सुनसरी : फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा नयाँ दलका रूपमा उदाएको श्रम संस्कृति पार्टीले कोशी प्रदेशका विभिन्न निर्वाचन क्षेत्रमा उल्लेख्य प्रभाव पार्ने देखिएको छ।
पार्टी अध्यक्ष तथा धरान उपमहानगरपालिकाका पूर्वमेयर हर्कराज राई (साम्पाङ) सहितका उम्मेदवारहरूको सक्रियताले ठूला र स्थापित राजनीतिक दलहरूलाई चुनाव जित्न असहज बनाएको छ। प्रत्यक्षतर्फ निर्वाचन जित्न चुनौतीपूर्ण देखिए पनि श्रम संस्कृति पार्टीले परम्परागत दलहरूको मत काट्दै राजनीतिक समीकरण नै फेरिदिन सक्ने आकलन गरिएको छ।
धरान उपमहानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर हर्कराज राई (साम्पाङ) सुनसरी क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेपछि यो क्षेत्रको राजनीतिक प्रतिस्पर्धा झनै चर्किएको छ। श्रम संस्कृति पार्टीका अध्यक्षसमेत रहेका हर्कले नेपाली कम्युनिस्ट पार्टीका मनोज भट्टराई, नेकपा एमालेका टीकाराम लिम्बू, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ र राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ सरिनसँग प्रतिस्पर्धा गरिरहेका छन्।
एमालेको परम्परागत पकड रहेको सुनसरी–१ मा हर्कलाई हलुका रूपमा लिन नसकिने उम्मेदवारका रूपमा हेरिएको छ। यसअघि धरान उपमहानगरपालिकाको मेयर निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रूपमा हर्कले अप्रत्याशित जित हासिल गरेका थिए। एमाले र कांग्रेसले उम्मेदवार छनोटमा गरेको कमजोरी तथा दुवै दलभित्रको असन्तुष्ट मत हर्कतर्फ मोडिँदा उनले मेयर जित्न सफल भएका थिए। एमालेले विवादित छविकी मञ्जु भण्डारीलाई मेयरको टिकट दिएको र कांग्रेसले किशोर राईलाई अघि सारेपछि दुवै पार्टीभित्र असन्तुष्टि चुलिएको थियो। त्यही असन्तुष्ट मतको लाभ उठाउँदै हर्कले जित निकालेका थिए। उपमेयरमा भने कांग्रेस–माओवादी गठबन्धनका उम्मेदवार ऐन्द्रविक्रम बेघाले विजय हासिल गरेका थिए।
मेयर बनेपछि हर्क कहिले प्रशंसामा त कहिले विवादमा परे। विशेषगरी जन श्रमदानमार्फत धरानमा खानेपानी व्यवस्थापनको पहल गरेपछि उनको छवि ‘काम गर्ने नेता’ का रूपमा स्थापित भयो। यही कामलाई आधार बनाएर हर्कले यसपटक प्रतिनिधिसभा सदस्यको निर्वाचन जित्ने दाबी गरेका छन्। ‘मैले धरानमा कुर्सीमा बसेर होइन, जनतासँग पसिना बगाएर काम गरेको छु। श्रम संस्कृतिको राजनीति देशभर फैलाउने मेरो लक्ष्य हो,’ हर्कले भने।
तर एमालेले यसपटक पनि उम्मेदवार छनोटमा गल्ती गरेको भन्दै पार्टीभित्र असन्तुष्टि बढेको छ। पार्टीमा दर्जनौं सिनियर र अनुभवी नेता हुँदाहुँदै भूगोलमै कार्यकर्ताले राम्ररी नचिनेका टीकाराम लिम्बूलाई टिकट दिइएपछि एमालेभित्र असन्तुष्ट मत पुनः देखिन थालेको छ। राजनीतिक विश्लेषकहरूका अनुसार यो असन्तुष्ट मत जसले तान्न सक्यो, उसैले सुनसरी–१ जित्ने सम्भावना बलियो हुने देखिएको छ।
श्रम संस्कृति पार्टीका अर्का सशक्त उम्मेदवार भोजपुरबाट धु्रव राई हुन्। एमालेको लामो राजनीतिक यात्रा त्याग्दै श्रम संस्कृति पार्टीबाट भोजपुरमा उम्मेदवारी दिएका राईले पनि पुराना दलहरूलाई चुनौती दिएका छन्। उनी नेकपाका अजम्बर राई र एमाले सचिव तथा कोशी प्रदेशका पूर्वमुख्यमन्त्री शेरधन राईसँग प्रतिस्पर्धामा छन्।
