election background

प्रतिनिधि सभा निर्वाचन २०८२

दलीय घोषणापत्रमा रणनीतिक भविष्य

दलीय घोषणापत्रमा रणनीतिक भविष्य
सुन्नुहोस्

जलविद्युत् विषयप्रति गम्भीरता देखाउनु भनेको देशको भविष्यप्रति राजनीतिक जिम्मेवारी लिनु हो ।

नेपाल संघीय संसद् निर्वाचन, २०८२ को संघारमा उभिँदा देश केवल अर्को सरकार छान्ने प्रक्रियामा छैन; उसले आगामी दशकहरूमा कुन विकास–मार्ग रोज्ने हो भन्ने गम्भीर निर्णयको सामना गरिरहेको छ । यस्तो घडीमा राजनीतिक दलहरूले प्रस्तुत गर्ने निर्वाचन घोषणापत्रहरू सामान्य राजनीतिक प्रतिबद्धताका कागजात होइनन्, ती मुलुकको आर्थिक, सामाजिक र रणनीतिक भविष्यका नक्सा हुन् । विशेषत: नेपालजस्तो सीमित औद्योगिक आधार तर असाधारण जलस्रोत सम्भावना भएको मुलुकका लागि जलविद्युत् विकास घोषणापत्रको केन्द्रमा रहनु विकल्प होइन, बाध्यता हो ।

नेपालको जलविद्युत् इतिहास हेर्दा प्रारम्भिक अग्रता हुँदाहुँदै पनि त्यसको लाभ उठाउन नसकेको यथार्थ देखिन्छ । सन् १९११ मा फर्पिङ जलविद्युत् आयोजना सञ्चालनमा आउँदा नेपाल दक्षिण एसियामै विद्युत् उत्पादन गर्ने प्रारम्भिक मुलुक थियो । तर त्यसपछि लामो समयसम्म जलविद्युत् विकास दरबार–केन्द्रित सोच, सीमित पुँजी, कमजोर प्राविधिक क्षमता र राजनीतिक अस्थिरताका कारण अगाडि बढ्न सकेन ।

दशकौंसम्म विद्युत् विकास राज्यको एकाधिकारमा सीमित रह्यो, जहाँ न त पर्याप्त लगानी जुट्न सक्यो, न त दीर्घकालीन योजना बन्न सक्यो । २०४६ सालपछिको राजनीतिक परिवर्तनले निजी क्षेत्रलाई जलविद्युत् क्षेत्रमा प्रवेशको ढोका खोल्यो । यही परिवर्तनले आज देखिने अधिकांश जलविद्युत् आयोजना सम्भव बनाएको हो । तर यो विकास योजनाबद्धभन्दा पनि अवसरवादी रह्यो— जहाँ आयोजना आए, बने; तर ती आयोजनाहरूले कस्तो ऊर्जा प्रणाली बनाइरहेका छन् भन्ने प्रश्न सधैं पछाडि पारियो । परिणामस्वरूप नेपालले उत्पादन क्षमता बढायो, तर ऊर्जा सुरक्षा, प्रणाली सन्तुलन र बजार सुनिश्चिततामा कमजोर रह्यो ।

आज नेपाल करिब विद्युत् आत्मनिर्भर अवस्थामा पुगेको भनिए पनि यो आत्मनिर्भरता मौसमी छ । वर्षायाममा बिजुली थुप्रिन्छ, हिउँदमा अभाव हुन्छ । यो समस्या प्राकृतिकमात्र होइन, नीतिगत हो । यसको जडमा जलविद्युत् विकासलाई समग्र ऊर्जा प्रणालीका रूपमा नहेर्ने सोच छ । अत्यधिक रन–अफ–रिभर आयोजना केन्द्रित विकासले हिउँदमा उत्पादन घट्ने संरचनागत कमजोरी जन्माएको छ । जलाशययुक्त र पम्पड स्टोरेज आयोजनालाई महँगो, जटिल वा राजनीतिक रूपमा जोखिमपूर्ण ठानी पन्छाउने प्रवृत्तिले यो समस्या झन गहिरो बनाएको छ । अबको घोषणापत्रले यो यथार्थ स्वीकार गर्दै, ऊर्जा मिश्रण सन्तुलनलाई राष्ट्रिय प्राथमिकताका रूपमा स्थापित गर्नुपर्छ ।

अन्तर्राष्ट्रिय अभ्यासले स्पष्ट देखाएको छ कि दीर्घकालीन ऊर्जा सुरक्षा सुनिश्चित गर्ने मुलुकहरू उत्पादन संख्याभन्दा प्रणाली स्थायित्वमा जोड दिन्छन् । नर्वे, क्यानडा र स्विट्जरल्यान्डले जलाशययुक्त आयोजनालाई आफ्ना ऊर्जा प्रणालीको मेरुदण्ड बनाएका छन् । चीनले जलविद्युत्लाई केवल स्वच्छ ऊर्जा स्रोत होइन, औद्योगिक प्रतिस्पर्धाको आधारका रूपमा उपयोग गरेको छ । भुटानले जलविद्युत् विकासलाई राष्ट्रिय राजस्व, सामाजिक सेवा र कूटनीतिक प्रभावसँग जोडेको छ । यी मुलुकको अनुभवले देखाउँछ— सफल जलविद्युत् नीति राजनीतिक घोषणापत्रमै स्पष्ट, दीर्घकालीन र स्थिर प्रतिबद्धताका रूपमा स्थापित हुन्छ ।

सबैभन्दा गहिरो तर प्राय: उपेक्षित पक्ष भनेको सुशासन र संस्थागत सुधार हो। नेपालको जलविद्युत् क्षेत्रमा समस्या प्रविधिको होइन, निर्णय प्रक्रियाको हो। ढिलासुस्ती, डिस्क्रेसनरी पावर, फाइल संस्कृति र उत्तारदायित्वहीनताले परियोजना महँगो, अनिश्चित र जोखिमपूर्ण बनाइरहेका छन्।

नेपालका राजनीतिक दलहरूले अब घोषणापत्रमा ‘यति मेगावाट बनाउने’ पुरानो भाषाबाट माथि उठ्नैपर्छ । कति उत्पादन गर्नेभन्दा पनि कहिले, कसरी र केका लागि उत्पादन गर्ने भन्ने प्रश्नको जवाफ घोषणापत्रमा हुनुपर्छ । जलविद्युत् विकासलाई औद्योगीकरण, रोजगारी, आयात प्रतिस्थापन र क्षेत्रीय व्यापारसँग कसरी जोड्ने हो भन्ने स्पष्ट दृष्टिबिना घोषणापत्र अर्थहीन हुन्छ ।

यस सन्दर्भमा निजी क्षेत्रको भूमिकाबारे घोषणापत्रमा कुनै द्विविधा हुनु हुँदैन । नेपालको जलविद्युत् क्षेत्रमा निजी क्षेत्रले लगानी, जोखिम र प्रविधि तीनै बोकेको छ भन्ने यथार्थ राजनीतिक रूपमा स्वीकार गर्नुपर्छ । विगतमा निजी क्षेत्रलाई कहिले राष्ट्रनिर्माता, कहिले नाफाखोरका रूपमा चित्रित गर्ने परस्परविरोधी राजनीतिक भाषाले लगानी वातावरण कमजोर बनाएको छ । अन्तर्राष्ट्रिय अभ्यासले देखाउँछ— राज्यको भूमिका नीति, नियमन र दीर्घकालीन सुनिश्चिततामा केन्द्रित हुन्छ; निजी क्षेत्रको भूमिका कार्यान्वयन र जोखिम व्यवस्थापनमा । घोषणापत्रले नीति स्थायित्व, सम्झौताको सम्मान र पूर्वानुमेय निर्णय प्रणालीको स्पष्ट प्रत्याभूति नगरेसम्म जलविद्युत् क्षेत्रमा दीर्घकालीन लगानी सम्भव हुँदैन ।

नेपालको जलविद्युत् विकास अवरुद्ध हुनुको अर्को प्रमुख कारण प्रसारण तथा वितरण संरचनाको कमजोरी हो । उत्पादन क्षमतामा उल्लेखनीय वृद्धि भए पनि प्रसारण लाइन विस्तार त्यसअनुसार हुन सकेको छैन । यसले ऊर्जा ‘उत्पादन भएर पनि प्रयोग नहुने’ अवस्थालाई जन्माएको छ । अन्तर्राष्ट्रिय अभ्यासमा प्रसारण लाइनलाई राष्ट्रिय रणनीतिक पूर्वाधारका रूपमा कानुनी सुरक्षा दिइन्छ । नेपालका घोषणापत्रहरूले पनि प्रसारण करिडोरलाई राजनीतिक विवाद, स्थानीय स्वार्थ र प्रशासनिक ढिलाइभन्दा माथि राख्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ । उत्तर–दक्षिण र पूर्व–पश्चिम प्रसारण करिडोर बिना न त आन्तरिक सन्तुलन सम्भव छ, न त क्षेत्रीय व्यापार ।

विद्युत् व्यापार नेपालको जलविद्युत् रणनीतिको केन्द्रीय अंग हुनैपर्छ । नेपाल सानो घरेलु बजार भएको मुलुक भएकाले दीर्घकालीन रूपमा ठूला जलविद्युत् आयोजना निर्यात बिना दिगो हुन सक्दैनन् । अन्तर्राष्ट्रिय अभ्यासले देखाउँछ कि सफल ऊर्जा निर्यातक मुलुकहरूले व्यापारलाई केवल प्राविधिक विषय होइन, कूटनीतिक प्राथमिकता बनाएका छन् । नेपालका घोषणापत्रहरूले पनि भारत र बंगलादेशसँगको विद्युत् व्यापारलाई अस्थायी सम्झौतामा सीमित नगरी दीर्घकालीन, संस्थागत र बजार–आधारित संरचनामा लैजाने स्पष्ट दृष्टि प्रस्तुत गर्नुपर्छ । विद्युत् व्यापार राज्यको निरन्तर नीति हो, सरकार परिवर्तनसँगै बदलिने नीति होइन भन्ने सन्देश घोषणापत्रमै जानु आवश्यक छ ।

घरेलु बजारतर्फ हेर्दा पनि जलविद्युत् विकासको वास्तविक अर्थ तबमात्र देखिन्छ, जब बिजुली आर्थिक गतिविधिमा रूपान्तरण हुन्छ । जलविद्युत् विकास सामाजिक स्वीकृति बिना सम्भव छैन । विगतमा स्थानीय लाभ सुनिश्चित नगर्दा धेरै आयोजना विरोध र विवादमा परे । अन्तर्राष्ट्रिय अभ्यासले स्थानीय समुदायलाई परियोजनाको साझेदार बनाउँछ— सेयर स्वामित्व, रोजगारी, पूर्वाधार र सेवा विस्तारमार्फत । नेपालको घोषणापत्रले पनि स्थानीय लाभ–साझेदारीलाई परियोजनाको अनिवार्य अंगका रूपमा परिभाषित गर्नुपर्छ । वातावरणीय मूल्यांकनलाई विकास अवरोध होइन, विश्वास निर्माणको उपकरण बनाउने राजनीतिक इच्छाशक्ति देखिनुपर्छ ।

सबैभन्दा गहिरो तर प्राय: उपेक्षित पक्ष भनेको सुशासन र संस्थागत सुधार हो । नेपालको जलविद्युत् क्षेत्रमा समस्या प्रविधिको होइन, निर्णय प्रक्रियाको हो । ढिलासुस्ती, डिस्क्रेसनरी पावर, फाइल संस्कृति र उत्तरदायित्वहीनताले परियोजना महँगो, अनिश्चित र जोखिमपूर्ण बनाइरहेका छन् । घोषणापत्रले नियामक संस्थाको स्वतन्त्रता, पारदर्शी निर्णय प्रक्रिया र समयबद्ध कार्यान्वयन सुनिश्चित गर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्छ । नेपाल विद्युत् प्राधिकरणलगायत संस्थाहरूलाई व्यावसायिक, उत्तरदायी र राजनीतिक हस्तक्षेपबाट मुक्त बनाउने प्रतिबद्धता बिना जलविद्युत् क्षेत्र विश्वसनीय बन्न सक्दैन । निर्वाचन भए पनि नभए पनि अबको पुस्ताले बतासे घोषणापत्रलाई विश्वास गर्ने छैनन् । समय तालिका अनुरुप परिणाम आउनेगरी राष्ट्रिय संकल्प तयार हुनु समयको माग पनि यही हो ।

जलविद्युत् पूर्वाधार र निजीकरण : २०४६ सालको परिवर्तनपश्चात् नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले विद्युत् ऐन, २०४९ जारी गर्‍यो । त्यसकै अनुसरणबाट निजी क्षेत्रलाई लगानी गर्ने बाटो खुलेको हो । त्यही घोषणाको सिलसिला थियो । खुला र उदारनीति अनुरूप पञ्चायतकालमा स्थापना भएका विभिन्न औद्योगिक कलकारखाना निजीकरणको सुरुवात पनि कांग्रेसकै सरकारले गर्‍यो । तर निजीकरणको दोष कांग्रेसलाई अन्य दलले लगाउँदै आएका छन् । तर त्यो दोष थिएन । बरु भएका कलकारखानालाई स्तरोन्नति गरी थप रोजगारी सिर्जना गर्ने गरी निजी क्षेत्रलाई अनिवार्य गर्नुपर्ने थियो । त्यो हुन नसकेर छिन्नभिन्न भए ।

त्यसबेला सबैजसो कलकारखानाहरू घाटामा गएका थिए । घाटामा गएका कारणले गर्दा निजीकरण गर्ने २०४८ सालमा र विश्व बैंकको परामर्शमा निजीकरण इकाइ नै अर्थ मन्त्रालयमा बसेको थियो । त्यही जगमा रहेर विद्युत् ऐनमा निजी क्षेत्रलाई आमन्त्रण गर्न दबाब पारियो । जलविद्युत्, सडक (टोल हाइवे), शिक्षा, स्वास्थ्य, पर्यटन क्षेत्रमा निजी क्षेत्रको लागि लगानी हुँदै गएका पनि छन् । यस्ता विषयमा पनि घोषणापत्रले समेट्नुपर्ने देखिन्छ ।

अन्ततः, संघीय संसद् निर्वाचन, २०८२ का घोषणापत्रहरूमा जलविद्युत् विकास कसरी प्रस्तुत हुन्छ भन्ने कुराले नेपालको विकासको दिशा र गति निर्धारण गर्नेछ । इतिहासबाट सिकेर, अन्तर्राष्ट्रिय अभ्यास आत्मसात् गरेर र नेपालको यथार्थसँग इमानदारीपूर्वक जँुधेर तयार गरिएका घोषणापत्र 
मात्र राष्ट्रको भविष्यप्रति जिम्मेवार दस्तावेज बन्न सक्छन् । जलविद्युत् विषयमा गम्भीरता देखाउनु भनेको देशको भविष्यप्रति राजनीतिक जिम्मेवारी लिनु हो ।
भण्डारी, निजी जलविद्युत्का राष्ट्रिय अभियन्ता हुन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.