election background

प्रतिनिधि सभा निर्वाचन २०८२

राजनीतिमा डिजिटल युग,  निर्वाचनमा नयाँ खतरा

राजनीतिमा डिजिटल युग,  निर्वाचनमा नयाँ खतरा

अमेरिका : राजनीति पहिले भूगोलमा आधारित थियो । ठाउँ–ठाउँमा पुग्ने, मानिसहरू भेला गर्ने, घरदैलो गर्ने चलन थियो । अझ पुरानो जमानामा त सूचना प्रसारण गर्न कटुवाल घोकाउनेसमेत गरिन्थ्यो । पछिल्ला वर्षहरूमा रेडियो, टेलिफोनको प्रयोग हुन थाल्यो । तर, पछिल्लो एक दशकमा भने सञ्चार प्रविधिमा विश्वव्यापी क्रान्ति नै आएको छ । अबका दिनमा निर्वाचनका लागि प्रत्यक्ष भेटघाटका अतिरिक्त फेसबुक, भाइबर, युट्युब, टिकटक, ह्वाट्सएपको प्रयोगले राजनीतिक परिदृश्य विस्तारै भूगोलबाट भर्चुयलतिर मोडिन थालेको छ ।

यो परिवर्तनले अवसर ल्याएको छ, तर साथै नयाँ चुनौती पनि थपेको छ । आगामी निर्वाचनको सन्दर्भमा यी चुनौतीहरूलाई बुझ्न र सामना गर्न तत्काल सचेतना र नियमन आवश्यक छ । अल्गोरिदमले पार्ने चुनौती झन् खतरा छ । कुनै एक व्यक्ति वा समुदायको स्वार्थमा तयार पारिने सामग्रीले अल्गोरिदमका कारण सबैतिर छरपष्ट हुने र सबैलाई हो कि जस्तो पार्ने गरी अन्योल सिर्जना गर्न सक्छ । गरिरहेको छ ।

डिपफेकको आतंक

सन् २०२४ मा अमेरिकाको न्यू ह्याम्पसायरमा राष्ट्रपति बाइडनको आवाज सुनियो, डेमोक्र्याटहरू, कृपया प्राथमिक निर्वाचनमा मतदान नगर्नुहोला । तर, यो बाइडनको आवाज थिएन, एआईले बनाएको नक्कली आवाज थियो । भारतमा २०१८ मा निधन भइसकेका नेता करुणानिधि २०२४ को सम्मेलनमा ‘देखिए’ । अर्जेन्टिनामा राष्ट्रपति उम्मेदवारहरूले मतदान सुरु हुनुभन्दा केही घण्टाअघि चुनावबाट नाम फिर्ता लिएको भन्दै भिडियो भाइरल भयो । तर, यी सबै झुट थिए ।null

यी कुनै काल्पनिक कथा होइनन् । विश्वभरका निर्वाचनमा भइरहेका वास्तविक घटनाहरू हुन् । सर्फशार्कको अनुसन्धानअनुसार २०२१ देखि २०२५ सम्म ३८ देशहरूले डिपफेक घटनाको सामना गरेका छन् जसले ३.८ अर्ब मानिसलाई प्रभावित पारेको छ । २०२३ पछि निर्वाचन भएका ८७ देशमध्ये ३३ देशमा डिपफेक समस्या देखियो । विश्वका १० सबैभन्दा धेरै जनसंख्या भएका देशहरू सबैले यो समस्या अनुभव गरिसकेका छन् । सामाजिक सञ्जालमा अध्ययन गरिएका निर्वाचनसम्बन्धी सामग्रीमध्ये अधिक डिपफेक सामग्री सामाजिक सञ्जालमार्फत 
फैलिएको पाइयो ।

