election background

प्रतिनिधि सभा निर्वाचन २०८२

पहिला हामी सुध्रौं अनि बन्छ देश

पहिला हामी सुध्रौं अनि बन्छ देश

टी-२० विश्वकपको छनौट खेलमा नेपाल  कतार सँग खेलिरहेको थियो जसमा नेपालले राम्रो सुरुवात गर्न सकिरहेको थिएन। सुरुका २ विकेट झरे पछि नेपाल दबाब मै खेलिरहेको थियो । क्याप्टेन रोहित पौडेल क्रिजमा थिए । कतिबेला उनले राम्रो गर्थे रन बनाउँथे लाइभ हेरेर बसिरहेकाहरु उत्तेजित हुन्थे र साह्रै सकारात्मक कमेण्ट गर्थे। जब उनि धर्मराउथे र १-२ बल डट खेल्थे लाइभ हेरिरहेको भिड फेरी उही गतिमा नकारात्मक बन्थ्यो र पढ्नै नसकिने नकारात्मक कमेन्टमा उतर्न्थ्यो। 

००० 
केही समय पहिला साह्रै चल्तापुर्जा एक गायक प्रसंगबस तत्कालिन प्रधानमन्त्रीको समर्थनमा मञ्चबाटै बोले । जसबापत उनी आलोचित मात्रै भएनन् कि उनले गाएका गीको युट्युब भ्युज ह्वात्तै घट्यो । सामाजिक संजाल भरी गरिएको तल्लो स्तरको गाली गलौजले लामो समय उनले मानसिक तनाव सम्म झेल्न पुगे । 
०००
सार्वजनिक वृत्तमा सुन्दरता संगै बौद्धिकता समेत भएको भनेर राम्रो चर्चा कमाएकि एक पुर्व मिस नेपाल समेत यस्तै तनाब झेल्ने प्रतिनिधि पात्र हुन् । मिडिया ट्रोल गरेर उनको छबि यति धेरै नकारात्मक बनाइएयो कि उनको ब्यक्तिगत क्षमता पुरै छायाँमा पर्यो । यो क्रम त्यतिमै मात्र रोकिएन गत भाद्रमा भएको जेन्जि बिद्रोहको समेत उनि निशानामा परिन् । नेपो बेबिज भन्दै उनले आफ्नै कमाइले जोडेको संपत्ति पनि आगजनी भयो । 
०००
माथि उल्लेख गरिएका प्रसंग हाम्रो बर्तमान समाजका प्रतिनिधिमुलक घट्ना हुन् । जसले हाम्रो समाजको मनोविज्ञान कस्तो छ भनेर बुझन सहयोग पुर्याउँछ । कुनै व्यक्तिका सम्बन्धमा सकारात्मक वा नकारात्मक बन्नु उनको व्यक्तिगत विषय हो । खेलमा कि त हार हुन्छ कि त जित । खेलमा हुने सामान्य उचारचढाव समेत सहज स्विकार गर्न नसक्ने कस्तो चेतना विकास भैराखेको छ हाम्रो ? सार्वजनिक सञ्जालमा कुनै ब्यक्तिको बारेमा नकारात्मक वा सकारात्मक बन्ने नितान्त वैयक्तिक विषयलाई हामी किन बुझ्न खोजिरहेका छैनौ ? वा बुझेर पनि बुझ पचाइरहेका छौं ? कि त चरम आक्राशित र नकारात्मक बन्ने वा त्यती नै डिग्रिमा सकारात्मक भएर भजन गाउन पछि नपर्ने प्रवृत्ति किन हावी भइरहेको छ । हामी कसैलाई एकैछिनमा भगवान बनाउछौ र उतिनै समयमा फेरी राक्षस । समाजशास्त्रीय दृष्टिकोणबाट बिश्लेषण गर्दा हाम्रो समाजको वर्तमान चरित्र गम्भीर चासो र चिन्ताजनक अवस्थामा छ । 

