election background

प्रतिनिधि सभा निर्वाचन २०८२

उपचार खोज्दै विदेश, घर फर्किंदा ऋणको बोझ

उपचार खोज्दै विदेश, घर फर्किंदा ऋणको बोझ

काठमाडौं : हड्डीको क्यान्सरको उपचारका लागि झापाका चन्द्र तामाङले नेपालका अस्पताल र विशेषज्ञको मात्र भर गरेनन्। भारतका विभिन्न अस्पताल चहारे। उपचार खर्च जुटाउन उनलाई धौ–धौ भयो। घरपरिवारले हारगुहार गरे। सरसापटी गर्दा नपुगेपछि चन्दा संकलन गरे। क्यान्सर भएको दाहिने खुट्टा काट्नुपर्‍यो । अन्ततः २५ वर्षमै उनले ज्यान गुमाए। उपचारमा लागेको ऋण तिर्न चन्द्रकी छोरी कोरियामा पसिना बगाउँदै छिन्। 

स्वदेशमै उपचार गराएर स्तन क्यान्सर निको पारेकी थिइन्,सजनी नेपालले (नाम परिवर्तन) । तर, पाठेघरको क्यान्सर हुँदा भने उनी भारतमै पुगिन्। किन त ? उनी भन्छिन्, ‘यहाँ उपचार प्रक्रिया लामो र झन्झटिलो भयो। त्यहाँ एकै छानामुनि सबै खालको उपचार पाइन्छ।’ बर्सेनि २६ हजार बिरामी थपिन्छन् स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार अस्पतालमा आधारित (हस्पिटल बेस्ड क्यान्सर रजिष्ट्रि)का आधारमा बर्सेनि २६ हजार क्यान्सरका नयाँ बिरामीको पहिचान हुने गर्छ। जनसंख्यामा आधारित (पपुलेसन बेस्ड रजिष्ट्रि) को अभावमा मुलुकभरका कुल क्यान्सरका बिरामीको संख्या यकिन हुन सकेको छैन। ग्लोबोक्यान, २०२० को तथ्यांकअनुसार नेपालमा २० हजार ५ सय ८ जना नयाँ बिरामी थपिएका थिए। सोही वर्ष १६ हजार ६ सय २९ जनाको ज्यान गएको थियो। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को तथ्यांकअनुसार नेपालमा हरेक दिन ४० जना नेपालीको क्यान्सरबाट मृत्यु हुन्छ। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.बुढाथोकीका अनुसार नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर, दोस्रोमा पाठेघरको मुख, तेस्रो स्तन, चौथो पेट, पाँचौं ठूलो आन्द्रा, छैटौं मुखको क्यान्सर र सातौंमा रगतको क्यान्सर देखिएको छ। जीवनकाल जोखिम हेर्दा पुरुषमा हरेक ८० मा १ र महिलामा हरेक १०७ मा १ जना ७५ वर्ष पहिले फोक्सोको क्यान्सरको जोखिममा छन्। 

लैंगिक रूपमा हेर्दा, पुुरुषहरूमा फोक्सोको क्यान्सर, आमाशयमा हुने क्यान्सर, आन्द्रामा हुने क्यान्सर र ओंठ तथा मुखमा हुने क्यान्सर र थाइरोइडमा हुने क्यान्सर प्रमुख रूपमा देखिएको छ। त्यस्तै महिलामा पाठेघरमा हुने क्यान्सर, स्तन क्यान्सर, फोक्सोमा हुने क्यान्सर, पित्तथैली र अण्डाशयमा हुने क्यान्सर बढी पाइएको छ। सहरी क्षेत्रका महिलामा स्तन क्यान्सर बढी पाइएको छ। ग्रामीण भेगका महिलामा भने पाठेघरको क्यान्सर बढी पाइएको छ। 

नेपालमा क्यान्सरका बिरामीको यकिन तथ्यांक छैन। यदि जनसंख्यामा आधारित तथ्यांक हुने हो भने बिरामीको संख्या योभन्दा झन् धेरै देखिने क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। नेपाल चिकित्सक संघका अध्यक्ष एवं वरिष्ठ क्यान्सर सर्जन डा. अनिलविक्रम कार्कीका अनुसार जनसंख्यामा आधारित तथ्यांक लिने हो भने क्यान्सरका बिरामीको संख्या अझैं बढी देखिन सक्छ। 

नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिव डा. सन्ध्या चापागाईंका अनुसार नेपालमा क्यान्सरका बिरामी कति छन् ? यकिन नै छैन। डा. चापागाईं भन्छिन्, ‘सरकारले अस्पतालमा आधारित रजिस्ट्रि (हस्पिटल बेस्ड रजिष्ट्रि) भएमा स्वदेश र विदेशमा उपचार गराइरहेका बिरामीका बारेमा जानकारी प्राप्त हुन्छ।’ 

कपाल, नङ र दाँतबाहेक शरीरका सबै अंगमा क्यान्सरको जोखिम हुन्छ। क्यान्सर गराउने कुल मृत्युको करिब एकतिहाइ धूमपान (सुर्तीजन्य पदार्थको सेवन), मद्यपान, अस्वस्थकर आहार र नियमित व्यायामको कमीले हुने गरेको छ। 
विकीरणको प्रभाव, वातावरणीय प्रदुषणका साथै अन्य संक्रमणले गर्दा पनि क्यान्सरका बिरामी वृद्धि भइरहेका छन्। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी विकासोन्मुख मुलुकमा भने करिब ३० प्रतिशत क्यान्सर हेपाटाइटिस, ह्युमन प्यापिलोमाभाइरस संक्रमणका कारणले हुने गरेको बताउँछन्।

निदान र उपचारमा बिदेसिने होड

क्यान्सर प्रभावित सर्वसाधारण मात्र होइन, धनाढ्य व्यक्तिहरू पनि विदेश गइरहेका छन्। २०७२ सालमा सपरिवार हासीखुसी मलेसिया घुम्न गएकी कांग्रेस नेतृ सुजाता कोइराला स्वदेश फर्कंदा तनावको मुद्रामा थिइन्। स्तनमा क्यान्सरको शंका भएपछि उनी पेट स्क्यानिङका लागि सिंगापुर पुगिन्। अन्डासयमा पनि क्यान्सर देखियो। उनले क्यान्सरको दुईपटक शल्यक्रिया गरिन्, सबै विदेशमा।
कोइराला सिंगापुर पुगिन् भने कतिपय थाइल्यान्ड गइरहेका छन्। मध्यमवर्गीय र निम्न मध्यम वर्गीय परिवारका व्यक्तिहरूको भारत जाने क्रम बढ्दो छ। 
जब क्यान्सर भएको पत्ता लाग्छ, बिरामीका परिवार भावनात्मक रूपमा बहकिन्छन्। मनमा अनेकथरि खेलाउँछन्। कैयौं बिरामी नेपाली क्यान्सर रोग विशेषज्ञसँग परामर्श नै नगरी बिदेसिन्छन्। कोही औपचारिकतावश परामर्श त गर्छन् तर विदेशमै उपचार गराउन रेफर खोज्छन्। ‘स्वदेशमै उपचार गराउनुस्। ठीक हुन्छभन्दा पनि बिरामी अविश्वास गर्छन्,’ उपचारमा संलग्न एक क्यान्सर रोग विशेषज्ञ भन्छन्, ‘बिरामीको मनशाय बुझेर विदेश गएर उपचार गराउन सक्नु हुन्छ भन्न बाध्य हुनुपर्ने अवस्था छ।’null

भारतमा राजीव गान्धी क्यान्सर इन्स्टिच्युट, मेदान्तलगायतका अस्पतालमा नेपाली बिरामीको भीड बढ्दै गएको छ। ती अस्पतालमा कार्यरत विशेषज्ञहरूसमेत नेपालमा आएर बेलाबखत बिरामीका परिवारसँग निर्वाध रूपमा भेटघाट पनि गरिरहेका छन्। वरिष्ठ क्यान्सर सर्जन प्राडा.सुनीलकुमार शर्मा ढकाल भन्छन्, ‘भारतका अस्पतालमा क्यान्सर उपचार सस्तो छैन। तर, नेपालका बिरामीले गर्दा भारतका अस्पताललाई सञ्चालनमा सहयोग पुगेको छ। नेपाली बिरामीले गर्दा भारतका अस्पताल चलेका छन्।’