भारतको २०२४ को आम निर्वाचनमा राजनीतिक दलहरूले एआई–निर्मित सामग्रीमा अनुमानित ५ करोड अमेरिकी डलर खर्च गरे । लाखौं मतदाता एआई– निर्मित डिपफेकहरूको सम्पर्कमा आए । ती सामग्रीहरूमा राजनीतिज्ञ, सेलिब्रेटी र मृतक नेताहरूको पनि नक्कल गरी भ्रम फैलाइएका थिए । इन्डोनेसियाको २०२४ को राष्ट्रपति निर्वाचनमा झुट्टा भिडियोले प्रबोवो सुबियान्तोलाई मुस्लिम मतदाताहरूमाझ अपिल बढाउन अरबी बोलेको देखायो । 

टर्कीको २०२३ को कडा प्रतिस्पर्धात्मक निर्वाचनमा राष्ट्रपति एर्दोगानको अभियानले प्रतिद्वन्द्वी केमाल किलिचदारोग्लुलाई पिकेके लडाकुहरूसँग भेटेको झुट्टा भिडियो फैलायो । यी उदाहरणहरूले डिपफेकहरूले कडा प्रतिस्पर्धाका चुनावहरूमा कसरी मतदाताहरूको विचार प्रभावित गर्न सक्छन् भन्ने स्पष्ट पार्छन् । नेपालको आगामी निर्वाचन नजिकिँदै गर्दा यस्ता घटनाहरू हाम्रो लागि चेतावनी र गम्भीर संकेतसमेत हुन् ।

नेपालको गम्भीर वास्तविकता
नेपालमा करिब १.६६ करोड फेसबुक प्रयोगकर्ता छन् जुन देशको जम्मा जनसंख्याको ५१.८ प्रतिशत हो । इन्स्टाग्राममा ४२.५ लाख र लिंकडइनमा १९ लाख प्रयोगकर्ता छन् । विश्व बैंकको तथ्यांकअनुसार नेपालको जनसंख्याको ५६ प्रतिशत मानिस इन्टरनेट प्रयोगकर्ता छन् । तर, सामाजिक सञ्जाल प्रयोग गर्ने यी मानिसहरूमध्ये अधिकांशले प्राप्त जानकारीको सत्यता जाँच गर्ने क्षमता राख्दैनन् ।

सेन्टर फर मिडिया रिसर्च–नेपालको २०२१ को सर्वेक्षणले नेपालका अधिकांश इन्टरनेट प्रयोगकर्ताहरूले मिथ्या सूचना प्राप्त गर्ने गरेको देखाएको छ । सर्वेक्षणमा सहभागीमध्ये ९२ प्रतिशत इन्टरनेट प्रयोगकर्ताहरूले विशेषगरी युट्युब, फेसबुक र टिटरमा मिथ्या सूचना हुने बताएका छन् । 

यो तथ्यांकले हाम्रो वर्तमान चुनौती स्पष्ट पार्छ । जब १० मध्ये ९ जनाले गलत सूचना देख्छन्, तर तीमध्ये कति जनाले त्यसलाई पहिचान गर्न सक्छन् ? यही सर्वेक्षणअनुसार दुईतिहाइभन्दा बढी सामाजिक सञ्जाल प्रयोगकर्ताले सामाजिक सञ्जालमा गलत सूचना हावी हुँदा हाम्रो समाज र राजनीतिमा समस्या भइसकेको जनाएका छन् ।

२०२२ को संघीय र प्रादेशिक निर्वाचनको अनुभव

२०२२ को निर्वाचनका क्रममा नेपालमा डिपफेकभन्दा स्यालोफेक (सन्दर्भबाट काटेर भ्रम फैलाउन बनाएको छिटो र सस्तो नक्कली भिडियो) बढी देखियो जहाँ भिडियोहरू सन्दर्भ हटाएर सम्पादन गरिएको थियो । अझ खतरनाक प्रवृत्ति यस्तो पनि थियो कि अनलाइन मिडियाको नाम प्रयोग गरेर नक्कली समाचार फैलाउनु । नेपाल कांग्रेसले माओवादी केन्द्रका उम्मेदवारहरूलाई मत नहाल्न परिपत्र जारी गरेको भन्ने स्क्रिनसट सामाजिक सञ्जालमा भाइरल भयो । नेपालचेकले अनुसन्धान गर्दा यो पूर्णतया नक्कली भेटेको थियो ।

