पीसीओएस : कसरी राख्ने नियन्त्रण ?
शरीरभित्र हर्मोनको असन्तुलनले महिलाको स्वास्थ्य, प्रजनन क्षमता र जीवनशैलीलाई असर गर्छ। हर्मोनको सन्तुलन कहिलेकाहीँ क्रमशः बिग्रिँदै गइरहेको हुन्छ। जसका कारण पीसीओएस जस्तो समस्या जन्मिन्छ। जसलाई धेरैले केवल बाँझोपन (इनफर्टिलिटी)सँग जोडेर बुझ्छन्। तर वास्तवमा हर्मोन सन्तुलन नहुँदाको असर महिलाको वजन, मुटु, मधुमेहको जोखिमदेखि भावी सन्तानसम्म फैलिएको हुन्छ। यस्तो मौन तर गम्भीर स्वास्थ्य समस्याको नाम हो– पीसीओएस (पोलिसिस्टिक ओभरी सिन्ड्रोम)।
आम सञ्चारमाध्यम र सामाजिक सञ्जालको व्यापक प्रयोगका कारण धेरैले पीसीओएसको नाम सुनेको भए पनि यसको अर्थ र असरबारे भने पर्याप्त जानकारीको नहुन सक्छ । प्रजनन उमेरका महिलामा देखिने सबैभन्दा सामान्य हर्मोनल तथा मेटाबोलिक समस्या मानिन्छ,– पीसीओएस। विश्वमा गरिएका विभिन्न अध्ययनअनुसार करिब ६ देखि २० प्रतिशत महिलामा यो समस्या देखिएको छ। पीसीओएस भएका महिलाको शरीरमा पुरुष हर्मोन (एन्ड्रोजन) बढी बन्ने, महिनावारी अनियमित हुने वा बन्द हुने र अण्डाशयमा धेरै साना–साना सिस्टहरू देखिने गर्छ।
पहिलो पटक सन् १९३५ मा ‘स्टाइन–लेभेन्थल सिन्ड्रोम’का रूपमा यो रोगको चिनिएको हो। यो रोग सुरुमा प्रजननसम्बन्धी समस्या मात्र ठानिन्थ्यो। तर पछिल्ला अनुसन्धानहरूले देखाएका छन् कि पीसीओएस केवल गर्भधारणको कठिनाइ होइन, यो सम्पूर्ण शरीरसँग सम्बन्धित दीर्घकालीन अवस्था हो। यसले वजन (तौल) बढ्नु, विशेषगरी पेट वरिपरि मोटोपन बढ्नु, उच्च रक्तचाप, कोलेस्ट्रोलको असन्तुलन, इन्सुलिन प्रतिरोध र दीर्घकालीन सुजन बढाउँछ। यसले मधुमेह र मुटुरोगको जोखिमलाई पनि धेरै बढाउँछ।
पीसीओएसको पहिचानका लागि आज सबैभन्दा बढी प्रयोग हुने विधि ‘रोटरड्याम मापदण्ड’ हो। यसअनुसार तीनमध्ये कम्तीमा दुई लक्षण देखिनुपर्छ। पुरुष हर्मोन बढी हुनु वा त्यसका लक्षण देखिनु, अण्डोत्सर्जन अनियमित हुनु र अण्डाशयमा धेरै साना साना सिस्टहरू देखिनु।
नेपालमा भएका सीमित अध्ययनअनुसार २० देखि ३० वर्ष उमेरका करिब ५ देखि ७ प्रतिशत महिलामा पीसीओएस पत्ता लागेको पाइन्छ। यसबारे जनचेतनासम्बन्धी कार्यहरू भए गरेको खासै देखिँदैन। धेरै महिलामा बाँझोपनको उपचार खोज्दा मात्र यो समस्या थाहा हुने गरेको छ। गर्भधारण भएपछि उपचार बन्द गर्ने चलन पनि उत्तिकै छ, जबकि पीसीओएससँग सम्बन्धित जोखिम भने जीवनभर रहिरहन्छ।
लामो समयसम्म शरीरमा उच्च हर्मोन असन्तुलन र इन्सुलिन प्रतिरोध रहिरहँदा गम्भीर मेटाबोलिक समस्या विकास हुन सक्छ। केही अध्ययनहरूले यस्तो असर आमाबाट जन्मिने सन्तानको स्वास्थ्यमा समेत पर्न सक्ने देखाएका छन्। यसैले पीसीओएसलाई समयमै चिनेर नियमित उपचार र जीवनशैली सुधार गर्नु अत्यन्त आवश्यक छ।
पीसीओएस केवल बाँझोपनको रोग मात्र होइन। यो महिलाको जीवनभरसँग जोडिएको स्वास्थ्य चुनौती हो। महिनावारी अनियमित हुनु, अत्यधिक तौल बढ्नु, अनुहार वा शरीरमा अत्यधिक रौं आउनु, बारम्बार गर्भ नबस्नुजस्ता लक्षण देखिएमा लाज नमानी स्वास्थ्य परीक्षण गराउनु आवश्यक छ।
सन्तुलित आहार, नियमित व्यायाम, वजन (तौल) नियन्त्रण, समयमै चिकित्सकको सल्लाह र निरन्तर अनुगमनले पीसीओएसलाई नियन्त्रणमा राख्न सकिन्छ। समयमै ध्यान दिइयो भने पीसीओएसका गम्भीर असरहरूबाट आफू र भावी पुस्तालाई जोगाउन सकिन्छ।
डा. जेलिना बस्नेत
पीएचडी, युनिभर्सिटी अफ मिसिसिपी मेडिकल सेन्टर, एमएस, अमेरिका
प्रतिक्रिया दिनुहोस !