बाजुरामा एक स्वतन्त्रसहित ८ जनाको मनोनयन दर्ता
बाजुरा : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बाजुरामा स्वतन्त्रसहित आठ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। मङ्गलबार सदरमुकाम मार्तडीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एक स्वतन्त्र र सात राजनीतिक दलका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका हुन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार तोकिएको समयभित्र उम्मेदवारी दर्ता गराउनेहरूमा स्वतन्त्र उम्मेदवार उपेन्द्र शाही रहेका छन्। त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट हेमराज थापा, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट केशर बहादुर शाही, नेकपा (एमाले)बाट लाल बहादुर थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट दीपक कुमार डीसी, नेपाली कम्युनिस्ट पार्टीबाट प्रकाश बहादुर थापा, नेपाली काँग्रेसबाट जनक गिरी र नेपाली कम्युनिस्ट पार्टी (माओवादी)बाट भुपेन्द्र ल्वारले मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत सञ्जीव पोखरेलका अनुसार उम्मेदवार तथा सम्बन्धित राजनीतिक दलहरूलाई निर्वाचनलाई शान्त, स्वच्छ र निष्पक्ष रूपमा सम्पन्न गर्न सहयोग गर्न आग्रह गरिएको छ।
यसैबीच निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता-२०८२ को उल्लङ्घन भएको देखिएको छ। आचारसंहिता अनुसार मनोनयनपत्र पेस गर्न जाँदा वा घरदैलो कार्यक्रममा २५ जनाभन्दा बढीको जुलुस निकाल्न नपाइने, साथै बाजा, गाजा तथा झाँकीमा प्रतिबन्ध लगाइएको भए पनि केही उम्मेदवार तथा दलहरूले ती मापदण्ड पालना नगरेको देखिएको छ।
निर्वाचनलाई मर्यादित र कानुनअनुसार सम्पन्न गराउन आचारसंहिताको पूर्ण पालना गर्नुपर्ने सरोकारवालाहरूले जोड दिएका छन्।
प्रतिक्रिया दिनुहोस !