election background

प्रतिनिधि सभा निर्वाचन २०८२

श्रीस्वस्थानी : राष्ट्रनिर्माणको आध्यात्मिक सूत्र

श्रीस्वस्थानी : राष्ट्रनिर्माणको आध्यात्मिक सूत्र
सुन्नुहोस्

श्रीस्वस्थानी व्रतकथाको प्रतीकारात्मक व्याख्यान प्रस्तुत गरी नवपिँढीलाई आफ्नो मौलिकशास्त्र, नेपाल धर्तीको गौरवग्रन्थ श्रीस्वस्थानीलाई सुप्रचार गर्न सक्छौं।

हुन त सबैजसो शास्त्र र धार्मिक ग्रन्थले नेपाल, भारतलगायत दक्षिण एसियाली मुलुकहरूका प्रायः भूभागलाई भारत वर्ष भन्ने शब्द प्रयोग गरेका छन् । देवकर्म तथा पितृकर्मको आरम्भमा कर्मसिद्धिका लागि प्रतिज्ञासंकल्प गर्दा भारतवर्षे, जम्बुद्विपे भारतखण्डे, नेपाल मण्डलअन्तर्गत भन्ने शब्दावली प्रयोग हुन्छ । संस्कृत शब्दको पदावलीको अर्थक्रम नबुझ्नेहरूले नेपाल मुलुकको अखण्डता र सार्वभौम अस्तित्वमा यी र यिनै पदावलीको आधारमा गलत व्याख्या र हावादारी विश्लेषण प्रस्तुत गर्छन् । जसले नेपाल जस्तो देवभूमि अर्थात् अखण्ड मुलुकको अस्मितामा प्रश्नचिह्न खडा गराइरहेको आभास हुन्छ ।

कुनै पनि शास्त्र, आध्यात्मिक ग्रन्थ समयसापेक्ष रचना भएका हुन्छन् । पौराणिककालमा स्वयम् वेदव्यासजीले १८ ओटा पुराणको रचना गर्नुभयो । जुन सम्पूर्ण भारतवर्षको भौगोलिक परिवेशलाई आधार मानी रचना भएका हुन् । जसको रचनागर्भ भारतवर्षभन्दा फरकभूमि कहीँ कतै छैन । तत्कालीन समयमा वर्ष भन्नाले महादेश भन्ने बुझिन्थ्यो । सोही महादेशभित्रको एक देश हो, नेपाल । अहिले दक्षिण अमेरिकी महादेश, एसिया महादेश, युरोप महादेश भनेजस्तै तत्कालीन समयमा भारत वर्ष एक महादेश हो । तत्कालीन समयमा कि ंपुरुषवर्ष, भद्रास्ववर्ष, भारतवर्ष आदि गरिएका महादेश थिए । भारतवर्षभित्रको एक स्वतन्त्र र स्वाधीन मुलुक हो नेपाल । यसै नेपाललाई देवभूमि भनेर चिनिन्छ ।

देवभूमिमा छापिएका शास्त्रहरूलाई आधार मानेर ओमकार परिवारका धर्मका ग्रन्थहरू रचना र प्रकाशन भएका छन् । जसमध्ये ज्यादै महŒवपूर्ण पुराण हो, स्कन्धपुराण । स्कन्ध शिवपार्वतीका पुत्र कुमार हुन् । उनको चरित्रसँग सम्बन्धित पुराण हो, स्कन्धपुराण । जसको अंश केदारखण्डको माघमासको महात्म्यमा स्वस्थानी व्रतकथाको महिमा सारभूत रूपमा व्याख्या गरिएको छ । स्वस्थानी व्रतकथा नेपालका तीर्थहरूलाई स्थापित गराएर सुप्रचार गराउन तत्कालीन समयमा रचित कथा हो । जुन कथाको सान्दर्भिकताले नेपाली जनजीवन र सामाजिक रीतिरिवाजसँग तादात्म्य राख्छ । र, समग्र सिन्धु सभ्यतासँग तादात्म्य राख्दै नेपालभूमिको भौगोलिक अवस्थालाई विशेषगरी चित्रण गरेको छ । भारतवर्ष स्वयम् देवभूमि हो जहाँ देवशासन प्रचलित थियो । त्यसैको सकारात्मक पक्षबाट जीवन र जगत्लाई चिनाउने प्रामाणिक शास्त्र नै स्वस्थानी व्रतकथा हो ।

