election background

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसको टिकट वितरणमा सकस

कांग्रेसको टिकट वितरणमा सकस

काठमाडौं : कांग्रेसका पार्टी सभापति गगन थापाले २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनको लागि धमाधम उम्मेदवार टुंग्याउँदै छन्। विशेष महाधिवेशनबाट निर्वाचित थापाले टिकट वितरणमा भने सबै पक्षलाई समेट्ने प्रयासमा छन्। 

सभापति भएलगत्तै उनले आफ्नै हस्ताक्षरमा टिकट बाँडेका छन्। यसअघि राष्ट्रियसभा र समानुपातिकतर्फ भने निवर्तमान सभापति शेरबहादुर देउवाले टिकट टुंग्याएका थिए। एक पदाधिकारीले भने, ‘अधिकांश हिमाली र उच्च पहाडी जिल्लाका कांग्रेस उम्मेदवार टुंगिसकेका छन्। बिहानसम्म करिब तय हुन्छ।’ 

पूर्वसभापति शेरबहादुर देउवा र डा. शेखर कोइराला समूहलाई समेत मिलाएर टिकट दिने भइरहेको छ। सकेसम्म सन्तुलन मिलाएरै टिकट वितरण गर्ने तयारीमा सभापति थापा लागेको उनीनिकट स्रोतले जानकारी दिएको छ। कांग्रेस अछामले उम्मेदवारको टुंगो लगाएको छ। अछाम १ मा कांग्रेस अछामका पूर्वजिल्ला सभापति भरतकुमार स्वाँर र क्षेत्र नम्बर २ मा पार्टीका जिल्ला सभापति पुष्पपबहादुर शाह उम्मेदवार तय भएका छन्।

कांग्रेसले इलाम १ मा निश्कल राईलाई उम्मेदवार बनाएको छ। गुल्मी १ मा कांग्रेसले चन्द्र भण्डारीलाई उम्मेदवार बनाएको छ। काठमाडौं ३ मा दुजाङ शेर्पालाई उम्मेदवार बनाएको छ। उनी नेविसंघका सभापति हुन्। रसुवामा मोहन आचार्यलाई उम्मेदवार बनाएको छ। उनी यसअघि पनि संघीय सांसद थिए। 

अछामको स्वाँर कांग्रेसको विशेष महाविशनको पक्षमा खुलेका थिए भने शाह शेरबहादुर देउवाको पक्षमा खुलेका थिए। सभापति गगन थापा पक्षका स्वाँर र देउवा पक्षका शाह गरी दुवैलाई टिकट दिएपछि अछाममा पार्टी फुटको चरणबाट जोगिएको भनिएको छ। २०३३ सालदेखि कांग्रेसको राजनीति सुरु गरेका स्वाँर एक पटक जिल्ला विकास समितिको सभापति र पार्टीको जिल्ला सभापति भएका छन्। २०७४ को प्रतिनिधिसभा निर्वाचनमा अछाम १ बाट उम्मेदवार बनेका स्वाँर तत्कालीन एमालेका उम्मेद्वार भीम रावलसँग पराजित भएका थिए। स्वाँर दोस्रोपटक प्रतिनिधिसभा उम्मेदवार भएका छन्।

कांग्रेसका नेता सुनील शर्मा मोरङ ३ बाट चुनाव लड्ने भएका छन्। उनले मोरङ ३ को टिकट पाएका हुन्। विशेष महाधिवेशनमा पुगेर सम्बोधनसमेत गरेका उनी नेतृत्व चयनको समयमा भने थिएनन्। उनी त्यही समयमा सानेपामा भएको बैठकमा पनि सहभागी थिए। पछिल्लो समय भने उनले निर्वाचन आयोगले गगन थापा नेतृत्वको समितिलाई नै आधिकारिकता दिएपछि कांग्रेसीहरू एक भएर अगाडि बढ्नुपर्ने भन्दै अभिव्यक्ति दिएका थिए। 
कांग्रेसले आसन्न निर्वाचनमा रोल्पाबाट अर्थविद् डा. सुदनकुमार वलीलाई उम्मेदवार बनाउने भएको छ। ३३ वर्षीय वली लुम्बिनी प्रदेश योजना आयोगका सदस्य हुन्। पार्टीले टिकट दिने निश्चित भइसकेपछि उनले राजीनामा गरेका छन्।

बाजुरामा कांग्रेसले जनक गिरीलाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। २०५६ सालको निर्वाचनमा एमालेका कर्ण थापालाई पराजित गर्दै सांसद बनेका गिरी भूमिसुधार सहायक मन्त्रीसमेत भएका थिए। हालै सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका छन्। रूकुमपूर्वबाट निवर्तमान सांसद कुसुम थापा मगरलाई उम्मेदवार बनाउने भएको छ। यो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका संयोजक दाहाल चुनाव लड्दै छन्। 

