election background

प्रतिनिधि सभा निर्वाचन २०८२

गोरखकाली रबर उद्योग् चुनावी नारा बन्छ, सञ्चालन हुुँदैन

गोरखकाली रबर उद्योग् चुनावी नारा बन्छ, सञ्चालन हुुँदैन
सुन्नुहोस्

गोरखा : गण्डकी गाउँपालिका—७ का कुमार गुरुङले सामाजिक सञ्जाल ‘फेसबुक’ मा धवादीघाटको जीर्ण झोलुंगेपुलको तस्बिर राखेर चुनाव लक्षित स्टाटस लेखे, ‘फेरि चुनाव आयो। अब धवादीघाटको पुलको टेन्डर खुलेको कागज सामाजिक सञ्जालभरि छरपस्ट हुने भयो। कागजको खोस्टो देखाएर हामी घ्याल्चोकेहरूको भोट कहिलेसम्म लुट्ने हो ?   अब हामी चनाखो हुनुपर्छ पर्छ...।’

उनका अनुसार २०७९ को स्थानीय तहको निर्वाचनअघि पनि सो ठाउँमा मोटरेबल पुल बनाउने भन्दै टेन्डर आह्वान गरिएको थियो। विभिन्न पार्टीका कार्यकर्ताहरूले आफ्ना–आफ्ना नेताको पहलमा योजना परेको भन्दै सामाजिक सञ्जालमा तँछाडमछाड गरे। 

चुनाव सकियो तर पुल बनेन। फेरि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अघि पनि सोही पुल बनाउने अर्को टेन्डर आह्वान गरियो। यसपटक पनि विभिन्न पार्टीका कार्यकर्ताले आफ्ना नेताको पहलमा योजना परेको भन्दै जस लिने होडबाजी गरे। चुनाव सकिएको यत्तिका वर्ष बित्यो, तर पुल बनेन। ‘त्यही आक्रोशमा मैले स्टाटस लेखेको हुँ’, उनले भने।

अहिले पनि गोरखामा अलपत्र अवस्थामा रहेका राष्ट्रिय गौरवका योजना सञ्चालन हुनेबारे भ्रामक समाचार प्रकाशन प्रसारण हुन थालेका छन्। केही दिनअघि एकाएक समाचार आयो, ‘बूढीगण्डकी आयोजनाको मोडालिटी सरकारद्वारा स्वीकृत’। केही दिनपछि फेरि अर्को समाचार आयो, ‘बेनिघाट आरुघाट लार्के सडकका लागि बजेट थप हुने’। यत्तिले पुगेन फेरि केही दिनपछि अर्को समाचार आयो, ‘गोरखकाली रबर उद्योग पीपीपी मोडलमा बनाउन सुझाव।’

अब केही दिनभित्र अर्को समाचार आउनेवाला छ, ‘पालुङ्टार विमानस्थल पुनः सञ्चालनको तयारी’ शीर्षकमा। आउँदो फागुन २१ गतेको चुनावका लागि उम्मेदवार तथा नेता, कार्यकर्ता यतिबेला चुनावी प्रचार–प्रसारमा घरदैलो गरिरहेका छन्। यसमै बल पुर्‍याउने उद्देश्यले विभिन्न पार्टी सम्बद्ध नेता, कार्यकर्ताले राष्ट्रिय गौरवका योजनाहरूको समाचारलाई सुनियोजित रूपमा चर्चामा ल्याउने गरेका हुन्।

गोरखामा रहेका ठूला उद्योग, योजना तथा कार्यक्रमहरू गोरखकाली रबर उद्योग, पालुङ्टार विमानस्थल, बूढीगण्डकी जलविद्युत् आयोजना तथा बेनिघाट आरुघाट लार्के सडक हुन्। ‘चुनावअघि जनतालाई इमोसनल ब्ल्याकमेलिङ गर्न यस्ता समाचार छपाइरहन्छन्। नेताले आफ्नो पहलमा अघि बढेको भन्दै मतदातासामु धुवाँदार भाषण पनि गर्दै हिँड्छन्’, गुरुङ भन्छन्, ‘अब जनता बुझ्ने भइसकेका छन्। यस्ता झुठको खेतीको पछि लाग्दैनन्। तर, नेता बुझ्दैनन् र पुरानै शैलीमा ठूला आयोजना बनाउने चर्चा गरी हिँड्छन्।’

तीन वर्षअघिको चुनावी भाषणमा तत्कालीन उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ तथा सबै पार्टीका नेताले बूढीगण्डकी आयोजना, गोरखकाली रबर उद्योग, पालुङ्टार एयरपोर्ट सञ्चालनलाई प्राथमिकता दिने भाषण गरे। 

साथै धुलोमुक्त सडक बनाउने भाषण गरेर चुनाव जितेका प्रचण्ड प्रधानमन्त्री पनि बने। अर्का नेता सुरेन्द्र पाण्डे गण्डकी प्रदेशका मुख्यमन्त्री बने।
तर, यो तीन वर्षयता गोरखकाली रबर उद्योग पुनः सञ्चालन भएन। बरु झन् धेरै रुग्ण बन्दै गयो, झाँडी र जंगलले ढाक्दै गयो। बूढीगण्डकी आयोजनाको काम पनि अघि बढ्नु त परको कुरा, बरु आयोजना पनि नबन्ने, विकास निर्माणको काम पनि ठप्प भएर स्थानीयवासी हैरान भए। बेनिघाट आरुघाट लार्के सडकको बजेट थपिनु त कताकता, विगत तीन वर्षयता बर्सेनि बजेट घटेर आइरहेको छ। अनि पालुङ्टार विमानस्थलमा चर्ने वस्तुभाउको संख्या पनि बढिरह्यो। जग्गा अधिग्रहणकोसमस्या पनि हल भएन।

जिम्मेवार नेताले जनता झुक्याउने यस्ता प्रवृत्ति छाडेर तथ्यगत, वस्तुगत कुरा गर्नुपर्ने गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटाको सुझाव छ। ‘यस्ता बकम्फुसे प्रवृत्तिलाई अब जनताले पत्याउन छाडे’, गैरसरकारी संस्था महासंघका अध्यक्ष हरि देवकोटा भन्छन्, ‘आफ्नो र देशको क्षमता र सीमाको ख्याल नगरी ठालु बन्ने, मपाइँकत्व देखाउने यो पपुलिस्ट बन्ने प्रवृत्ति हो। यस्तो प्रवृत्ति देश विकासको बाधक हो।’ बदलिँदो परिवेशमा चुनाव प्रचार–प्रसारको शैली पनि बदल्नुपर्नेमा नेताहरूले पुरानै ढर्रा प्रस्तुत गरिरहेको उनको तर्क छ।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.