२०२६ को निर्वाचनका सन्दर्भमा सामाजिक सञ्जालहरूमा विभिन्न पक्षबाट अनेक थरी भ्रामक पोस्ट र प्रचारहरू देखिन थालेका छन् । जति निर्वाचन नजिकिँदै जान्छ, उति नै यस्ता सामग्रीहरू बाक्लो रूपमा देखिन थाल्ने सम्भावना बढी हुन्छ ।

हाम्रा विशिष्ट चुनौतीहरू
नेपालको अवस्था विशिष्ट छ । डिजिटल साक्षरताको अभाव हाम्रो सबैभन्दा ठूलो समस्या हो । हाम्रा बुवाआमा, हजुरबुवाआमा र गाउँका मानिसहरू फेसबुक चलाउन सक्छन्, युट्युब र टिकटक हेर्छन्, तर त्यसमा के सत्य हो, के झुट हो भन्ने छुट्ट्याउन सक्दैनन् । युवाहरू पनि भाइरल भएको सबै कुरालाई सत्य मान्ने गर्छन्, अधिकांश ।

भाषागत चुनौती पनि उत्तिकै गम्भीर छ । डिपफेक पत्ता लगाउने अधिकांश उपकरण अंग्रेजीमा छन् । नेपाली भाषामा बनेका डिपफेकहरू पहिचान गर्न झन् गाह्रो छ । तथ्य–परीक्षणको क्षेत्रमा नेपालचेक, साउथ एसिया चेक जस्ता संस्थाहरू क्रियाशील छन् र राम्रो काम गरिरहेका छन् । तर, यिनका पनि आफ्नै सीमाहरू छन् । सामाजिक सञ्जालमा फैलिने सबै गलत सूचना समयमै पहिचान र खण्डन गर्न सक्दैनन् ।

हाम्रो राजनीतिक संस्कृतिमा विरोधीलाई बदनाम गर्ने प्रवृत्ति छ । डिपफेक प्रविधिले यो प्रवृत्तिलाई अझ खतरनाक बनाएको छ । २०२२ को निर्वाचनमा नै केही राजनीतिक दलहरूले नक्कली सामाजिक सञ्जाल खाता प्रयोग गरेको पाइएको थियो । प्रविधिको विकास र बढ्दो उत्तेजक (आक्रामक सामाजिक राजनीतिक संस्कारसँगै कृत्रिम प्रविधि र सामाजिक सञ्जालको दुरुपयोगको सम्भावना यस पटकको निर्वाचनमा झन् बढी देखिन्छ ।

कानुनी र संस्थागत कमजोरी
नेपालको विद्युतीय कारोबार ऐन, २०६३ ले अवैध सामग्री प्रकाशन गर्न निषेध गरेको छ तर गलत सूचना र डिपफेकका बारेमा विस्तृत व्यवस्था छैन । निर्वाचन आयोगले विसं २०७७ मा सामाजिक सञ्जाल प्रयोग नीति जारी गरेको छ तर यसको प्रभावकारी कार्यान्वयन भएको छैन ।

सन् २०२२ को निर्वाचनमा निर्वाचन आयोगले मेटा, टिटर र टिकटकसँग सहकार्य गर्ने प्रयास गरेको थियो । तर, यो साझेदारी प्रभावकारी भएन । निर्वाचनका क्रममा अनलाइन प्लेटफर्ममार्फत हुने मिथ्या सूचना, घृणास्पद अभिव्यक्तिजस्ता घटना रोकथाम र न्यूनीकरणका लागि विभिन्न निकायहरू– निर्वाचन आयोग, प्रहरीको साइबर ब्युरो, सेना, गुप्तचर विभागबीच प्रभावकारी समन्वयको आवश्यकता छ । यसपटक आयोगले यसबारे केही चासो देखाई यस्ता कम्पनीहरूसँग समन्वय गर्ने तयारी गरेको समाचार आइरहेका छन् ।