भारतको राजीव गान्धी क्यान्सर अस्पतालमा गाइने अन्कोलोजी (स्त्री क्यान्सर रोग) फेलोसिप गरेकी डा. एलिजा श्रेष्ठका अनुसार नेपाली क्यान्सरका बिरामीहरू भारत जाने क्रम बढिरहेको छ। हाल भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत डा. श्रेष्ठ भन्छिन्, ‘क्यान्सर पुष्टि भएपछि बिरामी हराउँछन्। भारतीय डाक्टरले नेपालमै गरेको भए भइहाल्थ्यो भनेपछि फर्केर स्वदेशमै उपचार गराइरहेका बिरामी पनि छन्।’

९९ प्रतिशत क्यान्सरको उपचार स्वदेशमै सम्भव छ। तथापी नयाँ–नयाँ प्रविधिहरू भित्र्याउन सकिएको छैन।
 डा. प्रकाश बुढाथोकी, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

बिरामीलाई भारत जान प्रोत्साहन गर्ने समूह पनि देखिएको छ। यसले बिरामीलाई आर्थिक–मानसिक पीडा भइरहेको छ। देशको अर्बौं रुपैयाँ पनि बिदेसिइरहेको छ।
डा. अनिलविक्रम कार्की - अध्यक्ष, नेपाल चिकित्सक संघ एवं वरिष्ठ क्यान्सर सर्जन 

भारतका अस्पतालमा क्यान्सर उपचार सस्तो छैन। तर, नेपालका बिरामीले गर्दा भारतका अस्पताल सञ्चालनमा सघाएका छन्।
प्रा. डा. सुनीलकुमार शर्मा ढकाल, वरिष्ठ क्यान्सर सर्जन 

सरकारको भूमिका दोहोरो देखिएको छ। क्यान्सर बिरामीलाई नेपाल वायु सेवा निगममार्फत दिल्ली जान हवाई टिकट छुट दिइरहेको छ। त्यस्तो छुट दुर्गममा रहेका  बिरामीलाई काठमाडौंसम्म आउन किन नदिने ?
डा. सन्ध्या चापागाईं - महासचिव, नेपाल क्यान्सर केयर फाउन्डेसन 

क्यान्सर पुष्टिपछि कतिपय बिरामी भारत पुग्छन्। भारतीय डाक्टरले नेपालमै गरेको भए भइहाल्थ्यो भने पछि स्वदेशमै फर्केका बिरामी पनि छन्।
 डा. एलिजा श्रेष्ठ - वरिष्ठ स्त्री क्यान्सर रोग विशेषज्ञ, भक्तपुर क्यान्सर अस्पताल

एउटै छानामुनि क्यान्सरको  गुणस्तरीय उपचार सुविधा हुनु जरुरी छ। समयमै गुणस्तरी उपचार पाए कोही पनि बिरामी विदेश जाँदैनन्।
प्रमिता खनाल, अध्यक्ष, नेपाल क्यान्सर सर्भाइभर्स

वरिष्ठ मेडिकल अन्कोलोस्टि डा. विजेश घिमिरेका अनुसार क्यान्सरका बिरामी उपचारका लागि विदेश जानुपर्ने आवश्यकता छैन। ‘स्वदेशमै उपचार हुने भए तापनि भारतलगायतका मुलुकहरूमा क्यान्सरको उपचार गर्न गइरहेका छन्। भारतका अस्पतालको बढ्दो प्रचार–प्रसारले पनि नेपाली बिरामीलाई तानिरहेको छ। बिरामी पठाउनमा कतिपय चिकित्सकको पनि भूमिका छ,’ डा. घिमिरे भन्छन्, ‘सरकार, क्यान्सर विजेता (सर्भाइर्भ) र सञ्चारमाध्यमले पनि स्वदेशमै भइरहेको उपचार व्यवस्थाको प्रचार–प्रसार नगर्ने हो भने बिरामीहरू उपचारमा बाहिरिने क्रम रोकिँदैन।’