हुम्लामा जयपति रोकायलाई टिकट दिएको छ। उनि हुम्लाका पूर्वजिल्ला सभापति हुन्। यस्तै, मुगुमा खड्गबहादुर शाहीले टिकट पाएका छन्। डोल्पामा कर्णबहादुर बुढाले टिकट पाउँदा कालीकोटमा हर्ष बमले टिकट पाएका छन्। जुम्लामा दीपबहादुर शाहीले टिकट पाएका छन्। 
यस्तै, दैलेख १ मा दिक्पाल शाही तथा २ मा बासना थापाले टिकट पाएका छन्। सल्यानमा केशबहादुर विष्टले पाएका छन्। प्युठानमा डा. शेखर कोइराला निकटका नेता डा. गोविन्दराज पोखरेलले टिकट पाएका छन्। ताप्लेजुङमा गजेन्द्र तुम्याहाङ र तेह्रथुममा सन्तोष सुब्बाले टिकट पाएका छन्। सन्तोष विशेष महाधिवेशनका पक्षधर हुन्। धनकुटामा दिनेश राईले टिकट पाएका छन्। 

दार्चुलाबाट धर्मानन्द जोशीलाई प्रतिनिधिसभा उम्मेदवार बनाएको छ। कांग्रेस नेता दिलेन्द्रप्रसाद बडुले प्रतिनिधिसभा सदस्य निर्वाचन नलड्ने घोषणा गरेपछि आइतबार जिल्लाबाट ४ जनाको नाम पार्टीको केन्द्रीय कार्यालयमा सिफारिस गरिएको थियो।
संयुक्त राष्ट्रसंघ अन्तर्गतका निकायमा काम गरेको अनुभव संगालेका जोशीलाई सभापति थापाले दार्चुलाको उम्मेदवार बनाएका हुन्। उनी राष्ट्रसंघबाट राजीनामा दिएर निर्वाचन लड्न आएका हुन्। 

कांग्रेसले डोटीबाट भरतबहादुर खड्कालाई प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेको छ। खड्का २०७० सालमा समानुपातिक सांसद हुन भने २०७४ मा प्रदेश क्षेत्र नम्बर ‘क’ बाट निर्वाचित प्रदेशसभा सदस्य हुन्।
कैलालीका पाँचवटै क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ। क्षेत्र नम्बर १ मा जनकराज चौधरी, २ मा विजय स्वाँर र ३ मा भीम बडुवालले टिकट पाएका छन्। 
यस्तै, प्रतिनिधिसभा क्षेत्र नम्बर ४ मा प्रदेश सभापति वीरबहादुर बलायरलाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको छ। क्षेत्र नम्बर ५ मा नरनारायण शाह मनुले टिकट पाएका छन्। उक्त क्षेत्रबाट आरजु राणा देउवा चुनाव लड्ने चर्चा थियो। 

कांग्रेसले गोरखाको क्षेत्र नम्बर १ र २ का लागि उम्मेदवार चयन गरेको छ। पार्टीको तल्ला समितिको सिफारिसका आधारमा संसदीय बोर्डले उम्मेदवार चयन गरेको हो। क्षेत्र नम्बर १ म प्रेमकुमार खत्री र क्षेत्र नम्बर २ मा प्रकाशचन्द्र दवाडीले टिकट पाएका छन्। खत्री महाधिवेशन तथा महासमिति सदस्य हुन् भने दवाडी गण्डकी प्रदेशका पूर्वसांसद हुन्। 
कांग्रेसले ओखलढुंगामा रामहरि खतिवडालाई उम्मेदवार बनाउने भएको छ। आफूलाई पार्टीले टिकट दिएको खतिवडाले पनि जानकारी दिए। खतिवडा यस अघिको निर्वाचनमा पनि ओखलढुंगाबाट निर्वाचित भएका थिए।

कांग्रेसले दाङको क्षेत्र नम्बर १ मा सहमहामन्त्री योगेन्द्र चौधरीलाई उम्मेदवार बनाएको छ। चौधरी विशेष महाधिवेशनमा थारू क्लस्टरबाट सहमहामन्त्री बनेका थिए। त्यस्तै दाङको क्षेत्र नम्बर २ मा किरणकिशोर घिमिरे उम्मेदवार बनाइएका छन। घिमिरे पहिलो पटक निर्वाचनमा होमिन लागेका हुन्। 

यसबैबीच कांग्रेसले देउवा पक्षले हालेको रिट निवेदन फिर्ता गराउने प्रयास पनि गरिरहेको छ। तर, नेता पूर्णबहादुुर खड्काले आफू कुनै टिकट वितरण, बैठक र प्रक्रियामा सहभागी नभएको भन्दै त्यस्तो सम्भावना नरहेको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.