प्राचीन सिन्धुघाँटी सभ्यतामा प्रचलित विधिव्यवहार पक्षलाई मानेर सामाजिक व्यवहार गर्ने चलन रहेको समाज यसको रचनागर्भ हो । सकारात्मक पक्षहरूबाट कर्म गर्न सिकाउने व्यावहारिक पक्ष थियो त्यस समयमा । संस्कृत भाषासम्बद्ध भएका पंक्तिहरूबाट व्याख्यायित ती अवस्था आजभोलि बुझाइँदैनन् वा बुझ्ने कोसिस गरिँदैन । त्यसैले स्वस्थानी व्रतकथालाई समाजविपरीत ग्रन्थको रूपमा मुखप्रचार गराइन्छ । जुन नितान्त गलत हो । हरेक स्थापित देवीदेवताको आम्नाय हुनुपर्छ । भनिन्छ, श्रीपशुपतिनाथका २८ आम्नाय छन्। श्रीस्वस्थानी देवीको आम्नाय कहीँ कतै उल्लेख छैन । यसको अर्थ यो होइन कि श्रीस्वस्थानी देवीको आम्नाय छँदैछैन । श्रीस्वस्थानी देवीको आम्नाय छ र हुनुपर्छ । यसको आम्नाय पत्ता लगाउन स्कन्धपुराणको पूर्ण अंश हाम्रो हातमा हुनुपर्छ । स्कन्धपुराणको सर्वांश प्राप्त गर्नु र यसबारे विशद्ध व्याख्या हुनु आजको आवश्यकता हो ।

श्रीस्वस्थानी व्रतकथा महादेव र पार्वतीपुत्र स्कन्धकुमारको मुखारविन्दबाट अगस्त्यमुनिलाई बताइएको कथा हो । यसमा स्वयम् स्कन्धकुमारको जन्म, कर्म र पराक्रमको वर्णन पाइन्छ । महादेव र पार्वतीलाई नायक नायिकत्व प्रदान गरी यथार्थिक धरातलमा रचना भएको श्रीस्वस्थानी व्रतकथाले नेपाल भूमिको आध्यात्मिक, धार्मिक एवं सकारात्मक विचारसहितको ऊर्जामय शक्तिलाई संस्थापित गरेको छ । संस्थान विधिविधानको र निर्माणको प्रारूप हो । पाणिनीय व्याकरणअनुसार संस्थान शब्दमा ङित् प्रत्यय गर्दा संस्थानी हुन्छ । त्यसै संस्थानी शब्द स्त्रीलिंगीवाचक शब्दको रूपमा बोध हुन्छ। एक अर्थमा संस्थान राष्ट्रनिर्माण हो । हरेक मुलुकको आत्मा त्यस राष्ट्रको स्वाभिमान हुन्छ । त्यसैले श्रीस्वस्थानी व्रतकथालाई हावाको भरमा गफ गरिने शास्त्रको रूपमा नहेरी नेपाल राष्ट्रको आध्यात्मिक, धार्मिक, सामाजिक, सांस्कृतिक ऊर्जाको रूपमा स्वीकृत निर्देशकीय शास्त्रको रूपमा स्वीकार गरी यसको महिमालाई विशिष्टितम तबरले उजागर गर्दै लानु श्रेयष्कर छ ।

देवकार्यहरूमा अष्टमातृकाको पूजा गरिन्छ । सप्तऋषिको स्थापना र पूजा गरिन्छ । नवग्रहको पूजा गरिन्छ । त्यसै पूजा प्रावधानभित्र अष्टमातृकाबीचमा रहेकी मूल शक्तिलाई संस्थान देवीको रूपमा स्थापित गरी शक्ति उपार्जनको ध्येयसाथ मन्त्रोच्चारणपूर्वक पूजा उपासना गर्छौं । अष्टदल आर्शीमाथि राखेर अष्टमातृकाको पूजा गर्दा बीचमा शक्ति भाग सञ्चय गर्नुपर्छ । त्यही अष्टदलको बीचमा स्वस्थानीको शक्ति सञ्चय गर्न स्वस्थानीदेवीको स्थापना गरी पूजा गर्नु नै नेपालखण्डको मूल परिचय हो । जसलाई श्रीस्वस्थानी व्रतकथामा विभिन्न प्रसंगबाट स्पष्ट पारिएको छ । जसलाई अध्यायपिच्छे पढ्छौं, सुनाउँछौं तर त्यसको सामाजिक, मानवीय कर्मपद्धतिसँग कहिल्यै सान्दर्भिकता साक्षात्कार गराएर बुझ्नेर बुझाउने कोसिस गर्दैनौं ।

