election background

प्रतिनिधि सभा निर्वाचन २०८२

मौन शत्रु क्यान्सर : समयमै चिनौं, जीवन जोगाऔं

सन्दर्भ : विश्व क्यान्सर दिवस

मौन शत्रु क्यान्सर : समयमै चिनौं, जीवन जोगाऔं
सुन्नुहोस्

क्यान्सरविरुद्धको यो लडाइँमा सरकारको प्रयासमात्र पर्याप्त हुँदैन। सबै सरोकारवाला एकबद्ध भएर सचेतना, स्क्रिनिङ, प्रारम्भिक पहिचान र खोप अभियानमा जुट्नु आवश्यक छ।

शरीरका कोषहरू अनियन्त्रित र अस्वाभाविक रूपमा वृद्धि भई शरीरलाई हानि पुर्‍याउने डरलाग्दो नसर्ने रोग क्यान्सर हो । यो शरीरभित्र रगत वा लिम्फका माध्यमबाट एक अंगबाट अर्कोमा फैलिन सक्छ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।

बालकदेखि वृद्धसम्म सबैलाई लाग्न सक्ने यो रोगको जोखिम उमेरसँगै बढ्दै जान्छ । हाल विश्वमा करिब दुई सय प्रकारका क्यान्सर देखिएका छन् । नेपालमा मुख्यगरी फोक्सो, पाठेघरको मुख, स्तन, पेट, ठुलो आन्द्रा, मुख र रगतको क्यान्सर बढी देखिने गरेको छ ।

पछिल्लो एक दशकमा क्यान्सर रोगीको संख्या १३ प्रतिशतले बढेको छ । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोगको छ, जसमा क्यान्सरका कारण ११ प्रतिशतको मृत्यु हुने गर्दछ । आर्थिक रूपमा पनि यो रोग निकै खर्चिलो बन्दै गएको छ । तथ्यांकअनुसार नसर्ने रोगको उपचारमा हुने वार्षिक ६४.४ अर्ब खर्चमध्ये क्यान्सरको उपचारमा मात्रै करिब ८.५ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।

क्यान्सर सुरुआतका आठ लक्षण : बिनाकारण शरीरको तौल घट्नु क्यान्सरको एक प्रमुख लक्षण हो । खाना अपच हुने वा निल्न गाह्रो हुने समस्यालाई पनि विशेष ध्यान दिनुपर्छ । दिसा–पिसाबको बानीमा परिवर्तन हुनु वा शरीरबाट अस्वाभाविक रक्तस्राव र पिप आउनु क्यान्सरका संकेत हुन् । उपचार गर्दा पनि निको नहुने पुरानो घाउ, लगातारको खोकी वा धोद्रो स्वरले पनि क्यान्सरको जोखिम देखाउँछ । शरीरको कोठीको रंग र आकार फेरिनु तथा स्तन वा अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खाहरू देखिनु क्यान्सरका मुख्य आठ लक्षण हुन् । ग्लोबोक्यानको खोज अनुसार नेपालमा बर्सेनि २६ हजारभन्दा बढी नयाँ क्यान्सर बिरामी पहिचान हुन्छन् । सन् २०२० मा मात्रै नेपालमा १६ हजार ६ सय २९ जनाले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । अस्पतालमा आधारित रजिस्ट्रीले वार्षिक २४ हजारभन्दा बढी बिरामीको तथ्यांक राख्दछ ।

यदि जनसंख्यामा आधारित रजिस्ट्री देशभरि प्रभावकारी रूपमा सञ्चालन भएमा यो तथ्यांक अझै बढ्न सक्छ । हाल नेपालका केही निश्चित क्षेत्रमा मात्र जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री सञ्चालनमा छ । यसअन्तर्गत मधेस प्रदेशका सिराहा, सप्तरी, धनुषा र महोत्तरी समेटिएका छन् । बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर तथा कर्णाली प्रदेशका रुकुमपूर्व र रुकुमपश्चिममा पनि यो कार्य भइरहेको छ । यी क्षेत्रले नेपालको कुल जनसंख्याको करिब २० प्रतिशतमात्र ओगट्छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २००३ देखि सुरु गरेको अस्पतालमा आधारित रजिस्ट्री हाल १२ वटा अस्पतालमा विस्तार भइसकेको छ ।

