वडाध्यक्ष छाडेर सांसदको उम्मेदवार बनेका सुशील
वीरगन्ज : २०७४ को स्थानीय तह निर्वाचनमा पहिलो पटक चुनावी मैदानमा उत्रिएका सुशील कुमार कानुको हातमा असफलता हात लाग्यो। वीरगन्ज महानगरपालिका वडा नम्बर १० को वडाध्यक्षमा कांग्रेसका रामनगिना प्रसाद कनु १ हजार ३३९ मतका साथ विजेता बन्दा तत्कालीन संघीय समाजवादी फोरमका उम्मेदवार कानु १ हजार १२३ मत ल्याउँदै उपविजेतामा सिमित बन्न पुगे। तर, लगत्तै भएको वीरगन्ज महानगरको कार्यपालिका सदस्यको निर्वाचनमा भने सफलता हात पार्दै २७ वर्षीय कानु कार्यपालिका सदस्यमा निर्वाचित भए।
त्यस यताका चुनावी प्रतिस्पर्धामा उनले हारको सामना गर्नु परेको छैन। २०७९ को स्थानीय तह निर्वाचनमा कानु फेरि वीरगन्ज-१० को वडाध्यक्षको उम्मेदवार बन्दै चुनावी मैदानमा उत्रिए। अनि सफलता पनि सहजै हात पारे। अघिल्लो निर्वाचन (२०७४) मा जोसँग उनी १ सय २० मतको झिनो अन्तरले हारेका थिए , २०७९ को निर्वाचनमा भने उनै कांग्रेसका रामनगिना प्रसाद कानुलाई ४ सय ७३ मतान्तरले हराउँदै वडाध्यक्ष बन्ने सपना साकार पारे जसपाका उम्मेदवार बनेका कानुले।
५ वर्षको वडाध्यक्षको कार्यकाल तेस्रो वर्ष चल्दै गरेका बेला संघीय सांसद बन्ने लालसा जागेपछि कानु वडाध्यक्ष पद त्यागेर अहिले फागुन २१ को निर्वाचनको लागि चुनावी मैदानमा हाम फालेका छन्। संघीय सांसद बन्ने चहनामा कानुले वडाध्यक्ष पदसंगै मधेस केन्द्रित दल जसपालाई पनि त्यागेका छन्, अनि वैकल्पिक शक्तिका रूपमा स्थापित हुँदैछ भन्ने भाष्य बनाइरहेको रवि-बालेनको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई रोजेका छन् कानुले।
रास्वपाबाट पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यको उम्मदवारी दिएका कानुले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी प्रचार अभियानपनि थालिसकेका छन्। ६ माघमा उम्मेदवारी दर्ता गराएकै दिन कानुले सञ्चारकर्मीमाझ भने, ‘उमेरले म युवा भएपनि राजनीतिक चेतना र चिन्तन अहिलेका मेरा प्रतिस्पर्धिका भन्दा कुनै कम छैन। किनकि २०६२-६३ को जनआन्दोलनमा नेता नै नभए पनि कार्यकर्ता सरहकै हैसियतमा म सकृय रूपमा सहभागी भएको थिए। त्यसपछिका मधेस आन्दोलनमा पनि म सकृय भएरै लागे। २०७४ र २०७९ मा म वडाध्यक्षमै लडे। केही समयअघि जेनजी आन्दोलनमा उठाइएका मुद्दाको पक्षमै थिए म, र अहिलेपनि ती मुद्दाहरू बोकेरै म चुनावी मैदानमा उत्रिएको छु।’
आफूमा राजनीतिक चेतना सुरु भएदेखि नै परिवर्तनको पक्षपाती रहँदै आएको कानु बताउँछन्।३५ वर्षीय युवा कानु भन्छन्, ‘एउटै नेतालाई कति पटक भोट दिएर जिताउने? पटक-पटक जितेका ती नेता र तीनका दलले आमूल परिवर्तन ल्याउन सके त ? सुशासन र परिवर्तनका आवाज उठाउँदा के युवाहरु गोली खाएर मर्नै पर्ने हो? यी प्रश्नहरुको जवाफ ती पटक पटक चुनाव जितेका नेता ज्यूहरूले दिन सक्नु भएको छ त? छैन। त्यसका कारण परिवर्तनका लागि पनि मेरो आजको उम्मेदवारी हो।’
नेपालको इतिहासमै पहिलो पटक कुनै मधेसीको छोरोलाई प्रधानमन्त्रीका रुपमा अघि सारेको कारणलेपनि आफूले रास्वपालाई रोज्न पुगेको उनी तर्क गर्छन्। कानु भन्छन्, ‘मधेसमा मात्र होइन, पूरा देशभर ‘अबकी बार,बालेन सरकार’ को नारा गुन्जिरहेको छ। अबको चुनावबाट रास्वपाले एकल बहुमत ल्याउँछ, पहिलो पटक यो देशमा एउटा मधेसीको छोरा प्रधानमन्त्री बन्छ नै। यो देश अब युवा पुस्ताले हाँक्छ।’
अब अग्रज (पुराना) को योगदानलाई सम्मान गर्दै युवाको नेतृत्वले मात्र मुलुकको समृद्धि सम्भव भएकाले रास्वपाले फागुन २१ को निर्वाचनका लागि प्रायः युवा पुस्ता र नयाँ अनुहारलाई चुनावी मैदानमा उतारेको उनी बताउँछन्। त्यही कारण अहिले पर्सा-२ का साथै देशभर नै रास्वपाको पक्षमा जनलहर बढ्दै गएको र यो जनलहरको प्रभाव चुनावी नतिजामा देखिने दाबी पनि उनि गर्छन्।
प्रतिक्रिया दिनुहोस !