वर्तमान नेपाली समाज चरम संक्रमणकालबाट गुज्रिरहेको छ । एकातिर शिक्षामा बढ्दो पहुँच, समाजको बढ्दो चेतना र प्रविधि माथीको पहुँचले तिब्र पतिवर्तन उन्मुख छ भने अर्कोतिर सार्वजनिक सेवा र संस्था प्रतिको असन्तुष्टि, बेरोजगारीका कारण निराशा र दिशाविहीन जस्तो दखिएको छ । अझ भनौ दिशाविहिन र अस्थिर राजनिति, शासन प्रतिको अविश्वास, वेरोजगारी, सामाजिक संञ्जालको दुरुपयोग मार्फत स्थापित नकारात्मक भाष्य तथा आक्रोशले चरम निराशा ब्याप्त छ । नेपाली समाजको समाजिक संजालमा आधारित चेतनाले यो अवस्था ल्याउन थप सहयोग पुरयाइरहेको छ । संरचनागत रुपमा असन्तुलित, शक्तिगत रुपमा विभाजित, सांस्कृतिकरुपमा चरम संक्रमणशील र मनोवैज्ञानिक रुपमा निराश आजको नेपाली समाजको चरित्र हो । समाजको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितिक र मनोवैज्ञानिक स्वरुप नै त्यो समाजको चरित्र हो । समाजशास्त्री इमाइल दुर्खिमका अनुसार, ‘समाजका संस्था (राज्य, परिवार, शिक्षा, अर्थतन्त्र) ले आफ्नो भुमिका सहि हिसाबले निर्वाह नगर्दा असन्तुलन पैदा हुन्छ ।’ नेपाली समाज राजनीतिक हिसाबले सचेत त छ तर संस्थागत रुपमा साह्रै कमजोर छ । 

प्रश्न गर्ने, आलोचना गर्ने, सत्यका विषयमा खरो उत्रने समाज नै अग्रगामी हो । तर कालो र सेतोको बिचमा ‘ग्रे’ हुन्छ भन्ने सत्यलाई आत्मसात नगरी अतिवादी मात्र सोच राख्ने समाजलाई भने सकारात्मक र अग्रगामी भन्न सकिदैन । सामाजिक संजालमा नकारात्मक, उत्तेजक र अधुरो सुचना छिटो फैलन्छ । सकारात्मकता भन्दा आलोचना र नकारात्मक गालि गलोजलाई बढी ध्यान दिइन्छ । पुर्ण समाचार नपढी हल्ला र नकारात्मक सुचना भाइरल बनिरहेका छन् । अहिले नेपाली समाज यसकै शिकार भैराखेको छ । 

