सगरमाथाबारे बोल्ने नाटक ‘अन्तिम हिउँ’ अस्ट्रेलियामा देखायौं। न राष्ट्रिय झन्डा साथमा छुट्यो, न कुनै यात्रामा नेपाली पोसाक लगाउन छुटायौं, नेपाल चिनाउने लक्ष्य प्रमुख हुँदोरहेछ।
‘थिएटर इन् एजुकेसन’ अर्थात् शैक्षिक रंगमञ्चसँग जोडिएको दुई दशक बढी बित्यो। अन्तर्राष्ट्रिय मञ्चमा अभिनय गर्ने सौभाग्य पाएका विद्यार्थी कोही कलाकार, कोही डाक्टर, कोही इन्जिनियर भइसके। सम्झिल्याउँदा त्यो समयलाई गर्व लाग्दोरहेछ ! विभिन्न स्कुलका लालाबाला लिई विभिन्न देश पुग्दा बुद्धको विषयमा बनेको नाटक ‘उज्यालोतिर’ सबैभन्दा बढी मञ्चन भयो। रंगमञ्च आफैंमा किताब बाहिरको विषय भएको हुनाले अर्काे नाटक किताबभित्र किताबबाहिर पनि धेरै पटक मञ्चन गर्यौं। पछिल्लो पटक भने जलवायु परिवर्तनमार्फत सगरमाथाबारे बोल्ने नाट क ‘अन्तिम हिउँ’ तयार पार्यौं, जुन अस्ट्रेलियामा देखायौं। न राष्ट्रिय झन्डा साथमा छुट्यो, न कुनै यात्रामा नेपाली पोसाक लगाउन छुटायौं, लालाबालासँग जुनसुकै देश पुगे पनि नेपाल चिनाउने लक्ष्य प्रमुख हुँदोरहेछ। लालाबालासँग जुनसुकै गन्तव्यमा पुगे पनि राष्ट्रियता आफ्नो पहिचानसँग जोडिएर आउने रहेछ। यो यात्रामा उडान भर्न सघाउने रंगमञ्च नै हो एक प्रमुख माध्यम !
चीनमा चर्चा लालाबालाको : चीनको विशेष प्रान्त हाइनानमा दुई ठूला थिएटर घुम्ने मौका मिल्यो। हाइनान अपेराभित्र ठूला, साना र एरिना थिएटर गरेर चारवटा हल रहेछन्। प्रोफेसर यानले त्यो थिएटर घुम्न लिएर गए भ्रमणको पहिलो दिन नै। यान हाइकु इकोनोम्किस कलेजअन्तर्गत रहेको नानहाई फिल्म एकेडेमीका प्रोफेसर हुन्। उनी मलेसियामा थिएटर एन्ड ड्रामा विषयमा पीएचडी गर्दैछन्। उनकै अग्रसरतामा मेरो चीन भ्रमण रंगमञ्च विशेष बन्दै थियो। उनी लालाबालाको नाटक महोत्सव हाइनानमा गराउन चाहन्छन्। रहरलाग्दो ब्याक स्टेज खेल्ने चौर जत्रो थियो। राख्न हटाउन मिल्ने फ्रन्ट स्टेज देखेर मोहित भएँ। त्यो हलमा साँझ ‘म्युजिक कन्सर्ट’ रहेछ। त्यसकै अभ्यासमा थिए कलाकारहरू। ‘कलासंस्कृतिमा खर्च गर्न यहाँ त सरकारले तिमीहरूलाई पैसा दिन्छ नि हैन ? हामीकहाँ त शून्य छ।’ हलभित्र पसेर ढोगिसकेपछिको मेरो प्रतिक्रिया थियो यो।