नेपालकै भक्तपुर क्यान्सर अस्पताल, चितवन भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, सिभिल अस्पताल, बाँकेस्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन अस्पतालमा पनि क्यान्सरका बिरामीको उपचार हुन्छ। 

त्यस्तै निजी क्षेत्रका नेशनल क्यान्सर अस्पताल जावलाखेल, नेपाल क्यान्सर हस्पिटल एन्ड रिसर्च सेन्टर, ललितपुर, काठमाडौं क्यान्सर सेन्टरका साथै अन्य निजी अस्पतालमा पनि क्यान्सरका बिरामीको उपचार हुन्छ। क्यान्सरका लागि सबै किसिमका उपचार सेवा (शल्यक्रिया, केमोथेरापी, रेडियोथेरापी ) सरकारी अस्पतालमै छन्। क्यान्सरको अवस्था थाहा पाउने उपकरण पेट स्क्यान भने दुईवटा निजी क्षेत्रमा छ। पेटस्क्यानमा परीक्षणको झन्डै ६० हजार पर्छ। 

सरकारको दोहोरो भूमिका 

नसर्ने रोगमध्ये समयमै निदान भएमा निको हुने सम्भावना भएको रोग क्यान्सर नै हो। स्वदेशमै क्यान्सरको उपचारका लागि सरकारी एवं निजी क्षेत्रका अस्पतालहरू दर्जन बढी छन्। तै पनि सरकारले नै नेपालका क्यान्सर बिरामीलाई भारतमा उपचारमा जान हवाई छुट दिएको छ। 

नेपालमा बर्सेनि करिब १५ सय नयाँ बालबालिकामा क्यान्सर देखा पर्ने अनुमान छ। कान्ति बाल अस्पतालका बाल क्यान्सर रोग विशेषज्ञ डा. सनि सिपाईका अनुसार बालबालिकाको क्यान्सर परीक्षणका लागि नमुना (स्याम्पल) भारत पठाउनुपर्ने बाध्यता रहेको बताउँछन्। नमुनादेखि अन्य परीक्षण गर्न पनि पालो कुर्नुपर्ने भएपछि भारत जानुपर्ने बाध्यता भएको बिरामीको गुनासो छ। 

भारतका विभिन्न अस्पतालमा उपचार गराइरहेका बिरामीहरूका अनुसार, मुख्यत: तीन कारण छन्। पहिलो, छिटो तथा एकै छानामुनि उपचार सुविधा हुने, दोस्रो, सामाजिक कारण र तेस्रो स्वदेश उपचारसेवा प्रतिअविश्वास नै रहेको छ। मुख्यतः उपचारप्रति विश्वासको कमी, उपचारमा ढिलो प्रक्रिया, परीक्षण रिपोर्ट विदेश पठाउनुपर्ने अवस्था, गोपनीयताको चाहना र चिकित्सकबाटै रेफर हुने प्रवृत्तिलाई मुख्य कारकका रूपमा रहेको बिरामीको भनाइ छ। 

क्यान्सर परीक्षणका लागि दक्ष जनशक्तिकासाथै अत्याधुनिक उपकरण एउटै अस्पतालभित्र हुने भएकोले भारत जानु परेको बिरामीहरू बताउँछन्। रिपोर्ट पाउनै दुई साता लाग्ने हुँदा कुरेरै बस्नुभन्दा भारत नै जानु उपयुक्त हुने बिरामीको भनाई छ। ‘शरीरको कुनै अंगमा लागेको क्यान्सर फैलन सक्ने हुन्छ,’ हालै भारतबाट उपचार गरी फर्किएका एक बिरामी भन्छन्, ‘बेलैमा निदान र उपचार भयो भने छिटो निको होला भनेर नै भारत जानु परेको हो। नेपालमा उपचार प्रक्रिया नै ढिलो हुने भयो।’