नेपाली समाज रुपान्तरणको संघारमा छ । एकातर्फ परम्परागत मुल्य मान्यताबाट आधुनिकता तर्फ तिब्र रुपान्तरण भैरहेको छ भने अर्को तर्फ राजनैति परिवर्तन संगै नागरिक सचेतना पनि बढेको छ जसले सम्बन्धहरु बदलिँदै गइरहेका छन् । किनभने खुशी र उल्लास निर्धारण गर्ने काम बजारले गरिरहेको छ । बजारको मुल चरित्र भनेकै निर्मम र अमानवीय हुनु हो । पहिला होचोनिचोको निर्धारणमा जात प्रमुख थियो, अहिले क्रय शक्ति यानकि आर्थिक हैसियत हावि भएको छ । अहिले सामाजिक मानक गौण बनेको छ भने आर्थिक मानकले प्राथमिकतामा परेको छ । देखावटीपन संस्कार बन्दै गएको छ । परिवारसँग बसेर दुःखसुख साट्ने फुर्सद समेत कसैलाई छैन । बरु,  के के किनियो, के के गरियो भनेर अरूलाई देखाउने हतारो प्रायः सबैलाई छ । टिकटक, फेसबुक, ट््वीटर सामाजिक सञ्जालमा  देखिने ब्यक्तिगत कुराहरुले यसलाई प्रतिविम्बित गर्छन् । परिवर्तित नेपाली समाजको सबुत प्रमाण समाजिक सञ्जालमा भेटिन्छ । कमजोर आर्थिक हैसियत भएकाहरु पनि अनेक यत्न गरेर उपल्लो आर्थिक हैसियतमा उक्लने प्रयासहरु जारी छन् । म पनि माथिल्लो स्तरकै हुँ भन्ने देखाउन कतिपय त सर्टस्हरु बनाएर फेसबुकमा अपलोड गर्ने ध्याउन्न छ । अरूले थाहा पाउने गरी सम्पत्ति खर्च गर्न सकियो भने पो यो सँग सम्पत्ति रहेछ, यो ठूलो मान्छे रहेछ भन्ने स्थापित हुन्छ भन्ने आमबुझाइ बनेको छ । अरूलाई अनुभूत नगराई सम्पत्तिको महत्व हँदैन भन्ने सोच छ । पहिले अरूलाई सम्पत्ति देखाउनु हुँदैन भन्ने थियो । अहिले कसरी हुन्छ, अरुलाई देखाउनुपर्छ भन्ने छ । यसको सिधा प्रभाव हाम्रा समाजिक गतिविधिमा परेको छ । विवाहभोज मात्र होइन ब्रतबन्ध र गुन्युचोली कार्यक्रममा हुने नै तडकभडक आर्थिक सम्पन्नताको मानक बनेका छन् । समाज यति तिब्रतर अगाडी बढिरहेको छ तर सोही अनुकुल आर्थिक अवसरहरु श्रृजना हुन नसक्दा हाम्रो समाज सन्तुलित बन्न सकिरहेको छैन । जसको ठुलो मार नेपालको मध्यम बर्गमा परिरहेको छ । 

हामीले जहानियाँ राणा र पञ्चायति शासन हटायौं, बहुदल ल्यायौं अझ संवैधानिक राजतन्त्र समेत फालेर गणतन्त्र स्थापना गर्यौं । तर यति धेरै परिवर्तनबाट आएका व्यवस्थाहरु कागज मै सिमित भए । आवधिक हिसाबले हामीले संविधानमा पनि फेरीरहयौ । तर विडम्बना, काल, बेला र शासन व्यवस्था बदलिंदा पनि  हामीले संस्कार बदल्न सकेनौ । अहिले  परिवार  यस्तो भइसकेको छ कि एउटा सफल बाबु हुनु छ भने एउटा गतिलो उपभोक्ता पनि हुनै पर्छ । घरमा बसेर आफ्ना बालबच्चालाई मनग्गे समय दिएर, पुराना बुबा–बाजेका कथा र संस्मरण सुनाएर अर्थ नराख्ने भयो । राम्रो उपभोक्ता हुन सकियो भने मात्रै राम्रो पिता हुने भइयो । यस्तो संस्कारले समाजलाई गाल्दै लगेको छ । तर पनि हामी अझैं सुध्रनै सकेनौं वा चाहेनौं ? बढ्दो बेरोजगारी, महंगिले जनशक्ति पलायन भइरहेको छ । अहिले रोजगारीको एकमात्र विकल्प वैदेशिक रोजगारी भएको छ । वैदेशिक रोजगारी (रेमिट्यान्स)मा आश्रित समाज अन्ततः हतास र नकारात्मक बन्छ । बैदेशिक रोजगारीले परिवारको आर्थिक हैसियत बदलिए पनि त्यसले समाजमा पार्ने बहुआयामिक सामाजिक प्रभाव भने धेरै महंगो छ । 

भनिन्छ नीतिहरुको मुल नीति नै  राजनीति हो । राजनीतिले नै समाजको दिशा निर्धारण गर्दछ र समाजलाई सहि मार्गमा डोहोरयाउछ । तर नेपालको बर्तमान गति, मति र दिशाविहिन राजनीतिले नेपाली समाजलाई सहि बाटोमा डोर्याउने त कता हो कता झन भ्रष्ट बनाउन सघाउ पुरयाइरहेको छ । अर्को तर्फ सभ्य समाज बिना राजनीति दिशाविहिन हुन्छ । समाजशास्त्री टालकोट पार्सन भन्छन,‘राजनिति समाजको एउटा अभिन्न अंग हो जसको काम सुब्यवस्था, स्थाथित्व र सन्तुलन कायम गर्नु हो ।’ हाम्रो समाजले राजनितिलाई मार्गदर्शन गर्न पनि सकिरहेको छैन् । 

