दलले बनाएनन् महिला उम्मेदवार
रसुवा : महिला सहभागिता र समावेशीकरणका कुरा जति नै उठे पनि निर्वाचन पिच्छे पुरुषले मात्र टिकट लिने गरेका छन्। आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा रसुवाबाट प्रमुख राजनीतिक दलसहित ९ दलले महिला उम्मेदवार बनाउनु त के सिफारिस पनि गरेनन्। यस पटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवार एक जना महिला छन्।
धेरै दलले त महिलाको नाम जिल्ला सिफारिस गरेर पठाउँदैनन्। जिल्लाबाट टिकट सिफारिस गर्दा महिलाको नाम पठाए पनि चुनाव लड्न पुरुष नै मैदानमा उत्रिएका छन्। प्रत्यक्ष तर्फ नेपाली कांग्रेस र नेकपा एमालेले महिला उम्मेदवार सिफारिस नै गरेनन्। नेपाली कम्युनिस्ट पार्टीले प्रत्यक्ष तर्फ कल्पना शर्मा, नाम र समानुपातिकतर्फ शिला मगर र अर्चना लामाको नाम सिफारिस गरेका थिए।
हालसम्म समानुपातिकमा पनि महिला परेका छैनन्। यसअघि नेकपा एमालेको तर्फबाट ०७४ सालमा समानुपातिक बागमती प्रदेश सभा सदस्यमा शान्ति थिङ परिन्। यसबाहेक महिलाको प्रदेश तथा प्रतिनिधि सभामा सहभागिता त उम्मेदवार र सिफारिस समेत कमै हुने गरेको छ।
मूल्य निर्वाचन अधिकृत ध्रुवकुमार उप्रेतीका अनुसार जिल्लामा ४१ हजार ४ सय ७१ जना मतदाता रहेका छन्। जसमा महिला २० हजार ३ सय ३९ जना मतदाता छन्। रसुवा जिल्लाभर मतदानस्थल ३६ वटा मतदान केन्द्र ५९ वटा केन्द्र रहेको र दल तथा स्वतन्त्र गरी १२ जनाले गरेको मनोनयन दर्ता गरेकोमा सबै कायम रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !