क्यान्सरविरुद्ध जुटौं, स्वदेशमै उपचार खोजौं
क्यान्सर लाग्नै नदिनु सबैभन्दा उत्तम हो । रोग लागिहालेमा स्वदेशकै अस्पतालमा उपचार पाउनु नागरिकको अधिकार हो । तर, स्वदेशमै प्रशस्त अस्पताल, दक्ष चिकित्सक र उपचार सेवा हुँदाहुँदै पनि क्यान्सरजस्ता घातक रोगका बिरामी उपचारका लागि बिदेसिनु बाध्यताको कथा बनेको छ । यस्तो प्रवृत्तिले हाम्रो स्वास्थ्य प्रणालीप्रतिको कमजोर भरोसाको दर्पण पनि हो । बिरामीसँगै नेपाली रकम विदेशिएको छ, स्वदेशी अस्पताल र चिकित्सकको आत्मविश्वासमा पनि चोट पुगेको छ । क्यान्सर लागेपछि उपचार खोज्नु जति जरुरी छ, त्यसभन्दा बढी क्यान्सर लाग्नै नदिन सचेत हुनु आजको आवश्यकता हो ।
झापाका चन्द्र तामाङको जीवनकथा यसैको कठोर उदाहरण हो । हड्डीको क्यान्सरको उपचारका लागि उनले नेपालका अस्पताल र विशेषज्ञमा मात्र भरोसा गरेनन् । भारतका विभिन्न अस्पताल धाए । उपचार खर्च जुटाउन घरपरिवारले हारगुहार गर्नुपर्यो, सरसापटी गर्दा नपुगेपछि चन्दा संकलन गरियो । क्यान्सर लागेको दाहिने खुट्टा काट्नुपर्यो । अन्ततः २५ वर्षमै चन्द्रले ज्यान गुमाए । उपचारमा लागेको ऋण तिर्न आज उनकी छोरी कोरियामा पसिना बगाइरहेकी छिन् । यो एउटा परिवारको पीडा मात्र होइन, क्यान्सरले नेपाली समाजमाथि थोपरेको आर्थिक–मानसिक बोझको प्रतिनिधि कथा हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालमा आधारित क्यान्सर रजिस्ट्रिका आधारमा नेपालमा बर्सेनि करिब २६ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । ग्लोबोक्यान २०० अनुसार २० हजार ५०८ नयाँ बिरामी थपिँदा १६ हजार ६२० जनाले ज्यान गुमाएका थिए । विश्वस्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक दिन करिब ४० जनाको मृत्यु क्यान्सरबाट हुन्छ । तर, जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको अभावमा यथार्थ संख्या अझै उच्च हुन सक्ने विज्ञहरूको भनाइ छ ।
नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिन्छ । त्यसपछि क्रमशः पाठेघरको मुख, स्तन, पेट, ठूलो आन्द्रा, मुख र रगतको क्यान्सर देखिएको छ । पुरुषमा फोक्सो, आमाशय, आन्द्रा, मुख तथा थाइरोइडको क्यान्सर बढी छ भने महिलामा पाठेघर, स्तन, फोक्सो, पित्तथैली र अण्डाशयको क्यान्सर बढी देखिन्छ । सहरी महिलामा स्तन क्यान्सर र ग्रामीण महिलामा पाठेघरको क्यान्सर बढी हुनु जीवनशैली, सचेतना र सेवाको पहुँचसँग जोडिएको तथ्य हो । क्यान्सरबाट हुने कुल मृत्युको करिब एकतिहाइ धूमपान, मद्यपान, अस्वस्थकर आहार र व्यायामको कमीका कारण हुने गरेको छ । विकिरण, वातावरणीय प्रदूषण तथा हेपाटाइटिस र ह्युमन प्यापिलोमाभाइरसजस्ता संक्रमणले पनि जोखिम बढाइरहेका छन् । अर्थात्, क्यान्सर पूर्णतः नियतिबाट मात्र होइन, हाम्रो दैनिकीबाट पनि जन्मिरहेको छ ।
