मधेश प्रदेशसभाका चार जना सदस्य चुनावी मैदानमा होमिए
जनकपुरधाम : मधेश प्रदेशसभाबाट चार जना सांसदले राजीनामा दिएर निर्वाचनमा होमिएका छन्। मधेश प्रदेशसभा सदस्यबाट राजीनामा दिएर चार जना प्रदेशसभा सदस्यले प्रतिनिधिसभा सांसदका लागि उम्मेदवारी दिएका हुन्।
मधेश प्रदेशसभाबाट निवर्तमान सभामुख रामचन्द्र मण्डल, पूर्वमुख्यमन्त्री सतिष कुमार सिंह, पूर्वमन्त्री भरत प्रसाद साह र पूर्वराज्यमन्त्री रहबर अन्सारीले राजीनामा दिएर निर्वाचनमा होमिएका हुन्। मधेश प्रदेशसभा सचिवालयका अनुसार मण्डल र अन्सारीले माघ ४ गते नै राजीनामा बुझाए। यता पूर्वमुख्यमन्त्री सतिष कुमार सिंहले र पूर्वमन्त्री भरत प्रसाद साहले ५ गते सभामुख रामअशिष यादवलाई गएर राजीनामा बुझाएका हुन्।
निवर्तमान सभामुख मण्डलले नेकपा एमालेबाट धनुषा क्षेत्र नं. १ बाट मनोनयन दर्ता गराएका छन्। यस्तै सतिष कुमार सिंहले सप्तरीको निर्वाचन क्षेत्र नं. २ स्वभिमान पार्टीबाट निर्वाचनमा मनोनयन पत्र दर्ता गराएका छन्। सिंह यसअघि जनमत पार्टीबाट सप्तरीको निर्वाचन क्षेत्र नं. २ (ख) बाट निर्वाचित भएका थिए। सप्तरीमा पूर्वमुख्यमन्त्री सिंहलाई नेकपा एमालेले सहयोग गर्ने भएको छ।
पूर्वमन्त्री भरत प्रसाद साहले महोत्तरी क्षेत्र नं. ४ बाट मनोनयन पत्र दर्ता गराएका छन्। उनी यसअघि महोत्तरीको क्षेत्र नं. १ (ख) बाट तत्कालीन नेकपा माओवादी केन्द्रबाट प्रदेशसभामा निर्वाचित भएका थिए। त्यसैगरी पर्साको क्षेत्र नं. १ बाट रहबर अन्सारीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मनोनयन पत्र दर्ता गराएका हुन्। अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट अन्सारी क्षेत्र नं. १ (क) बाट निर्वाचित भएका हुन्। तर यसपटक उनी पर्साको निर्वाचन क्षेत्र नं. ४ रास्वपाबाट मनोनयनपत्र दर्ता गराएका छन्।
जनता समाजवादी पार्टी नेपालका उपाध्यक्ष तथा पूर्वमुख्यमन्त्री लालबाबु राउत, नेकपा एमालेले केन्द्रीय सदस्य तथा पूर्वमुख्यमन्त्री सरोज यादव र तत्कालीन स्वतन्त्र सांसद तथा हाल नेकपा एमालेका प्रदेशसभा सदस्य प्रमोद जयसवाललाई उम्मेदवार बनाउने तयारी भएपनि अन्तिम समयमा उनीहरू प्रतिनिधिसभा निर्वाचनबाट पछि हटेका हुन्।
प्रतिक्रिया दिनुहोस !