काठमाडौं : आइसीसी टी-२० विश्वकपमा एक नयाँ जर्सी र नयाँ देशले पाइला टेक्दै छ। युरोपको भूमि इटाली, जहाँ फुटबलको गर्विलो इतिहासले क्रिकेटलाई छायाँमा पारेको थियो। इटालीमा राजनीतिक कारणदेखि फुटबलको दबदबाले धेरै पहिले ब्रिटिसले बिजारोपण गरेको क्रिकेट अलपत्र अवस्थामा थियो। २०२६ को क्रिकेट विश्वकपमा इटालीले डेब्यु गर्दैछ।
भारत र श्रीलंकामा आयोजना हुने विश्वकपमा इटालीले पहिलो खेल फेब्रुअरी ९ मा स्कटल्यान्डसँग खेल्दैछ। भारतको इडन गार्डेनमा इटालीले विश्वकपको पहिलो खेल खेल्नेछ। समूह सी मा रहेको इटाली सबैका लागि ‘सरप्राइज प्याकेज’ हो। नेपालको समूहमा रहेको इटालीले कस्तो क्रिकेट पस्केला भन्ने सबैको चासोको विषय हो। समूह सीमा नेपाल, इङ्ल्यान्ड, स्कटल्यान्ड र वेस्ट इन्डिजसँग इटालीले पनि प्रतिस्पर्धा गर्दैछ। नेपालका लागि इटाली सहज प्रतिस्पर्धी भने पक्कै हुने छैन। यो देशले पहिलो पटक विश्वकप खेल्ने भए पनि नेपालका लागि राम्रो चुनौती पेस गर्न सक्छ।
कस्तो छ इटालीको टिम?

यो टिमको कप्तानी वायन म्याडसनले गर्दैछन्। उनले विश्वकपका लागि आफ्नो टिम तयार रहेको बताए। ‘हामी खेल जित्न चाहन्छौं। हामी राम्रो क्रिकेट प्रदर्शन गर्न चाहन्छौं।’ विश्वकपको तयारीका लागि टिमले आयरल्यान्डसँग ३ खेल सम्मेलित शृंखला खेलेको थियो। जसमा इटालीले १ खेल जितेको थियो। दुबईमा भएको यो शृंखलामा इटालीको तर्फबाट खेलेका खेलाडीहरूमा राम्रो उदयीमान खेलाडीहरू देखिएका थिए। जसले विश्वकपमा राम्रो प्रभाव पार्न सक्ने क्रिकेट विश्लेषकहरूको भनाइ छ।
ऐतिहासिक विश्वकप यात्रा
इटालीको क्रिकेट इतिहास हेर्ने हो भने यो १८औं शताब्दीमा गएर जोडिन्छ। त्यो समयमा एड्मिरल होराटियो नेल्सनले इटालीमा क्रिकेटको सुरुवात गरेको पाइन्छ। तर, इटालीमा बढ्दो फुटबलको महत्वका कारण यो खेल छायाँमा पर्यो। तर, पछिल्लो समय केही चुनौतीहरूका बाबजुत क्रिकेटले विश्वकपमा स्थान बनाएको छ।
इटाली क्रिकेट बोर्डका अध्यक्ष लुका ब्रुनोले हालः क्रिकेटलाई इटालीमा स्थापित गराउन घरेलु क्रिकेटमा जोड दिइएको बताए। उनका अनुसार हालः इटालीको स्कुलहरुमा क्रिकेट खेललाई पनि समावेश गराउने कार्यहरू भइरहेको सञ्चारमाध्यममा भनेका थिए। इटालीमा क्रिकेटलाई सर्वसुलभ बनाइ क्रिकेटलाई इटालीको अर्को खेल संस्कृति बनाउने कार्य भइरहेको अधयक्ष ब्रुनोले बताएका थिए।
जसप्रित सिंह- टिमका खम्बा
इटालीलाई पहिलो पटक विश्वकपमा छनोट गराउन मुख्य भूमिका खेल्ने खेलाडी हुन्, भारतीय मूलका जसप्रित सिंह। सन् २००६ मा भारतबाट इटाली पुगेका सिंहले टेप बलबाट क्रिकेट खेल्न सुरू गरेका थिए। भारतीय क्रिकेट कल्चरमा जन्मिएका उनले इटालीमा गएर पनि सोही संस्कृति पछ्याउने प्रयत्न गरे। १३ वर्षको उमेरमा बुबाले उनलाई इटाली लिएर गएका थिए। उनले क्रिकेटमा देखाएको चासो र मेहनतले उनलाई इटालीको बर्गामो क्रिकेट क्लबमा डोर्यायो। क्लबमा क्रिकेट सिक्दै गर्दा उनले इटालीयन क्रिकेट संघले गरेको एक प्रतियोगितामा गरेको प्रदर्शनले सबैको ध्यान खिच्यो।

भारतीय क्रिकेट कल्चरको छबि बोकेका सिंहले इटालीलाई टी-२० विश्वकपमा छनोट गराउन महत्वपूर्ण भूमिका निर्वाह गरे। आइसीस टी-२० विश्वकप युरोपियन क्षेत्र छनोटको फाइनलमा नेदरल्यान्ड्सविरुद्धको फाइनलमा सिंहले उत्कृष्ट बलिङ प्रदर्शन गरेका थिए। इटालीले ९ विकेटले खेल हार्यो। खेल हारेपनि सिंहले भने आफ्नो नामको दबदबा बनाए। हालः बर्मिङहममा रहेर क्रिकेट खेल्ने सिंहले पूर्णरूपमा क्रिकेटर बनेर खेल्छन्। उनले क्रिकेटर बन्न उबर ड्राइभरको जागिर छोडेका थिए। आफ्नो प्रशिक्षण समय बनाउन उनले जागिर पनि छोडेका थिए। इटालीले पहिलो पटक विश्वकप खेल्दै गर्दा सिंहले पनि आफ्नो विश्वकप खेल्ने सपना पूरा गर्दैछन्। उनको जीवनी इटालीका धेरै युवा खेलाडीहरूका लागि प्रेरणादायी बन्न सक्छ।
अभ्जरर्भर भोइसबाट
प्रतिक्रिया दिनुहोस !