समाज रुपान्तरण भनेको समाजको सोच, ब्यवहार, संरचना, शक्ति संबन्ध र जिबनशैलीमा आउने परिवर्तन हो । परिवर्तन र सुधार आफैबाट गर्नुपर्छ । आफु सुध्रिए परिवार सुध्रिन्छ परिवार सुध्रिए समाज सुध्रन्छ समाज नै सुध्रिए पछि अनि देश सुध्रिने हो ।  यो एउटा समाज सुधारको चक्र वा प्रणाली हो ।  जसका लागि हाम्रो चेतना, शिक्षा र संरचना मै सुधार आवश्यकता देखिएको छ । भनिन्छ एक असल समाज बन्न समाजका हरेक इकाइ उक्तिकै जिम्मेवारीपुर्वक आफ्नो भुमिकामा खरो उत्रनु पर्छ । हामी हरेक समस्या राजनितिमा मात्र देखिरहेका छौ ।  हाम्रो राजनिति, हाम्रा नेता यहि समाजका उपज हुन् । जुन समााजको सामाजिक मुल्य मान्यता, संस्कार र संस्कृति कमजोर हुन्छ त्यसले निम्त्याउने वा पैदा गर्ने राजनिति यस्तै गतिहिन हुन्छ । हरेक नेतृत्व यहि समाज, सामाजिक सम्वन्ध, ब्यवहार, दृष्टिकोणबाट त जन्मने हो ।  

मुलुकका राजनीतिक दलहरु रोटेपिङ खेले जसरी सत्ता स्वादमै रमाइरहे अझ भनौ सत्ता अभ्यास मै राज्यकोष स्वाहा पारिरहे । हरेक चुनावमा हामी दलका घोषणपत्ररुपी स्वाद्विहिन खोक्रा आश्वासनमा भुलिरहयौ ।  कहिले कुन दल त कहिले कुन दललाई भोट हाल्दै मताधिकारको अभ्यास गरिरह्यौं । हामी समाज परिवर्तन होस भन्ने चाह्यौं तर आफू परिवर्तन हुन खोजेनौं या त चाहेनौं । समाज परिवर्तन गर्ने हो भने हामी सबै सुध्रनु पर्छ । 
ब्यक्ति होस वा राजनीतिक दल, बेठिकलाई बेठिक र सहिलाई सहि भन्न सक्नुपर्छ । घृणा वा आक्रोश होइन बिवेकपूर्ण ढंगले तर्क सहितको असहमति दर्ज गर्नु पर्छ । विधि, पद्धति र बेथितिका बारेमा प्रश्न सोध्ने, जवाफदेही बनाउने हिम्मत राख्नु पर्छ । भनिन्छ, मुलुक बिग्रनुमा जानेबुझेकाहरु मौन बस्नु पनि एक कारण हो । तर्क र तथ्य सहितको सुझाव वा आलोचनाले नै व्यक्ती वा समाजमा सकारात्मकता ल्याउन पद्दत पुग्छ । आखिर समाज बदल्ने ब्यक्तिले त हो । आउनुहोस, आफ्ना सबल र दुर्बल पक्ष केलाऔं सबल पक्षको प्रबद्र्धन गरौं र दुर्बल पक्ष त्याग्दै सुधारिउँ । समुन्नत समाज निर्माण गर्र्न प्रतिबद्धता जनाऊँ र, त्यसको शुरुवात आफुबाटै गरौं, आजबाटै गरौं । 

बेल्बासे समाजशास्त्री हुन्। अर्थराजनीति र सामाजिक विषयमा रुची राख्ने उनी समसामयिक बिषयमा कलम चलाउँछन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.