election background

प्रतिनिधि सभा निर्वाचन २०८२

अन्नपूर्ण खोज

जहाजको इन्जिन मर्मतमा लुट : इजरायलमा २ वर्ष थन्काई बल्ल नेपाल

जहाजको इन्जिन मर्मतमा लुट : इजरायलमा २ वर्ष थन्काई बल्ल नेपाल
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगममा केही महिना अघिसम्म एउटा जहाजको इन्जिनबारे खुब गाइँगुई हुन्थ्यो। २ वर्षअघि बनाउन पठाइएको जहाजको इन्जिन कहाँ छ ? किन ल्याइएन ? र, किन इन्जिन भाडामा मात्र प्रयोग भइरहेको छ ? 

६५ दिनभित्र बनाइसक्ने गरी पठाइएको निगमको न्यारोबडि ‘लुम्बिनी’ (नाइनएन–एकेएक्स) जहाजको इन्जिन समयमा फिर्ता नल्याएपछि यस्ता प्रश्नहरू उठ्ने नै भए। त्यतिबेलाका निगम सञ्चालक समिति अध्यक्ष युवराज अधिकारीसहितले यसबारे प्रष्टीकरण दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोग र राज्यका अन्य निकायसामु निकै कष्ट गर्नुपरेको थियो। 

आफ्नो जहाजको इन्जिन मर्मतका नाममा विदेशमा राखि अरू कम्पनीबाट भाडामा लिई चलाउँदा विभिन्न आशंकाहरू हुन नै भए। मर्मत सम्भार ढिलो गर्दा राज्य कोषको कम्तीमा ३० करोड रुपैयाँ थप नोक्सान गराइसकेपछि उक्त इन्जिन राखिएको जहाज बल्ल सोमबार मध्य राति दुबई हुँदै काठमाडौं विमानस्थल आइपुगेको छ। अहिले निगम व्यवस्थापन फेरिएको छ। सरकार पनि फेरिएको छ। त्यो इन्जिन मर्मत सम्भारका लागि पठाइने अपारदर्शी चक्र, सम्बन्धित कम्पनीसँग शंकास्पद सम्झौता, नवीकरण, इन्जिन भाडामा लिँदा हुने घाटाको पर्याप्त लेखाजोखाबारे प्रश्नकै बीच जहाज भने आइपुगेको हो। 

करिब २ वर्ष १० दिनपछि मर्मत भइ नेपाल आएको हो। इन्जिन २०८० साल पुस २६ गते इन्जिन मर्मत (ओभरहल) का लागि काठमाडौंबाट इजरायल उडेको थियो। न्यारोबडी जहाजमा २ वटा इन्जिन हुनेमा करिब २ वर्षदेखि एउटा इन्जिन भाडाको थियो। कुनै पनि जहाजको करिब ६ देखि ८ वर्षमा इन्जिन मर्मत गर्नुपर्ने नियमित प्रक्रिया हो। उक्त जहाज किनेदेखि पहिलोपटक इन्जिन मर्मत गर्न पठाइएको थियो।

लिजसहितको इन्जिन फिर्ता गरी निगमकै इन्जिन हालेर ल्याउन यही पुस १४ गते उक्त जहाज दुबई हुँदै इजरायल गएको निगमका प्रवक्ता (प्राविधिकतर्फ) देवेन्द्र पुन बताउँछन्। जहाज २८ डिसेम्बर २०२५ मा काठमाडौंबाट दुबई हुँदै तेलहवी इजरायल गएको हो। उक्त जहाज १ सय २८ यात्रु लिएर काठमाडौं– दुबईको नियमित उडान भर्दै इजरायल पुगेको थियो। प्रवक्ता पुनका अनुसार जहाज माघ ५ गते राति दुबईबाट काठमाडौं आइपुगेको छ। 

