सुन तस्करझैँ विमानस्थलमा अपमान गरे, आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्छ : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताएका छन्।
शनिबार पार्टी कार्यालय च्यासलमा जसपा नेपालका पूर्वकेन्द्रीय सदस्य तथा शेयर लगानीकर्ता दीपेन्द्र अग्रवाललाई एमालेमा प्रवेश गराउँदै अध्यक्ष ओलीले सरकार आफूहरूलाई दुःख दिने र अपमान गर्नतिर लागिरहेको भन्दै निर्वाचनको तयारीसँगै आन्दोलनमा उत्रिनुपर्ने अवस्था आउनसक्ने बताए।
अध्यक्ष ओलीले शुक्रबार आफू झापाबाट काठमाडौं फर्किँदा विमानस्थलमा अपमानित हुनपरेको बताए। माथिको आदेश भन्दै आफूलाई सुन तस्करझैँ चेकजाँच गरेको भन्दै उनले आपत्ति जनाए।
अध्यक्ष ओलीले अहिलेको राजनीतिक परिस्थिति देश जित्ने कि देश हार्ने भन्ने निर्णायक मोडमा पुगेको भन्दै देशलाई जिताउने पक्षमा उभिन सबैलाई आह्वान गरे। नेपाल समृद्ध हुनुपर्ने र नेपाली जनता सुखी हुनुपर्ने एमालेको मूल लक्ष्य रहेको अध्यक्ष ओलीको भनाइ छ।
उनले एमाले अन्य पार्टीझैँ केवल एउटा राजनीतिक दल मात्र नभई स्पष्ट गन्तव्यसहित यात्रामा हिँडेको पार्टी भएको उल्लेख गरे। नयाँ नाममा उदाएका केही पार्टीहरूप्रति अध्यक्ष ओलीले ती दलहरूको कुनै स्पष्ट गन्तव्य नभएको टिप्पणी गरे। त्यसैगरी एमाले प्रवेश गर्दै अग्रवालले पुँजी बजारको सुरक्षित भविष्य सुनिश्चित गर्न नेकपा (एमाले) मा प्रवेश गरेको बताए। अग्रवालले पारदर्शी, सुरक्षित र लगानीमैत्री पुँजी बजारको माग गर्दै आएको उल्लेख गरे।
प्रतिक्रिया दिनुहोस !