पहिला हामी सुध्रौं अनि बन्छ देश
टी-२० विश्वकपको छनौट खेलमा नेपाल कतार सँग खेलिरहेको थियो जसमा नेपालले राम्रो सुरुवात गर्न सकिरहेको थिएन। सुरुका २ विकेट झरे पछि नेपाल दबाब मै खेलिरहेको थियो । क्याप्टेन रोहित पौडेल क्रिजमा थिए । कतिबेला उनले राम्रो गर्थे रन बनाउँथे लाइभ हेरेर बसिरहेकाहरु उत्तेजित हुन्थे र साह्रै सकारात्मक कमेण्ट गर्थे। जब उनि धर्मराउथे र १-२ बल डट खेल्थे लाइभ हेरिरहेको भिड फेरी उही गतिमा नकारात्मक बन्थ्यो र पढ्नै नसकिने नकारात्मक कमेन्टमा उतर्न्थ्यो।
०००
सार्वजनिक वृत्तमा सुन्दरता संगै बौद्धिकता समेत भएको भनेर राम्रो चर्चा कमाएकि एक पुर्व मिस नेपाल समेत यस्तै तनाब झेल्ने प्रतिनिधि पात्र हुन् । मिडिया ट्रोल गरेर उनको छबि यति धेरै नकारात्मक बनाइएयो कि उनको ब्यक्तिगत क्षमता पुरै छायाँमा पर्यो । यो क्रम त्यतिमै मात्र रोकिएन गत भाद्रमा भएको जेन्जि बिद्रोहको समेत उनि निशानामा परिन् । नेपो बेबिज भन्दै उनले आफ्नै कमाइले जोडेको संपत्ति पनि आगजनी भयो ।
०००
माथि उल्लेख गरिएका प्रसंग हाम्रो बर्तमान समाजका प्रतिनिधिमुलक घट्ना हुन् । जसले हाम्रो समाजको मनोविज्ञान कस्तो छ भनेर बुझन सहयोग पुर्याउँछ । कुनै व्यक्तिका सम्बन्धमा सकारात्मक वा नकारात्मक बन्नु उनको व्यक्तिगत विषय हो । खेलमा कि त हार हुन्छ कि त जित । खेलमा हुने सामान्य उचारचढाव समेत सहज स्विकार गर्न नसक्ने कस्तो चेतना विकास भैराखेको छ हाम्रो ? सार्वजनिक सञ्जालमा कुनै ब्यक्तिको बारेमा नकारात्मक वा सकारात्मक बन्ने नितान्त वैयक्तिक विषयलाई हामी किन बुझ्न खोजिरहेका छैनौ ? वा बुझेर पनि बुझ पचाइरहेका छौं ? कि त चरम आक्राशित र नकारात्मक बन्ने वा त्यती नै डिग्रिमा सकारात्मक भएर भजन गाउन पछि नपर्ने प्रवृत्ति किन हावी भइरहेको छ । हामी कसैलाई एकैछिनमा भगवान बनाउछौ र उतिनै समयमा फेरी राक्षस । समाजशास्त्रीय दृष्टिकोणबाट बिश्लेषण गर्दा हाम्रो समाजको वर्तमान चरित्र गम्भीर चासो र चिन्ताजनक अवस्थामा छ ।
वर्तमान नेपाली समाज चरम संक्रमणकालबाट गुज्रिरहेको छ । एकातिर शिक्षामा बढ्दो पहुँच, समाजको बढ्दो चेतना र प्रविधि माथीको पहुँचले तिब्र पतिवर्तन उन्मुख छ भने अर्कोतिर सार्वजनिक सेवा र संस्था प्रतिको असन्तुष्टि, बेरोजगारीका कारण निराशा र दिशाविहीन जस्तो दखिएको छ । अझ भनौ दिशाविहिन र अस्थिर राजनिति, शासन प्रतिको अविश्वास, वेरोजगारी, सामाजिक