election background

प्रतिनिधि सभा निर्वाचन २०८२

कांग्रेसका हेबीवेट, जसले टिकटै पाएनन्

कांग्रेसका हेबीवेट, जसले टिकटै पाएनन्

काठमाडौं : कांग्रेसको विशेष महाधिवेशनबाट गगन थापा सभापति बनेपछि ०४८ सालदेखि लगातार चुनाव लड्दै आएका कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा यसपटक चुनावी मैदानबाट बाहिरै परे। डडेलधुराबाट चुनाव जित्दै पटक–पटक प्रधानमन्त्री बनेका देउवालाई कांग्रेसले यसपटक टिकट दिएन।

टिकट नपाउने संकेत पाएपछि उनको सचिवालयले ‘देउवा चुनाव नलड्ने’ भनेर विज्ञप्ति प्रकाशित ग¥यो। कांग्रेसका अर्का हेबीवेट एवं पार्टी उपसभापति विश्वप्रकाश शर्मा पनि चुनावमा लडेनन्। शर्माले विशेष महाधिवेशन हुनु अगाडि नै आगामी निर्वाचन नलड्ने घोषणा गरेका थिए। 

डडेलधुराबाट देउवा चुनाव नलड्ने भएपछि उनको ठाउँमा नेविसंघका पूर्वअध्यक्ष एवं युवानेता नैनसिंह महरले टिकट पाए। अघिल्लोपटक समानुपातिक सांसद बनेकी देउवा पत्नी डा. आरजु देउवा राणालाई पार्टीले कैलाली ५ मा उम्मेदवारका लागि सिफारिस गरेको थियो। 

तर, पार्टीले उनलाई पनि टिकट नदिएर नरनारायाण शाहलाई उम्मेदवार बनायो। शाह स्थानीयस्तरमा झिजेका नेता हुन्। कांग्रेसले यसपटक पुराना र राजनीतिमा लामो समय योगदान गरेकालाई भन्दा पार्टीभित्रकै राजनीतिमा भिज्दै गरेका र रुचि बढाउँदै गरेकालाई उम्मेदवारमा प्राथमिकता दिएको छ। 
पार्टीका पूर्वपदाधिकारीहरू निवर्तमान सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङलगायतका नेताले पनि टिकट पाएनन्। यद्यपि यी नेताहरूले अन्तिम घडीमा आएर उम्मेदवार बन्न नचाहेको उद्घोष गरेका थिए। कैलाली क्षेत्र नम्बर ४ मा वीरबहादुर बलायरलाई टिकट दिइएको थियो, तर उनले टिकट नलिने भन्दै फिर्ता गरे। 

अघिल्लोपटक सुर्खेत १ बाट १२ हजार मतान्तरले चुनाव जितेका निवर्तमान उपसभापति खड्काले चुनाव नलड्ने बताए। त्यस क्षेत्रमा उनका भाइ विष्णु खड्काले टिकट पाए। खड्काले विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमिति स्वतः अवैधानिक हुने तर्क गर्दै आएका थिए। 
‘निजहरूको निर्णय र हस्ताक्षरबाट जारी गरिने टिकटबाट उम्मेदवार हुनु मेरो जीवनभरिको राजनीतिक मूल्य मान्यता र नैतिकताको अडानको प्रतिकूल हुने हुँदा पार्टीका साथीहरू र आममतदाताको माया, भरोसा र विश्वास मप्रति हँुदाहुँदै पनि यसपटक प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार नउठ्ने निर्णय गरेको छु,’ खड्काले सामाजिक सञ्जालमा लेखेका थिए। 

निवर्तमान कांग्रेस उपसभापति धनराज गुरुङले पनि यसपटक टिकट पाएनन्। गुरुङले ०७९ को निर्वाचनमा एमालेकी पद्मा अर्याललाई पराजित गरेका थिए। यसपटक विजयकुमार गच्छदारले पनि टिकट पाएनन्। उनको ठाउँमा सुनसरी–१ बाट कांग्रेसले वेद गच्छदारलाई टिकट दियो। 

काठमाडौं–१ बाट लगातार चुनाव जित्दै आएका प्रकाशमान सिंहले पनि टिकट पाएनन्। उनको ठाउँमा युवा नेता प्रवल थापाले उम्मेदवारी दिएका छन्। नवलपुर–१ बाट जितेका डा. शशांक कोइरालाले पनि टिकट पाएनन्। उनी यसअघि ठूलो मतान्तरले चुनाव जितेका थिए। 

त्यस्तै, पूर्वगृहमन्त्रीसमेत रहेका रमेश लेखकको कञ्चनपुर–३ बाट १२ हजार मतान्तरले चुनाव जितेका थिए। यसपटक पनि उनी चुनाव लड्ने तयारीमै थिए, तर पार्टीले टिकट दिएन। देउवाको अति निकट मानिएका नेता बालकृष्ण खाँण पनि यसपटक टिकट विमुख भए। 
रूपन्देही–३ मा खाँण निकटकै सुशील गुरुङ टिकट दिइएको छ। झापा ३ बाट लगातार चुनाव लड्दै आएका राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौला पनि चुनाव लड्ने तयारीमा थिए। विशेष महाधिवेशन नहोस् भनेर अन्तिमसम्म लागेका उनले टिकट पाएनन्। सिन्धुपाल्चोक २ बाट मोहनबहादुर बस्नेतले पनि टिकट पाएनन्। यसअघि उनले १२ हजार मतान्तरले चुनाव जितेका थिए। 

संखुवासभाबाट दीपक 
खड्काले पनि टिकट पाएनन्। देउवाका निकट मानिएका अर्का नेता रामहरि खतिवडालाई मंगलबार बिहानसम्म टिकट पक्का गरियो। तर, टिकट भने ओखलढुंगाकै स्थानीय नेतालाई दिइयो। खतिवडा उक्त क्षेत्रबाट जित्दै आएका नेता हुन्। अर्का युवा नेता पूर्वसहमहामन्त्री जीवन परियारले पनि टिकट पाएनन्। 

कांग्रेसका पूर्वकोषाध्यक्ष उमेश श्रेष्ठ पनि टिकटबाट बञ्चित भए। सुजाता कोइराला पनि टिकट नपाउनेमा छिन्। यद्यपि उनी चुनाव लड्ने तय गरेकी थिइनन्। डा. शेखर कोइराला, विमलेन्द्र निधि, डा. प्रकाशशरण महत, एनपी साउद, किशोरसिंह राठोरलगायत देउवा निकट केही नेताले भने टिकट पाएका छन्। 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.