पाल्पाको दुईवटा निर्वाचन क्षेत्रमा ३० जनाको उम्मेदवारी
तानसेन : आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा पाल्पाबाट १४ राजनीतिक दल र ७ जना स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन्। पाल्पा क्षेत्र नं. १ बाट ९ दल र ४ स्वतन्त्र तथा क्षेत्र नं. २ बाट १४ दल र ३ जना स्वतन्त्र गरी ३० जनाले उम्मेदवारी दर्ता गरेका हुन्।
पाल्पा क्षेत्र नं. १ मा नेकपा एमालेबाट निवर्तमान सांसद नारायणप्रसाद आचार्य, नेपाली कांग्रेसबाट सन्दीप राना, नेपाली कम्युनिस्ट पार्टीबाट हुमबहादुर सुनारी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिमल पन्त र राष्ट्रिय जनमोर्चाबाट नरमती सिंजाली, मंगोल नेशनल अर्गनाइजेसनबाट सलन चिदी, नेशनल रिपब्लिक नेपालबाट थमनसिंह रेग्मी मगर, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट वृहस्पति अर्याल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) बाट पुरन गैरे शर्मा तथा स्वतन्त्रतर्फ कौशल अर्याल, डिल्लीराज काफ्ले, जुद्धबहादुर विरकट्टा र वाछावली मियाँ गरी ९ दलबाट र ४ जना स्वतन्त्र गरी १३ जनाले मनोनयन दर्ता गरेको पाल्पा क्षेत्र नं. १ का निर्वाचन अधिकृत दशरथ पंगेनीले जानकारी दिए।
यसैगरी पाल्पा क्षेत्र नं. २ मा १० राजनीतिक दल र ३ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। पाल्पा क्षेत्र नं. २ बाट नेकपा एमालेबाट निवर्तमान सांसद ठाकुर गैरे, नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, नेपाली कम्युनिस्ट पार्टीबाट पूर्वमन्त्री सोमप्रसाद पाण्डेय, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिएका छन्।
त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सार्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी पार्टी (एकल चुनाव चिह्न)बाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट टोपबहादुर अस्लामी, मंगोल नेशनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विष्णु ठगराई, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्वले उम्मेदवारी दर्ता गराएका छन्। त्यसैगरी स्वतन्त्रतर्फ मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्याल गरी १७ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए।
पाल्पामा नेपाली कांग्रेसले दुवै निर्वाचन क्षेत्रमा नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको छ। नेकपा एमालेले निवर्तमान सांसदलाई नै उम्मेदवार बनाएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीले दुवै निर्वाचन क्षेत्रमा नयाँ उम्मेदवार बनाएको छ। नेकपाले पूर्व उद्योगमन्त्रीलाई उम्मेदवार बनाएको छ। पाल्पामा अधिकांश उम्मेदवार नयाँ रहेका छन्। पाल्पामा राष्ट्रिय जनमोर्चाबाट मात्र एक जना महिला उम्मेदवारी परेको छ।
पाल्पामा कुल २ लाख ७ हजार ४ सय ३६ मतदातामध्ये क्षेत्र नं. १ मा ९८ हजार ३ सय ८३ र क्षेत्र नं. २ मा १ लाख ९ हजार ५३ मतदाता रहेका छन्। कुल मतदातामा महिला संख्या पुरुषभन्दा ३ हजार ६ सय ५० ले बढी रहेको छ। २०७९ को निर्वाचनभन्दा ६ हजार १ सय १० जना मतदाता थपिएका छन्। क्षेत्र नं. १ मा ११७ वटा र क्षेत्र नं. २ मा १ सय ३४ मतदान केन्द्र रहेका छन्।
प्रतिक्रिया दिनुहोस !