तेलले तताएको विश्व राजनीति
अमेरिकी सेनाले मादुरोलाई देशभित्रै घुसपैठ गरेर नियन्त्रणमा लिएपछि विश्व राजनीति तातेको छ।
तेल नै भेनेजुएलाको मुख्य राजस्व स्रोत भएकाले तेल व्यापारमा रोक लगाएर अमेरिकी राष्ट्रपति ट्रम्टले सरकारी आम्दानी घटाउने, आर्थिक संकट गहिरो बनाउने र अन्तत: मादुरो सरकारलाई कमजोर पार्ने रणनीति अपनाइएको देखिन्छ।
अमेरिकी सेनाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई देशभित्रै घुसपैठ गरेर नियन्त्रणमा लिएको घटनाले विश्व राजनीति तताएको छ। यस्तो हस्तक्षेपलाई चीनले ‘शक्ति दुरुपयोग गर्दै अर्काको आन्तरिक मामिलामा हस्तक्षेप गर्ने शैली’ भन्दै कडा शब्दमा आलोचना गरेको छ। चीनले यसलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन र भेनेजुएलाको सार्वभौमिकतामाथिको आक्रमणको रूपमा व्याख्या गर्दै औपचारिक रूपमा निन्दा पनि गरेको छ।
भेनेजुएला विश्वका प्रमुख इन्धन उत्पादक मुलुकमध्ये एक हो भने चीन विश्वकै सबैभन्दा ठूलो इन्धन खरिदकर्ता हो। यही कारण चीनले अमेरिकी हस्तक्षेपको सबैभन्दा पहिला र तीव्ररूपमा विरोध गरेको देखिन्छ। चीनले यस्तो सैन्य हस्तक्षेपले क्षेत्रीय शान्ति र सुरक्षालाई गम्भीर जोखिममा पार्ने चेतावनी दिँदै तत्काल कारबाही रोक्न आग्रह गरेको छ। साथै, राष्ट्रपति मादुरो र उनकी पत्नीलाई रिहा गर्न पनि चीनले माग गरेको छ।
चीनको प्रतिक्रिया आउनुअघि नै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाका इन्धन खानीहरू अमेरिकी सेनाको नियन्त्रणमा लिने र तेल कारोबार आफैं गर्ने चेतावनी दिइसकेका थिए। यही अभिव्यक्तिले अमेरिकी उद्देश्य केवल राजनीतिक नभई ‘इन्धन युद्ध’ पनि हुन सक्ने आशंकालाई थप बल दिएको छ। यही रणनीति बुझेरै चीनले विश्वका प्रमुख तेल उत्पादक मुलुकमध्ये एकमाथि अमेरिकी नियन्त्रणको आलोचना गर्दै खुला रूपमा ‘इन्धन युद्ध’को विरोधमा उत्रिएको देखिन्छ।
अमेरिकी तेल कम्पनीको प्रवेश तयारी : राष्ट्रपति मादुरोलाई अपदस्थ गरेपछि भेनेजुएलामा तेल उत्पादन बढाउने विषयमा छलफल गर्न ट्रम्प प्रशासनले यसै साता अमेरिकी ठूला तेल कम्पनीका कार्यकारीहरूसँग भेटघाट गर्ने तयारी गरेको विभिन्न सञ्चारमाध्यमहरूले जनाएका छन्। यसैबाट करिब दुई दशकपछि अमेरिकाले भेनेजुएलामा आफ्ना ऊर्जा कम्पनीहरू पुनस्र्थापित गर्न खोजिरहेको स्पष्ट संकेत देखिन्छ। दक्षिण अमेरिकी राष्ट्र भेनेजुएलामा करिब दुई दशकअघि त्यहाँको सरकारले अमेरिकी नेतृत्वमा रहेका ऊर्जा सञ्चालनहरू राष्ट्रियकरण गरेको थियो। त्यसको बदलामा अहिले अमेरिका आफ्ना शीर्ष तेल कम्पनीहरू, एक्सन मोबिल, कोनोकोफिलिप्स र सेभ्रोन लाई पुन: भित्र्याउने पक्षमा देखिएको छ। ट्रम्पले राष्ट्रपतिलाई अपदस्थ गर्नुअघि नै सबै अमेरिकी तेल कम्पनीहरूसँग यस विषयमा छलफल भइरहेको बताएका थिए।