ध्रुव राई यसअघि एमालेबाट टेम्केमैयुङ गाउँपालिकाको अध्यक्ष भइसकेका अनुभवी नेता हुन्। उनले एमालेको कोशी प्रदेश सदस्य पदसमेत त्याग्दै पार्टीको गलत प्रवृत्तिको विरोधमा श्रम संस्कृति पार्टीमा प्रवेश गरेको बताएका छन्। ‘पुराना पार्टीहरू सत्ताको खेलमा मात्रै सीमित भए। जनताको श्रम, पसिना र पीडालाई राजनीति गर्ने साहस कसैले गरेन। त्यसैले मैले नयाँ बाटो रोजेँ,’ ध्रुव राईले भने।
ध्रुवको उम्मेदवारीले विशेषगरी एमालेका शेरधन राईको मत काट्ने देखिएको छ। यसबाट नेकपाका अजम्बर राई र कांग्रेसका उम्मेदवार बालकृष्ण थापालाई फाइदा पुग्न सक्ने अनुमान गरिएको छ।
मोरङ क्षेत्र नम्बर–१ मा पनि श्रम संस्कृति पार्टीले चर्चित उम्मेदवार अघि सारेको छ। मोरङ–१ बाट शान्ति पाख्रिन उम्मेदवार बनेकी छन्। उनी एमालेकी पूर्वजिल्ला सदस्य तथा युवा संघकी केन्द्रीय सदस्यसमेत हुन्। शान्तिले एमाले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा र कांग्रेस कोशी प्रदेश सहमहामन्त्री खड्ग फागोसँग प्रतिस्पर्धा गरिरहेकी छन्।
शान्ति पाख्रिनले आफूलाई परिवर्तनको प्रतीकका रूपमा प्रस्तुत गरेकी छन्। ‘म पार्टीको नाम होइन, विचार र संस्कृतिका आधारमा राजनीतिमा आएको हुँ। महिलाको श्रम, युवाको ऊर्जा र जनताको आवाज संसद्मा पुर्याउने मेरो लक्ष्य हो,’ उनले भनिन्। एमाले र कांग्रेस दुवैबाट बलिया उम्मेदवार भए पनि शान्तिको उम्मेदवारीले दुवै दललाई दबाबमा पारेको छ।
झापा क्षेत्र नम्बर–५ मा श्रम संस्कृति पार्टीका उम्मेदवार समीर तामाङ पनि चर्चामा छन्। उनी एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन साहसँग प्रतिस्पर्धा गरिरहेका छन्। झापा–५ मा समीर खासै परिचित नभए पनि हर्क साम्पाङको श्रम अभियानका सारथिका रूपमा परिचय बनाएका छन्। धरानमा मासु व्यवसाय गर्दै आएका समीर राजनीतिमा नयाँ अनुहार हुन्। ‘राजनीति नेताहरूको मात्र ठेक्का होइन। श्रम गर्ने मानिस पनि देश चलाउन सक्षम हुन्छ,’ समीरले भने। उनले झापा–५ मा चुनाव जित्ने दाबी गरे पनि यो क्षेत्र उनका लागि निकै चुनौतीपूर्ण मानिएको छ।
त्यस्तै, उदयपुर क्षेत्र नम्बर–१ बाट श्रम संस्कृति पार्टीकै राजेश खिम्दुङ राईले उम्मेद्ववारी दिएका छन्। उनले जित हासिल गर्न नसके पनि एमालेका दुर्गा थापा, नेकपाका बलदेव चौधरी र कांग्रेसका बिदुर बस्नेतको मत काट्ने छन्। यसले पनि उनीहरूको विजयलाई धक्का पुग्ने देखिएको छ। राजेशले भने यो चुनाव आफैले जित्ने दाबी गरेका छन्।
श्रम संस्कृति पार्टीले देशभर १ सय ९ निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएको पार्टीका प्रवक्ता सत्य घले गुरुङले जानकारी दिए। उनका अनुसार पार्टीले धेरै स्थानमा आश्चर्यजनक परिणाम ल्याउने अपेक्षा गरेको छ। ‘हामी सत्ताको होइन, संस्कृतिको राजनीति गर्दैछौं। जनताले यसपटक विकल्प खोजेका छन्,’ उनले भने।
पार्टी अध्यक्ष हर्क साम्पाङले निर्वाचन जितेपछि प्रधानमन्त्री बन्ने घोषणा गरेर थप चर्चा बटुलेका छन्। प्रत्यक्षतर्फ धेरै क्षेत्रमा जित कठिन देखिए पनि श्रम संस्कृति पार्टीले समानुपातिकतर्फ सम्मानजनक मत ल्याउने अनुमान गरिएको छ। श्रम संस्कृति पार्टीको उपस्थितिले ठूला दलहरूलाई आत्मसमीक्षा गर्न बाध्य बनाएको छ।
प्रतिक्रिया दिनुहोस !