सिन्धुलीमा दुई लाख १५ हजार मतदाता
सिन्धुली : आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि लक्षित गर्दै गरिएको मतदाता नामावली संकलनमा ७ हजार ३९ मतदाताले नामावली दर्ता भएसँगै जिल्लामा २ लाख १५ हजार १९ पुगेको छ।
जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका अनुसार गत मंसिर ५ गतेसम्ममा सिन्धुलीमा थप ७ हजार ३९ मतदाताले नामावली दर्ता गराएका छन्। योसँगै जिल्लामा कुल मतदाताको संख्या २ लाख १५ हजार १९ पुगेको जिल्ला निर्वाचन अधिकृत ईश्वरनाथ मिश्रले जानकारी दिए। यस अघि गत असोज १० गतेसम्म जिल्लामा २ लाख ७ हजार ९ सय ८० जना मतदाता रहेका थिए।
थप नामावली दर्ता भएको संख्याका आधारमा प्रतिनिधि सभा क्षेत्र नं. १ मा ५७ हजार २ सय २ जना पुरुष र ५३ हजार १ सय ८९ जना महिला गरि कुल १ लाख १० हजार ३ सय ९१ जना मतदाताको नाम दर्ता भएको छ। ‘यस्तै प्रतिनिधि सभा क्षेत्र नं. २ मा ५४ हजार १ सय २२ पुरुष र ५० हजार ५ सय ६ जना महिला गरि कुल १ लाख ४ हजार ६ सय २८ जना मतदाता नामावली संकलन गरिएको छ,’ मिश्रले भने।
प्रतिनिधि सभा विघटन भई निर्वाचनको मिति घोषणा भएको अवस्थामा निर्वाचनको प्रयोजनका लागि अवधि तोकी मतदाता नामावली संकलन, दर्ता तथा त्यसको अद्यावधिक गर्न सक्ने व्यवस्था गरिएको थियो। सुरुमा कार्तिक १८ गतेसम्म नामावली दर्ता गर्ने समयसीमा राखेको निर्वाचन आयोगले उक्त म्याद मङ्सिर ५ गतेसम्म थप गरेको थियो। सो अवधिमा
वेबपोर्टलमार्फत अनलाइन प्रविधिबाट सिन्धुलीमा ५ हजार २३ जनाले नामावली दर्ता गराएका थिए। यस्तै बायोमेट्रिक अर्थात् आफैं उपस्थित भएर २ हजार १ सय ४० जनाले मतदाता नामावली दर्ता गराएको मिश्रले भनाइ छ। कार्यालयले मङ्सिर २१ गतेदेखि २७ गतेभित्र अद्यावधिकका लागि निवेदन दिन आग्रह गरेको छ। सो अवधिभित्र परेको दाबी विरोध, दोहोरिएको नाम हटाउने, मृत्यु भएका, नागरिकता त्याग गरेका मतदाताको नाम हटाउन निवेदन परेपछि आयोगले सो माथि छानबिन गरी पुस १५ गते अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो।
सिन्धुलीमा १ सय ५१ वटा मतदान स्थल रहेका छन्। सिन्धुली प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा ७७ र २ मा ७४ वटा मतदान स्थल रहेका छन्। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सिन्धुलीको प्रतिनिधि सभा क्षेत्र नं. १ मा १ सय ३८ र प्रतिनिधि सभा क्षेत्र नं. २ मा १ सय ३४ गरी कुल २ सय ७२ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस !