सुनसरीका चारवटै क्षेत्रमा कांग्रेस टुङ्यायो उम्मेदवार
सुनसरी : नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरी जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्ग्याएको छ । उम्मेदवार सार्वजनिक भएसँगै कांग्रेस पार्टीभित्र उत्साहसँगै असन्तोष पनि देखिन थालेको छ ।
सुनसरी क्षेत्र नम्बर–१ बाट कांग्रेसले क्षेत्रीय सभापति सुरेन्द्र तामाङलाई उम्मेदवार बनाएको छ । तामाङ कांग्रेसका नयाँ अनुहार हुन् । संगठनमा लामो समयदेखि सक्रिय रहँदै आएका तामाङलाई पार्टीले नयाँ नेतृत्वका रूपमा अघि सारेको देखिन्छ। नयाँ उम्मेदवार भएकाले तामाङको उम्मेदवारीलाई चुनौतीपूर्ण तर सम्भावनायुक्त रूपमा हेरिएको छ ।
सुनसरी क्षेत्र नम्बर–२ बाट केन्द्रीय सदस्य शेखर कोइराला कांग्रेसको उम्मेदवार बनेका बनेका छन् । यस क्षेत्रमा अर्का नेता राजिव ढुंगानाको नाम पनि बलियो रूपमा चर्चामा रहेको थियो । तर पार्टीको आन्तरिक विवादमा ढुंगाना शेरबहादुर देउवा पक्षमा लागेपछि कोइरालाले टिकट प्राप्त गरेका छन् । राजीव कोइराला पार्टीभित्र इमानदार र सिधा नेताका रूपमा चिनिँदै आएका छन् ।
सुनसरी क्षेत्र नम्बर–३ बाट कांग्रेसले पुनः विजयकुमार गच्छदारलाई उम्मेदवार बनाएको छ । गच्छदार यस क्षेत्रका अनुभवी र प्रभावशाली नेता हुन् । यसपटक पनि उनले एमाले नेतृ भगवती चौधरीसँग पुनः प्रतिस्पर्धा गर्ने भएका छन्। गच्छदार र चौधरीबीचको चुनावी भिडन्त विगतमा पनि निकै चर्चित रहँदै आएको थियो । जसले यस क्षेत्रको चुनावलाई फेरि रोचक बनाउने देखिएको छ ।
सुनसरी क्षेत्र नम्बर–४ बाट कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई पुनः टिकट दिएको छ । कार्की भोजपुरका बासिन्दा हुन् । उनलाई सुनसरीबाट उम्मेदवार बनाइएपछि पार्टीभित्रै असन्तोष र विद्रोह चुलिएको छ । स्थानीय नेता तथा कार्यकर्ताले बाहिरी जिल्लाका उम्मेदवारलाई टिकट दिएको भन्दै असहमति जनाएका छन् । जसका कारण सुनसरीमा कांग्रेसभित्र विद्रोहको सुरुआत भएको चर्चा छ । कार्कीले यस क्षेत्रमा आफ्नै कार्यकर्ता अबुल हुसैन अन्सारीसंग चुनाव लडनु पर्ने भएको छ । अबुल कांग्रेस छाडेर एमाले प्रवेश गरि कार्कीसँग चुनाव लडने भएका छन् ।
उम्मेदवार टुङ्गिएसँगै नेपाली कांग्रेस सुनसरीमा चुनावी तयारीमा जुटेको भए पनि टिकट वितरणबाट उत्पन्न असन्तोष र आन्तरिक मतभेद व्यवस्थापन गर्नु पार्टीका लागि ठूलो चुनौती बनेको कार्यकर्ताहरुको भनाई छ ।
प्रतिक्रिया दिनुहोस !