सामाजिक सञ्जाल दुरुपयोगको एमालेद्वारा विरोध
काठमाडौं : नेकपा एमालेले सामाजिक सञ्जालको दुरुपयोगको विषयमा गम्भीरता देखिएको छ। प्रचार–प्रसारका क्रममा सामाजिक सञ्जालको बढ्दो दुरुपयोगको विषयमा उसले आपत्ति नै जनाएको छ। पत्रकार सम्मेलनको आयोजना गरेर नै एमालेले निर्वाचन प्रक्रियाअन्तर्गत देशभर सञ्चालन भइरहेका गतिविधि, प्रचार–प्रसारका शैली, व्यवहार तथा अभिव्यक्तिहरूप्रति पार्टीको गम्भीर ध्यानाकर्षण गराएको छ। प्रचार संयोजक मीनबहादुर शाहीले प्रविधिको उच्चतम विकासका बारेमा जानकार रहेको बताए।
लोकतान्त्रिक मूल्य–मान्यता, मर्यादा र निर्वाचन आचारसंहिताको पूर्ण पालना सुनिश्चित गर्न पार्टी प्रतिबद्ध रहेको स्पष्ट पार्दै उनले प्रविधिको प्रयोग गैर–जिम्मेवार र गैर–राजनीतिक ढंगले भएकोको भन्दै विरोध जनाएका छन्। प्रेस संयोजक शाहीद्वारा जारी विज्ञप्तिमा विभिन्न राजनीतिक दलहरू, तिनका उम्मेदवारहरू तथा पार्टीका निर्वाचन चिन्हका बारेमा भ्रम सिर्जना गर्ने उद्देश्यले कलाकारहरूको प्रयोग तथा प्रविधिको दुरुपयोग गर्दै पार्टी नेतृत्व र नीतिमाथि आक्रमण गरिँदै आएको विषयप्रति एमालेको गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ।
एमालेको निर्वाचन चिन्ह परिवर्तन लगायतका भ्रामक प्रचार सामग्री तयार गरी प्रसारण गर्ने कलाकार वा जो कोहीलाई पनि कानुनको दायारामा ल्याउन जोडदार माग गरिएको छ। विज्ञप्तिमा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गरी गरिएका गालीगलौज, अमर्यादित र असभ्य शब्दहरूको प्रयोग, व्यक्तिगत मर्यादा र स्वतन्त्रताको समेत उल्लंघन हुने गरी सामाजिक सञ्जालमा प्रसारण गरिएका सामग्रीप्रति आपत्ति गरिएको छ भने यस्ता असभ्य, गैरराजनीतिक र आपत्तिजनक अभिव्यक्तिहरूको कडा शब्दमा भत्र्सना तथा निन्दा पनि एमाले गरेको छ। उसले यस्ता गतिविधि तत्काल बन्द गर्न सम्बन्धित पक्षलाई अनुरोध गरेको छ। एमालेले शान्ति–सुरक्षा निर्वाचनको प्रमुख आधारः भयरहित र निर्भिक भएर मतदान गर्न सक्ने वातावरण अझै तयार नभएको पनि बताएको छ।
आवधिक निर्वाचन लोकतान्त्रिक शासन व्यवस्थाका लागि प्रमुख मेरूदण्ड भएको बताउँदै एमालेले भनेको छ, ‘जनताद्वारा, जनताका लागि र जनताले शासन गर्ने प्रणालीमा विधिको शासन, शान्ति–सुरक्षा, अमन चयन र अभिव्यक्ति स्वतन्त्रता यसका प्रमुख आधारस्तम्भ हुन्। तसर्थ, प्रत्येक मताधिकार प्राप्त नेपाली नागरिकले स्वतन्त्र भयरहित र निर्भिकतापूर्वक मतदान गर्न पाउने वातावरण निर्माण गर्ने प्रथम दायित्व सरकारको हो।’ उसले प्रत्येक मतदाताले मतपेटीकासम्म समान ढंगले सहज पहुँच र सुरक्षित वातावरणमा मतदान गर्न पाउनु उसको संवैधानिक अधिकार रहेको बताएको छ।
एमाले आजका दिनसम्म निर्वाचनको विश्वासिलो वातावरण बनिनसकेको बताए। ‘आजका दिनसम्म सरकारले भरपर्दो र विश्वासिलो वातावरण बनाउन सकिरहेको छैन र त्यतातर्फ गम्भीर बनेको पाइएको छैन।’ उसले भनेको छ, ‘देशका विभिन्न जेल तथा सुधार–गृहबाट भागेका कैदीबन्दीहरू अझै फरार छन्। हातहतियार र गोलीगठ्ठा बाहिरै छन्। राजधानीमै संगठित लुटपाट र चोरीका घटनाहरूमा वृद्धि भइरहेको छ भने बाराको परवानीपुरमा घरभित्रै पसेर आक्रमण गरी हत्या गरेका घटनाले शान्ति सुरक्षाप्रति गम्भीर प्रश्न उठाएको छ।’ एमालेले निर्भिकतापूर्वक मतदानको वातावरण बनाउनु अनिवार्य सर्त भएको बताएको छ।
