बलियो आवाज आवश्यक छ, त्यसका लागि म प्रतिबद्ध छु।’
लामो समयदेखि खोटाङले राष्ट्रिय स्तरमा प्रभावशाली नेतृत्व पाउन नसकिरहेको अवस्थामा रोकाको उम्मेदवारीले यस पटक त्यो सम्भावना बलियो बनेको नेकपा खोटाङका अध्यक्ष दीपक पाण्डेले बताए। यता नेकपा एमालेले खोटाङबाट देवविक्रम राईलाई उम्मेदवार बनाउने तयारी गरेको छ। नेपाली कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भने हालसम्म खोटाङमा आफ्ना उम्मेदवार सार्वजनिक गरिसकेका छैनन्। प्रमुख दलहरूबीच उम्मेदवार चयनको दौड जारी रहँदा डा. हरि रोकाको प्रवेशसँगै खोटाङको चुनावी प्रतिस्पर्धा थप रोचक बन्ने देखिएको छ।
प्रतिक्रिया दिनुहोस !