भारत र पाकिस्तानलाई तीन एसोसिएट राष्ट्रको चुनौती
काठमाडौं : आइसीसी टी- २० विश्वकप २०२६ भारत र श्रीलंकामा संयुक्तरूपमा आयोजना हुँदैछ। यो विश्वकपमा नेपालसहित २० राष्ट्रले सहभागीता जनाउँदैछन्। यसमा ९ वटा एशोसिएट र ११ वटा टेष्ट राष्ट्रले सहभागिता जनाउँदै छन्।
एशोसिएटमा नेपालसहित क्यानडा, इटाली, नामिबीया, नेदरल्यान्ड्स, ओमान, स्कटल्यान्ड, अमेरिका र युएई छन्। टेष्ट राष्ट्रहरूमा भारत, पाकिस्तान, श्रीलंका, जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, न्युजिल्यान्ड, आयरल्यान्ड, इङ्ल्यान्ड, अफगानिस्तान र अष्ट्रेलिया रहेका छन्।
इटालीबाहेक हरेक राष्ट्रसँग विश्वकपको अनुभव छ। इटालीले पहिलो पटक विश्वकप खेल्दैछ। टी-२० अन्तर्राष्ट्रिय वरीयतामा २७औं स्थानमा रहेको इटालीले पहिलो विश्वकपको अनुभव लिँदैछ। यो एकमात्र यस्तो देश हो, जुन देशसँग एकदिवसीय क्रिकेटको समेत अनुभव छैन। इटालीबाहेक हरेक राष्ट्र एकदिवसीय मान्यता प्राप्त राष्ट्र हुन्।
२० राष्ट्रलाई ४ समूहमा विभाजन गरी खेलाइने यस विश्वकपमा १ समूहमा ५ राष्ट्रले एकअर्कासँग प्रतिस्पर्धा गर्नेछन्। समूहको शीर्ष २ टोली सुपर ८ का लागि छनोट हुनेछ। सुपर ८ टोलीबाट शीर्ष ४ टोलीले सेमिफाइनल खेल्नेछन्। सेमिफाइनलबाट विजेता २ टोलीले फाइनल खेल्नेछन्।
यस विश्वकपमा समूह ए सबैभन्दा रोचक समूह हो। यसमा भारत, पाकिस्तान, अमेरिका नेदरल्यान्ड्स र नामिबीया रहेका छन्। यो हालः सर्वाधिक चर्चामा रहेको समूह हो। विशेष गरी सन् २०१० यता पहिलो पटक टी-२० विश्वकपमा भारत र पाकिस्तानको भेट हुँदैन। राजनीतिक द्वन्द्वले खेल मैदानमा प्रवेश पाएयता यी दुई टिम एकअर्काको सामना गर्न मन पराउँदैनन्। यही सेरोफेरोमा यो समूहको खेल हुनेछ।
यसरी हेर्दा त भारत र पाकिस्तानले नै सुपर ८ मा स्थान बनाउने देखिन्छ तर यदि अमेरिका, नामिबीया र नेदरल्यान्ड्समध्ये एक एशोसियट राष्ट्रले यी दुई मध्ये एकलाई हराएको खण्डमा सुपर ८ को दौड रोमाञ्चक हुनेछ। अझ पाकिस्तानले भारतसँगको समूह चरणको खेल नखेल्दा भारतले खेल अगावै २ अंक पाउनेछ। यस्तो हुँदा भारतलाई त सुपर ८ को चिन्ता नहोला तर पाकिस्तानले भने अन्य ३ खेल नै जित्न चाहन्छ।
यो समूहमा ३ एशोसिएट र २ टेष्ट राष्ट्र छन्। टी-२० क्रिकेटमा टेष्ट राष्ट्रलाई एशोसिएटले हराएको पनि नतिजा देखिएको छ। यो समूहको हरेक खेल उत्तिकै महत्वपूर्ण र चाख लाग्दो हुनेछ।
यस्तो छ समूह ए
भारत
टेष्ट वरीयताः चौथो
एकदिवसीय वरीयताः पहिलो
टी-२० अन्तर्राष्ट्रिय वरीयताः पहिलो
प्लेयर्स टु वाच
अभिषेक शर्मा
अभिषेक शर्मा भारतीय क्रिकेट टिमका आक्रमक युवा ब्याटर हुन्। उनी टी-२० फर्म्याटमा आक्रमक शैलीको ब्याटिङ गर्न मन पराउँछन्। उनको ब्याटिङ क्षमताले धेरैलाई प्रभावित गराउँछ। विशेषतः आक्रमक शैलीमा ब्याटिङ गर्न मन पराउने उनी यो विश्वकपमा एक महत्वपूर्ण खेलाडी हुन सक्छन्।
हार्दिक पाण्ड्या
हार्दिक पाण्ड्या भारतका लागि अलराउन्डर हुन्। उनले बलिङ र ब्याटिङ दुवैमा राम्रो क्षमता राख्छन्, उनी राम्रो फिल्डर पनि हुन्। उनको अनुभव र नेतृत्व क्षमता भारतको टिमका लागि यो विश्वकपमा उपाधि रक्षाको लागि निकै महत्वपूर्ण हुनेछ।
जसप्रति बुमराह
गत संस्करणको साविक विजेता भारतका लागि जसप्रीत बुमराह एक महत्वपूर्ण खेलाडी हुन्। उनको तीव्र गतिको बलिङले विपक्षीलाई निकै नै गाह्रो बनाउँछ। विशेषतः उनको गति र डेथओभरमा गर्ने उनको विशेष खालको बलिङ क्षमताले उनी भारतको टिममा एक उत्कृष्ट र निर्विकल्प बलर हुन्।
वरुण चक्रवर्ती
भारतको स्पिन अट्याकमा वरुण चक्रवर्ती एक उत्कृष्ट स्पिनर हुन्। विविध प्रकारको स्पिन अट्याक गर्न मन पराउने वरुण एक फरक खालको स्पिनर हुन्। उनको कौशल र नयाँपनले यो विश्वकपमा केही फरक जादु भने चलाउन सक्छ।
पाकिस्तान
टेष्ट वरीयताः सातौं
एकदिवसीय वरीयताः चौथो
टी-२० अन्तर्राष्ट्रिय वरीयताः छैटौं
प्लेयर्स टु वाच
सैम अयुब
सैम अयुब पाकिस्तानका ब्याटिङ अलारउन्डर हुन्। आक्रमक ब्याटिङ गर्न मन पराउने युवा ब्याटर सैम अयुबले विश्वकप तयारीका क्रममा अस्ट्रेलियासँग खेलेको टी२० सिरिजमा पनि राम्रो प्रदर्शन गरेका थिए। उनको खेल कौशल र सबैभन्दा बढी टिमलाई बुझेर आवश्यकता अनुसार ब्याटिङ गर्ने क्षमताका कारण यी युवा खेलाडी २०२६ को टी-२० विश्वकपमा पाकिस्तानको लागि प्लेअर टु वाच हुन्।
साहिबजादा फरहान
पाकिस्तानका शीर्ष क्रमका ब्याटर हुन्, साहिबजादा फरहान। उनको आक्रमक ब्याटिङ शैली नै उनको पहिचान हो। यही क्षमतामा उनको टिमले उनलाई विश्वास गर्छ। उनी चलेको दिन पाकिस्तानको ब्याटिङमा र स्कोर बोर्डमा उनको दबदबा राख्न सक्ने खेलाडी हुन्।
साहिन शाह अफ्रिदी
साहिन शाह अफ्रिदी पाकिस्तान क्रिकेट टिमका हिरा हुन भन्दा फरक पर्दैन। उनको बलिङले विपक्षीलाई सोच्न बाध्य बनाउँछ। उनको गति र बलिङ कौशलले विश्वका उत्कृष्ट भनिएका ब्याटरहरूलाई पनि क्रिज छोड्न बाध्य बनाउँछन्। उनको बलिङको गति नै उनको पहिचान हो। उनले पाकिस्तानको लागि ९८ खेलमा १२८ विकेट लिएका छन्।
बाबर आजम
लामो समय पाकिस्तान क्रिकेट टिमको कप्तानको जिम्मेवारी सम्हालेका खेलाडी हुन्, बाबर आजम। उनको ब्याट चलेको दिन पाकिस्तानको दिन हुन्छ। कुनै समय भारतका विराट कोहलीसँग तुलना हुने उनले पाकिस्तानका लागि धेरै म्याच विनिङ प्रदर्शन गरेका छन्। पछिल्लो टी-२० विश्वकप गुमाएका बाबर यो पाली टिममा फर्किएका छन्। त्यसैले पनि उनको प्रदर्शन र खेल हेर्न दर्शक आतुर छन्।
नामिबिया
एकदिवसीय वरीयताः १८औं
टी-२० अन्तर्राष्ट्रिय वरीयताः १५ औं
प्लेयर्स टु वाच
जेहरार्ड इरास्मस
जेहरार्ड इरास्मस बलिङ र ब्याटिङ दुवैमा उत्तिकै क्षमता र कौशल राख्ने खेलाडी हुन्। टिमलाई चाहिएको अवस्थामा आक्रमक पारी खेल्न सक्ने उनले बलिङमा पनि उत्तिकै राम्रो प्रदर्शन गर्न सक्छन्। २०१९ मा नामिबियाका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका २०२६ को टी-२० विश्वकपमा उनले नामिबियन टिमको कप्तानी गरिरहेका छन्। उनीसँग टिमलाई सम्हाल्ने राम्रो क्षमता भएका खेलाडी हुन्।
जे जे स्मिथ
जे जे स्मिथ नामिबियाका बलिङ अलराउन्डर हुन्। बायाँ हाते बलर उनी तल्लो क्रममा आएर आक्रमक ब्याटिङ पनि गर्न सक्छन्। बायाँ हाते मध्य गतिका बलर उनी दायाँ हाते ब्याटर हुन्। त्यसैले यसको फाइदा नामिबियन टिमलाई राम्रोसँग थाहा छ। उनी टिमको आवश्यकता अनुसार किफायती बलिङ प्रदर्शन गर्न सक्छन्।
रुबिन ट्रम्पलमेन
नामिबियन तिव्र गतिका बलर रुबिन ट्रम्पलमेन एशोसियटका एक उत्कृष्ट बलर हुन्। उनले एशोसियट राष्ट्रमा आफ्नो बलियो छाप बसाएका छन्। उनले पछिल्लो समय एनपीएल (नेपाल प्रिमियर लिग)मा लुम्बिनी लायन्सका लागि निकै राम्रो प्रदर्शन गरेका थिए। उनको बलिङमा निकै राम्रो भेरियसन्स छ। जसका कारण उनी टी-२० विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सक्छन्।
जान निकोल लोफ्टी इटोन
जान निकोल लोफ्टी इटोन नामिबीयाका ब्याटिङ अलराउन्डर हुन्। उनी टिमको आवश्यकता अनुसार ब्याटिङ गर्न मन पराउने ब्याटर हुन्। ठूलो सट र पारी सम्हाल्ने दुवै काममा उनी निपूर्ण छन्। टिमलाई आवश्यक परेको खण्डमा उनी दायाँ हाते लेगब्रेक स्पिन पनि गर्न सक्ने खेलाडी हुन्।
नेदरल्यान्ड्स
एकदिवसीय वरीयताः १५औं
टी-२० अन्तर्राष्ट्रिय वरीयताः१३ औं
प्लेयर्स टु वाच
मिचेल लेभिट
एशोसियट राष्ट्रमा शीर्ष क्रमका ब्याटरमा नाम चलेका ब्याटर हुन्, मिचेल लेभिट। २२ वर्षीय युवा ब्याटर आक्रमक ब्याटिङ गर्न मन पराउँछन्। उनी २०२६ को विश्वकपमा पहिलो विश्वकप खेल्दैछन्। सन् २०२४ मा नेपालसँग टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका उनले विश्वकपमा राम्रो छाप बनाउन सक्छन्।
वास डे लीडे
