चुनावी मैदानमा यी हुन् सिरहाका उम्मेदवारहरू
सिरहा : फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि सिरहाका चार वटै क्षेत्रमा मुख्य उम्मेदवारको रूपमा कांग्रेस, एमाले, नेकपा, जसपा, जनमत र रास्वपाका उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन्।
सिरहा-१ मा नेपाली कांग्रेसका रामसुन्दर चौधरी, नेकपा एमालेका रामशंकर यादव, नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का रामचन्द्र यादव, जनता समाजवादी पार्टी (जसपा) नेपालका सत्यनारायण यादव, जनमत पार्टीका रास्वरुप चौधरी र राष्ट्रिय स्वतन्त्र पार्टीका बब्लु गुप्ता लगायतले उम्मेदवारी दर्ता गराएका छन्।
कांग्रेसले यसपटक नयाँ अनुहारको रुपमा चौधरीलाई चुनावी मैदानमा उतारेका छन्। एमालेले ०७९ मा प्रतिनिधिसभा निर्वाचनमा चुनाव जितेका उम्मेदवार यादवलाई नै फेरि दोहराएका छन् । उनले कांग्रेसका पदम नारायण चौधरीलाई पराजित गरेका थिए। एमाले-जसपा गठबन्धनबाट यादवले २९ हजार ४६२ र कांग्रेस-माओवादी-एकीकृत समाजवादी गठबन्धनबाट चौधरीले २७ हजार ३७९ मत ल्याएका थिए।
नेकपाबाट उम्मेदवार भएका रामचन्द्र यादव एमाले विभाजन हुँदा माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीमा गएका थिए। एमालेबाट उनी एक पटक सामान्य प्रशासन मन्त्री पनि भएका थिए।
जसपाका सत्यनारायण पनि एमालेबाट ०७२ को मधेस आन्दोलनमा जसपामा प्रवेश गरेका थिए । पछि उनी एमालेमै फर्केर माधव नेपालको एकीकृत समाजवादीमा लागेका थिए। केही महिनाअघि उनी फेरि जसपा नेपालमै प्रवेश गरेर प्रतिनिधिसभा चुनाव लडेका छन् । एमालेमा हुँदा युवा संघका पूर्व केन्द्रीय उपाध्यक्ष भएका उनी प्रतिनिधिसभा चुनावका नयाँ अनुहार हुन्।
यसैगरी जनमत पार्टीले पहिले हिरालाल यादवको नाम उम्मेदवारको रूपमा अगाडि सारेका थिए। मनोनयनका दिन मात्रै कांग्रेसका रामस्वरुप चौधरीलाई उम्मेदवारको रूपमा भित्र्याएका छन्। जनमत पार्टीमा प्रवेश गरेको एक नेताले जानकारी दिए।
जेन-जी आन्दोलनपछि गठित सरकारका खेलकुद मन्त्री बनेका बब्लु गुप्ताले राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दर्ता गराएका छन्। हन्ड्रेड ग्रुप मार्फत समाजसेवामा रहेको गुप्ता कुलमान घिसिङ्गको नजिकका मानिन्थ्यो। उनी विगतका कांग्रेस पृष्ठभुमीका छन्। उनको बुबा विष्णु साह बानियाँ कांग्रेस सिरहाका पूर्व जिल्ला उपसभापति हुन्। क्षेत्रीय सभापति तथा महासमिति सदस्य पनि भएका थिए।
रास्वपाका उम्मेदवार गुप्ताकै वडाका जीवछ ठाकुरले पनि हर्क साम्पाङ्ग नेतृत्वको श्रम संस्कृति पार्टीबाट उम्मेदवारी दिएका छन्। सिरहा-२ मा नेपाली कांग्रेसका जिल्ला सभापति रामचन्द्र यादवले उम्मेदवारी दर्ता गराएका छन्। उनी ०७० मा संविधानसभा सदस्यमा निर्वाचित भएका थिए। ०७४ को प्रतिनिधिसभा माओवादीका सुरेशचन्द्र यादवबाट पराजित भएका थिए । त्यसपछि उपमेयरसहित बहुमत वडा जितेपनि उनी ०७९ को स्थानीय तह निर्वाचनमा धनगढीमाई नगरपालिकाको मेयरमा एमालेका शिवशंकर महतोबाट १५४ मतले मात्रै पराजित फेरि भएका थिए । अन्तरघातका कारण झिनो मतले पराजित हुनु परेको कांग्रेसले दाबी गरेका थिए।