संञ्जालको दुरुपयोग मार्फत स्थापित नकारात्मक भाष्य तथा आक्रोशले चरम निराशा ब्याप्त छ । नेपाली समाजको समाजिक संजालमा आधारित चेतनाले यो अवस्था ल्याउन थप सहयोग पुरयाइरहेको छ । संरचनागत रुपमा असन्तुलित, शक्तिगत रुपमा विभाजित, सांस्कृतिकरुपमा चरम संक्रमणशील र मनोवैज्ञानिक रुपमा निराश आजको नेपाली समाजको चरित्र हो । समाजको समग्र सामाजिक, सांस्कृतिक, आर्थिक, राजनितिक र मनोवैज्ञानिक स्वरुप नै त्यो समाजको चरित्र हो । समाजशास्त्री इमाइल दुर्खिमका अनुसार, ‘समाजका संस्था (राज्य, परिवार, शिक्षा, अर्थतन्त्र) ले आफ्नो भुमिका सहि हिसाबले निर्वाह नगर्दा असन्तुलन पैदा हुन्छ ।’ नेपाली समाज राजनीतिक हिसाबले सचेत त छ तर संस्थागत रुपमा साह्रै कमजोर छ ।
प्रश्न गर्ने, आलोचना गर्ने, सत्यका विषयमा खरो उत्रने समाज नै अग्रगामी हो । तर कालो र सेतोको बिचमा ‘ग्रे’ हुन्छ भन्ने सत्यलाई आत्मसात नगरी अतिवादी मात्र सोच राख्ने समाजलाई भने सकारात्मक र अग्रगामी भन्न सकिदैन । सामाजिक संजालमा नकारात्मक, उत्तेजक र अधुरो सुचना छिटो फैलन्छ । सकारात्मकता भन्दा आलोचना र नकारात्मक गालि गलोजलाई बढी ध्यान दिइन्छ । पुर्ण समाचार नपढी हल्ला र नकारात्मक सुचना भाइरल बनिरहेका छन् । अहिले नेपाली समाज यसकै शिकार भैराखेको छ ।
नेपाली समाज रुपान्तरणको संघारमा छ । एकातर्फ परम्परागत मुल्य मान्यताबाट आधुनिकता तर्फ तिब्र रुपान्तरण भैरहेको छ भने अर्को तर्फ राजनैति परिवर्तन संगै नागरिक सचेतना पनि बढेको छ जसले सम्बन्धहरु बदलिँदै गइरहेका छन् । किनभने खुशी र उल्लास निर्धारण गर्ने काम बजारले गरिरहेको छ । बजारको मुल चरित्र भनेकै निर्मम र अमानवीय हुनु हो । पहिला होचोनिचोको निर्धारणमा जात प्रमुख थियो, अहिले क्रय शक्ति यानकि आर्थिक हैसियत हावि भएको छ । अहिले सामाजिक मानक गौण बनेको छ भने आर्थिक मानकले प्राथमिकतामा परेको छ । देखावटीपन संस्कार बन्दै गएको छ । परिवारसँग बसेर दुःखसुख साट्ने फुर्सद समेत कसैलाई छैन । बरु, के के किनियो, के के गरियो भनेर अरूलाई देखाउने हतारो प्रायः सबैलाई छ । टिकटक, फेसबुक, ट््वीटर सामाजिक सञ्जालमा देखिने ब्यक्तिगत कुराहरुले यसलाई प्रतिविम्बित गर्छन् । परिवर्तित नेपाली समाजको सबुत प्रमाण समाजिक सञ्जालमा भेटिन्छ । कमजोर आर्थिक हैसियत भएकाहरु पनि अनेक यत्न गरेर उपल्लो आर्थिक हैसियतमा उक्लने प्रयासहरु जारी छन् । म पनि माथिल्लो