नेपालमा भएको शैक्षिक रंगमञ्चको फड्को : ‘भौतिक संरचनामात्रै भव्य हो। कलाकारहरूलाई प्रोत्साहन छैन।’ यानले भने। उनको सानो थिएटर कोभिडमा बन्द भएछ। लि रेनको पनि सानो आफ्नै थिएटर रहेछ। खाना खाने बेलासम्ममा हामीले महोत्वसको नामसमेत छान्यौं। अर्काे दिन हामीले अपेरा लेखक निर्देशक चेनसँग भेट्यौं उनकै थिएटरमा। उनी हाइनान नाट्य विभागका निर्देशक रहेछन्। मैले उनको त्यो विशाल मञ्चको मध्यभागमा आफ्नो निधार टेकाएको देखेर उनी भावुक बनेर बुढीऔंला तेर्साए। उनी आफैं फोटो खिच्न तम्सिए। डिनरमा भावी योजना सुनाए। ‘लालाबालाको राम्रो नाटक लिएर आउनु, त्यसपछि हामी पनि उता जान्छौं। यसरी पहिलो स्टेपको सुरुवात गरौं।’ लेखक निर्देशक चेनले भने। उनको थिएटर र घरनजिकैको रेस्टुरेन्टमा हामी रातिको खाना खाँदै थियौं।
चिनियाँ प्रोफेसर इन्जिनियर वाङ सु शैक्षिक रंगमञ्चका कारण यो यात्रामा जोडिएका थिए। नेपालमा भएको लालाबालाका गतिविधिबारे उनलाई थाहा थियो। विशेषगरी ‘लालाबाला’को अन्तर्राष्ट्रिय नाटक महोत्सव कसरी अगाडि बढिरहेको छ बढी चासो यसमा थियो। हाइनान पछि बेजिङ आएँ। बेजिङमा बस्छन् वाङ सु। आफूले काम गरिरहेको विधामा आफूभन्दा विकसित देशका मानिससँग भलाकुसारी गर्न पाउनु गर्वले छाती चौडा भयो। बेजिङको अन्तर्राष्ट्रिय स्कुलमा नाट्य कार्यशालासमेत चलाउनु थियो। उत्साह थपेको यसले हो खासमा। ‘चीनमा ४६ प्रतिशत माध्यामिक तहका विद्यार्थीमा मानसिक समस्या देखिन थालेको छ। त्यही भएर अर्गानिक एजुकेसनमा सम्मेलन गर्दैछौं।’ त्यहाँको अन्तर्राष्ट्रिय स्कुलमा नाट्य कार्यशालाको लागि जाँदा वाङ सुले भने। नेपालको शैक्षिक रंगमञ्चको फड्कोबारे बताइसकेको थिएँ। उनी हाम्रो कक्षाकोठामा पुगेको रंगमञ्च विधाबारे सुनेर प्रभावित भएपछि उनको योजना सुनाए।
भारतमा कुमारी : २०१३ मा आफ्नै नाटक किताबभित्र किताबबाहिर लिएर भारतको उडिसा गयौं। मन्डपिका आर्ट ग्रुपका रामबाबु, सानु, चे शंकर, उमेश, स्नाबुलगायतका कलाकारसँग उडिसा पुग्दा विदेशी पर्यटकको जस्तो भाव आएको थियो। सडकमा ‘देखो भाइ टुरिस्ट’ भन्दै मानिस हामीलाई देखाउँदा साथमा गएका विद्यार्थी मक्खै परेका थिए। नयाँनयाँ प्रयोग गर्न रुचाउने चे शंकरले तीन किलोमिटर जति खाली खुट्टा हिँडाए एक बिहान। देशको झन्डा काँधका राखेरै हामी घुम्न निस्किन्थ्यौं। पहिलो पटकको भ्रमण भएको हुनाले पर्यटक प्रचारका सामग्री थुप्रै बोकेका थियौं।
त्यही वर्षको अन्तिम महिनाको कुरा हो, उडिसापछि यात्रा सोझियो नयाँ दिल्लीतिर। रायन स्कुलले आयोजना गरेको अन्तर्राष्ट्रिय बाल नाटक महोत्सवमा रोजबड स्कुल सहभागी भएको थियो। फिल्म निर्देशक दीपेन्द्र के. खनाल कक्षा ५ मा पढ्ने छोरीलाई पुर्याउन धादिङसम्म पुगेका थिए। सहभागी २२ देशका राजदूतसमेत भएर महोत्सव उदघाटन हुँदा करिब ३५ सय बालबालिका सहभागी भए। मलाई लालाबाला महोत्सव आयोजना गर्न प्रोत्साहन गर्ने यही