election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राष्ट्रिय क्यान्सर रणनीति कार्यान्वयनमा जोड

राष्ट्रिय क्यान्सर रणनीति कार्यान्वयनमा जोड

काठमाडौं : क्यान्सर रोग विशेषज्ञहरूले मुलुकमा बढ्दै गएको क्यान्सर रोग नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन्। क्यान्सरबाट जोगिन जीवनशैली परिवर्तन गर्दै खानपान र सक्रिय जीवन जिउनुपर्ने विशेषज्ञहरूले सुझाव दिएका छन्।

विश्व क्यान्सर दिवसको सन्दर्भमा अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत नेपाल न्युज नेटवर्क इन्टरनेसनल प्रालि र क्यान्सर केयर फाउन्डेसनको सहकार्यमा शुक्रबार आयोजित राउन्ड टेबल कार्यक्रममा वक्ताहरूले क्यान्सरका बिरामी बढ्दै गएकोमा चिन्ता व्यक्त गरे। 

क्यान्सरका नेपाली बिरामीको तथ्यांक अद्यावधिक हुनुपर्ने आवश्यकता औंल्याउँदै वक्ताहरूले विशेष गरी फोक्सो, पाठेघरको मुख, स्तन, पेट, मुख, घाँटी र रक्त क्यान्सरका बिरामीहरू बढिरहेकोमा व्यापक जनचेतना फैलाउनुपर्नेमा जोड दिए। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नीति, योजना तथा अनुगमन महाशाखा प्रमुख डा. चुमनलाल दासले रणनीति कार्यान्वयनको दिशामा अघि बढेको बताए। ‘नसर्ने रोगहरूमध्ये क्यान्सर रोगले अकालमा ज्यान गइरहेको छ,’ डा. दासले भने, ‘सरकारले क्यान्सर रोकथामका लागि जनचेतना फैलाउने कार्य गरिरहेको छ। रणनीतिको कार्यन्वयनमा पनि अघि बढेका छौं।’

नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ सर्जन प्रा.डा सुनीलकुमार शर्मा ढकालले क्यान्सरविरुद्ध जनचेतना फैलाउनुपर्नेमा जोड दिए। क्यान्सरविरुद्ध रोकथाम कार्यक्रम सञ्चालन गर्नु पर्ने उल्लेख गर्दै डा. ढकालले भने, ‘बिरामीलाई एउटै छातामुनि उपचार सुविधा प्रदान गर्न राष्ट्रिय क्यान्सर सेन्टरको स्थापना गर्नुपर्छ।’

वीर अस्पतालका क्लिनिकल अन्कोलोजी विभागका प्रमुख प्रा.डा विवेक आचार्यले बिरामीलाई केमोथेरापि, रेडिएसन र सर्जरीको उपचारलाई प्रभावकारी र विस्तारित गर्नुपर्नेमा जोड दिए। उनले भने, ‘दक्ष जनशक्तिसहितको पूर्वाधारको विकास र विस्तार गर्नुपर्छ। राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४ –२०३०) कार्यान्वयनमा जोड दिनुपर्छ।’

नेपाल क्यान्सर केयर फाउन्डेसनका महासचिव डा.सन्ध्या चापागाईंले क्यान्सरविरुद्ध अभियान सञ्चालनका लागि बहुपक्षीय सहकार्य आवश्यक भएको बताइन्। भक्तपुर क्यान्सर अस्पताल, सर्जिकल अन्कोलोजी प्रमुख डा. पुण्य खर्बुजाले अत्याधुनिक प्रविधिको विकास र विस्तार गर्नुपर्ने बताए। कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सनि सिपाई, नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीकी अध्यक्ष प्रमिता खनाल, नेपाल साइक्लिङ एसोसिएसनकी सपना राजथलालगायत वक्ताहरूले क्यान्सरविरुद्धको साझा अभियान अघि बढाउनुपर्नेमा जोड दिए।

अन्नपूर्ण पोस्ट् दैनिकका प्रधान सम्पादक बालकृष्ण बस्नेतको अध्यक्षतामा भएको उक्त कार्यक्रममा अन्नपूर्ण मिडिया नेटवर्कका महाप्रबन्धक मनोज बस्नेतले स्वागत मन्तव्य व्यक्त राखेका थिए। क्यान्सर सचेतनाका लागि अन्नपूर्ण मिडिया नेटवर्कले प्रत्येक वर्ष विभिन्न कार्यक्रम गर्दै आएको छ। यही माघ २४ गते शनिबार साइकल ¥यालीलगायत जनचेतनामूलक कार्यक्रम आयोजना गर्दैछ।

विश्वमा हुने कुल मृत्युमध्ये क्यान्सरको कारणबाट हुने मृत्यु दोस्रो रहेको छ। नेपालमा हुने कुल मृत्युमध्ये दुईतिहाइभन्दा बढी हिस्सा (७१ प्रतिशत) नसर्ने रोगका कारणले हुने गर्छ। जसमध्ये ११ प्रतिशत व्यक्तिको मृत्यु क्यान्सरबाट हुने गरेको तथ्यांक छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.