भेनेजुएला पूर्वओपेक सदस्य राष्ट्रसमेत हो, जसको कच्चा तेल विशेष रूपमा अमेरिकी रिफाइनरीहरूमा प्रशोधन गर्न मिल्ने खालको छ। यस्तो अवस्थालाई अमेरिकी तेल उद्योगहरूले ‘सुनौलो अवसर’का रूपमा हेर्न सक्ने सम्भावना प्रबल छ। ह्वाइट हाउसकी प्रवक्ता टेलर रोजर्सले एक अन्तर्राष्ट्रिय समाचार एजेन्सीलाई भनेकी छन्, ‘हाम्रा सबै तेल कम्पनीहरू भेनेजुएलामा ठूलो लगानी गर्न तयार र इच्छुक छन्। उनीहरूले अवैध मादुरो शासनले नष्ट गरेको तेल पूर्वाधार पुनर्निर्माण गर्नेछन्।’ भेनेजुएलाको विशाल तेल भण्डारमा पहुँचको सम्भावनासँगै सोमबारदेखि अमेरिकी तेल कम्पनीहरूको सेयर मूल्यसमेत उकालो लागेको छ।
सैन्य हस्तक्षेप र नाकाबन्दीको पृष्ठभूमि : ३ जनवरीको मध्यरातमा भेनेजुएलाको राजधानी काराकासमा आकस्मिक छापा मार्दै अमेरिकी सेनाले राष्ट्रपति मादुरोलाई पक्राउ गरी लागूऔषध र आतंकवादसम्बन्धी अभियोगमा अमेरिकामा लग्यो। मादुरो पक्राउ परेपछि केही घण्टामै ट्रम्पले अमेरिकी तेल कम्पनीहरूले अर्बौं डलर लगानी गरेर भेनेजुएलाको तेल उत्पादन बढाउने अपेक्षा व्यक्त गरेका थिए।
हाल भेनेजुएलामा सेभ्रोनमात्र ठूलो अमेरिकी कम्पनीका रूपमा सञ्चालनमा छ, जसले दैनिक करिब १ लाख ५० हजार ब्यारेल कच्चा तेल अमेरिकी गल्फ कोस्टमा निर्यात गर्दै आएको छ। अब अमेरिका थप कम्पनीहरू भित्र्याउने तयारीमा देखिन्छ। यद्यपि भेनेजुएला माथिको तेल प्रतिबन्ध भने पूर्ण रूपमा कायमै रहेको ट्रम्पले बताएका छन्। अमेरिकाको भनाइअनुसार भेनेजुएलाको नेतृत्व र त्यससँग सम्बन्धित केही समूह ड्रग तस्करी, आतंकवाद र मानव तस्करीजस्ता संगठित अपराधमा संलग्न छन्। तेलबाट आएको आम्दानी यस्ता गतिविधिमा प्रयोग हुने भएकाले आर्थिक स्रोत काट्न नाकाबन्दी आवश्यक भएको तर्क अमेरिका गर्छ।
इन्धन युद्ध कि भू–राजनीतिक संघर्ष ? : तेल नै भेनेजुएलाको मुख्य राजस्व स्रोत भएकाले तेल व्यापारमा रोक लगाएर सरकारी आम्दानी घटाउने, आर्थिक संकट गहिरो बनाउने र अन्तत: मादुरो सरकारलाई कमजोर पार्ने रणनीति अपनाइएको देखिन्छ। आर्थिक दबाबले काम नगरेपछि अमेरिका सैन्य हस्तक्षेपमा उत्रिएको विश्लेषण पनि छ। भेनेजुएलाले पछिल्ला वर्षहरूमा चीन र रूससँग नजिकको नीति अपनाउँदै आएको थियो। यही कारण अमेरिका आफ्नो प्रभाव क्षेत्रमा चीन र रूसको प्रभाव घटाउन चाहन्थ्यो भन्ने तर्क बलियो बन्दै गएको छ। यस अर्थमा भेनेजुएला शक्ति सन्तुलनको लडाइँको केन्द्र बनेको देखिन्छ। विश्लेषकका अनुसार अमेरिका चीनलाई पूर्ण रूपमा तेल आपूर्तिबाट काट्नेभन्दा पनि क्रमिक रूपमा निर्भरता घटाउँदै दबाब सिर्जना गर्ने रणनीतिमा जान सक्छ।
पहिले स्पेनको उपनिवेश, अहिले अमेरिकी दबाब : प्रत्यक्ष रूपमा अमेरिकी दबाबमा पुगेको भेनेजुएला पहिले स्पेनको उपनिवेश थियो। १९१० को दशकभन्दा पहिले त्यहाँ स्पेनले शासन चल्थ्यो। १८११ फेब्रुअरी ५ मा पहिलो पटक आंशिक रूपमा स्वतन्त्र भएको थियो। तर पूर्ण रूपमा स्वतन्त्र हुन लामो संघर्ष भयो। सिमोन बोलिभरको नेतृत्वमा लामो स्वतन्त्रता युद्धपछि १८२१ मा मात्र स्पेनको शासनबाट मुक्त भएको हो। अनिमात्रै पूर्ण स्वतन्त्रता प्राप्त गरेको थियो। अब फेरि भेनेजुएलाको शासन अमेरिकी सैनिकको नालबाट सञ्चालन हुन सक्ने अवस्थामा पुगेको छ। यसका छिमेकी उत्तरमा क्यारिबियन समुद्र, पश्चिममा कोलम्बिया, दक्षिणमा ब्राजिल र पूर्वमा गुयाना छन्। उनीहरू अहिलेको अवस्थालाई टुलुटुलु हेरिरहेका छन्।
समुद्रमा इन्धन बोकेमा जहाज कब्जा : भेनेजुएलाबाट इन्धन युद्धको सुरुवात भइरहेको आकलन गरिएकै बेला अमेरिकाले क्यारिबियन सागरमा रातारात तेल ट्यांकर नियन्त्रणमा लिन थालेको छ। एक सातायता पाँचौं जहाज नियन्त्रणा लिइसकेको छ। ट्रम्प प्रशासनले भेनेजुएलाको तेल निर्यात पूर्ण रूपमा रोक्न र आफूले प्रतिबन्ध छल्ने गतिविधिले भरिएको बताएको समुद्री व्यापारमाथि नियन्त्रण स्थापित गर्न थालेको कडा अभियानलाई अझ तीव्र बनाएको देखाउँछ।
पछिल्लो रणनीति : एकातिर सैनिक पठाउने अमेरिकी राष्ट्रपति ट्रम्पले अर्कातिर दक्षिण अमेरिकी मुलुक भेनेजुएलाले सहकार्य गरे त्यहाँ गर्ने भनिएको दोस्रो चरणको सैन्य आक्रमण रद्द गर्न सक्ने बताएका छन्। भेनेजुएलाले ठूलो संख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्न थालेका बेला उनको यस्तो भनाइ सार्वजनिक भएको हो। यस्तो भनाइले पनि अमेरिका आफ्नो राजनीतिक हस्तक्षेप र सैन्य दबाब कायम नै राख्न चाहेको प्रस्ट पार्छ। ‘अमेरिका र भेनेजुएला अहिले राम्रोसँग सहकार्य गरिरहेका छन्। विशेषगरी तेल र ग्यास पूर्वाधारलाई अझ ठूलो, राम्रो र आधुनिक स्वरूपमा पुनर्निर्माण गर्ने सन्दर्भमा’ ट्रम्पले आफ्नो सामाजिक सञ्जाल टुर्थ सोसलमा लेखेका छन्। यो सामाजिक सञ्जाल उनैले स्थापना गरेका हुन्।
थप लेखेका छन्,‘यस सहकार्यका कारण पहिले अपेक्षित दोस्रो चरणको आक्रमण रद्द गरेको छु। अब त्यसको आवश्यकता पर्ने देखिँदैन। तर सुरक्षा र सुरक्षित प्रयोजनका लागि सबै जहाज भने यथास्थानमै रहनेछन्।’ यस्ता भनाइ र व्यवहारले भेनेजुएलालाई राजनीतिक, आर्थिक र सैन्य दबाबमा राखिरहने रणनीतिमा अमेरिकी ट्रम्प प्रशासन देखिएको छ। जसले भेनेजुएलाबाट इन्धन युद्धको सूरुवात भएकोतर्फ संकेत गर्छ।
भेनेजुएलापछि ग्रिनल्यान्डतर्फ
ट्रम्पले भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना माचाडोलाई ह्वाइट हाउसमा आमन्त्रण गरेका छन्। यसको उद्देश्य तेल–सम्पन्न भेनेजुएलाको भविष्यबारे उच्चस्तरीय वार्ता गर्नु हो। यस क्रममा ट्रम्पले अमेरिका नै भेनेजुएलालाई ‘चलाउने’ भन्ने आफ्नो जिद्दीबाट पछि नहटेको देखिन्छ। यसबीच, ट्रम्पले उत्तर अमेरिकी क्षेत्रमा पर्ने अर्को भू–भाग ग्रिनल्यान्डलाई अमेरिकामा गाभ्ने धम्की दिएका छन्।
ग्रिनल्यान्ड पनि तेल र ग्यासको ठूलो सम्भावना तथा दुर्लभ खनिज स्रोतले धनी क्षेत्र मानिन्छ। अमेरिकी ऊर्जा सुरक्षा रणनीतिको मूल उद्देश्य चीन र रूसलाई यस्ता रणनीतिक क्षेत्रतर्फ प्रभाव विस्तार गर्नबाट रोक्दै भविष्यका तेल तथा खनिज स्रोतहरू आफ्नो नियन्त्रणमा राख्नु हो। आर्थिक युद्ध जित्न अमेरिकाले सैन्य शक्ति प्रयोगको संकेत दिनसमेत पछि नहटेको देखिन्छ।
त्यसैले, भेनेजुएलापछि ग्रिनल्यान्डतर्फ ट्रम्पको ध्यान जानु संयोग होइन, बरु यसलाई ऊर्जा, स्रोत र समग्र शक्ति नियन्त्रणतर्फ उन्मुख दीर्घकालीन रणनीतिक कदमका रूपमा हेर्न सकिन्छ।
प्रतिक्रिया दिनुहोस !