टिप्पणी : निर्वाचन क्षेत्र हराएका उम्मेदवार
हरेकजसो उम्मेदवारलाई चुनाव जितिन्छ कि हारिन्छ भन्ने भय हुन्छ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाललाई भने त्योभन्दा अघि नै सधैं एउटै पिरलो आइलाग्छ । चुनाव कहाँबाट लड्ने ? हुन पनि २०६४ सालयता एकै ठाउँबाट दोहोरिएर चुनाव लड्ने र जित्ने अवसर उनलाई मिलेकै छैन । ६४ मा जितेकै आधारमा काठमाडौं १० मा ७० सालमा दोहोरिएर उम्मेदवार हुँदा नमिठो हार जो उनले बेहोर्नुपर्यो । धन्न त्यति बेला उनी सिराहा ५ का उम्मेदवार थिए ।
त्यहाँ उनले जिते । तर, कतिपय काठमाडौंमा हारिसकेको हुँदा उनलाई प्राविधिक हिसाबमा जिताइएको भनेर पनि बुझ्छन् । परिस्थिति त्यस्तै थियो । संविधान सभामा संविधान लेख्नुपर्ने थियो ।
यसपालि दाहाल चुनाव लड्न लुम्बिनी प्रदेशको रुकुमपूर्व पुगेका छन् । प्रत्येक चुनावमा निर्वाचन फेरिरहने एकमात्रै नेपाली नेताको छवि जो उनको बनेको छ । ६४ सालमा रोल्पा र काठमाडौंबाट चुनाव लड्दा उनले माओवादी ‘जनयुद्ध’ र देशको राजधानी जोड्न दुई ठाउँबाट लडेको तर्क दिएका थिए । तर ७० मा आइपुग्दा रोल्पा छोडे । मधेस र काठमाडौं जोड्ने अर्को तर्क पेस गर्ने आधार मिल्यो सिरहाबाट पनि लड्दा । तर, ७४ सालमा भने चितवन आइपुगे । त्यति बेला भने अर्को वामपन्थी पार्टी एमालेसँग गठबन्धन गरेका थिए, चुनाव जितिहाले । चितवनबाट चुनाव लड्नुको कुनै तर्क दिइरहनुपर्ने नै थिएन, गृहजिल्ला नै थियो ।
दल फेरिफेरि गठबन्धन पनि गर्ने र निर्वाचन क्षेत्र फेरिरहने कुरालाई गतिशीलता भनेर अथ्र्याउने उनलाई अस्थिरको आरोप त लाग्ने नै भयो । जति गतिशील भने पनि ७९ सालको चुनावमा उनलाई कुन निर्वाचन क्षेत्रबाट लड्ने भन्ने कुराकै आपत थियो । गोरखा २ मा आएर चुनाव लड्न आउँदा पूर्वसहयोद्धा बाबुराम भट्टराई तारणहार बनेर निस्किए । जो संविधान निर्माणलगत्तै माओवादी नै छाडेर गएका थिए । र प्रचण्डले भनेका थिए, ‘बाबुरामलाई मैले २९/३० वर्ष झेलेँ, कसैले १ वर्ष झेलेर देखाओस् ।’ कतिसम्म भने ७४ मा एमालेसँग पछि पार्टी एकता र चुनावमा गठबन्धन गर्ने भन्दा तिनै बाबुराम पनि मिसिन फर्किएर आएका थिए ।
तर, दाहालकै कारण उनी त्यो एकता प्रक्रियाबाट बाहिरिनुपरेको थियो । दाहालले एमाले—माओवादी गठबन्धन गर्दा गोरखामा चुनाव लड्ने भाग नारायणकाजीका लागि लिए । बाबुरामले सूर्य चिह्नबाटै चुनाव लड्छुभन्दा पनि पाखा लगाइदिए । अहिले आएर त्यही कारण पनि उनी फेरि गोरखा दोहोरिन जान पाएनन् । र, रुकुमपूर्व जानुपर्यो । यसरी हेर्दा दाहाल निर्वाचन क्षेत्र हराएको उम्मेदवारजस्ता भएका छन् । ३ चोटि हारेपछि चुनाव जित्नै कृष्णप्रसाद भट्टराई काठमाडौं छाडेर पर्सा पुगेका थिए २०५६ सालमा । बाँकेमा के कसो होला भनेर सुशीला कोइरालाले २०७० सालको संविधान सभा निर्वाचन चितवनबाट पनि लडेका थिए ।
कुनै बेला थियो एकै उम्मेवार अरु निर्वाचन क्षेत्रबाट पनि चुनाव लड्न सक्थ्यो ।
तर, संवैधानिक व्यवस्था परिवर्तन भयो र एकै ठाउँको मात्रै उम्मेदवार हुन पाइन्छ । २०१५ सालको निर्वाचनमै सुवर्ण शमशेर ३, ठाउँबाट चुनाव लडेका थिए । माधव नेपाल २०६४ सालमा २ ठाउँबाट लडेर पनि हारे । दाहालले चुनावअघि माधवकै पार्टी एकीकृत समाजवादीसहितका दलहरूको एकीकृत पार्टी बनाए । माओवाद छाडे । नेपाली कम्युनिस्ट पार्टी बनाए । तै उनलाई सुरक्षित निर्वाचन क्षेत्र फेला परेन । माओवाद छाडे पनि घुमिफिरी रुम्जाटार भनेजस्तै माओवादी युद्धको आधारभूमि रुकुमपूर्व जानुपर्यो ।
उनले वा उनका समर्थकले जेजे भनेर अथ्र्याए पनि उनी त्यहाँ जानुपर्नाको कारण सुरक्षित क्षेत्र खोज्नु र आफ्नो निर्वाचन क्षेत्रै नहुनु हो । चुनावअघि उनी जन्मजिल्ला कास्की, अघिल्लोपालि चुनाव जितेको गोरखा मात्रै होइन चितवनसहित ८ जिल्लाबाट सिफारिस भएका थिए । कार्यकर्ताले खुसी पार्न उनलाई जिल्लैपिच्छे पनि सिफारिस गर्न सक्थे । तर, जनताले जिताउने सम्भवनाचाहिँ कहाँ हो भन्नेमा दाहालको दृष्टि पुग्यो र रुकुमपूर्व पुगे । निर्वाचन क्षेत्र त भावी प्रधानमन्त्री भनेर प्रोजेक्ट गरिएका कांग्रेस सभापति गगन थापाले पनि फेरे । तर, दाहाल भने निश्चित निर्वाचन क्षेत्रै नभएका उम्मेदवार हुँदा उनको पहिचान नै निर्वाचन क्षेत्र फेरिरहने नेतामा दर्ज भएको छ ।
शेरबहादुर देउवा, केपी ओली, रामचन्द्र पौडेल, विजय गच्छदार होउन् वा दाहालकै पूर्वसहयोद्धा बाबुराम भट्टराई लगायतले आआफ्ना निर्वाचन क्षेत्र सधैं सुरक्षित गर्ने प्रयत्न गरे वा उनीहरूले निश्चित निर्वाचन क्षेत्र बनाए । दाहालका हकमा त्यो हुन सकेन, कारण गृहजिल्ला चितवनमै उनको पार्टीको प्रभाव कमजोर छ । गठबन्धन नगर्दा त उनकी छोरी रेणु दाहालले पनि भरतपुरको मेयर जित्न सक्दैनथिन् ।
संसदीय राजनीतिको विरोधी सिद्धान्त भए पनि दाहाल यसैको चतुर खेलाडीमा दरिएका छन् । त्यसैले चुनावदेखि चुनावसम्मको यात्रामै ‘जनयुद्ध’का सुप्रिमो रुमलिएका छन् । गन्तव्य सोझ्याएका छन् त केवल चुनाव जित्ने र सत्तामा पुग्ने । त्यसैले त तेस्रो ठूलो पार्टी हुँदा पनि प्रधानमन्त्रीमात्रै बनेनन् ‘म्याजिक नम्बर’ चलाउँदै सत्ताको साँचो आफ्नै हातमा लिन प्रयत्न गरे । यसपालि कांग्रेसभित्रको राजनीति, एमालेसँगको तिक्तताका कारण न गठबन्धन न तालमेलको अवस्था आइलाग्यो । तै उनी र एमाले अध्यक्ष ओलीको स्वर मिलिरहेको छ—तालमेल अझै हुनसक्छ ।
दुवैले फेरि वामपन्थी एकता वा साझेदारीको तुरुप फ्याँकेका हुनसक्छन् । यसपालि रुकुमपूर्वबाट चुनाव जित्ने लगभग निश्चित हुँदा हुँदै पनि सिंगो पार्टीले कति सिट जित्ला र कुन हैसियतमा पुग्ला भन्ने डर दाहाललाई छ । सानो होइन, साह्रै सानो पार्टी भइहाल्यो भने ‘म्याजिक नम्बर’ को म्याजिक नचल्ला कि भन्ने भय छ ।
प्रतिक्रिया दिनुहोस !