नेदरल्यान्ड्स टिमका ब्याटिङ अलराउन्डर हुन्, वास डे लीडे। बुवाले देखाएको क्रिकेटको बाटो पछ्याएका वासले सन् २०१८ मा टी-२० अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। उनले ब्याटिङ र बलिङ दुवैमा टिमका लागि राम्रो प्रदर्शन गर्न सक्छन्। उनी चाहिएको बेलामा टिमका लागि ठूलो सट र विकेट दुवै लिन सक्ने ह्यान्डी क्रिकेटर हुन्। दायाँ हाते ब्याटर उनी दायाँ हाते मध्यगतिको बलिङ पनि गर्छन्।
लोगन भान विक
नेदरल्यान्ड्सका मध्य गतिका बलर लोगन भान विक टी-२० विश्वकपमा प्लेयर टु वाच हुन्। सन् २०१४ मा नेदरल्यान्ड्सका लागि डेब्यु गरेका भान एक अनुभवी बलर हुन्। तल्लो क्रममा आएर टिमको आवश्यकता अनुसार ठूलो सट खेल्न सक्ने क्षमता उनीसँग छ।
आर्यन दत्त
नेदरल्यान्ड्का अग्लो कदका अफ स्पिनर हुन्, आर्यन दत्त। सन् २०२१ मा नेदरल्यान्ड्सका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका आर्यनले नेदरल्यान्ड्सका लागि २६ खेलमा २५ विकेट लिएका छन्। उनी टिमलाई चाहिएको अवस्थामा रन रोक्न र विकेट निकाल्न सिपालु स्पिनर हुन्।
अमेरिका
एकदिवसीय वरीयताः १४ औं
टी-२० अन्तर्राष्ट्रिय वरीयताः १८ औं
प्लेयर्स टु वाच
मोनांक पटेल
अमेरिकन क्रिकेट टिमका कप्तान मोनांक पटेल टी-२० विश्वकप २०२६ मा प्लेयर टु वाच हुन्। विकेटकिपर ब्याटरको भूमिकामा रहेका मोनांक स्टम्प पछाडि रहेर टिमलाई निर्देशन दिन्छन्। भारतीय मूलका मोनांकले सन् २०१९ मा अमेरिकाका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका थिए। उनले अमेरिकाका लागि ४३ खेलमा ३६ इनिङ्स खेल्दै १ शतकसहित ९२० रन बनाएका छन्।
मिलिन्द कुमार
भारतीय मूलका अलराउन्डर मिलिन्द कुमार पछिल्लो समय अमेरिकन क्रिकेटमा थपिएको एक नयाँ प्रतिभा हुन्। भारतमा जन्मिएका उनले निकै ढिलो अमेरिकाका लागि डेब्यु गरेका थिए। उनले ३२ वर्षको उमेरमा अमेरिकाको लागि डेब्यु गरेका हुन्। उनी भारतमा घरेलु क्रिकेट खेल्थे। त्यसपछि उनी अमेरिका गएका थिए।
एन्ड्रिज गोउस
एन्ड्रिज गोउस ३२ वर्षीय विकेटकिपर ब्याटर हुन्। उनले सन् २०२४ मा अमेरिकाका लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन्। उनी आक्रामक स्वभावमा ब्याटिङ गर्न मन पराउँछन्। जसको कारण उनीमाथि टिमको ब्याटिङ मोमेन्टम निर्भर गर्छ।
हर्मित सिंह
हर्मित सिंह अमेरिकन बलिङ अलराउन्डर हुन्। भारतको लागि यु-१९ स्तरको क्रिकेट खेलेका उनी पछिल्लो समय अमेरिकाको लागि खेल्ने गर्छन्। उनले सन् २०२४ मा अमेरिकाको लागि टी-२० अन्तर्राष्ट्रियमा डेब्यु गरेका हुन्। हालः उनी एशोसियट राष्ट्रहरूमा चर्चित बलरको रूपमा चर्चा कमाएका छन्। ३३ वर्षीय हर्मित बायाँहाते अर्थोडक्स स्पिनर हुन्। उनी तल्लो क्रममा आएर आक्रमक ब्याटिङ गर्ने क्षमता राख्छन्।
प्रतिक्रिया दिनुहोस !