दुखद पक्ष के छ भने क्यान्सर पुष्टि हुनासाथ बिरामी र परिवार भावनात्मक रूपमा विचलित भई चिकित्सकसँग पर्याप्त परामर्श नगरी विदेशिने प्रवृत्ति बढ्दो छ । भारत, सिंगापुर वा थाइल्यान्ड पुग्ने यो होडमा मध्यम र निम्न –मध्यम वर्ग झन् ऋणको दलदलमा फसिरहेका छन् । कतिपय अवस्थामा बिरामीलाई विदेश जान प्रोत्साहन गर्ने संगठित समूहसमेत सक्रिय रहेको चिकित्सकहरूको गुनासो छ । यसले बिरामीको पीडा मात्र होइन, देशको अर्बैं रुपैयाँ पनि विदेश पठाइरहेको छ । विडम्बना, सरकार स्वयंको भूमिका पनि दोहोरो देखिन्छ । एकातिर ९९ प्रतिशत क्यान्सरको उपचार स्वदेशमै सम्भव छ भन्ने दाबी छ, अर्काेतिर क्यान्सर बिरामीलाई नेपाल वायुसेवा निगममार्फत दिल्ली जान निःशुल्क वा सहुलियत हवाई सेवा दिइँदै आएको छ । दुर्गम क्षेत्रका बिरामीलाई काठमाडौंसम्म ल्याउन त्यस्तै सहुलियत किन नदिने भन्ने प्रश्न गम्भीर छ । भक्तपुर क्यान्सर अस्पताल, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताललगायत सरकारी र नियजी क्षेत्रका दर्जनौं अस्पतालमा शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीजस्ता सेवा उपलब्ध छन् । प्रविधि विस्तार, सेवा एकीकृत व्यवस्थापन, छिटो निदानको सेवासहित सबैभन्दा महत्वपूर्ण भरोसा आवश्यक छ ।
सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० ल्याएको छ । प्रदेशस्तरमा सेवा विस्तार, बालबालिकाको निःशुल्क उपचार, विपन्नका लागि आर्थिक सहुलियत, केमोथेरापी औषधि निःशुल्क उपलब्ध गराउने प्रयास सकारात्मक छन् । तर, यी कार्यक्रम कागजमा सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ । जनचेतना, स्क्रिनिङ, समयमै परीक्षण र रिपोर्टिङ प्रणाली सुदृढ नगरी क्यान्सरको बढ्दो भार घट्दैन । क्यान्सरविरुद्धको लडाइँ सरकारको एक्लो प्रयासले जितिँदैन ।
नागरिकले अस्वस्थ जीवनशैली परिवर्तन गर्नुपर्छ, स्वदेशमै उपलब्ध उपचारको यथार्थ प्रचार गर्नुपर्छ, चिकित्सकले निष्ठापूर्वक बिरामीको हितमा काम गर्नुपर्छ र सरकारले नीति, प्रविधि र पहुँचमा स्पष्ट सुधार गर्नुपर्छ । स्वदेशमै गुणस्तरीय, सहज र सुलभ उपचारमा भरोसा जगाउन सके मात्र विदेशिने क्रम रोकिनेछ । क्यान्सर लागेपछि मात्र होइन, क्यान्सर लाग्नै नदिन हामी सबै सचेत बन्न जरुरी छ । क्यान्सरविरुद्ध साइकल र््याली, जनचेतनामूलक विविध कार्यक्रम झन् बढाउनुपर्ने खाँचो छ । स्वदेशी उपचारमा विश्वास बढाउँदै जीवनशैली सुधार्दै एकजुट भएर क्यान्सरविरुद्ध जुट्नु नै महŒवपूर्ण कदम हो ।
प्रतिक्रिया दिनुहोस !