किन लाग्यो २ वर्षभन्दा बढी समय ? 
निगमको न्यारोबडी (नाइनएन–एकेएक्स) जहाजको एउटा इन्जिनमा समस्या आएपछि २०८० साल मंसिर १४ गते (नोभेम्बर ३०, २०२३) काठमाडौं विमानस्थलमा नै ग्राउन्डेड भएको थियो। त्यही वर्षको पुस २६ गते उक्त जहाजको इन्जिन मर्मतका लागि इजरायल पठाइयो। इजरायली जहाज मर्मत सम्भार कम्पनी (आईएआई) र निगमबीच ६ (४ वर्ष र २ वर्षको नवीकरणसहित) वर्षको सहमति छ। निगम व्यवस्थापनले न्यारोबडी जहाजको इन्जिन मर्मत–ओभरहल तथा भाडामा लिन इजरायल एरोस्पेस इन्डस्ट्रिज (आईएआई)सँग २०८० साल भदौतिर सम्झौता गरेको थियो।  

जहाजको इन्जिन बनाउन व्यवस्थापनले विलम्ब गर्दा र आफैं तल पर्ने गरी सम्झौता नवीकरण गरेको कारण बढी घाटा व्यहोर्नुपरेको दाबी निगम स्रोतको छ। तत्कालीन व्यवस्थापनले इजरायली कम्पनीसँग मिलेमतोमा जहाज बनाउन ढिलो गर्दै अस्वाभाविक भुक्तानी गरेको दाबी स्रोतको छ। उक्त समयमा पनि नाइनएन–एकेएक्स जहाजको अर्को इन्जिन बिग्रिएर जहाज ग्राउन्डेड नै थियो। इजरायली कम्पनीले सम्झौतापछि भाडामा इन्जिन दिएको थियो। केही समय इञ्जिन ल्याएर न्यारोबडी उडाइयो। तर, २०८० मंसिर १४ गते फेरि अर्को इन्जिन (अहिले मर्मत भएर आएको) पनि बिग्रिएर जहाज ग्राउन्डेड भयो। उक्त इन्जिन मर्मतका लागि १ महिना १२ दिनपछि मात्रै जहाजलाई इजरायल पठाइएको थियो। 

२०८० पुस २६ गते इजरायल गएको जहाज २०८१ वैशाख १६ गतेमात्र भाडाको इन्जिन हालेर काठमाडौं फर्किएको थियो। भाडाका इन्जिन पनि नपाउँदा उक्त जहाज करिब ५ महिना ग्राउन्डेड भएको निगमका एक निर्देशक नाम नबताउने शर्तमा जानकारी दिन्छन्। त्यही ५ महिनाको अवधिको छुट दिन इजरायली कम्पनीले नमानेपछि इन्जिन मर्मत भएर आउन समय लागेको ती अधिकारी बताउँछन्। आइएआईसँग जहाजको इन्जिन छिटो बनाउन ताकेता गर्नुपर्नेमा पूरक सम्झौता गरिएको थियो। 

त्यसमा ढिलोगरेबापत ५ प्रतिशत मात्र क्षतिपूर्ति पाउने व्यवस्था थप थियो। निगमलाई घाटा हुने गरी उक्त सम्झौता भएपछि उक्त इन्जिनलाई उतै लुकाइएको थियो। मर्मतका लागि उक्त कम्पनीसँग सुरुमा ७७ लाख डलर लाग्ने उल्लेख थियो। पछि उक्त रकम बढेर ९४ लाख डलर पुगेको स्रोतको दाबी छ। त्यस्तै, तत्कालीन अध्यक्ष अधिकारीले आफ्नै अग्रसरतामा इन्जिन बनाउने र अर्को इन्जिन लिजमा ल्याउने दुवै काम एकै कम्पनीलाई दिलाएका थिए। त्यसो हुँदा मर्मत गर्ने काममा योजनाबद्ध ढंगले ढिलाइ भएको र त्यसमा आर्थिक चलखेल भएको हुनसक्ने दाबी स्रोतको छ।

प्रवक्ता पुन भने निगममा अनलाइनमार्फत धेरैपटक उक्त कम्पनीसँग वार्ता भए पनि सफल हुन नसक्दा इन्जिन रोकिएको दाबी गर्छन्। ‘इजरायली कम्पनीले वारजोन भएको हुँदा नियमित सामान डेलिभरि समयमा हुन नसकेकाले ढिला भएको बताएको थियो। २०८० पुस २६ गते पु¥याएको हाम्रो इन्जिन कम्पनीले २०८२ असारतिर मात्रै मर्मत गरिसकेको हो,’ पुनले जानकारी दिए। 

