election background

प्रतिनिधि सभा निर्वाचन २०८२

टिप्पणी : निर्वाचन क्षेत्र हराएका उम्मेदवार

टिप्पणी : निर्वाचन क्षेत्र हराएका उम्मेदवार

हरेकजसो उम्मेदवारलाई चुनाव जितिन्छ कि हारिन्छ भन्ने भय हुन्छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भने त्योभन्दा अघि नै सधैं एउटै पिरलो आइलाग्छ । चुनाव कहाँबाट लड्ने ? हुन पनि २०६४ सालयता एकै ठाउँबाट दोहोरिएर चुनाव लड्ने र जित्ने अवसर उनलाई मिलेकै छैन । ६४ मा जितेकै आधारमा काठमाडौं १० मा ७० सालमा दोहोरिएर उम्मेदवार हुँदा नमिठो हार जो उनले बेहोर्नुपर्‍यो । धन्न त्यति बेला उनी सिराहा ५ का उम्मेदवार थिए ।

त्यहाँ उनले जिते । तर, कतिपय काठमाडौंमा हारिसकेको हुँदा उनलाई प्राविधिक हिसाबमा जिताइएको भनेर पनि बुझ्छन् । परिस्थिति त्यस्तै थियो । संविधान सभामा संविधान लेख्नुपर्ने थियो । 

यसपालि दाहाल चुनाव लड्न लुम्बिनी प्रदेशको रुकुमपूर्व पुगेका छन् । प्रत्येक चुनावमा निर्वाचन फेरिरहने एकमात्रै नेपाली नेताको छवि जो उनको बनेको छ । ६४ सालमा रोल्पा र काठमाडौंबाट चुनाव लड्दा उनले माओवादी ‘जनयुद्ध’ र देशको राजधानी जोड्न दुई ठाउँबाट लडेको तर्क दिएका थिए । तर ७० मा आइपुग्दा रोल्पा छोडे । मधेस र काठमाडौं जोड्ने अर्को तर्क पेस गर्ने आधार मिल्यो सिरहाबाट पनि लड्दा । तर, ७४ सालमा भने चितवन आइपुगे । त्यति बेला भने अर्को वामपन्थी पार्टी एमालेसँग गठबन्धन गरेका थिए, चुनाव जितिहाले । चितवनबाट चुनाव लड्नुको कुनै तर्क दिइरहनुपर्ने नै थिएन, गृहजिल्ला नै थियो ।

दल फेरिफेरि गठबन्धन पनि गर्ने र निर्वाचन क्षेत्र फेरिरहने कुरालाई गतिशीलता भनेर अथ्र्याउने उनलाई अस्थिरको आरोप त लाग्ने नै भयो । जति गतिशील भने पनि ७९ सालको चुनावमा उनलाई कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने कुराकै आपत थियो । गोरखा २ मा आएर चुनाव लड्न आउँदा पूर्वसहयोद्धा बाबुराम भट्टराई तारणहार बनेर निस्किए । जो संविधान निर्माणलगत्तै माओवादी नै छाडेर गएका थिए । र प्रचण्डले भनेका थिए, ‘बाबुरामलाई मैले २९/३० वर्ष झेलेँ, कसैले १ वर्ष झेलेर देखाओस् ।’ कतिसम्म भने ७४ मा एमालेसँग पछि पार्टी एकता र चुनावमा गठबन्धन गर्ने भन्दा तिनै बाबुराम पनि मिसिन फर्किएर आएका थिए ।

तर, दाहालकै कारण उनी त्यो एकता प्रक्रियाबाट बाहिरिनुपरेको थियो । दाहालले एमाले—माओवादी गठबन्धन गर्दा गोरखामा चुनाव लड्ने भाग नारायणकाजीका लागि लिए । बाबुरामले सूर्य चिह्नबाटै चुनाव लड्छुभन्दा पनि पाखा लगाइदिए । अहिले आएर त्यही कारण पनि उनी फेरि गोरखा दोहोरिन जान पाएनन् । र, रुकुमपूर्व जानुपर्‍यो । यसरी हेर्दा दाहाल निर्वाचन क्षेत्र हराएको उम्मेदवारजस्ता भएका छन् । ३ चोटि हारेपछि चुनाव जित्नै कृष्णप्रसाद भट्टराई काठमाडौं छाडेर पर्सा पुगेका थिए २०५६ सालमा । बाँकेमा के कसो होला भनेर सुशीला कोइरालाले २०७० सालको संविधान सभा निर्वाचन चितवनबाट पनि लडेका थिए ।