महोत्सव हो। यहाँ पनि नाटक किताबभित्र किताबबाहिर मञ्चन भएको थियो। दीपेन्द्र कि छोरी कुमारी बनेर उद्घाटनमा देखिएकी थिइन्। दिनभरि नै उनलाई विदेशीले घेरेर राखे। नेपालकी जीवित देवी कुमारीसँग फोटो नखिच्ने कोही बाँकी रहेनन्। अक्षरा स्कुलबाट मधुमालतीको कथा नाटक उडिसा पुगेको २०१४ मा हो। समूहमा लालाबालाहरू सानै थिए। वीरगन्ज हुँदै कलकता पुग्यौं मिथिला एक्सप्रेस चढेर। मिथिलाले ढिला गरेको हुनाले उडिसा जाने रेल हामीलाई कलकतामै छोडेर गयो। कलकताको भिडभाडमा सहरमा हुर्किएका बालबालिका अलपत्र परेर बस्नु पर्यो।
उडिसा, जगन्नाथ पुरी र कलकत्ता : जसोतसो पुग्यौं उडिसा। थकाइले निरास थिए उनीहरू। नाटक बिग्रियो। यो यात्राले जीवनभरिलाई पुग्ने पाठ सिकायो पनि। त्यो यात्राको दु : ख भुलाउन पाठशाला नेपालका लालाबालाहरूसँग फेरि २०१५ मा उडिसा पुग्यौं। जहाँ भोला नाटक मञ्चन गरिएको थियो। हरेक क्षण रमाइलो गरिरहनुपर्ने विद्यार्थी औधी उत्साहित थिए। गोरखपुरको सडकमा एक विद्यार्थीको खुट्टा नालामा पस्यो र सोही विद्यार्थी जगन्नाथ पुरीमा मन्दिरभित्र पस्दा भिडमा निस्सासियो। लालाबालाको सुरुआतसँग मेरो एकल अभिनय यात्रा २०१६ मा सुरु भयो। एक पना सहर नाटक लिएर म र श्याम कोलकातामा पुग्यौं दमदम अन्तर्राष्ट्रिय नाटक महोत्सवमा सहभागी हुन। यही नाटक अर्काे विद्यार्थीलाई पनि तयार पारेको थिएँ। उसलाई लिएर लालाबालासँग मुम्बई पनि यही वर्ष पुग्यौं रायन स्कुलको महोत्सवमा सहभागी हुन।
लालाबाला र त्रैविध शिक्षा सदनका विद्यार्थी लिएर फेरि रायनको महोत्सवमा सहभागी हुन गएको थियौं २०१९ मा। २०२३ मा रायनको मञ्चमा पुग्ने अर्काे स्कुल बन्यो भ्याली भ्यु। आकांक्षा जीसीको नेतृत्वमा त्यहाँ पुगेका थियौं र नाटक मेरो लेखन निर्देशनमा उज्यालोतिर मञ्चन भएको थियो। बुद्धको विषयमा बनेको नाटक हो यो। २०२४ को जुलाईमा तीन निर्देशक पुष्पराज अवस्थी, प्रतीक दुलालसहित चारवटा स्कुल लिएर हामी कलकत्ता पुग्यौं। यो महोत्सवमा प्रज्ञा कुञ्ज स्कुल, भ्याली भ्यु स्कुल, मिर्गसिरा स्कुल, विङ्स एकेडेमी सहभागी भए। भारतका ठाउँठाउँमा नाटक महोत्सव भइरहन्छन्।
बंगलादेशमा फहराएको नेपाली झन्डा : हिरोन किरोन थिएटरले महोत्सव आयोजना गरेको थियो २०१९ मा। त्यस थिएटरका निर्देशक जाहाङगिर आलम लालाबालाको महोत्सवमा सहभागी भइरहन्थे। लालाबालाले विभिन्न स्कुलका विद्यार्थीसँग सहभागिता जनाएको थियो। प्रकेश सिन्धुलीयको निर्देशनमा नाटक ‘हिरोज डन्ट कम’ मञ्चन गरियो। हिरोन किरोन थिएटरले मलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड दियो। उद्घाटनमा बाजागाजासहित सडकमा र्याली निकाले। हामीले बोकेको नेपाली झन्डा सबैभन्दा आकर्षक देखिएको थियो। झन्डा मन पराए एक निर्देशकले। हामीले बंगलादेश र नेपालको झन्डा साटासाट गर्यौं। जाहाङगिर फरक फरक कलाकार लिएर नेपाल आउँछन्। बंगालीहरूको आत्मीयता विशेष पाउँछु।