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. बुढाथोकी क्यान्सर उपचार क्षेत्रमा नेपालले धेरै फड्को मारेको दाबी गर्छन्। ‘निजी र सहकारी क्षेत्रसँग सहकार्य गर्दै सचेतना र क्यान्सर स्क्रिनिङ देशभर गर्नसके प्रारम्भिक चरणमै पहिचान र निको गर्न सकिन्थ्यो,’ डा. बुढाथोकी भन्छन्, ‘९९ प्रतिशत क्यान्सरको उपचार स्वदेशमै सम्भव छ। तथापी नया“–नया“ प्रविधिहरू भिœयाउन सकिएको छैन।’ नयाँ–नयाँ प्रविधि भिœयाउन नसक्दा मात्र होइन क्यान्सरका बिरामीलाई हेर्ने सामाजिक दृष्टिकोण नकारात्मक भएकोले कतिपय सुटुक्क भारत जाने गरेको क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। 

‘उपचारका लागि बिरामीलाई भारत पठाउन एउटा समूह नै लागिपरेको छ। कतिपय नेपाली चिकित्सकले नै भारतमा रेफर गरिरहेको पाइएको छ । बिरामीलाई आर्थिक–मानसिक पीडा मात्र होइन, देशको करोडौं÷अर्बौं रुपैयाँ पनि बिदेसिने अवस्था सिर्जना गरेको छ,’ डा. कार्की भन्छन्, ‘नेपालभन्दा भारतमा उपचार सस्तो र गुणस्तरीय छ भन्ने भाष्य निर्माण भइरहेको छ। यो भाष्य मेटाउने चुनौती छ।’

नेपाल वायुसेवा निगमले क्यान्सर पीडित बिरामीहरूलाई निःशुल्क हवाई सेवा उपलब्ध गराउँदै आएको छ। निगमले सामाजिक उत्तरदायित्वअन्तर्गत पीडित परिवारलाई राहत दिने उद्देश्यले पीडितलाई शतप्रतिशत छुट र कुरुवालाई ५० प्रतिशत छुट सेवा दिँदै आइरहेको जनाएको छ। यसका लागि डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिस चाहिन्छ। सन् २०२३ मा निगमले सोही सिफारिसको आधारमा काठमाडौं–दिल्ली–काठमाडौं गन्तव्यमा ७ सय ७० जनाले निःशुल्क हवाई सेवा लिएको निगमले जनाएको छ।

नेपाल क्यान्सर केयर फाउन्डेसनकी महासचिव डा. चापागाईंका अनुसार क्यान्सरका बिरामीप्रति सरकारको भूमिका दोहोरो देखिएको छ। ‘बिरामी र नेपाली मुद्रा बिदेसिनमा सरकारले समेत सहयोग गरिरहेको छ,’ डा. चापागाईंको प्रश्न छ, ‘क्यान्सर बिरामीलाई नेपाल वायु सेवामार्फत दिल्ली जान हवाई छुट दिइरहेको छ। त्यस्तो छुट दुर्गममा रहेका बिरामीलाई काठमाडौंसम्म आउन किन नदिने ? ’ 

क्यान्सरको बढ्दो संख्यालाई दृष्टिगत गरी व्यापारिक उद्देश्यले गोप्य ढंगले सम्पर्क कार्यालय पनि खोलिएको छ। भारतीय क्यान्सर रोग विशेषज्ञहरू बेलाबखत नेपालमा पनि आइरहेको नेपाली क्यान्सर रोग विशेषज्ञहरू बताउँछन्। ‘बिरामीलाई भारतमा पठाउन प्रोत्साहित गर्ने एउटा समूह नेपालमै पनि छ,’ नेपाल चिकित्सक संघका अध्यक्षसमेत रहेका क्यान्सर सर्जन डा. कार्की भन्छन्, ‘परामर्शका नाममा भारतबाट समेत विज्ञ भनिएकाहरू आइरहेका छन्। सरकारले निगरानी र नियन्त्रण गर्न सकिरहेको छैन।’

अब के गर्ने ? 
नसर्ने रोगहरू मध्येको प्रमुख मानिने क्यान्सरले बिरामीको परिवारको आर्थिक भार बढाएको छ। क्यान्सरको जोखिम बढ्दो छ। तर, आर्थिक भार र मृत्युदरलाई घटाउँदै क्यान्सरको रोकथाम, पहिचान, निदान, उपचार क्षमता र प्रशामक सेवाको विकास र प्रभावकारी क्यान्सर नियन्त्रणका लागि राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) जारी गरेको छ। संघीय तहका क्यान्सर अस्पतालहरूबाट उपलब्ध जनशक्ति र साधनस्रोत एवं आवश्यकताअनुसार थपसमेत गरी ७ वटै प्रदेशमा क्यान्सर उपचार सेवा विस्तार गर्ने कार्यविधि २०८१ जारी भइसकेको छ। 

मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार भक्तपुर क्यान्सर अस्पतालले कोशी अस्पताल, नारायणी अस्पतालमा सेवा प्रदान गरिरहेको छ। भरतपुरको क्यान्सर अस्पतालले पोखरा, धनगढी र सुर्खेतका अस्पतालबाट सेवा प्रदान गरिरहेको छ। बागमतीको हकमा यी दुवै क्यान्सर अस्पतालले र लुम्बिनीको हकमा सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले सेवा दिइरहेका छन्।

त्यस्तै १४ वर्ष मुनिका बालबालिकालाई क्यान्सरको निःशुल्क उपचार २०८१ मंसिरदेखि कान्ति बाल अस्पताल, भक्तपुर क्यान्सर अस्पताल, पाटन अस्पताल र भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सेवा दिइएको छ। 

यो कार्यमा सरकारलाई गैरसरकारी संस्थाहरूले समेत सहयोग गरेका छन्। डा. बुढाथोकी भन्छन्, ‘अन्य उमेर समूहकामा पनि ३७ प्रकारका क्यान्सरका केमोथेरापीका औषधिहरू निःशुल्क रूपमा उपलब्ध गराउन दातासँग सम्झौता भई केही आइसकेका पनि छन् र बिरामीले सेवा लिइरहेका छन्। बिपन्नको प्याकेजमा दिइँदै आएको १ लाख अब बिमाबाटै प्रदान गर्ने र बिमाबाट समेत कडा रोगको बर्गमा राखी २ लाखको सुविधा थैली कायम गरिएको छ। अन्य प्रदेश तथा स्थानीय तह तथा केही अस्पतालहरूले पनि सेवा र सहयोग रकमहरू थपिरहेका छन्।’

डा. बुढाथोकीका अनुसार राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति (२०२४–२०३०) अनुरूप विभिन्न क्रियाकलापहरू सञ्चालन भइरहेका छन्। डा. बुढाथोकी थप्छन्, ‘क्यान्सर रणनीतिको पूर्ण कार्यान्वयनमा सबैको ध्यान जानु जरुरी छ। सरकारको एक्लो प्रयासले मात्र हामीले खोजेको लक्ष्य प्राप्त गर्न असम्भव भएकाले क्यान्सरविरुद्धको यो लडाइँमा सबै सरोकारवालाहरू ऐक्यबद्ध भएर काम गर्न जरुरी छ।’

नेपालको संविधानले निःशुल्क आधारभूत स्वास्थ्य सेवा संवैधानिक हकको रूपमा स्थापित गरेको छ। जनस्वास्थ्य सेवा नियमावली २०७७ मा पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको प्रारम्भिक जाँच र परामर्श निःशुल्क हुने व्यवस्था गरेको छ। क्यान्सरलगायत ८ प्रकारका कडा रोगको उपचारका लागि आर्थिक सहुलियत प्रदान गर्न सरकारले विपन्न नागरिक औषधि उपचार कार्यक्रम पनि सञ्चालन गरेको छ। नेपाल क्यान्सर सर्भाइभर्स सोसाइटीका अध्यक्ष प्रमिता खनाल क्यान्सरविरुद्धको जनचेतना र उपचारात्मक सेवाहरू पर्याप्त नभएको बताउँछिन्। खनाल भन्छिन्, ‘नेपालमा एउटै छानामुनि क्यान्सरको गुणस्तरीय उपचार सुविधा हुने हो भने कोही पनि क्यान्सरका बिरामी विदेश जाँदैनन्। विदेश जाने रहर कसैलाई छैन।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.