१० लाख डलर छुट के हो ? 
इन्जिन मर्मत कम्पनीले समयमा नै इन्जिन मर्मत नगर्दा करिब ५ महिना उक्त जहाज ग्राउन्डेड भयो। एउटा विमान एक दिन ग्राउन्डेड हुँदा निगमलाई झन्डै १ करोड घाटा हुन्छ। त्यसअनुसार निगमको उक्त न्यारोबडी जहाज करिब ५ महिना ग्राउन्डेन हुँदा करिब १ अर्ब ५० करोड (५ महिनामा सरदर ३० दिनको हिसाबले ५ गुणा गरी फेरि १ करोड घाटा रकमले गुणा गर्दा निस्किएको) घाटा भएको छ। 

भाडाको इन्जिन चलाउन बाध्य पारिएको, ५ महिना जहाज ग्राउन्डेड गरिएको र तोकिएको समय (इजरायली कम्पनी र निगमबीच भएको सम्झौतामा करिब ६५ दिनमा इन्जिन मर्मत गरिसक्नु पर्ने उल्लेख) मा मर्मत नगरिएको कारणले निगमले क्षतिपूर्ति दाबी माग गरेको हो। अनलाइनबाट छलफल गरी समस्या समाधान हुन नसकेपछि निगमबाट वार्ताटोली नै इजरायल गएको थियो। 

इन्जिन मर्मत तथा भाडा खर्चसम्बन्धी विषयमा निगम र इजरायलस्थित आइएआईबीच मौजुदा रहेको सम्झौताको आधारमा वार्ताको माध्यमबाट समझदारी सम्पन्न भएको थियो। 

इन्जिन सट्टापट्टा गर्ने सम्झौतासँगै करिब १० लाख अमेरिकी डलर छुट दिनेमा पनि उक्त कम्पनीले सहमति जनाएको थियो। निगमका अधिकारीका अनुसार कुल ३७ लाख डलर खर्चमा निगमले करिब २७ लाख डलर मात्र इजरायली कम्पनीलाई बिल तिरेको छ। करिब १० लाख डलर ५ महिना ग्राउन्डेड अवधिको छुट पाएको निगमका एक निर्देशक बताउँछन्।

त्योसँगै इजरायलमा गरिएको निगमको जहाजको ग्राउन्डह्यान्डलिङ, पार्किङलगायत इन्जिन जडान शुल्क पनि कम्पनीले छुट दिने बताएको उनले भने। यता, करिब २ वर्ष इन्जिन मर्मतका लागि समय लाग्दा हाम्रो इन्जिन आवर र साइकल सेभिङ भएको प्रवक्ता पुनले जानकारी दिए। शंकास्पद तरिकाले मर्मतका नाममा इन्जिन लुकाएपछि वर्तमान प्रधानमन्त्री सुशीला कार्कीले यसमा विशेष चासो राखेकी थिइन्। संस्कृति एवं पर्यटनमन्त्री अनिलकुमार सिन्हाले समेत निगमका वर्तमान पदाधिकारीलाई पटक पटक बोलाएर इन्जिन नेपाल फर्काउन निर्देशन दिएका थिए। 

वाइडबडीको पनि इन्जिन मर्मतको समय नजिकिँदै
निगमसँग २ वटा वाइडबडी पनि छ। ती दुवै जहाजको यही जुलाइ/अगस्ट (२०८२ साल साउन) तिर इन्जिनको मर्मत गर्नुपर्ने छ। यसका लागि केही दिनमा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिने प्रवक्ता पुनले बताए। तर, वाइडबडीको इन्जिन मर्मतका लागि कम्पनी छनौट गर्दा लिजमा लिने र मर्मत गर्ने गरी एकै कम्पनीलाई नदिने निगमका एक निर्देशकले जानकारी दिए। ‘न्यारोबडीको सवालमा इन्जिन लिजमा लिने र मर्मत पनि गर्न दिँदा धेरै समय लाग्यो। 
सर्तअनुसार नै दिइएको हो। यसबाट पाठ सिकेर अब भने इन्जिन लिजका लागि छुट्टै कम्पनी र मर्मतका लागि छुट्टै कम्पनीलाई जिम्मा दिने तयारी गरिएको छ,’ ती निर्देशकले बताए। इन्जिन भाडामा लिनुभन्दा नयाँ इन्जिन किन्न फाइदा भएको भन्दै उनले भने। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.