election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पूर्वमन्त्री पाण्डेले पाल्पाको सिद्धबाबा क्षेत्रबाट सुरु गरे चुनावी प्रचार अभियान

पूर्वमन्त्री पाण्डेले पाल्पाको सिद्धबाबा क्षेत्रबाट सुरु गरे चुनावी प्रचार अभियान

तानसेन : यही आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि पाल्पा क्षेत्र नं. २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार एवं पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले दोभानको सिद्धबाबाबाट चुनावी प्रचार–प्रसार अभियान सुरु गरेका छन्। तिनाउँ गाउँपालिकाको वडा नं. ३ स्थित सिद्धबाबा सुरुङ मार्ग प्रवेशद्वारमा पत्रकार सम्मेलन गरी पूर्वमन्त्री पाण्डेले चुनावी प्रचार अभियान सुरु गरेका हुन्।

उम्मेदवार पाण्डेले २०२६ सालदेखि २०७८ सालसम्म आइपुग्दा सिद्धबाबा क्षेत्रमा ९ सय ७२ जना व्यक्तिले अकालमा ज्यान गुमाउनुपरेको अवस्थामा सिद्धबाबा क्षेत्रको सडकलाई सुरक्षित बनाउन दबाब दिएको कारण आज सुरुङ मार्ग बन्न सफल भएको बताए।

सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि तत्काल रकम सुनिश्चित नभए आफू सिद्धबाबा क्षेत्रमै अनशन बस्ने घोषणा गरेपछि बाध्य भएर तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले १० अर्ब रुपैयाँ बजेट सुनिश्चितता गरी सुरुङ मार्ग निर्माणको काम भएको पाण्डेले दाबी गरे। सिद्धबाबा सुरुङ मार्ग निर्माणका लागि स्विस सरकारबाट सर्भे तथा डीपीआर निर्माणदेखि बजेट सुनिश्चिततासम्म २०७४ देखि २०७९ सम्मको कार्यकालमा आफ्नो महत्वपूर्ण भूमिका रहेको उनको दाबी थियो। 

२०७९ सालको निर्वाचनमा पराजय भोगे पनि पाल्पाको विकास निर्माण, योजना तथा बजेट ल्याउनमा ठूलो भूमिका खेलेको, दुःख परेका अधिकांश पाल्पालीको घर–घरमा पुगेको, चुनावमा पराजय भए पनि जनताको काममा कटिबद्ध भएर लागेको नेकपालाई मतदान गरी आफूलाई विजय बनाउन पाल्पा क्षेत्र नं. २ का जनतासँग पाण्डेले अनुरोध गरे।

संसददेखि सरकारसम्म, गाउँदेखि सहरसम्म, झुपडीदेखि महलसम्मको अनुभव आफूमा रहेको, कानुन निर्माणदेखि सरकार चलाउनेसम्मको अनुभव भएकोले भदौ २३ र २४ मा जेनजीहरूले गरेको आन्दोलनको भावनालाई समेत पूरा गर्न पाल्पा क्षेत्र नं. २ मा नेकपाको तारा चिन्हमा मतदान गर्न अनुरोध गरे। 

मुलुक अहिले संकटमा रहेकोले निकास र विकासका लागि राजनीतिक दलहरू बीचको सहमति, एकता र सहकार्यका लागि सक्रियता रहने उम्मेदवार पाण्डेले बताए। चुनावी प्रचार–प्रसार तथा पत्रकार भेटघाट कार्यक्रममा नेकपा पाल्पाका अध्यक्ष अशोककुमार शाही, केन्द्रीय सदस्य यादवबहादुर रायमाझी, समानुपातिक सांसद पार्वती विकसहित स्थानीयवासी, पत्रकार एवं पार्टीका नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

पाल्पा क्षेत्र नं. २ मा पाण्डेसहित १७ जनाको उम्मेदवारी परेको छ। अन्य उम्मेदवारहरूमा नेकपा एमालेबाट वर्तमान सांसद ठाकुर गैरे, नेपाली कांग्रेसबाट जिल्ला सभापति हिमालदत्त श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट माधवबहादुर थापाले उम्मेदवारी दिएका छन्। त्यसैगरी राष्ट्रिय जनमोर्चाबाट जिल्ला अध्यक्ष बालबहादुर दर्लामी, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जिल्ला अध्यक्ष डुलबहादुर कुँवर, नेशनल रिपब्लिक नेपालबाट देवप्रसाद श्रेष्ठ, सर्वभौम नागरिक पार्टीबाट रामबहादुर अस्लामी, जनता समाजवादी एकल चुनाव चिन्हबाट खिकबहादुर रेश्मी, राष्ट्रिय जनमुक्ति पार्टीबाट टोपबहादुर अस्लामी, मंगोल नेशनल अर्गनाइजेसनबाट मानबहादुर दर्लामी, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट विष्णु ठङराई, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट बोधराज जैसी, नेपाल मजदुर किसान पार्टीबाट कृष्ण शोभा मुस्याख्वले उम्मेदवारी दिएका छन्।

त्यसैगरी स्वतन्त्रबाट मोहनकुमार थापा, देवीप्रसाद भण्डारी र केशवप्रसाद बस्याल गरी १७ जनाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका प्रवक्ता सहायक निर्वाचन अधिकृत केशव पराजुलीले जानकारी दिए। मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाल्पाका सबै उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.