१ सय ६३ मा उम्मेदवारी
एमाले आगामी निर्वाचनमा प्रत्यक्षतर्फ १ सय ६३ निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ। १६५ क्षेत्रमध्ये एक क्षेत्रमा तालमेल गरेको छ भने एक क्षेत्रको मनोनयन कायम गर्न पाएन। प्रेस संयोजक शाहीका अनुसार कर्णाली प्रदेशको रूकुम पश्चिममा प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार जनार्दन शर्मालाई सघाउने सहमति भएको छ भने प्राविधिक कारणले मनाङमा उम्मेदवारी कायम हुन सकेन।
उनले निर्वाचन क्षेत्रहरूमा स्थानीय वस्तुस्थितिका आधारमा विभिन्न राजनीतिक दल वा समूहसँग संवाद र सहमति भइरहेको पनि जानकारी दिए। उनले भने, ‘यो उम्मेदवारी सबै प्रकारका षड्यन्त्र, जालझेल र घेराबन्दीविरुद्धको नागरिक तथा राजनीतिक खबरदारी पनि हो। विध्वंस, आगजनी र राज्य संरचनालाई खरानी बनाउनेविरुद्ध निर्माण अर्थात् बनाउने प्रतिबद्धता पनि हो।’ एमाले अध्यक्ष रामबहादुर थापा बादलले पनि निर्वाचनमा विन विनको अवस्थामा तालमेलको सम्भावना रहेको स्पष्ट पारे।
आचारसंहिताको प्रभावकारितामा प्रश्नः निरन्तर बढ्दो उल्लंघन
राष्ट्रिय अखण्डता, सार्वभौमिकता, राष्ट्रिय एकता, शान्ति सुरक्षामा खलल पुग्ने गरी भइरहेका अवाञ्छित गतिविधि र समुदायलाई उत्तेजित बनाउने भडकाउपूर्ण व्यवहार र प्रचारप्रसारको शैलीप्रति निगरानी बढाउन र स्थापित कानुनी मापदण्डअनुसार कानुनी दायरामा ल्याउन पनि एमाले माग गरेको छ। उनले भनेको छ, ‘अन्यथा यस्ता गतिविधिबाट समाजमा बढ्न सक्ने अराजकता, हिंसा, विध्वंस र कानुन उल्लंघनका घटनाहरूप्रति सरकार र सम्बन्धित पक्षले जिम्मेवारी लिनुपर्ने भन्दै एमलोले समयमै ध्यानाकर्षण गराउन चाहन्छौं।’
वर्तमान सरकारको गतिविधि चीन विरोधी : एमाले उपाध्यक्ष थापा
एमाले उपाध्यक्ष उपाध्यक्ष रामबहादुर थापाले सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले चीन विरोधीहरूलाई संरक्षण र सम्मान गरिरहेको आरोप लगाएका छन्। पत्रकारसम्मेलनमा उपाध्यक्ष थापाले दलाई लामाका प्रतिनिधि नेपाल आउँदा विमानस्थलदेखि नै राजकीय सम्मानसहित स्वागत गरेको आरोप लगाए। उनले वर्तमान सरकारले चीनविरोधी गतिविधिलाई संरक्षण गरिरहेको आरोप पनि लगाए।
‘दलाई लामाको प्रतिनिधि नेपाल आएका थिए। उनलाई विमानस्थलदेखि नै राजकीय सम्मानसहित नेपाल ल्याइएको थियो। यो सरकारले चीन विरोधीहरूलाई संरक्षण दिइरहेको छ,’ उनले भने, ‘यसले गर्दा चीनले सरकारलाई दुईवटा विकल्प दिएको छ। या त चीनको विरोधीलाई नेपालबाट निकाला गर्नुप¥यो नभए यसबाट उत्पन्न हुने परिणाम भोग्नका लागि तयार हुनुप¥यो भनेको छ।’ २३ र २४ भदौमा भएको ‘जेन–जी विद्रोह’ कुनै क्रान्ति नभई प्रायोजित प्रतिगमन र प्रतिक्रान्ति भएको पनि बताए।
प्रतिक्रिया दिनुहोस !