जिम्बावेले नेपाललाई दियो १३० रनको लक्ष्य
काठमाडौं : आइसीसी महिला टी-२० विश्वकप ग्लोबल क्वालिफार्यसको समूह बी अन्तर्गतको खेलमा जिम्बावेले नेपाललाई १३० रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। शनिबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको जिम्बावेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२९ रन बनाएको हो।
जिम्बावेका लागि केलिस धोलुभले सर्वाधिक ५२ रनको अर्धशतकीय पारी सहित अविजित रहिन्। उनले ३६ बलमा ८ चौका प्रहार गरिन्।
जिम्बावेका लागि ओपनिङ ब्याटर चिपो तिरिपानो र विलभ्ड विजाले क्रमशः ८ र ३४ रन बनाए। मोडेस्टर मुपाचिक्वाले १४ जोस्पाइन कोमो ६ रनमा एलबीडब्ल्यू आउट भइन्। क्रिस्टावेल चाटोन्जावा १ रनमा अविजित रहिन्।
नेपालको लागि रिया शर्माले २ विकेट लिइन्। पुजा महतो, सीता राना मगर र रुबिना क्षेत्रीले १– १ विकेट लिइन्। यो नेपालको तेस्रो खेल हो। नेपालले पहिलो खेलमा थाइल्यान्डसँग ८ विकेट र दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो।
जिम्बावेको यो चौथो खेल हो। यसअघि, ३ खेलमा पराजित हुँदै जिम्बावे सुपर सिक्सको होडबाट बाहिरिइसकेको छ।
प्रतिक्रिया दिनुहोस !