प्रतिनिधिसभा सदस्य निर्वाचन
पूर्वप्रधानमन्त्री केपी ओलीका मुख्य प्रतिस्पर्धी बालेन पूर्वी नेपालमा के गर्दैछन् ?
विराटनगर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता एवं काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन्द्र साह (बालेन) पूर्वी नेपालको दौडाहामा व्यस्त छन् । जिल्ला दौडाहाको क्रममा बुधबार बिहान विराटनगर आएर उनी सुनसरीतर्फ प्रस्थान गरेका छन् । मोरङ,सुनसरी र उदयपुरलाई समेट्ने एकदिने व्यस्त कार्यक्रमका साथ बालेन पूर्वी नेपालका विभिन्न स्थानीय तहमा कार्यकर्ता,समर्थक र उम्मेदवारसँग प्रत्यक्ष संवादमा जुटिरहेका छन् ।
बुधबार बिहान मोरङको उर्लाबारीबाट सुरू भएको उनको दौडाहा पथरीशनिश्चरे,लेटाङ र रंगेलीहुँदै विराटनगरसम्म पुगेको थियो । रंगेलीबाट विराटनगर प्रवेश गरेका बालेन केही समय विराटनगरमा बसेर पार्टी कार्यकर्ता,समर्थक तथा स्थानीय राजनीतिक वृत्तसँग सामान्य भेटघाट र छलफलमा सहभागी भए । त्यसपछि सुनसरीतर्फ लागे । विराटनगरमा उनको आगमनलाई स्थानीय राजनीतिक वृत्तले चासोका साथ हेरिरहेको थियो ।
विराटनगर बसाइका क्रममा बालेनले सीमित समयमै संगठन विस्तार,आगामी राजनीतिक रणनीति र स्थानीय तहमा देखिएका समस्या तथा सम्भावनाका बारेमा सामान्य संवाद गरेका थिए । विराटनगरमा लामो समय नबसि बालेन सुनसरीतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ ।
यसअघि उर्लाबारीमा आयोजित भेटघाट कार्यक्रममा बालेनले स्थानीय युवा र नागरिक अगुवासँग सुशासन, पारदर्शिता र नागरिक सहभागितालाई विकासको आधारका रूपमा अघि सारे । उनले राज्य संयन्त्रभित्र व्याप्त बेथिति, अनावश्यक खर्च र जवाफदेहिताको अभावप्रति कडा टिप्पणी गर्दै नागरिक स्वयं सचेत र सक्रिय नभएसम्म वास्तविक परिवर्तन सम्भव नहुने धारणा राखेका थिए । स्थानीय तह बलियो बने मात्र संघीय संरचनाको औचित्य पुष्टि हुने उनको भनाइ थियो ।
उर्लाबारीपछि पथरीशनिश्चरे,लेटाङ र रंगेली हुँदै विराटनगर आइपुगेका बालेनले प्रत्येक स्थानमा छोटो समय भए पनि कार्यकर्ता र सम्भावित उम्मेदवारसँग संगठनात्मक विषयमा छलफल गरेका छन् । दौडाहाका क्रममा उनले स्थानीय राजनीतिक अवस्था,आगामी निर्वाचनको तयारी, संगठन सुदृढीकरण र मतदातासँग प्रत्यक्ष सम्बन्ध विस्तारका विषयलाई प्राथमिकतामा राखेका छन् ।
विराटनगरबाट प्रस्थान गरेपछि बालेन दुहबी हुँदै इटहरी पुगेका छन् । इटहरीमा करिब डेढ घण्टा कार्यकर्ता र उम्मेदवारसँग विस्तृत छलफल गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि मध्यान्ह १२ बजे इटहरीबाट इनरुवातर्फ प्रस्थान गर्ने र साढे १२ बजेपछि बराहक्षेत्र पुग्ने कार्यतालिका रहेको छ । बराहक्षेत्रको कार्यक्रम सम्पन्न गरेपछि बुधबार उनको अन्तिम गन्तव्य उदयपुर रहेको छ । जहाँ उनी दिउँसो ४ बजेसम्म पुग्ने बताइएको छ ।
दौडाहाका क्रममा बालेनले कार्यकर्ता भेटघाट,उम्मेदवारसँग छलफल र मतदातासँग प्रत्यक्ष अन्तक्र्रिया गर्ने कार्यक्रमलाई प्राथमिकतामा राखेका छन् । पार्टी संगठनलाई जरैदेखि मजबुत बनाउने, स्थानीय मतदाताको भावना बुझने र राजनीतिक विकल्पबारे प्रत्यक्ष संवाद गर्ने उद्देश्यसहित उनले जिल्ला दौडाहालाई व्यापक बनाएका छन् ।
प्रायः मौन रहने तर व्यवहारिक र नागरिक केन्द्रित दृष्टिकोण राख्ने बालेनको राजनीतिक शैलीले पछिल्लो समय परम्परागत राजनीतिमा नयाँ बहस सिर्जना गरिरहेको विश्लेषण गर्न थालिएको छ । विभिन्न जिल्लामा भइरहेको उनको सक्रिय दौडाहालाई पनि यही सन्दर्भमा अर्थपूर्ण रूपमा हेरिएको छ ।
बालेनले झापाको निर्वाचन क्षेत्र नम्बर ५ बाट रास्वपाको तर्फबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन् । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगको चुनावी प्रतिस्पर्धापछि उनको राजनीतिक चर्चा झनै व्यापक बनेको छ । अहिलेको जिल्ला दौडाहालाई आगामी निर्वाचनको तयारी र संगठन विस्तारको महत्वपूर्ण कडीका रूपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस !