क्यान्सरको उपचारका लागि विदेश जानु पर्दैन
के कारणले क्यान्सरका बिरामी बढिरहेका छन् ?
नेपालमा क्यान्सरका बिरामीको आधिकारिक तथ्यांक छ ?
नेपालमा क्यान्सरका बिरामीको आधिकारिक तथ्यांक छैन। त्यसैले बिरामीको यकिन संख्या भन्न गाह्रो छ। अस्पतालमा आधारित (हस्पिटल बेस्ड क्यान्सर रजिस्ट्री)लाई आधार मान्दा बर्सेनि नेपालमा झन्डै २६ हजार क्यान्सरका बिरामीको पहिचान हुने गर्छ। जनसंख्यामा आधारित (पपुलेसन बेस्ड) क्यान्सरको तथ्यांक अहिलेसम्म बनेको छैन। जनसंख्यामा आधारित तथ्यांक प्रकाशित हुने हो भने अझै धेरै क्यान्सरका बिरामीको संख्या हुन सक्छ।
नेपालीहरूमा कुन अंगको क्यान्सर बढी देखिएको छ ?
महिलामा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सर बढी देखिएको छ । त्यस्तै, पुरुषहरूमा फोक्सोको क्यान्सर बढी देखिएको छ। हेड एन्ड नेक (मुख, गाला, नाक, घाँटी, स्वरयन्त्र)को क्यान्सर पनि देखिएको छ। पेट, आन्द्राको क्यान्सर पनि बढ्दो छ। त्यस्तै रक्त (रगत)को क्यान्सर पनि बढेको छ। शरीरको जुनसुकै अंगमा पनि क्यान्सर देखिन सक्छ।
नसर्ने रोगका कारण हुने मृत्युदरमा क्यान्सर दोस्रो स्थानमा पर्दछ। तर, प्रारम्भिक चरणमै रोग पत्ता लागेमा उपचार प्रभावकारी भई निको हुने सम्भावना उच्च रहन्छ नि ?
हो। यदि समयमै पहिचान र उपचार गर्न सकियो भने नसर्ने रोगहरूमध्ये निको हुने रोग भनेको क्यान्सर नै हो। मधुमेह, उच्च रक्तचाप, थाइराइड, दम रोगको लागि आजीवन उपचार गरिरहनुपर्छ। उपचारपश्चात् यी रोगहरूलाई नियन्त्रण गर्ने मात्र हो। तर, क्यान्सरलाई सुरुमा पहिचान गर्न सक्यौं वा उचित उपचार गर्यौं भने निको हुन्छ। तर, विडम्बना! समाजमा अन्य नसर्ने रोगलाई सामान्य रूपमा लिइन्छ। सहजै स्वीकारेको पाइन्छ। तर, क्यान्सरलाई भयावह रोगका रूपमा लिने गरिएको छ। क्यान्सरलाई अझैं पनि समाजले सोसियल ट्याबुका रूपमा लिइरहेको छ।
क्यान्सरप्रतिको नकारात्मक सामाजिक सोंचले गर्दा कस्तो असर परिरहेको छ ?
समाजले नकारात्मक दृष्टिले हेर्ने गरेकै कारण बिरामीहरू अस्पतालसम्म आउन ढिलाइ हुने गरेको छ। अहिले पनि क्यान्सरको तेस्रो र चौथो स्टेजमा क्यान्सर पुग्दा बल्ल अस्पतालमा आउनेहरू छन्। जसका कारण क्यान्सरको ढिलो पहिचान (डायग्नोसिस) हुने गरेको छ। क्यान्सरको उपचार ढिलो भएमा वा उपचारमा पहुँच नभएमा बिरामी बाँच्ने सम्भावना कम हुन्छ। उपचारमा जटिलता थपिन्छ। र, उपचार खर्च पनि धेरै लाग्छ।
कुन स्टेज (अवस्था)को क्यान्सर हुँदा उपचार पहुँच पुग्यो भने निको हुने सम्भावना हुन्छ ?
प्रारम्भिक चरणमा पहिचान गरिएको क्यान्सर धेरै फैलिएको हुँदैन। सफलतापूर्वक उपचार हुने सम्भावना बढी हुन्छ। त्यसैले पहिलो स्टेज (अवस्था)मा नै क्यान्सरको उपचार भएमा पूर्ण निको पार्न सकिन्छ। क्यान्सरमा छिटो पहिचान (अर्ली डिटेक्सन) महत्त्वपूर्ण छ भनेको नै निको पार्न सकिने भएर हो।
क्यान्सर रोग पत्ता लगाउन के–के परीक्षण गरिन्छ ?
शरीरको कुन अंगमा क्यान्सर भएको हो ? त्यसैअनुसारको परीक्षण गरेर रोग पत्ता लगाइन्छ। शारीरिक परीक्षणका साथै प्रयोगशाला परीक्षण गर्नुपर्ने हुन्छ। रगत, पिसाब पनि जाँच गर्नुपर्ने हुन्छ। पाठेघरको मुखको क्यान्सरको परीक्षण गर्नु पर्दा पाठेघरको मुखको लागि भीआईए गरिन्छ। स्तन क्यान्सरमा गिर्खा छ/छैन भनेर परीक्षण गरिन्छ।
त्यस्तै एक्सरे, अल्ट्रासाउन्ड, सिटीस्क्यान, बोन स्क्यान, पेट स्क्यान, एमआरआईलगायतका परीक्षण पनि गर्नुपर्ने हुन्छ। त्यस्तै क्यान्सर हो /होइन भन्ने थाहा पाउन शंकास्पद अंगको मासुको टुक्राको परीक्षण (बायोप्सी) पनि गर्नुपर्ने हुन सक्छ। त्यस्तै कतिपय क्यान्सरको पहिचानको लागि आनुवांशिक परीक्षण (जेनेटिक टेस्ट ) पनि गर्नुपर्ने हुन्छ।
क्यान्सरका बिरामीहरूको उपचार स्वदेशमै हुन्छ नि, होइन ?
क्यान्सर उपचारका लागि नेपालमै सरकारी र निजी अस्पतालहरू सुविधा सम्पन्न भइसकेका छन्। हामी नेपाली क्यान्सर विशेषज्ञहरू उपचारमा सक्षम छौं। नेपालकै क्यान्सर विशेषज्ञहरूले भारत, अमेरिका, युरोपलगायतका मुलुकमा पुगेर ख्याति कमाइरहेका छन्। स्वदेश र विदेशमा पनि नेपाली क्यान्सर रोग विशेषज्ञहरू प्रसिद्ध छन्। अन्य मुलुकका क्यान्सर विशेषज्ञभन्दा नेपाली क्यान्सर विशेषज्ञहरू कम छैनन्। यो आम नागरिकले बुझ्नु जरुरी छ। क्यान्सरको उपचारका लागि कोही पनि नेपाली विदेश जानुपर्ने बाध्यता छैन।
क्यान्सरका उपचारका विधि के के छन् ?
क्यान्सरका उपचार विधि तीन किसिमका छन्। केमोथेरापी (औषधि), रेडिएसन (विकिरण) र सर्जरी (शल्यक्रिया) नै हो। यी तीन उपचार विधिमध्ये कुन आवश्यक पर्ने हो भन्ने कुराको निर्धारण रोगको प्रकृति र अवस्थाले गर्छ।
निको भएको क्यान्सर पुनः दोहोरिन सक्ने जोखिम हुन्छ कि हुँदैन ?
रोगको प्रकृतिअनुसार हुन्छ। कुनै निको भइसकेपछि बाँचुञ्जेल फेरि नलाग्न पनि सक्छ। कुनै पुनः फर्किन सक्ने पनि हुन सक्छ।
क्यान्सरको उपचार गराइरहेका वा निको भइसकेका व्यक्तिको जीवनशैली कस्तो हुनुपर्छ ?
सामान्य जीवनशैली जिउनुपर्छ। औषधि र खानपानमा भने विशेष ध्यान दिनुपर्छ।
क्यान्सर हुनै नदिन के गर्नुपर्छ ?
