जंगली घोडाबाट समुद्री यात्रा !
सिड्नी (अस्ट्रेलिया) : अमेरिकाकी एउटी साहसी युवतीले चार खुर र काठीको भरमा अस्ट्रेलियाका हरेक समुद्री तट छिचोलेर इतिहास रचेकी छन् । उनी हुन्, जिन स्जागोला । जसले आठ महिनाको अथक यात्रामा ४ हजार ४ सय किलोमिटर दूरी पार गरिन् । न त स्टेयरिङ ह्विल समातेर, न त इन्जिनले तान्ने रेल चढेर । त्यो यात्रा थियो एक जंगली घोडाको साथमा।
जिनले अद्भुत यात्राका लागि रोजिन् अस्ट्रेलियाकै जंगली ब्रम्बी घोडा । फेबल नामको त्यो घोडासँगै गत वर्ष मे २० मा न्यु साउथ वेल्सबाट यात्रा सुरु गरेकी थिइन् । आठ महिना उनीहरू तटीय सडकका धुला, हावा र घामसँगै हिँडे । दिनमा ३२ किलोमिटर, बिस्तारै तर अडिग रूपमा ।
जब धेरै मानिस अस्ट्रेलिया पार गर्ने सपना स्टेयरिङ ह्विल पछाडि बसेर मात्र देख्छन् । तर २५ वर्षीया जिनले भने त्यसो गरिनन् । आठ महिना काठीमै बिताएपछि, ४ हजार ४ सय किलोमिटरको यात्रा पूरा गर्दै जिन र फेबल पर्थबाट करिब दुई सय किलोमिटर दक्षिणमा रहेको बुसलटनको फरेस्ट बीचमा पुगे। जहाँ उनीहरूको साहसिक यात्राले विश्राम लिएको छ। यो यात्रा न्यु साउथ वेल्सको दक्षिणी तटस्थित टाथ्राबाट सुरु भएको थियो ।
त्यसपछि उनीहरू भिक्टोरिया, दक्षिण अस्ट्रेलिया हुँदै अस्ट्रेलियाको कठोर नलार्बोर मैदान पार गर्दै अघि बढका थिए । सम्पूर्ण यात्राभरि जिनले जीपीएस ट्याकर बोकेकी थिइन् । जसले उनीहरूको पदचापलाई अस्ट्रेलियाको नक्सामा अमिट बनाइदिएको छ । यो यात्रा केवल दूरीको मात्र थिएन । धैर्य र ममताको पनि परीक्षा थियो । जिन भन्छिन्, ‘३२ किलोमिटर पार गर्न हामीलाई करिब ८ घण्टा लाग्यो । तर त्यो समय पनि फेबलको स्वास्थ्यलाई प्राथमिकतामा राखेर बित्थ्यो ।’
हरेक एक घण्टाको सवारीपछि १० मिनेट विश्राम, र दिनको करिब चौथाइ समय जिन आफैं पैदल हिँड्थिन् । ताकि फेबलको ढाडले आराम महसुस गर्न सकोस् । आफूभन्दा बढी, उनलाई आफ्नो सहयात्री घोडाको चिन्ता थियो ।
अमेरिका निवासी जिनले यसअघि आफ्नै देश पनि घोडामा धेरै यात्रा पार गरिसकेकी छन् । ‘म जंगली घोडासँग प्रेममा परे’ उनी भन्छिन्, ‘अस्ट्रेलियाका ब्रम्बीहरूबारे सुनेपछि यहाँ आएर आफ्नै ब्रम्बीलाई तालिम दिई यो महादेश पार गर्ने सपना देखे ।’ फेबल कोसियुज्को राष्ट्रिय निकुञ्जको जंगली ब्रम्बी हो ।
भिक्टोरियन ब्रम्बी एसोसिएसनमार्फत अपनाइएको त्यो घोडा, कुनै समय खुला जंगलको आत्मा बोकेर हिँड्थ्यो । सार्वजनिक भूमिबाट उद्धार गरिएका ब्रम्बीहरूलाई घरपालुवा बनाइएको थियो । अनि फेबल जिनको जीवनको यात्रामा जोडिन पुग्यो । जिन भन्छिन्, ‘पहिलो पटक भेट्दा ऊ भर्खरै हल्टर (घोडाको टाउकोमा लगाउने पट्टा) लगाउन सक्ने अवस्थामा थियो । अर्थात् अझै पनि जंगली अवस्थामा ।’
