हृदयनारायण र समीक्षा चौधरी थारू साहित्य सम्मेलनमा सम्मानित हुने
काठमाडौं : थारू भाषामा कलम चलाउने साहित्यकार तथा पत्रकार हृदयनारायण चौधरी ‘थारू साहित्य पुरस्कार २०८२’ बाट सम्मानित हुने भएका छन्। थारू लेखक संघ नेपाल कैलालीले साहित्यकार चौधरीलाई सम्मान गर्ने भएको हो। पर्साको पटेर्वा सुगौली-२ बेलवामा शुक्रबारदेखि सुरू हुने दुई दिने राष्ट्रिय थारू साहित्य सम्मेलनमा चौधरीलाई सम्मान गर्ने संघका सचिव अनिल कुश्मीले जानकारी दिए।
बारा जिल्लाका चौधरीले थारू भाषाका कथा, कविता, लघुकाव्य, महाकाव्यलगायत किताब लेखेका छन्। वि.सं २०३२ सालदेखि उनी बहुविधामा कलम चलाउँदै आएका छन्।
संघका पूर्व अध्यक्ष सीताराम चौधरीको संयोजकत्वमा पुरस्कार छनौट समिति चयन गरेको थियो। उक्त समितिको सदस्यमा मोहन चौधरी, मनमति बखरिया, सुवेश कठरिया र सदस्य सचिवमा अनिल कुश्मी रहेका थिए। उक्त समितिले छनौट गरी सिफारिस गरेका स्रष्टालाई ‘थारू साहित्य पुरस्कार २०८२’ बाट सम्मानित गर्न लागिएको हो। चौधरीलाई ६० हजार नगदसहित प्रमाणपत्रले सम्मान गर्ने सचिव कुश्मीले जानकारी दिए।
त्यस्तै प्रतिभा महिला सशक्तीकरण पुरस्कारबाट कैलालीकी गायिका समीक्ष चौधरी पनि सम्मानित हुने भएकी छन्। गायिका चौधरीले थारू गीत संगीतको माध्यमबाट समुदायमा योगदान पुर्याएको आयोजकको भनाइ छ। गायिका चौधरीलाई नगद ३० हजार र प्रमाण पत्रसहित सम्मान गरिने आयोजकले जनएको छ।
रोदन मेडिकल कैलालीका सञ्चालक चन्द्रसिंह चौधरीले आफ्नो स्वर्गीय श्रीमति प्रतिभा चौधरीको पहिलो वार्षिक पुण्य तिथीको अवसरमा उक्त पुरस्कार घोषणा गरेका थिए। सञ्चालक चौधरीले एकलाखको अक्षयकोष स्थापना गरेका छन्।
प्रतिक्रिया दिनुहोस !