क्यान्सरविरुद्धको यो लडाइँमा सरकारको प्रयासमात्र पर्याप्त हुँदैन। सबै सरोकारवाला एकबद्ध भएर सचेतना, स्क्रिनिङ, प्रारम्भिक पहिचान र खोप अभियानमा जुट्नु आवश्यक छ।
शरीरका कोषहरू अनियन्त्रित र अस्वाभाविक रूपमा वृद्धि भई शरीरलाई हानि पुर्याउने डरलाग्दो नसर्ने रोग क्यान्सर हो । यो शरीरभित्र रगत वा लिम्फका माध्यमबाट एक अंगबाट अर्कोमा फैलिन सक्छ, तर एक व्यक्तिबाट अर्को व्यक्तिमा भने सर्दैन ।
बालकदेखि वृद्धसम्म सबैलाई लाग्न सक्ने यो रोगको जोखिम उमेरसँगै बढ्दै जान्छ । हाल विश्वमा करिब दुई सय प्रकारका क्यान्सर देखिएका छन् । नेपालमा मुख्यगरी फोक्सो, पाठेघरको मुख, स्तन, पेट, ठुलो आन्द्रा, मुख र रगतको क्यान्सर बढी देखिने गरेको छ ।
पछिल्लो एक दशकमा क्यान्सर रोगीको संख्या १३ प्रतिशतले बढेको छ । नेपालमा हुने कुल मृत्युमध्ये ७१ प्रतिशत हिस्सा नसर्ने रोगको छ, जसमा क्यान्सरका कारण ११ प्रतिशतको मृत्यु हुने गर्दछ । आर्थिक रूपमा पनि यो रोग निकै खर्चिलो बन्दै गएको छ । तथ्यांकअनुसार नसर्ने रोगको उपचारमा हुने वार्षिक ६४.४ अर्ब खर्चमध्ये क्यान्सरको उपचारमा मात्रै करिब ८.५ अर्ब रुपैयाँ खर्च हुने गरेको छ ।
क्यान्सर सुरुआतका आठ लक्षण : बिनाकारण शरीरको तौल घट्नु क्यान्सरको एक प्रमुख लक्षण हो । खाना अपच हुने वा निल्न गाह्रो हुने समस्यालाई पनि विशेष ध्यान दिनुपर्छ । दिसा–पिसाबको बानीमा परिवर्तन हुनु वा शरीरबाट अस्वाभाविक रक्तस्राव र पिप आउनु क्यान्सरका संकेत हुन् । उपचार गर्दा पनि निको नहुने पुरानो घाउ, लगातारको खोकी वा धोद्रो स्वरले पनि क्यान्सरको जोखिम देखाउँछ । शरीरको कोठीको रंग र आकार फेरिनु तथा स्तन वा अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खाहरू देखिनु क्यान्सरका मुख्य आठ लक्षण हुन् । ग्लोबोक्यानको खोज अनुसार नेपालमा बर्सेनि २६ हजारभन्दा बढी नयाँ क्यान्सर बिरामी पहिचान हुन्छन् । सन् २०२० मा मात्रै नेपालमा १६ हजार ६ सय २९ जनाले क्यान्सरकै कारण ज्यान गुमाएका थिए । अस्पतालमा आधारित रजिस्ट्रीले वार्षिक २४ हजारभन्दा बढी बिरामीको तथ्यांक राख्दछ ।
यदि जनसंख्यामा आधारित रजिस्ट्री देशभरि प्रभावकारी रूपमा सञ्चालन भएमा यो तथ्यांक अझै बढ्न सक्छ । हाल नेपालका केही निश्चित क्षेत्रमा मात्र जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्री सञ्चालनमा छ । यसअन्तर्गत मधेस प्रदेशका सिराहा, सप्तरी, धनुषा र महोत्तरी समेटिएका छन् । बागमती प्रदेशका काठमाडौं, भक्तपुर र ललितपुर तथा कर्णाली प्रदेशका रुकुमपूर्व र रुकुमपश्चिममा पनि यो कार्य भइरहेको छ । यी क्षेत्रले नेपालको कुल जनसंख्याको करिब २० प्रतिशतमात्र ओगट्छन् । बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले सन् २००३ देखि सुरु गरेको अस्पतालमा आधारित रजिस्ट्री हाल १२ वटा अस्पतालमा विस्तार भइसकेको छ ।
जीवनशैली र क्यान्सरको जोखिम : विश्वव्यापीकरणसँगै परिवर्तन भएको जीवनशैली र खानपानले क्यान्सरको जोखिम तीव्र रूपमा बढाएको छ । नेपालसहित विभिन्न देशमा गरिएका सर्वेक्षणहरूका अनुसार अस्वस्थ खानपान र शारीरिक व्यायामको कमीले नसर्ने रोगहरूको भार बढ्दै गएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार क्यान्सरबाट हुने कुल मृत्युमध्ये करिब एक–तिहाइ हिस्सा सुर्तीजन्य पदार्थ, मदिरा सेवन, असन्तुलित आहार र शारीरिक निष्क्रियताका कारण हुने गर्दछ ।
संक्रमण र अन्य कारकहरू : विकिरणको प्रभाव, वातावरणीय प्रदूषण र विभिन्न संक्रमण क्यान्सरका अन्य प्रमुख कारण हुन् । विकासोन्मुख देशहरूमा करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस र ह्युमन प्यापिलोमा भाइरस (एचपीभी)को संक्रमणले हुने गरेको छ । नसर्ने रोगहरूमध्ये क्यान्सर यस्तो रोग हो जुन समयमै उपचार गरेमा पूर्ण रूपमा निको हुन सक्छ, जबकि अन्य धेरै रोगमा जीवनभर औषधि सेवन गर्नुपर्ने हुन्छ । यद्यपि, समाजमा व्याप्त डरका कारण मानिसहरू रोगको सुरुवाती अवस्थामै अस्पताल जान डराउँछन् ।
पहिचान र उपचारमा ढिलाइ : नेपालमा क्यान्सरको पहिचानदेखि उपचार सुरु हुनेसम्मको प्रक्रियामा गम्भीर ढिलाइ हुने गरेको छ । बिरामीले लक्षणलाई हल्का रूपमा लिनु, स्वास्थ्य सेवामा पहिचानको कमजोरी हुनु र सीमित प्रयोगशाला क्षमताका कारण सेवा प्रभावकारी हुन सकेको छैन । अध्ययनका अनुसार लक्षण देखिएदेखि उपचार सुरु हुन् ६३ देखि २ सय ४ दिनसम्म लाग्ने गर्दछ । यस्तो प्रक्रियागत ढिलाइले गर्दा बिरामीमा जटिलता र दीर्घकालीन स्वास्थ्य समस्याहरू बढ्दै गएका छन् ।
उपचारको अवस्था र सफलता : नेपालले क्यान्सर उपचारको क्षेत्रमा छोटो समयमै ठूलो फड्को मारेको छ । हाल ९९ प्रतिशत क्यान्सरको उपचार नेपालमै सम्भव छ । यद्यपि, रोबोटिक सर्जरी र प्रोटोनथेरापीजस्ता अत्याधुनिक प्रविधिहरू भित्र्याउन अझै बाँकी छ । क्यान्सर उपचारको सफलता रोगको अवस्था, स्थान र बिरामीको उमेरमा भर पर्छ । वयस्कहरूमा निको हुने दर ४० प्रतिशत छ भने बालबालिकामा यो ६० देखि ९० प्रतिशतसम्म रहन्छ । सुरुवाती अवस्थामै रोग पत्ता लागेमा उपचार बढी सफल हुनुका साथै धनजनको क्षति पनि कम हुन्छ ।
सरकारी प्रयास र सहुलियत : सरकारले ७७ वटै जिल्लामा स्वास्थ्यकर्मीहरूलाई नसर्ने रोगसम्बन्धी तालिम र जनचेतनाका कार्यक्रम सञ्चालन गरिरहेको छ । विपन्न नागरिक औषधि उपचार कोषबाट क्यान्सरका बिरामीलाई एक लाख रुपैयाँ सहयोग उपलब्ध गराइन्छ । कतिपय प्रदेश सरकारले थप एक लाख रुपैयाँसम्म सहायता दिने गरेका छन् । बालबालिकाका लागि ३५ प्रकारका क्यान्सर औषधि निःशुल्क उपलब्ध गराइएको छ । सुर्तीजन्य पदार्थको नियन्त्रणका लागि ऐन र नियमहरू कार्यान्वयनमा छन् भने महिलाहरूमा हुने पाठेघर र स्तन क्यान्सरको निःशुल्क स्क्रिनिङका लागि निर्देशिका २०८० जारी गरिएको छ ।
खोप र भावी रणनीति : गत वर्षको अभियानमा १६ लाखभन्दा बढी बालिकालाई एचपीभी खोप प्रदान गरियो भने यस वर्षदेखि यसलाई राष्ट्रिय खोप कार्यक्रममै समावेश गरिएको छ । मन्त्रालयले ‘राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३०’ जारी गरी विभिन्न क्रियाकलाप अघि बढाएको छ । सातै प्रदेशका संघीय वा प्रादेशिक अस्पतालहरूबाट क्यान्सर उपचार र व्यवस्थापन सेवा विस्तार गर्ने कार्यविधि २०८१ साउन ३० मा स्वीकृत भई कार्यान्वयनमा आइसकेको छ ।
निष्कर्ष : विश्वभर वार्षिक झन्डै एक करोड मानिसको ज्यान लिने क्यान्सरप्रति सचेतना जगाउन हरेक वर्ष फेब्रुअरी ४ मा विश्व क्यान्सर दिवस मनाइन्छ । क्यान्सरविरुद्धको यो लडाइँमा सरकारको प्रयासमात्र पर्याप्त हुँदैन । सबै सरोकारवाला एकबद्ध भएर सचेतना, स्क्रिनिङ, प्रारम्भिक पहिचान र खोप अभियानमा जुट्नु आवश्यक छ । क्यान्सर व्यवस्थापनमा हामी सबैको जिम्मेवारी अझ बढेको छ ।
प्रतिक्रिया दिनुहोस !