श्रीलंकाको मञ्चमा नेपाली द्वन्द्वकालीन समय : कोलम्बो अन्तर्राष्ट्रिय नाटक महोत्सव संसारभर चर्चित छ। यसमा मोनोएक्ट मात्रै मञ्चन हुन्छन्। मेरै एकल नाटक ‘एक पाना सहर’ लिएर पुगेको थिएँ। अर्काे दिन मेरो नाटक मञ्चन सकियो ब्रिटिस स्कुलको हलमा। ब्याकस्टेजमा एक युवती आइन् र प्रेम प्रस्ताव राखिन्। उनी कुनै टेलिभिजनमा लघुनाटक निर्माण गर्ने रहिछन्। यो घटना महोत्सव निर्देशक महमद सफिरलाई सुनाएँ। उनले सहकर्मीहरूलाई ‘त्यो केटीलाई कसले ब्याकस्टेजमा पस्न अनुमति दियो ?’ भन्दै हकारे।
अर्काे दिन, ‘द्वन्द्वकालीन समयमा नेपाली रंगमञ्च’ विषयमा बोल्नु थियो। आठ देशका सहभागी थिए। लेखेर लगेको थिएँ बोल्ने कुरा। बोल्दाबोल्दै लेखेको अंग्रेजी सकियो। अगाडि बढ्नै सकिनँ। त्यसपछि नेपालीमा बोल्न थालें। साथमा गएका श्यामले अनुवाद गरेर सहयोग गरे। कान्जिरोवा स्कुलका लालाबालासँग श्रीलंका पुगेको २०२३ मा हो। रेड एप्पलले यो महोत्सव आयोजना गरेको थियो। श्रीलंकाका कलेजहरूमा रंगमञ्चसम्बन्धी अध्ययन राम्रो छ। त्यहाँका सबैजसो रंगकर्मी कलेजबाट दीक्षित वा पढिरहेका भेटिन्छन्। स्कुलका कक्षाकोठाभित्र रंगमञ्च गतिविधि भने शून्यजस्तै छ।
जापानमा जिम्मेवार नेपाली विद्यार्थी : जापानका स्थानीय स्कुलहरूमा रंगमञ्च विधा प्राय : शून्य छ। उनीहरू पढाइबाहेक अरू क्रियाकलापलाई प्रोत्साहन गर्दैनन्। म त्यहाँको नेपाली स्कुलका विद्यार्थीलाई नाट्य कार्यशाला सञ्चालन गर्न पुगेको थिएँ २०२५ मा। त्यहाँ नेपालकै शैक्षिक तालिका चलाउने चारवटा स्कुल खुलेका छन्। नाटक कार्यशालामा करिब ६० विद्यार्थी थिए। जापानका नेपाली विद्यार्थी ज्यादै अनुशासित पाएँ। यसै प्रसंगमा कुरा गर्दा हिमालयन स्कुलका कालु मेहेताले भने, ‘हाम्रा विद्यार्थी नेपालका जस्ता छैनन्। यिनीहरूले साह्रै दु : ख गर्नुपर्छ हो सर। बाउआमा बिहानै काममा हिँड्छन्। खाना पकाउने, खाने, सरसफाइ सबै यिनैले गर्छन्।’
