काठमाडौं : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले तेस्रो पटक टी-२० विश्वकप खेल्दैछ। छिमेकी राष्ट्र भारत र श्रीलंकाले संयुक्तरूपमा आयोजना गर्ने यस विश्वकपमा नेपाली राष्ट्रिय टोलीले समूह 'सी'मा रहेर चार वटा प्रतिद्वन्द्वीसँग समूह चरणमा खेल्नेछ। समूह चरणमा नेपालले पहिलो खेलमा इङ्ल्यान्डसँग खेल्नेछ। दोस्रो खेलमा नेपालले इटालीसँग खेल्नेछ। तेस्रो खेल नेपालले वेस्ट इन्डिज र चौथो खेलमा नेपालले बंगलादेशलाई प्रतिस्थापन गरेको स्कटल्यान्डसँग खेल्नेछ।
नेपालका चारैवटा समूह चरणका खेलहरू मुम्बईको वाङ्खेडे स्टेडियममा हुनेछ। २०२६ को टी-२० विश्वकपमा २० वटा राष्ट्रले चारवटा ग्रुपमा रहेर खेल्नेछन्। हरेक समूहबाट शीर्ष दुई टोलीले सुपर आठमा स्थान बनाउनेछन्।
नेपालले सुपर आठमा स्थान बनाउन समूह चरणबाट कम्तीमा दुई खेल जित्नै पर्ने हुन्छ। समूह चरणमा नेपालका लागि पहिलो चुनौती दुईपटक विश्व विजेता रहेको इङ्ल्यान्डसँगको खेल हुनेछ।
इङ्ल्यान्डले सन् २०१० र सन् २०२२ मा टी-२० विश्वकपको उपाधि जितेको थियो। यो टिममा आक्रामक ब्याटर र बलरहरू पनि उत्तिकै राम्रा हुनेछन्। नेपालले पहिलो खेलमा इङ्ल्यान्डलाई हराउन सके इतिहास कायम हुनेछ। यो सहज भने हुने छैन। आइसीसी टी-२०अन्तर्राष्ट्रिय वरीयतामा इङ्ल्यान्ड तेस्रो स्थानमा छ। नेपाल भने सोही वरीयताको १६ औँ स्थानमा रहेको टोली हो।
टी-२० अन्तर्राष्ट्रिय क्रिकेट भएका कारण यो खेलमा जे पनि हुनसक्ने सम्भावना हुन्छ। वरीयताभन्दा पनि त्यस दिनमा जुन टिमले राम्रो प्रदर्शन गर्नेछ सोही टिमले जित्नेछ। इङ्ल्यान्डको टिममा विश्वकै उत्कृष्ट हिटरहरू मानिने जस बटलर, बेन डकेट, ह्यारी ब्रुकजस्ता ब्याटर छन्। १५० भन्दा माथि को गतिले बल फाल्ने तीव्र गतिका बलरहरू पनि छन्। जोफ्रा आर्चर, जोश टंगजस्ता तीव्र गतिका बलरहरूलाई नेपालका ब्याटरहरूले सामना गर्नुपर्ने हुन्छ। यो खेल जित्न सके नेपाली खेलाडीको लागि र टिमको लागि अङ्क मात्रै नभएर आत्मविश्वास पनि बढाउने खेल हुनेछ।
नेपालले दोस्रो खेल इटालीसँग खेल्नेछ। नेपालभन्दा टी-२० अन्तर्राष्ट्रिय वरीयतामा तल रहे पनि इटालीले पछिल्लो समय निकै राम्रो क्रिकेट खेलिरहेको छ। इटाली टी-२० अन्तर्राष्ट्रिय वरीयतामा २७औं स्थानमा रहेको छ। टी-२० विश्वकपको तयारीको रूपमा इटालीले आयरल्यान्डसँग टी-२० अन्तर्राष्ट्रिय शृंखला खेलेको थियो। जहाँ इटालीले आयरल्यान्डलाई हराएको थियो। नेपालले हालसम्म इटालीसँग कुनै पनि टी-२० अन्तर्राष्ट्रिय स्तरको खेल खेलेको छैन। विश्वकपमा पहिलो पटक यी दुई टोलीले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्।
