एकै सन्देशको निरन्तर पुनरावृत्ति
दुबई : डिजिटल युगले लोकतन्त्रको आधारलाई नै नयाँ किसिमले चुनौती दिएको छ। लोकतन्त्र नागरिकको स्वतन्त्र र सचेत छनोटमा टेकेर उभिएको व्यवस्था हो— सूचना बुझ्ने, तुलना गर्ने, बहस गर्ने र नतिजासम्म पुग्ने प्रक्रियामा। तर, अहिले निर्णयहरू प्रायः प्रत्यक्ष आदेश वा घोषित नीतिबाट होइन, अवचेतनमा रोपिएका सूक्ष्म संकेत—रंग, शब्द, शीर्षक, ध्वनि, दृश्य संरचना र पुनरावृत्ति कथाबाट निर्देशित हुन थालेका छन्। यसलाई नै ‘सब्लिमिनल मेसेजिङ’ भनिन्छ।
यो कुनै षड्यन्त्रको कथाभन्दा बढी, आधुनिक सत्ता–अभ्यासको परिष्कृत रूप हो। आज सत्ता बन्दुक र कानुनद्वारा मात्र सञ्चालन हुँदैन; भाषा, दृश्य, प्रस्तुति र अल्गोरिदमद्वारा पनि चल्छ। आदेश दिइँदैन— धारणा मोडिन्छ।
डरको उद्योग : राजनीतिक सन्देशहरूमा सब्लिमिनल प्रभाव सबैभन्दा तीव्र देखिन्छ। देश संकटमा छ, अब बलियो नेतृत्व चाहिन्छ, अब बर्बाद हुने भो, खत्तम भो, यी आए भने राष्ट्र अस्थिर हुन्छ— यस्ता वाक्यहरू नीतिगत प्रतिबद्धताभन्दा बढी भावनात्मक उद्दीपन हुन्। उद्देश्य समाधान होइन, डर जगाउनु हो। डरले आलोचनात्मक सोच कमजोर पार्छ, डराएको नागरिक कार्यक्रमभन्दा अनुहार, वैकल्पिक उपायभन्दा शक्ति रोज्छ।
त्यसैले चुनाव नजिकिँदै जाँदा अपराध, सीमा, आप्रवासन, राष्ट्रघात, धर्मजस्ता विषय हठात् बहसको केन्द्रमा आइपुग्छन्। तथ्यहरू पहिले पनि थिए, तर अहिले फ्रेमिङ–शब्द चयन, शीर्षकको गति, ग्राफिकको रंग, ओभरले, संगीत र क्लिपको कटमार्फत त्यही तथ्यलाई भयको कथामा रूपान्तरण गरिन्छ। एकै सन्देशको निरन्तर पुनरावृत्तिले अवचेतनमा ‘सत्यको अनुभूति’ पैदा गर्छ। न त नयाँ तथ्य थपिन्छ, न त पुरानो तथ्य हट्छ, तर अर्थको दिशानिर्देशन बदलिन्छ।
समाचार– सूचनामात्र होइन, धारणा निर्माण : हामीमध्ये धेरैले समाचारलाई निष्पक्ष ‘तथ्य’ मान्ने बानी बनाएका छौं। तर, आधुनिक मिडियामा समाचार केवल सूचना होइन, धारणा–निर्माणको माध्यम पनि बनिरहेको छ। एउटै घटनालाई ‘प्रहरीद्वारा गोली प्रहार’ र ‘स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा गोली चलाइयो’ भनेर प्रस्तुत गर्दा अर्थको राजनीतिकता परिवर्तन हुन्छ।
दोस्रो वाक्यले हिंसालाई ‘अपरिहार्य’ र ‘व्यावसायिक’ बनाउँछ। यही हो फ्रेमिङ प्रभाव– के लेखियोभन्दा पनि कसरी लेखियो भन्ने निर्णायक बन्नु। शीर्षक–आधारित उपभोग, छोटो भिडियो र ‘हुक’को आक्रामक प्रयोगले सन्दर्भ काट्छ– सन्दर्भविहीन सत्य झन् खतरनाक बन्छ। पत्रकारिता अञ्जानमै, कहिलेकाहीँ जानाजान– सत्ता अभिव्यक्तिको औजारमा बदलिन सक्छ। सम्पादकीय विवेकभन्दा ट्रेन्ड–ग्राफ र एन्गेज्मेन्ट–कर्वले निर्णय गर्ने बित्तिकै समाचार ‘सेवा’भन्दा ‘उत्पादन’मा झर्छ।
प्रतिक्रिया दिनुहोस !