जर्मनीमा ढाकाढोपी : बेलारुसबाट अरू नेपाल फर्किए हामी बाउछोरा त्यहाँबाट बस बढेर जर्मनी आइपुगेको थियौं। होल्गर लालाबाला नाटक महोत्सवमा सहभागी हुन नेपाल आएका थिए। उनले हामीलाई निम्तो दिएका हुन्। अभिनीत तीन महिना एक्लै उनीहरूसँग बसेको थियो। होल्गरले जर्मनीसँगको नाता पारिवारिक सम्बन्ध जस्तो बनाइदिए। त्यसपछि अर्काे यात्रा हुन २०२२ पर्खिनु पर्यो। मलाई बर्लिन एयरपोर्टमा लिन योर्ग र उनका साथी आएका थिए। एयरपोर्टमै दुवैजनालाई नेपाली चिनो ढाका टोपी लगाइदिएँ।
योर्गले एक साताभरिको वर्कसपमा त्यही ढाका ढोपी लगाइरहे। माइकल चेखभ रसियन निर्देशक हुन् तर उनको नाट्य शिल्पको तालिम लिन म जर्मनी पुगेको थिएँ। कोभिडपछिको पहिलो विदेश यात्रा हो। सारा विश्व भयकम्पित थियो। यसको अनुभव लिन ११ महिना उतै बिताएँ। त्यसपछि हो, चेखभका दुईवटा तालिम काठमाडौंमा आयोजना गर्न सकिएको। यसका लागि अमेरिकाबाट लिजा डल्टन आइन भने जर्मनीबाट योर्ग एन्ड्रेस आए। योर्गले नेपाल आउँदा पनि मैले बर्लिनमा लगाइदिएको त्यही ढाका टोपी लगाएर आएका थिए।
लालाबाला पहिलो पटक युरोपमा : पोल्यान्डमा ‘द ह्युमन मोजाइक’ नामको नाटक महोत्सव थियो। ‘तिमीहरूको महोत्सवमा हामी सहभागी हुन सकेनौं, तिमीहरूलाई सम्भव छ भने आऊ’ जेनीले हामीलाई निम्तो दिइन्। प्रज्ञा कुञ्ज स्कुलसँग लालाबाला २०१८ मा पहिलो पटक युरोप पुगेको थियो। यो यात्रामा सहभागी केही लालाबाला अहिले पनि कलाकारितामै छन्। सिन्धुलीयको लेखन निर्देशनमा मञ्चन भएको नाटक ‘हिरोज् डन्ट कम’ यहाँ खुब रुचाए। पहिलो पटक युरोप पुग्दा भात खान नपाएको, राति ८ बजेसम्म घाम देखिएको घटना ताजै छन्। फरकफरक देशका अनौठा रंगकर्मी जम्मा भएका थिए। गज्जबका नाटकहरू हेर्न पाइयो। लालाबाला युरोपमा भनेर नेपाली मिडियामा समाचार छापिए।
स्लोभाकियामा सुनको करुवा : लालाबालाले २०१९ मा स्लोभाकिया जाने मौका पायो। यहाँको महोत्सवमा कविता, मोनोलग मञ्चन गर्नुपथ्र्याे। हामीले तीनवटा मनोलग देखायौं। आयोजक पिटरलाई मञ्चमा पुगेको बेला नेपाली करुवा उपहार दिएँ। ‘सुनको हो ?’ भनेर सोध्यो। मैले हैन भन्दा पनि हलमा निकै समय सुनको करुवा दियो भनेर हल्लाखल्ला चल्यो। पिटर चार पटक नेपाल आए। २०२५ मा म एक्लै जाँदा युक्रेन, लिथुयनिया र स्लोभाकियाका बालबालिकासँग नाट्य कार्यशाला चलाउनु मुख्य धेय थियो। यो बेलाको नाट्य महोत्सव झन् भव्य थियो। पिटरले आफू नाटक पढाउने स्कुलमा लिएर गए। त्यहाँका विद्यार्थी ‘यति वर्षदेखि नाटक पढ्दैछु’ भनेर परिचय दिन्थे। स्लोभाकियाका स्कुलभित्र नाट्य गतिविधि राम्रो पाएँ।