नेपालले तेस्रो खेल वेस्ट इन्डिजसँग खेल्दैछ। नेपालले गत अक्टोबरमा वेस्ट इन्डिजसँग दुबईमा तीन खेल सम्मिलित शृंखला जितेको थियो। यस अर्थमा पनि नेपालले निकै उच्च आत्मविश्वासका साथमा वेस्ट इन्डिजसँग खेल्नेछ। नेपाल र वेस्ट इन्डिजसँगको शृंखलामा नेपालले दुई खेल जित्दै इतिहास रचेको थियो। टेस्ट मान्यता प्राप्त राष्ट्र वेस्ट इन्डिज टी-२० अन्तर्राष्ट्रिय वरीयताको सातौं स्थानमा रहेको छ। वेस्ट इन्डिजको टोलीमा सिम्रोन हेटमायर, सेफरन रदरफोर्ड रोमारियो सेपहर्डजस्ता आक्रमक ब्याटरहरू रहेका छन्। वेस्टन डिज आजभन्दा एक दशक अगाडि वेस्ट इन्डिज आफ्नो उत्कृष्ट तीव्र गतिका बलरहरूका नाममा चर्चित थियो तर पछिल्लो समय पहिलाको दबदबा को छवि त्यति देखिँदैन। सन् २०१२ र सन् २०१६ मा टी-२० विश्वकपको उपाधि जितेको वेस्ट इन्डिज नेपालको लागि सजिलो प्रतिस्पर्धी भने पक्कै होइन।
समूह चरणको अन्तिम खेल स्कटल्यान्डसँग खेल्नेछ। टी-२० विश्वकप सुरु हुनु केही समय अगाडि मात्रै बंगलादेशले भारतमा सुरक्षा चुनौतीका कारण खेल्न अस्वीकार गरेपछि आइसीसीले स्कटल्यान्डलाई बंगलादेशको स्थानमा प्रतिस्थापन गरेको थियो।
युरोपियन छनोट चरण पार गर्न नसकेको स्कटल्यान्डले विश्वकपको सुनौलो अवसर प्राप्त गरेको छ। स्कटल्यान्ड यो मौकाको सदुपयोग गर्न चाहन्छ। नेपालका लागि पनि स्कटल्यान्ड नयाँ प्रतिस्पर्धी होइन। आइसीसी टी-२० अन्तर्राष्ट्रिय वरीयतातर्फ स्कटल्यान्ड १४औं स्थानमा रहेको छ। नेपालका बलर तथा ब्याटरले स्कटल्यान्डका प्रायः खेलाडीसँग खेलिसकेका छन्।
नेपालको खेल तालिका
नेपालले छिमेकी राष्ट्र भारतमा नै समूह चरणका चारवटै खेल खेल्दैछ। नेपालको खेल मुम्बईस्थित वाङ्खडे स्टेडियममा खेल्नेछ। नेपालले समूह चरणको पहिलो खेल इंग्ल्यान्डसँग फेब्रुअरी ८ (माघ २५) दिउँसो ३: १५ देखि खेल्नेछ।
नेपालले दोस्रो खेल फेब्रुअरी १२ (माघ २९) मा इटलीसँग दिउँसो ३:१५ देखि वाङ्खडेमै खेल्नेछ। तेस्रो खेल नेपालले वेस्ट इन्डिजसँग फेब्रुअरी १५ (फागुन ३) मा बिहान ११:१५ देखि खेल्नेछ। नेपालको समूहचरणको अन्तिम खेल फेब्रुअरी १७ (फागुन ५) मा स्कटल्यान्डसँग हुनेछ। यो खेल साँझ ७:१५ देखि सुरु हुनेछ।
वाङ्खडे रंगशालाको पिच कस्तो छ?
वाङ्खेडे रंगशालाको मैदान नेपाली खेलाडीका लागि केही चुनौतीपूर्ण हुन्छ। विशेषतः यो पिच बाउन्स हुने पिचको रूपमा चिनिन्छ। रातो माटोले बनेको यो पिच सुरुवाती समयमा बलरहरुको लागि निकै राम्रो मानिन्थ्यो। पछिल्लो समय भने यो पिच र मैदान ब्याटरहरूका लागि सहयोगी मानिन्छ। यो मैदान भारतीय क्रिकेट प्रेमीहरूका लागि निकै प्रिय मैदान हो। नेपाली बलरहरूले यो मैदानमा बलिङ गर्दा थप होसियारी देखाउनुपर्ने हुन्छ। उनीहरूले प्रायः खेल्ने त्रिबी क्रिकेट मैदानभन्दा वाङ्खडे उनीहरूका लागि फरक हुनेछ। समुन्द्रको किनारमा रहेको समुन्द्री हावाका कारण नयाँ बलमा बलरहरूलाई केही फाइदा हुन सक्छ। यो मैदानमा दोस्रो इनिङ्समा शितको प्रभाव हुनेछ। यो मैदानमा दोस्रो इनिङ्समा स्पिनरहरू कम फलदायी हुन्छ। शितका कारण दोस्रो इनिङमा फिल्डरलाई समस्या हुने गर्छ। त्यसकारण कप्तानहरु प्रायः टस जितेपछि यो मैदानमा लक्ष्य पछ्याउन मन पराउँछन्।
प्रतिक्रिया दिनुहोस !