स्तरकै हुँ भन्ने देखाउन कतिपय त सर्टस्हरु बनाएर फेसबुकमा अपलोड गर्ने ध्याउन्न छ । अरूले थाहा पाउने गरी सम्पत्ति खर्च गर्न सकियो भने पो यो सँग सम्पत्ति रहेछ, यो ठूलो मान्छे रहेछ भन्ने स्थापित हुन्छ भन्ने आमबुझाइ बनेको छ । अरूलाई अनुभूत नगराई सम्पत्तिको महत्व हँदैन भन्ने सोच छ । पहिले अरूलाई सम्पत्ति देखाउनु हुँदैन भन्ने थियो । अहिले कसरी हुन्छ, अरुलाई देखाउनुपर्छ भन्ने छ । यसको सिधा प्रभाव हाम्रा समाजिक गतिविधिमा परेको छ । विवाहभोज मात्र होइन ब्रतबन्ध र गुन्युचोली कार्यक्रममा हुने नै तडकभडक आर्थिक सम्पन्नताको मानक बनेका छन् । समाज यति तिब्रतर अगाडी बढिरहेको छ तर सोही अनुकुल आर्थिक अवसरहरु श्रृजना हुन नसक्दा हाम्रो समाज सन्तुलित बन्न सकिरहेको छैन । जसको ठुलो मार नेपालको मध्यम बर्गमा परिरहेको छ ।
हामीले जहानियाँ राणा र पञ्चायति शासन हटायौं, बहुदल ल्यायौं अझ संवैधानिक राजतन्त्र समेत फालेर गणतन्त्र स्थापना गर्यौं । तर यति धेरै परिवर्तनबाट आएका व्यवस्थाहरु कागज मै सिमित भए । आवधिक हिसाबले हामीले संविधानमा पनि फेरीरहयौ । तर विडम्बना, काल, बेला र शासन व्यवस्था बदलिंदा पनि हामीले संस्कार बदल्न सकेनौ । अहिले परिवार यस्तो भइसकेको छ कि एउटा सफल बाबु हुनु छ भने एउटा गतिलो उपभोक्ता पनि हुनै पर्छ । घरमा बसेर आफ्ना बालबच्चालाई मनग्गे समय दिएर, पुराना बुबा–बाजेका कथा र संस्मरण सुनाएर अर्थ नराख्ने भयो । राम्रो उपभोक्ता हुन सकियो भने मात्रै राम्रो पिता हुने भइयो । यस्तो संस्कारले समाजलाई गाल्दै लगेको छ । तर पनि हामी अझैं सुध्रनै सकेनौं वा चाहेनौं ? बढ्दो बेरोजगारी, महंगिले जनशक्ति पलायन भइरहेको छ । अहिले रोजगारीको एकमात्र विकल्प वैदेशिक रोजगारी भएको छ । वैदेशिक रोजगारी (रेमिट्यान्स)मा आश्रित समाज अन्ततः हतास र नकारात्मक बन्छ । बैदेशिक रोजगारीले परिवारको आर्थिक हैसियत बदलिए पनि त्यसले समाजमा पार्ने बहुआयामिक सामाजिक प्रभाव भने धेरै महंगो छ ।
भनिन्छ नीतिहरुको मुल नीति नै राजनीति हो । राजनीतिले नै समाजको दिशा निर्धारण गर्दछ र समाजलाई सहि मार्गमा डोहोरयाउछ । तर नेपालको बर्तमान गति, मति र दिशाविहिन राजनीतिले नेपाली समाजलाई सहि बाटोमा डोर्याउने त कता हो कता झन भ्रष्ट बनाउन सघाउ पुरयाइरहेको छ । अर्को तर्फ सभ्य समाज बिना राजनीति दिशाविहिन हुन्छ । समाजशास्त्री टालकोट पार्सन भन्छन,‘राजनिति समाजको एउटा अभिन्न अंग हो जसको काम सुब्यवस्था, स्थाथित्व र सन्तुलन कायम गर्नु हो ।’ हाम्रो समाजले राजनितिलाई मार्गदर्शन गर्न पनि सकिरहेको छैन् ।
