अमेरिका–रूस आणविक सम्झौता समाप्त हुँदै
वासिङटन (एजेन्सी) : अमेरिका र रूसबीचको अन्तिम बाँकी न्यु स्टार्ट आणविक हतियार नियन्त्रण सम्झौता बिहीबार समाप्त हुँदैछ। यसले आधा शताब्दीपछि पहिलोपटक दुई ठूला आणविक शक्तिमा कुनै सीमा नराख्ने अवस्था सिर्जना गरेको छ। सम्झौताको समाप्तिले नयाँ आणविक दौडको जोखिम बढाउन सक्ने विशेषज्ञहरूले चेतावनी दिएका छन्।
रूसका राष्ट्रपति भ्लादिमिर पुटिनले सम्झौता एक वर्षका लागि विस्तार गर्न तयार रहेको जनाए। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विस्तारमा प्रतिबद्धता देखाएका छैनन्। ट्रम्पले आणविक हतियारमा सीमा राख्ने र चीनलाई वार्तामा समावेश गर्ने योजना बनाउन चाहेको बारम्बार संकेत गरेका छन्। बेइजिङले आफ्नो बढ्दो आणविक शस्त्रागारमा कुनै प्रतिबन्ध स्वीकार नगर्ने स्पष्ट पारेको छ।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले सम्झौताको समाप्तिले विश्वलाई अझ ‘खतरनाक’ बनाउने चेतावनी दिएको छ। यसले रूस–अमेरिका नयाँ हतियार दौड, विश्वव्यापी अस्थिरता र आणविक द्वन्द्वको जोखिम बढाउने हतियार नियन्त्रण अधिवक्ताहरूले चेतावनी दिएका छन्।
प्रतिक्रिया दिनुहोस !