नियमित व्यायाम गर्ने, स्वस्थकर खाना खाने गर्नुपर्छ। चिल्लो, ढुसी लागेको, पोलेको खानेकुरा खानु हुँदैन। धूमपान, मद्यपान गर्नु हुँदैन। सक्रिय र तनावरहित जीवन जिउनु पर्छ।
क्यान्सरको रोकथाम, शीघ्र पहिचान र उपचारमा सरकारले के गर्नुपर्ने जरुरी छ ?
सातै प्रदेश र ७७ वटै जिल्लामा क्यान्सर स्क्रिनिङ कार्यक्रम नियमित गर्नुपर्छ। स्थानीय सरकारदेखि संघीय सरकारसम्मले हेल्थ प्याकेजभित्र क्यान्सरलाई समेट्नु पर्छ। मुलुकभर क्यान्सर उपचार सेवाहरूको समतामूलक वितरणमा सुधार गर्न पूर्वाधारको विकास गर्नुपर्छ। क्यान्सरको अनुसन्धानमा जोड दिनु पर्छ।
क्यान्सर बिरामीको छिटो पहिचानको लागि ध्यान दिनुपर्छ। अत्याधुनिक प्रविधि र दक्ष जनशक्तिको पर्याप्त व्यवस्था गर्नुपर्छ। आवश्यक पूर्वाधारका साथै जनशक्तिको विकास गर्नुपर्छ। सरकारले क्यान्सर रोकथाम, उपचारका साथै र स्वास्थ्य प्रवर्द्धन र पुनर्स्थापनातर्फ पनि ध्यान दिनुपर्छ। स्वास्थ्य कर कोषको रकम स्वास्थ्य क्षेत्रमा नै एकीकृत रूपमा लगानी गर्नुपर्छ। यसबाट क्यान्सरका प्रविधि पनि खरिद गर्न सकिन्छ। सरकारले क्यान्सर प्रतिष्ठानको स्थापना गर्नमा अब ढिलाई गर्नु हुँदैन।
जटिल क्लिनिकल अवस्थामा उपचार योजनाको निर्णय गर्न बहुविशेषज्ञ (मल्टिडिसिप्लिनरी) टिमको कत्तिको आवश्कता पर्छ ?
क्यान्सरमा बहुविशेषज्ञ टिमको एकदमै आवश्यकता पर्छ। क्यान्सरको उपचारमा बहुपक्षीय पद्धति प्रयोग गर्ने गरिन्छ। यसमा सर्जरी, विकिरणथेरापी, केमोथेरापी, हर्मोनलथेरापी वा यी विभिन्न पद्धति एकैसाथ प्रयोग गरिने हुन सक्छन्। क्यान्सरको पहिचानदेखि उपचार योजनाको निर्णयसम्मका प्रक्रियामा बहुविशेषज्ञ टिम चाहिन्छ।
क्यान्सरप्रतिको सोंच परिवर्तन गर्दै बिरामीलाई उपचारमा सहज पहुँच पुर्याउन के गर्नुपर्ला ?
क्यान्सरप्रतिको सामाजिक सोंच बदल्नको लागि सर्वप्रथम जनचेतना जगाउनु जरुरी छ। यसको लागि आमसञ्चारमाध्यमले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्छ। नागरिक समाज तथा प्रबुद्ध व्यक्तिहरूको भूमिका पनि महत्त्वपूर्ण छ। क्यान्सर रोगको नियमित स्क्रिनिङ पनि गरिरहनुपर्ने खाँचो छ।
विश्व क्यान्सर दिवसको नारा पनि युनाइटेड बाई युनिक भन्ने छ। क्यान्सरलाई युनिक किन भनियो भने निको हुने रोग हो। युनाइटेड किन भनियो भने सबैजना मिलेर अर्थात् एकीकृत भएर लाग्यौं भने यसको उपचार सम्भव छ भन्ने सन्देश हो।
डा. अनिलविक्रम कार्की
वरिष्ठ क्यान्सर सर्जन, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन
प्रतिक्रिया दिनुहोस !