समाज रुपान्तरण भनेको समाजको सोच, ब्यवहार, संरचना, शक्ति संबन्ध र जिबनशैलीमा आउने परिवर्तन हो । परिवर्तन र सुधार आफैबाट गर्नुपर्छ । आफु सुध्रिए परिवार सुध्रिन्छ परिवार सुध्रिए समाज सुध्रन्छ समाज नै सुध्रिए पछि अनि देश सुध्रिने हो । यो एउटा समाज सुधारको चक्र वा प्रणाली हो । जसका लागि हाम्रो चेतना, शिक्षा र संरचना मै सुधार आवश्यकता देखिएको छ । भनिन्छ एक असल समाज बन्न समाजका हरेक इकाइ उक्तिकै जिम्मेवारीपुर्वक आफ्नो भुमिकामा खरो उत्रनु पर्छ । हामी हरेक समस्या राजनितिमा मात्र देखिरहेका छौ । हाम्रो राजनिति, हाम्रा नेता यहि समाजका उपज हुन् । जुन समााजको सामाजिक मुल्य मान्यता, संस्कार र संस्कृति कमजोर हुन्छ त्यसले निम्त्याउने वा पैदा गर्ने राजनिति यस्तै गतिहिन हुन्छ । हरेक नेतृत्व यहि समाज, सामाजिक सम्वन्ध, ब्यवहार, दृष्टिकोणबाट त जन्मने हो ।
मुलुकका राजनीतिक दलहरु रोटेपिङ खेले जसरी सत्ता स्वादमै रमाइरहे अझ भनौ सत्ता अभ्यास मै राज्यकोष स्वाहा पारिरहे । हरेक चुनावमा हामी दलका घोषणपत्ररुपी स्वाद्विहिन खोक्रा आश्वासनमा भुलिरहयौ । कहिले कुन दल त कहिले कुन दललाई भोट हाल्दै मताधिकारको अभ्यास गरिरह्यौं । हामी समाज परिवर्तन होस भन्ने चाह्यौं तर आफू परिवर्तन हुन खोजेनौं या त चाहेनौं । समाज परिवर्तन गर्ने हो भने हामी सबै सुध्रनु पर्छ ।
ब्यक्ति होस वा राजनीतिक दल, बेठिकलाई बेठिक र सहिलाई सहि भन्न सक्नुपर्छ । घृणा वा आक्रोश होइन बिवेकपूर्ण ढंगले तर्क सहितको असहमति दर्ज गर्नु पर्छ । विधि, पद्धति र बेथितिका बारेमा प्रश्न सोध्ने, जवाफदेही बनाउने हिम्मत राख्नु पर्छ । भनिन्छ, मुलुक बिग्रनुमा जानेबुझेकाहरु मौन बस्नु पनि एक कारण हो । तर्क र तथ्य सहितको सुझाव वा आलोचनाले नै व्यक्ती वा समाजमा सकारात्मकता ल्याउन पद्दत पुग्छ । आखिर समाज बदल्ने ब्यक्तिले त हो । आउनुहोस, आफ्ना सबल र दुर्बल पक्ष केलाऔं सबल पक्षको प्रबद्र्धन गरौं र दुर्बल पक्ष त्याग्दै सुधारिउँ । समुन्नत समाज निर्माण गर्र्न प्रतिबद्धता जनाऊँ र, त्यसको शुरुवात आफुबाटै गरौं, आजबाटै गरौं ।
बेल्बासे समाजशास्त्री हुन्। अर्थराजनीति र सामाजिक विषयमा रुची राख्ने उनी समसामयिक बिषयमा कलम चलाउँछन्।
प्रतिक्रिया दिनुहोस !