०७९ मा यस क्षेत्रमा जसपाका राजकिशोर यादवले कांग्रेसकी चित्रलेखा यादवलाई हजार ९९ मतले चुनाव हराएका थिए। यसपाली राजकिशोर आफ्नो गृह क्षेत्र ४ मा फर्केका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीले यसक्षेत्रमा शिव शंकर यादव (शिव)लाई उम्मेदवार बनाएका छन्। उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा हाम्रो नेपाली पार्टीको लौरो चुनाव चिन्हमा उठ्दा ६९९ मत मात्रै ल्याएका थिए। जेनजी आन्दोलन सक्रिय रहेका उनी मधेश प्रदेशको जेनजी संयोजक पनि भएका थिए। अहिले रास्वपाका केन्द्रीय सदस्य भएका छन् । उनी रास्वपामा लाग्नुअघि कुलमान घिसिङ्गका निजक मानिन्थ्यो।
त्यसैगरी एमालेले नयाँ अनुहार उम्मेदवारको रुपमा नवीन यादवलाई उम्मेदवार बनाएका छन्। उनी एमाले छोडेर जसपा (तत्कालिन फोरम)मा प्रवेश गरेका थिए। फेरि एमालेमै फर्केर चुनाव लडेका छन्। जनमत पार्टीले विनोदकुमार यादवलाई उम्मेदवार उठाएका छन्। यादव ०७९ को प्रतिनिधिसभा पनि चुनाव लडेका थिए। त्यतिबेला उनले १६ हजार ९०२ मत ल्याएर तेस्रो भएका थिए। नेकपाले मुक्ति सिंह र श्रम संस्कृति पार्टीले गंगाराम ठाकुरलाई उम्मेदवार उठाएका छन्।
सिरहा-३ मा एमालेका पूर्व मन्त्री लिलानाथ श्रेष्ठले उम्मेदवारी दिएका छन्। उनी ०७९ को प्रतिनिधिसभा निर्वाचनमा पनि जसपा–एमाले गठबन्धनबाट २८ हजा ६४ मत ल्याएर जितेका थिए। नेकपाले विश्वनाथ साहलाई उम्मेदवार बनाएका छन् । उनी श्रेष्ठसँगै ०७९ मा पराजित भएका थिए। साहले कांग्रेस-माओवादी-एकीकृत समाजवादी गठन्धनबाट उम्मेदवार भएका २६ हजार ८८२ मत ल्याएका थिए।
कांग्रेसले नयाँ अनुहार उम्मेदवारको रुपमा डाक्टर सुभाष चन्द्र यादवलाई उम्मेदवार बनाएका छन्। उनी सिरहा नगरपालिकाको मेयरमा पदमा ०७४ मा पराजित भएका थिए। जसपाले अशेश्वर यादवलाई उम्मेदवार बनाएका छन्। ०७४ मा यादव एमालेका श्रेष्ठसँग पराजित भएका थिए।
त्यसैगरी जनमत पार्टीले रोहित महतो, राष्ट्रिय स्वतन्त्र पार्टीले डाक्टर शम्भु यादव, उज्यालो नेपाल पार्टीले श्रवण पासमान, प्रगतिशिल लोकतान्त्रिक पार्टीले पुजन सिंहलाई उम्मेदवार बनाएका छन्। सिरहाऔ४ मा पाँच जना पूर्वमन्त्रीले उम्मेदवारी दिएका दिएका छन्। जनता समाजवादी पार्टी, नेपालबाट केन्द्रीय उपाध्यक्ष राजकिशोर यादव, जनमत पार्टीबाट वीरेन्द्रप्रसाद महतो, नेकपाबाट अजयशंकर नायक, एमालेबाट धर्मनाथ साह र बहुजनशक्ति पार्टीबाट विश्वेन्द्र पासवानले उम्मेदवारी दिएका छन्।
यसमध्ये राजकिशोर तीन पटक सांसद र दुई पटक मन्त्री भइसकेका छन्। यसअघि सिरहा २ बाट चुनाव जितेका उनी त्यसअघि सिरहा ४ बाटै निर्वाचित भएका थिए। जनमतका वीरेन्द्र भने यसअघि यसै क्षेत्रबाट जसपा नेपालबाट चुनाव जितेर सांसद हुँदै मन्त्री भएका थिए।
दुई पटक सांसद भएका उनी त्यसअघि सोही जसपा नेपालबाटै समानुपातिक सांसद भएका थिए। तर, जसपा नेपालबाट फुटेर बनेको जसपामा लागेका महतो यसपाली भने चुनावको मुखैमा जनमतबाट टिकट लिएर चुनावी प्रतिस्पर्धामा होमिएका हुन्। नेकपाका अजय शंकर भने समानुपातिक सांसद भएर मन्त्री भएका हुन्। यसअघि २०७४ मा प्रत्यक्ष चुनाव लडेका उनी जसपा नेपालका राजकिशोर यादवसँग पराजित भएका थिए।
एमालेका धर्मनाथ भने प्रत्यक्ष र समानुपातिक गरी दुई पटक सांसद र एक पटक मन्त्री भएका छन्। विश्वेन्द्र भने समानुपातिक सांसद हुँदै मन्त्री भएका हुन्। यससँगै यो क्षेत्र जिल्लामा सबैभन्दा धेरै पूर्वमन्त्रीको उम्मेदवारी पर्ने क्षेत्र बनेको छ। कांग्रेसबाट चन्द्रकला देवी यादव र राष्ट्रिय स्वतन्त्र पार्टी तपेश्वर यादवले पनि उम्मेदवारी दिएका छन्। उनीहरू यसअघि चुनाव लडेका छैनन्। नयाँ अनुहार हुन्।
प्रतिक्रिया दिनुहोस !