जीवनशैली र क्यान्सरको जोखिम : विश्वव्यापीकरणसँगै परिवर्तन भएको जीवनशैली र खानपानले क्यान्सरको जोखिम तीव्र रूपमा बढाएको छ । नेपालसहित विभिन्न देशमा गरिएका सर्वेक्षणहरूका अनुसार अस्वस्थ खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगहरूको भार बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरबाट हुने कुल मृत्युमध्ये करिब एक–तिहाइ हिस्सा सुर्तीजन्य पदार्थ, मदिरा सेवन, असन्तुलित आहार र शारीरिक निष्क्रियताका कारण हुने गर्दछ ।

संक्रमण र अन्य कारकहरू : विकिरणको प्रभाव, वातावरणीय प्रदूषण र विभिन्न संक्रमण क्यान्सरका अन्य प्रमुख कारण हुन् । विकासोन्मुख देशहरूमा करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस र ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमणले हुने गरेको छ । नसर्ने रोगहरूमध्ये क्यान्सर यस्तो रोग हो जुन समयमै उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्छ, जबकि अन्य धेरै रोगमा जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । यद्यपि, समाजमा व्याप्त डरका कारण मानिसहरू रोगको सुरुवाती अवस्थामै अस्पताल जान डराउँछन् ।

पहिचान र उपचारमा ढिलाइ : नेपालमा क्यान्सरको पहिचानदेखि उपचार सुरु हुनेसम्मको प्रक्रियामा गम्भीर ढिलाइ हुने गरेको छ । बिरामीले लक्षणलाई हल्का रूपमा लिनु, स्वास्थ्य सेवामा पहिचानको कमजोरी हुनु र सीमित प्रयोगशाला क्षमताका कारण सेवा प्रभावकारी हुन सकेको छैन । अध्ययनका अनुसार लक्षण देखिएदेखि उपचार सुरु हुन् ६३ देखि २ सय ४ दिनसम्म लाग्ने गर्दछ । यस्तो प्रक्रियागत ढिलाइले गर्दा बिरामीमा जटिलता र दीर्घकालीन स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् ।

उपचारको अवस्था र सफलता : नेपालले क्यान्सर उपचारको क्षेत्रमा छोटो समयमै ठूलो फड्को मारेको छ । हाल ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव छ । यद्यपि, रोबोटिक सर्जरी र प्रोटोनथेरापीजस्ता अत्याधुनिक प्रविधिहरू भित्र्याउन अझै बाँकी छ । क्यान्सर उपचारको सफलता रोगको अवस्था, स्थान र बिरामीको उमेरमा भर पर्छ । वयस्कहरूमा निको हुने दर ४० प्रतिशत छ भने बालबालिकामा यो ६० देखि ९० प्रतिशतसम्म रहन्छ । सुरुवाती अवस्थामै रोग पत्ता लागेमा उपचार बढी सफल हुनुका साथै धनजनको क्षति पनि कम हुन्छ ।

सरकारी प्रयास र सहुलियत : सरकारले ७७ वटै जिल्लामा स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगसम्बन्धी तालिम र जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइन्छ । कतिपय प्रदेश सरकारले थप एक लाख रुपैयाँसम्म सहायता दिने गरेका छन् । बालबालिकाका लागि ३५ प्रकारका क्यान्सर औषधि निःशुल्क उपलब्ध गराइएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ऐन र नियमहरू कार्यान्वयनमा छन् भने महिलाहरूमा हुने पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङका लागि निर्देशिका २०८० जारी गरिएको छ ।

खोप र भावी रणनीति : गत वर्षको अभियानमा १६ लाखभन्दा बढी बालिकालाई एचपीभी खोप प्रदान गरियो भने यस वर्षदेखि यसलाई राष्ट्रिय खोप कार्यक्रममै समावेश गरिएको छ । मन्त्रालयले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ जारी गरी विभिन्न क्रियाकलाप अघि बढाएको छ । सातै प्रदेशका संघीय वा प्रादेशिक अस्पतालहरूबाट क्यान्सर उपचार र व्यवस्थापन सेवा विस्तार गर्ने कार्यविधि २०८१ साउन ३० मा स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।

निष्कर्ष : विश्वभर वार्षिक झन्डै एक करोड मानिसको ज्यान लिने क्यान्सरप्रति सचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । क्यान्सरविरुद्धको यो लडाइँमा सरकारको प्रयासमात्र पर्याप्त हुँदैन । सबै सरोकारवाला एकबद्ध भएर सचेतना, स्क्रिनिङ, प्रारम्भिक पहिचान र खोप अभियानमा जुट्नु आवश्यक छ । क्यान्सर व्यवस्थापनमा हामी सबैको जिम्मेवारी अझ बढेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.