election background

प्रतिनिधि सभा निर्वाचन २०८२

क्यान्सरविरुद्ध जुटौं, स्वदेशमै उपचार खोजौं

क्यान्सरविरुद्ध जुटौं, स्वदेशमै उपचार खोजौं
सुन्नुहोस्

क्यान्सर लाग्नै नदिनु सबैभन्दा उत्तम हो । रोग लागिहालेमा स्वदेशकै अस्पतालमा उपचार पाउनु नागरिकको अधिकार हो । तर, स्वदेशमै प्रशस्त अस्पताल, दक्ष चिकित्सक र उपचार सेवा हुँदाहुँदै पनि क्यान्सरजस्ता घातक रोगका बिरामी उपचारका लागि बिदेसिनु बाध्यताको कथा बनेको छ । यस्तो प्रवृत्तिले हाम्रो स्वास्थ्य प्रणालीप्रतिको कमजोर भरोसाको दर्पण पनि हो । बिरामीसँगै नेपाली रकम विदेशिएको छ, स्वदेशी अस्पताल र चिकित्सकको आत्मविश्वासमा पनि चोट पुगेको छ । क्यान्सर लागेपछि उपचार खोज्नु जति जरुरी छ, त्यसभन्दा बढी क्यान्सर लाग्नै नदिन सचेत हुनु आजको आवश्यकता हो ।

झापाका चन्द्र तामाङको जीवनकथा यसैको कठोर उदाहरण हो । हड्डीको क्यान्सरको उपचारका लागि उनले नेपालका अस्पताल र विशेषज्ञमा मात्र भरोसा गरेनन् । भारतका विभिन्न अस्पताल धाए । उपचार खर्च जुटाउन घरपरिवारले हारगुहार गर्नुप‍र्‍यो, सरसापटी गर्दा नपुगेपछि चन्दा संकलन गरियो । क्यान्सर लागेको दाहिने खुट्टा काट्नुप‍र्‍यो । अन्ततः २५ वर्षमै चन्द्रले ज्यान गुमाए । उपचारमा लागेको ऋण तिर्न आज उनकी छोरी कोरियामा पसिना बगाइरहेकी छिन् । यो एउटा परिवारको पीडा मात्र होइन, क्यान्सरले नेपाली समाजमाथि थोपरेको आर्थिक–मानसिक बोझको प्रतिनिधि कथा हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अस्पतालमा आधारित क्यान्सर रजिस्ट्रिका आधारमा नेपालमा बर्सेनि करिब २६ हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । ग्लोबोक्यान २०० अनुसार २० हजार ५०८ नयाँ बिरामी थपिँदा १६ हजार ६२० जनाले ज्यान गुमाएका थिए । विश्वस्वास्थ्य संगठनका अनुसार नेपालमा हरेक दिन करिब ४० जनाको मृत्यु क्यान्सरबाट हुन्छ । तर, जनसंख्यामा आधारित क्यान्सर रजिस्ट्रीको अभावमा यथार्थ संख्या अझै उच्च हुन सक्ने विज्ञहरूको भनाइ छ ।

नेपालमा सबैभन्दा धेरै फोक्सोको क्यान्सर देखिन्छ । त्यसपछि क्रमशः पाठेघरको मुख, स्तन, पेट, ठूलो आन्द्रा, मुख र रगतको क्यान्सर देखिएको छ । पुरुषमा फोक्सो, आमाशय, आन्द्रा, मुख तथा थाइरोइडको क्यान्सर बढी छ भने महिलामा पाठेघर, स्तन, फोक्सो, पित्तथैली र अण्डाशयको क्यान्सर बढी देखिन्छ । सहरी महिलामा स्तन क्यान्सर र ग्रामीण महिलामा पाठेघरको क्यान्सर बढी हुनु जीवनशैली, सचेतना र सेवाको पहुँचसँग जोडिएको तथ्य हो । क्यान्सरबाट हुने कुल मृत्युको करिब एकतिहाइ धूमपान, मद्यपान, अस्वस्थकर आहार र व्यायामको कमीका कारण हुने गरेको छ । विकिरण, वातावरणीय प्रदूषण तथा हेपाटाइटिस र ह्युमन प्यापिलोमाभाइरसजस्ता संक्रमणले पनि जोखिम बढाइरहेका छन् । अर्थात्, क्यान्सर पूर्णतः नियतिबाट मात्र होइन, हाम्रो दैनिकीबाट पनि जन्मिरहेको छ ।

