पुस्तान्तरण कांग्रेसमा, परकम्पन अरू दलमा
काठमाडौं : दुई दशकदेखि नेपाली कांग्रेसमा निरन्तर पुस्तान्तरणको आवाज उठाइरहेका गगनकुमार थापा अन्ततः पार्टीको नेतृत्वमा पुग्न सफल भएका छन्। विशेष महाधिवेशनमार्फत थापाको नेतृत्वमा बनेको केन्द्रीय समितिलाई निर्वाचन आयोगले मान्यता दिएसँग उनी सबैभन्दा पुरानो दलको सर्वोच्च पदमा पुगेका हुन्।
आगामी दिनमा सर्वाेच्च अदालतले अन्यथा निर्णय गरेन भने अब पार्टीको नियमित महाधिवेशनमार्फत नयाँ नेतृत्व चयन नहुँदासम्म थापाले कांग्रेसको नेतृत्व गर्ने छन्। नियमित महाधिवेशनपछि पनि पुस्तान्तरणबाट पछाडि फर्कन त्यति सहज छैन। लामो समयदेखि सबै दलमा पुस्तान्तरणको विषय उठे पनि त्यो सफल हुन सकेको थिएन्। तर, भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले ३ महिनामा नै त्यसलाई सफल बनाइदियो।
जेन–जी आन्दोलन लगत्तै मूलतः नेकपा एमाले, नेपाली कांग्रेस र माओवादी केन्द्रमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरण विषय जोडतोडका साथ उठ्यो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीको मागलाई सामसुम पार्नका लागि केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजना गरेर आफूलाई त्यसको संयोजक घोषणा गरेर पुस्तान्तरणको विषय तत्काललाई ‘डाइभर्ट’ गरे।
उता, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन आयोजना गरेर पुनःअध्यक्षमा निर्वाचित भइसकेका छन्। कांग्रेसका सभापति शेरबहादुर देउवाले पूर्णबहादुर खड्कालाई कार्यवाहक बनाए पनि आफैंले नेतृत्व हस्तान्तरण गर्ने मौका गुमाए। ४ महिना अगाडि मात्रै जेन–जी आन्दोलनमा घाइते भएका र घरबार नै गुमाएका देउवा ४ महिनापछि पार्टीविहीनसमेत भएका छन्।
यतिबेला कांग्रेसका नेतृत्व परिवर्तन मात्र भएको छैन, पुस्तान्तरण नै भएको छ। अन्य राजनीतिक दल ७० वर्षमाथिका नेताले नेतृत्व गरिरहँदा र त्यसमाथि ठूलो समूह पनि त्यही हाराहारीमा रहिरहेको समयमा कांग्रेसमा ४९ वर्षीय गगनकुमार थापाले नेतृत्व सम्हालेका छन्। त्यसैले कांग्रेसमा देउवाबाट दोस्रोमा होइन, सिधै तेस्रो पुस्तामा नेतृत्व गएको छ जुन नेपालका राजनीतिक दलमा विरलै घटना हो।
अन्य दलमा कस्तो असर पर्ला ?
जेन–जी आन्दोलन र नेपाली कांग्रेसको पुस्तान्तरणको विषयले नयाँ राजनीतिक दलमा पनि प्रभाव परिसकेको छ। नेकपा एमाले र अन्य राजनीतिक दलले विगतको तुलनामा यसपटक नयाँ र युवा उम्मेदवारलाई अगाडि सारेका छन्।
निश्चय नै यसको पहिलो असर एमालेलाई पर्नेछ। किनभने त्यहाँभित्र नेतृत्व हस्तान्तरणको बहस रहिरहँदा ओली तेस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका छन्। पार्टीभित्र पपुलर मतका साथ निर्वाचित भएका छन्, भलै एमालेभित्रका अधिकांश युवाले ओलीलाई नै मन पराएका छन्।
प्रतिक्रिया दिनुहोस !