कुनै बेला थियो एकै उम्मेवार अरु निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्न सक्थ्यो ।

तर, संवैधानिक व्यवस्था परिवर्तन भयो र एकै ठाउँको मात्रै उम्मेदवार हुन पाइन्छ । २०१५ सालको निर्वाचनमै सुवर्ण शमशेर ३, ठाउँबाट चुनाव लडेका थिए । माधव नेपाल २०६४ सालमा २ ठाउँबाट लडेर पनि हारे । दाहालले चुनावअघि माधवकै पार्टी एकीकृत समाजवादीसहितका दलहरूको एकीकृत पार्टी बनाए । माओवाद छाडे । नेपाली कम्युनिस्ट पार्टी बनाए । तै उनलाई सुरक्षित निर्वाचन क्षेत्र फेला परेन । माओवाद छाडे पनि घुमिफिरी रुम्जाटार भनेजस्तै माओवादी युद्धको आधारभूमि रुकुमपूर्व जानुपर्‍यो ।

उनले वा उनका समर्थकले जेजे भनेर अथ्र्याए पनि उनी त्यहाँ जानुपर्नाको कारण सुरक्षित क्षेत्र खोज्नु र आफ्नो निर्वाचन क्षेत्रै नहुनु हो । चुनावअघि उनी जन्मजिल्ला कास्की, अघिल्लोपालि चुनाव जितेको गोरखा मात्रै होइन चितवनसहित ८ जिल्लाबाट सिफारिस भएका थिए । कार्यकर्ताले खुसी पार्न उनलाई जिल्लैपिच्छे पनि सिफारिस गर्न सक्थे । तर, जनताले जिताउने सम्भवनाचाहिँ कहाँ हो भन्नेमा दाहालको दृष्टि पुग्यो र रुकुमपूर्व पुगे । निर्वाचन क्षेत्र त भावी प्रधानमन्त्री भनेर प्रोजेक्ट गरिएका कांग्रेस सभापति गगन थापाले पनि फेरे । तर, दाहाल भने निश्चित निर्वाचन क्षेत्रै नभएका उम्मेदवार हुँदा उनको पहिचान नै निर्वाचन क्षेत्र फेरिरहने नेतामा दर्ज भएको छ ।

शेरबहादुर देउवा, केपी ओली, रामचन्द्र पौडेल, विजय गच्छदार होउन् वा दाहालकै पूर्वसहयोद्धा बाबुराम भट्टराई लगायतले आआफ्ना निर्वाचन क्षेत्र सधैं सुरक्षित गर्ने प्रयत्न गरे वा उनीहरूले निश्चित निर्वाचन क्षेत्र बनाए । दाहालका हकमा त्यो हुन सकेन, कारण गृहजिल्ला चितवनमै उनको पार्टीको प्रभाव कमजोर छ । गठबन्धन नगर्दा त उनकी छोरी रेणु दाहालले पनि भरतपुरको मेयर जित्न सक्दैनथिन् ।

संसदीय राजनीतिको विरोधी सिद्धान्त भए पनि दाहाल यसैको चतुर खेलाडीमा दरिएका छन् । त्यसैले चुनावदेखि चुनावसम्मको यात्रामै ‘जनयुद्ध’का सुप्रिमो रुमलिएका छन् । गन्तव्य सोझ्याएका छन् त केवल चुनाव जित्ने र सत्तामा पुग्ने । त्यसैले त तेस्रो ठूलो पार्टी हुँदा पनि प्रधानमन्त्रीमात्रै बनेनन् ‘म्याजिक नम्बर’ चलाउँदै सत्ताको साँचो आफ्नै हातमा लिन प्रयत्न गरे । यसपालि कांग्रेसभित्रको राजनीति, एमालेसँगको तिक्तताका कारण न गठबन्धन न तालमेलको अवस्था आइलाग्यो । तै उनी र एमाले अध्यक्ष ओलीको स्वर मिलिरहेको छ—तालमेल अझै हुनसक्छ ।

दुवैले फेरि वामपन्थी एकता वा साझेदारीको तुरुप फ्याँकेका हुनसक्छन् । यसपालि रुकुमपूर्वबाट चुनाव जित्ने लगभग निश्चित हुँदा हुँदै पनि सिंगो पार्टीले कति सिट जित्ला र कुन हैसियतमा पुग्ला भन्ने डर दाहाललाई छ । सानो होइन, साह्रै सानो पार्टी भइहाल्यो भने ‘म्याजिक नम्बर’ को म्याजिक नचल्ला कि भन्ने भय छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.