दुखद पक्ष के छ भने क्यान्सर पुष्टि हुनासाथ बिरामी र परिवार भावनात्मक रूपमा विचलित भई चिकित्सकसँग पर्याप्त परामर्श नगरी विदेशिने प्रवृत्ति बढ्दो छ । भारत, सिंगापुर वा थाइल्यान्ड पुग्ने यो होडमा मध्यम र निम्न –मध्यम वर्ग झन् ऋणको दलदलमा फसिरहेका छन् । कतिपय अवस्थामा बिरामीलाई विदेश जान प्रोत्साहन गर्ने संगठित समूहसमेत सक्रिय रहेको चिकित्सकहरूको गुनासो छ । यसले बिरामीको पीडा मात्र होइन, देशको अर्बैं  रुपैयाँ पनि विदेश पठाइरहेको छ । विडम्बना, सरकार स्वयंको भूमिका पनि दोहोरो देखिन्छ । एकातिर ९९ प्रतिशत क्यान्सरको उपचार स्वदेशमै सम्भव छ भन्ने दाबी छ, अर्काेतिर क्यान्सर बिरामीलाई नेपाल वायुसेवा निगममार्फत दिल्ली जान निःशुल्क वा सहुलियत हवाई सेवा दिइँदै आएको छ । दुर्गम क्षेत्रका बिरामीलाई काठमाडौंसम्म ल्याउन त्यस्तै सहुलियत किन नदिने भन्ने प्रश्न गम्भीर छ । भक्तपुर क्यान्सर अस्पताल, भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल, सुशील कोइराला प्रखर क्यान्सर अस्पताललगायत सरकारी र नियजी क्षेत्रका दर्जनौं अस्पतालमा शल्यक्रिया, केमोथेरापी र रेडियोथेरापीजस्ता सेवा उपलब्ध छन् । प्रविधि विस्तार, सेवा एकीकृत व्यवस्थापन, छिटो निदानको सेवासहित सबैभन्दा महत्वपूर्ण भरोसा आवश्यक छ । 

सरकारले राष्ट्रिय क्यान्सर नियन्त्रण रणनीति २०२४–२०३० ल्याएको छ । प्रदेशस्तरमा सेवा विस्तार, बालबालिकाको निःशुल्क उपचार,  विपन्नका लागि आर्थिक सहुलियत, केमोथेरापी औषधि निःशुल्क उपलब्ध गराउने प्रयास सकारात्मक छन् । तर, यी कार्यक्रम कागजमा सीमित नभई प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्छ । जनचेतना, स्क्रिनिङ, समयमै परीक्षण र रिपोर्टिङ प्रणाली सुदृढ नगरी क्यान्सरको बढ्दो भार घट्दैन । क्यान्सरविरुद्धको लडाइँ सरकारको एक्लो प्रयासले जितिँदैन ।

नागरिकले अस्वस्थ जीवनशैली परिवर्तन गर्नुपर्छ, स्वदेशमै उपलब्ध उपचारको यथार्थ प्रचार गर्नुपर्छ, चिकित्सकले निष्ठापूर्वक बिरामीको हितमा काम गर्नुपर्छ र सरकारले नीति, प्रविधि र पहुँचमा स्पष्ट सुधार गर्नुपर्छ । स्वदेशमै गुणस्तरीय, सहज र सुलभ उपचारमा भरोसा जगाउन सके मात्र विदेशिने क्रम रोकिनेछ । क्यान्सर लागेपछि मात्र होइन, क्यान्सर लाग्नै नदिन हामी सबै सचेत बन्न जरुरी छ । क्यान्सरविरुद्ध साइकल र्‍्याली, जनचेतनामूलक विविध कार्यक्रम झन् बढाउनुपर्ने खाँचो छ । स्वदेशी उपचारमा विश्वास बढाउँदै जीवनशैली सुधार्दै एकजुट भएर क्यान्सरविरुद्ध जुट्नु नै महŒवपूर्ण कदम हो । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.