अष्टदलको बीचमा बसेकी अष्टमातृकाकै स्वरूपमा रहेकी, खड्ग–त्रिशूल बायाँ हातमा लिएकी, दायाँ हातले वरदमुद्रा प्रदान गरिरहेकी, चारओटा भुजा भएकी, तीनओटा नेत्र भएकी, सम्पूर्ण विशिष्ट अलंकारले सुशोभित, सुवर्णजस्तै देदीप्यमान स्वस्थानी परमेश्वरी हुन् । मातृका भन्नेबित्तिकै स्थानविशेषकी देवी भन्ने बुझिन्छ । त्यसैले नेपालमण्डलको स्थानविशेषकी स्वस्थानी भनी स्वयम् देवाधिदेव महादेवद्वारा तयार गरिएकी देवीको अनुष्ठान र उपासनाबाट शक्ति उपार्जन गर्ने महŒवपूर्ण सन्देश स्थापना गर्नु नै स्वस्थानी परमेश्वरीको पूजा, आराधना र प्रीति गर्नु हो भन्ने विषय श्रीस्वस्थानी व्रतकथाको मूल सन्देश हो ।

स्वस्थानी व्रतकथामा अपत्यारिला र अविश्वसनीय घटना र प्रसंगहरू छन् । त्यसैले अहिलेको समयमा यस्तो हुनै सक्दैन भनेर टीकाटिप्पणी गर्ने जमात छन् । कुनै पनि विधिविधानयुक्त शास्त्र वा ग्रन्थ त्यत्तिकै कुनै उपदेयता सिद्धिबिना रचना गरिँदैन । यस्ता शास्त्रमा ज्ञान हुन्छ, विज्ञानसम्मत सन्देश हुन्छ । सम्पूर्ण ब्रह्माण्डको अवस्थिति, समय, काल, वातावरण एवं भौगर्भिक अवस्थाको पूर्ण परिचय गराएपछि त्यसमा मानव विकासक्रम स्थापित गराइन्छ । त्यसको पूर्ण प्रयोग श्रीस्वस्थानी व्रतकथामा पाइन्छ । ब्रह्माण्ड पुराणमा वर्णन गरिएका प्रसंगबाट ब्रह्माण्डको उत्पत्ति, स्थिति र लयका अवस्थाहरू श्रीस्वस्थानी व्रतकथामा छन् । ब्रह्मा, विष्णु र महादेव त्रिदेवबाट एकअर्काभित्र भएको अपरिमित शक्तिको प्रयोग गरी सृष्टि प्रक्रियालाई सृष्टि, स्थिति र लयको परिभाषामा बाँधिएको छ ।

कुनै पनि कार्य सम्पन्न गर्न तीनओटा विषय अनिवार्य आवश्यक हुन्छ । पहिलो उठान, दोस्रो परिचालन, तेस्रो बैठान । उठान ब्रह्मा हुन्, परिचालन विष्णु हुन् र बैठान शिव हुन् । कर्ता देवताहरू, देवताहरूको टिप्पणीगत उठान ब्रह्माबाट, त्यसभित्रको परिपालन र परिचालन विष्णुबाट र त्यसको पूर्ण परीक्षणसाथ स्वीकृति महादेवबाट भएको अवस्था नै सृष्टिको मूल प्रशासन हो भन्ने कुरा श्रीस्वस्थानी व्रतकथाबाट बुझ्नु र बुझाउनु पर्छ । जल, थल र नभ तीन छन् । सत्व, रज र तम तीन छन्। संसारभर तीन तत्वको समन्वयात्मक अवस्थाबाट प्रचलित हुन्छ ।

राष्ट्र सञ्चालनको पद्धति पनि तीन नै हुन्छ– व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका । संसारका हरेक विषयको पूर्णता तीन तहमा रहेको हुन्छ । सृष्टि प्रचलनको क्रममा ब्रह्मा, विष्णु र महेश्वर बराबर शक्तिसम्पन्न देव थिए । तर एकले अर्काको आराधना–तपस्या गरी बल प्राप्त गर्दथे । आफूसँग शक्ति छ भने पनि काम आफैं सम्पन्न गर्नु हुँदैन । त्यसले सामाजिक संरचना, राष्ट्रको संरचना वा कुनै संघको संरचनामा खलल पुग्छ अनि प्रकृतिविपरीत कार्य हुन पुग्छ । श्रीस्वस्थानी व्रतकथामा देवताहरूको यो अवस्थाबाट नेपाल भूमिका ऋषि, मुनि एवं मानवगणलाई त्यसैबेलादेखि संघबलको कुरा सिकाइएको छ। सदाकाल शक्ति प्राप्त गर्ने भनेको प्रकृतिबाट हो । प्रकृति भनेको आफ्नो स्थान हो, वरिपरिको वातावरणीय परिवेश हो ।

यसै परिवेशलाई बैकुण्ठधाम, कैलाशधाम र ब्रह्मलोक नामकरण गरियो । यदि ब्रह्मा कैलाश गएर बसे र शिवलाई हटाए भने त्यहाँ ब्रह्माको ब्रह्मत्वले कार्य सञ्चालन गर्न सक्दैन । यदि विष्णु ब्रह्मलोकमा गई बसेर कार्य सञ्चालन गर्न खोज भने त्यहाँ विष्णुत्वले पूर्ण रूपमा कार्य सञ्चालन गर्न थाले भने शिवत्वको कार्य गर्न सक्दैन । आआफ्नो शक्ति र कार्यको क्षेत्र फरकफरक हुन्छ । त्यसैले क्षेत्राधिकार कसैले पनि उल्लंघन गर्नु हुँदैन भन्ने सन्देश श्रीस्वस्थानी व्रतकथामा छ । जसमा राक्षसहरूलाई बलवान् देखाइएको छ । राक्षसी बल क्षणिक हुन्छ र त्यो बलवान् हुन्छ । बलवान् हुने शक्ति पनि उनीहरूले भगवान्को तपस्याद्वारा प्राप्त गरेका हुन्छन् । जालन्धरले पत्नी वृन्दा छँदै पार्वतीलाई छल गरी पार्वतीसँग अनुचित सम्बन्ध राख्न चाहनु, रावणले महादेवसँग पार्वती माग्नु राक्षसी बुद्धिका ज्वलन्त उदाहरण हुन् । जालन्धरको तेज पार्वतीलाई छल गर्न जाँदा समाप्त भएको छ । रावणले तपस्याले शिवलाई खुसी पारेर पार्वती प्राप्त गरे तापनि विष्णुले आफूलाई छल गरी नक्कली पार्वती दिएको थाहा पाउन नसक्नु राक्षसी बुद्धि हो । जहाँ बल हुन्छ, त्यहाँ बुद्धि हुँदैन । जहाँ बुद्धि हुन्छ त्यहाँ बलको समेत संरक्षण गर्ने शक्ति हुनुपर्छ भन्ने सन्देशात्मक प्रसंगबारे सामाजिक जनजीवनलाई तुलना गरेर सोहीअनुसारका कार्यमा आफूलाई प्रवृत्त बनाउनु हो भन्ने सन्देश स्वस्थानी व्रतकथामा छ ।

जीवनसापेक्ष बनाएर स्वस्थानी व्रतकथा रचना भएको यथार्थ वर्तमान पिँढीले बुझ्नु जरुरी छ । त्यस्ता परम शक्तिको आराधना र उपासना गरेमा सजिलै शक्तिआर्जन हुनेछ । श्रीस्वस्थानी व्रतकथाको प्रतीकारात्मक व्याख्यान प्रस्तुत गरी नवपिँढीलाई आफ्नो मौलिकशास्त्र, नेपाल धर्तीको गौरवग्रन्थ श्रीस्वस्थानीलाई सुप्रचार गर्न सक्छौं । यसरी, दुनियाँलाई राष्ट्रिय स्वाभिमानको पाठ पढाउने हाम्रो मौलिक ग्रन्थको परिचय दिन सक्छौं।
(खतिवडा, पशुपति क्षेत्र विकास कोषका पूर्वकार्यकारी निर्देशक हुन्।)


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.