यात्रामा निस्कनुअघि उनले ६ देखि ८ महिना योजना बनाएर थप तीन महिना फेबललाई तालिम दिइन् । ‘कि त सबै ठीक हुन्छ कि बिग्रिन्छ । यही सोचेर हामी निस्कियौं’ उनी हाँस्दै भन्छिन् । यो यात्रामा जिन एक्लै थिइन् । न कुनै समर्थन टोली, न कुनै सवारीसाधन नै थिए ।
हरेक रात उनी फेबलकै छेउमा सुत्थिन् । एउटा टेन्ट र सैडल म्याट नै उनको घर हुन्थ्यो । भिक्टोरियन ब्रम्बी एसोसिएसनकी अध्यक्ष कोलिन ओ’ब्रायन भन्छिन्, ‘उनी यस्तो घोडा खोजिरहेकी थिइन्, जससँग आत्मिक सम्बन्ध बनोस् । पहिलो भेटमै उनलाई थाहा भइसकेको थियो, त्यही सही घोडा हो ।’
अन्ततः, जब जिन र फेबलले फरेस्टबीचमा अन्तिम पाइला टेके, उनीहरूलाई पछ्याइरहेका समर्थकहरूको तालीले समुन्द्रको छालासँगै स्वागत गर्यो ।मेलबर्नबाट बुसलटन पुगेकी ओ’ब्रायनका लागि त्यो क्षण भावुक थियो ।‘कोसियुज्कोको जंगलबाट आएको एउटा ब्रम्बीले यस्तो यात्रा पूरा गरेको देख्नु पाउदा अद्भुत लाग्यो’ उनले भनिन् ।
यस्तो साहस यही टुंगिएको छैन । जिन स्जागोला भन्छिन्, ‘सायद अर्को पटक न्युजिल्यान्ड घोडामै पार गर्नेछु ।’ तर अन्त्यमा उनले मुस्कुराउँदै थप्छिन्, ‘त्यो मेरो अन्तिम लामो यात्रा हुनेछ । तीन देश, तीन जंगली घोडा, र अनगिन्ती सम्झनाहरू ।’
३ अप्रिल २०२१ मा पनि यस्तै अर्की साहसी फ्रेन्च महिला एलिएनोरले गौभेलोले ३ वटा जंगली घोडासँगै अस्ट्रेलियाको ५ हजार ३ सय किलोमिटर लामो साहसिक यात्रा पूरा गरेकी थिइन्।
कठोर प्राकृतिक वातावरण अनि जोखिमयुक्त समुद्री तटीय मार्गको साहसिक यात्रा एलिएनोरले जंगली घोडासँगै सम्पन्न गरेकी हुन । पेरिसमा हुर्किएकी उनी वर्षौंसम्म झाडी र जंगल पार गर्दै तीन जंगली घोडासँग यात्रा गर्ने निर्णय गरेकी थिइन् । उनी पनि अनुभवी र साहसी महिला हुन्। अस्ट्रेलियाको दूरदराजका आदिवासी र सेन्ट्रल अस्ट्रेलियाली समुदायसँग काम गरिसकेकी छिन् । तर त्यो यात्रा उनको जीवनकै सबैभन्दा ठूलो चुनौती बनेको थियो ।
उनी भन्छिन्, ‘मैले आफैंलाई कल्पनाभन्दा बढी चुनौती दिएँ, र मैले आफ्नै क्षमताको शक्ति पत्ता लगाए । त्यस ट्रेलमा मैले आफ्ना घोडासँग गहिरो र अर्थपूर्ण सम्बन्ध बनाएकी छु ।’ उनले ठूला गोहीयुक्त नदीहरू पार गर्दा लागेका घाउलाई प्लास्टिकले छोपेर अन्तिमसम्म यात्रा सम्पन्न गरेकी थिइन्।
यात्राको निकै कठिन क्षणहरू पार गर्न मद्दत गर्ने जंगाली घोडाहरूप्रति साँचो प्रेमको नाता जोडिएको उनको भनाइ छ । मेरा प्रेमीहरू ती तीन जंगली घोडा नै रहे । जसले साहसिक यात्रामा साथ पूरा गरे उनी भन्छिन्, घोडाहरू कति सहनशील र अद्भुत छन् यात्रापछि थाहा पाए । यस्ता यात्राहरू यहाँ प्रेम, धैर्य र घोडासँगको गहिरो सम्बन्धको कथा बन्ने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस !