उकुसमुकुस सुधारगृह
नामै छ, सुधारगृह। त्यसमाथि बालबालिका राख्ने सुधारगृह। तर, नेपालमा सुधारगृह जहिल्यै अपराध गृह भएका छन्। भक्तपुरको सानोठिमीस्थित बाल सुधारगृहमा बिहीबार राति भएको घटना त पछिल्लो कडीमात्रै हो। योभन्दा ठूला आपराधिक घटना यहाँ पहिल्यै भइसकेका छन्। तर, राज्यको चेत अझै खुलेको छैन। बाल सुधारगृहलाई सुधार्न माखो मारिएको छैन। माघ ८ गते बिहीबार दर्जनभन्दा बढी घाइते भएको घटनालाई बिर्साउने गरी ८० सालको भदौ २१ गते ठूलो उपद्रव भएको थियो। एक जना बन्दीको मृत्युपछि २ सय जना भागेका थिए। दर्जनौं घाइते भएको त्यो घटनापछि पनि बाल सुधारगृहमा कुनै सुधार नहुँदा फेरि यो दिन आएको हो। त्यसो त समस्या भक्तपुरको बाल सुधारगृहमा मात्रै छैन। वीरगन्ज र पोखरामा पनि छ। ८० सालमै नेपालगन्जको सुधारगृहमा १ जनाको मृत्यु भएको थियो। के सुधारगृहका नाममा सरकारले मृत्यु गृह चलाइरहेको हो ? शृंखलाबद्ध घटनाहरूले यही प्रश्न उब्जाएको छ।
भनिन्छ, बालबालिकाले अपराध गर्दैनन्। गल्तीचाहिँ हुन सक्छ। त्यसैले बालबालिकाबाट भएका ‘आपराधिक’ घटनालाई बालबिझ्याइँ भनिन्छ। त्यस्तोमा संलग्नलाई कानुनको विवादमा परेका बालबालिका भनेर सम्बोधन गरिन्छ। बालबालिकासम्बन्धी ऐन, २०७५ ले बालबालिकाले गरेको कसुरलाई ‘अपराध’ नभई ‘गल्ती’ मानेको छ। अपराधमा बालिग कसुरदारलाई कारागार पठाइन्छ। बालबालिकालाई भने सुधारगृहमा राखिन्छ। त्यसो त कारागारहरू पनि आफैंमा सुधारगृह हुनुपर्छ। नेपालमा भने अपराध जन्माउने कारखानाजस्ता छन्, कारागार पनि। पटके अपराधीको संख्याले त्यसै भन्छ। बाल सुधारगृह भने पनि भक्तपुरलगायत गृहमा वयस्कहरू पनि थुनिएका छन्। साना केटाकेटी र १८ वर्षमाथि पुगेपछि पनि त्यहीँ राखिने वा प्राविधिक हिसाबमा उमेर कम देखिएका पनि त्यहीँ थुनिने गरेका छन्। सुधारगृहमा ३५ वर्ष उमेर पुगेका युवा पनि सँगै राखिएका छन्। त्यसले ठूलो द्वन्द्व निम्त्याउने गरेको छ। अनि, भेडाबाख्रालाई त अचेल आधुनिक तरिकाले थुनिन्छ र व्यावसायिक हिसाबले पालिन्छ।
तर बाल सुधारगृहमा भने परम्परागत बाख्रापालनभन्दा बढी कोचाकोच बालबालिका थुनिएका छन्। त्यहाँ कुनै सुधारको वातावरण छैन। छ त केवल उकुसमुकुस। अनि, त्यसमाथि लुगाफाटो र अरू बन्दोबस्तीका सामानको यथोचित उपलब्धता छैन। त्यही भएर नै माघ ८ गते भक्तपुरको सुधारगृहमा उपद्रो मच्चियो। कलिला मुनाहरूलाई असल नागरिक बनाउने भने खोलिएको हो, सुधारगृह। तर, गृहहरू नै अपराधको तालिम केन्द्र बन्दै गइरहेका छन्। कुनै घटना हुँदा ब्युँझेजस्तो गर्ने र त्यसपछि बिर्सने राज्यको प्रवृत्तिले उपद्रवहरूको पुनरावृत्ति बाल सुधारगृहहरूमा भइरहेको छ। यसपालि पनि भक्तपुरका बालबालिका अन्त्यै सारेर मात्रै त्यहाँको घटनाको समाधान खोज्ने टालटुले प्रयास भएको छ। यस्तो प्रयासले दीर्घकालीन समाधान दिँदैन।
साँच्चिकै सुधार गर्ने हो भने क्षमताभन्दा बढी बालबालिका कुनै गृहमा पनि राख्नु हुँदैन। उमेर पुगेकालाई अहिले आएर अन्त सार्ने होइन, कहिल्यै सुधारगृह पठाउनु हुँदैन। सबैभन्दा पहिला त बालबालिकालाई कानुनको विवादमा पर्ने गतिविधिबाटै टाढा राख्ने सभ्य समाज निर्माण गर्नुपर्छ। किनभने कारागार र बाल सुधारगृह बढाएर वा जेलमा कोच्नेको संख्या बढाएर समाजमा शान्ति आउँदैन। कारागार सभ्य समाजको ऐना पनि हो। नेल्सन मन्डेलाले त्यसै भनेका होइनन्, कुनै पनि समाजको वास्तविकता त्यहाँका जेलहरूमा देखिन्छ। अहिले हाम्रो समाजको मात्रै होइन, राज्यको निरीह अनुहारको दृश्य बाल सुधारगृहमा देखिएको छ।
प्रतिक्रिया दिनुहोस !