बेलारुसमा साटेको दौरा सुरुवाल : बेलारुसमा पनि लालाबाला काठमाडौं प्रज्ञा कुञ्जसँग सहभागी भएका थियौं। प्रकेशको हिरोज डन्ट कम मञ्चन गरियो। हाम्रा लालाबालाले विभिन्न शीर्षकमा अवार्ड पाए। निर्देशक उनले राम्रो दौरा सुरुवाल कोट मिलाएर लगाएका थिए। एक दर्शकले मन पर्यो भनेर निकै दिनसम्म चर्चा गरिरहे। उताको लुगासँग दौरा सुरुवाल साट्ने प्रस्ताव ल्याए। मागेपछि प्रकेशले पनि नदिने कुरै आएन। नाटक सकिएको अर्काे दिन हामीलाई नजिकैको गाउँमा लिएर गए घुम्न। २०१९ को बेलारुस यात्रामा त्यहाँका स्कुल घुम्यौं। हामी पुगेको स्कुलमा नाटक विधा नयाँ थियो।
अस्ट्रेलियामा आँखीझ्याल : लिडर थिएटरका निर्देशक क्रिस जोनलाई पोल्यान्डमा भेटें। जसले हामीलाई सन् २०१९ र २०२५ मा दुवै पटक निम्तो दिए। काठमाडौं प्रज्ञा कुञ्जका विद्यार्थीसँग सन् २०१९ मा पहिलो पटक अस्ट्रेलिया पुग्दा बेग्लै रोमाञ्चक अनुभूति भएको थियो। हामी त्यहाँका परिवारसँग बस्यौं। नाटक कार्यशाला, घुमघाम नै मुख्य उद्देश्य थियो। क्रिस जोन आफैं पनि पाका मानिस। उनको समूहमा सबै मानिस पाका।
पहिलो पटक ‘उज्यालोतिर’ र दोस्रो पटक ‘अन्तिम हिउँ’ नाटक मञ्चन गर्यौं त्यहाँ अर्थात् गलबर्नमा। प्रज्ञा कुञ्ज स्कुलकी प्रिन्सिपल सुनीता पौडेलले क्रिसजोनलाई आँखीझ्याल उपहार दिएकी थिइन्। लालाबालाको आतिथ्य स्वीकार गर्न क्रिस जोनसँग ली ग्रे र क्याथी क्याम्पबेल पनि नेपाल आए। नेपाल आउँदा प्रज्ञा कुञ्ज स्कुलका अभिभावक गोपीकृष्ण ढुंगाना र सुनिता प्रधानको घरमा आतिथ्यता पाएर उनीहरू मक्ख परे। यसैको प्रभावले सायद सन् २०२५ मा उनीहरूले फेरि हामीलाई बोलाए। साहित्य एवं सञ्चारकर्मी गोपीकृष्ण ढुंगानालगायत हामी तिनै पाका मानिसहरूसँग होमस्टेमा जसरी बस्यौं। उनीहरूले पकाए। खुवाए। बालबालिका जसरी ती पाका मानिसहरूको सक्रियता, जाँगर र आतिथ्यता देखेर हामी छक्क पर्यौं।
फ्रान्समा बुद्ध : प्रज्ञा कुञ्ज सन् २०२३ मा फ्रान्स गयो। सुरज तमुलाई पठाएँ। पेरिसबाट टाढाको सहर टुलुसमा थियो नाटक महोत्सव। बुद्धको कथामा आधारित नाटक उज्यालोतिर मञ्चन गरेका थियौं। सुरजले वर्कसप पनि चलाए। पोल्यान्डमा भेटेका युवा रंगकर्मी सोफिएन खलिल जो नेपाल आए, उनले बसको टिकट काट्न, अर्काे सहर पुग्न र लालाबालालाई पेरिस घुम्न सहयोग गरे। सोफिएन त्यहाँको सरकारी रंगमञ्चमा काम गर्छन्। नाटक लिएर देशैभरि यात्रा गरिरहन्छन्। नेपाल फर्किंदा एयरपोर्ट आइपुग्न निकै ढिला भएको थियो। एयरपोर्टभित्र नेपाली यात्रुको नाम बोलाइरहेको थियो। यसरी हतारमा आउँदा एउटा विद्यार्थीको झोला पेरिसमै छुट्यो। हरेक पटक नाटकको सिलसिलामा विभिन्न देश पुग्दा लालाबालाको उपस्थितिसँगै राष्ट्रिय पहिचान पनि पुगेको हुन्थ्यो।
प्रतिक्रिया दिनुहोस !