समाधानका बाटाहरू
नेपालको सन्दर्भमा ३ तहबाट तत्काल काम हुनुपर्छ । पहिलो, संस्थागत तयारी अनिवार्य छ । निर्वाचन आयोगले हालै आचारसंहितामा एआई प्रयोग गरेर भ्रामक सामग्री बनाउन निषेध गरेको छ तर कार्यान्वयन कमजोर छ । प्रहरीको साइबर ब्युरो, निर्वाचन आयोग र नेपाल टेलिकम प्राधिकरणबीच तत्काल समन्वय संयन्त्र बनाउनुपर्छ । मेटा, टिकटक र युट्युबसँग सिधै सम्पर्क राख्न निर्वाचन आयोगमा डिजिटल मिडिया मोनिटरिङ डेस्क खडा गर्नु जरुरी छ । 

यो कुनै नयाँ विभाग खोल्ने होइन, विद्यमान संरचनामा छ– सात जना प्राविधिक व्यक्तिको टोली बनाउने मात्र हो । भारतले यसै ग¥यो, हामी पनि गर्न सक्छौं । दोस्रो, राजनीतिक दल र सञ्चारमाध्यमको आत्मनियमन आवश्यक छ । २०२२ मा ७ अनलाइन पोर्टल आचारसंहिता उल्लंघनमा निलम्बित भए । यसपालि यस्तो नहोस् भनेर सञ्चारमाध्यमले सामाजिक सञ्जालबाट लिइएको कुनै पनि भिडियो वा तस्बिर प्रकाशनअघि स्रोत प्रमाणीकरण गर्ने नियम आफैंले बनाउनुपर्छ । राजनीतिक दलहरूले पनि आफ्ना कार्यकर्ताहरूलाई नक्कली सामग्री नबनाउन र नफैलाउन स्पष्ट निर्देशन दिनुपर्छ । यो नैतिकताको मात्र होइन, दलको विश्वसनीयताको प्रश्न हो ।

तेस्रो र सबैभन्दा महत्वपूर्ण, नागरिक स्तरमा डिजिटल साक्षरता अभियान चाहिन्छ । नेपालचेक र साउथ एसिया चेक जस्ता तथ्य–परीक्षण संस्थाले निर्वाचन अवधिभर दैनिक अपडेट दिने व्यवस्था गर्नुपर्छ । स्थानीय तहमा रेडियो र सामुदायिक च्यानलमार्फत ‘यसो नगरौं, यसो गरौं’ जस्ता छोटो जनचेतनामूलक कार्यक्रम प्रसारण गर्नुपर्छ । विशेषगरी वृद्धवृद्धा र कम शिक्षित मतदाताहरूलाई लक्षित गरी सरल भाषामा जानकारी दिनुपर्छ । तर, सबैभन्दा बलियो हतियार हामी आफैंमा छ । कुनै पनि सूचना फर्वार्ड गर्नुअघि एक पल रोकौं र सोचौं– यो सत्य हो ? स्रोत के हो ? अलि अतिरञ्जित त छैन ? यो साधारण सावधानीले नै निर्वाचनलाई बचाउन सक्छ ।

लोकतन्त्रको रक्षा, साझा जिम्मेवारी

विगतका राजनीतिक आन्दोलनहरूले नेपालमा राजतन्त्रको अन्त्य र गणतन्त्रको स्थापना ग¥यो । हाम्रा पुर्खाहरूले रगत बगाएर ल्याएको यो लोकतन्त्र अहिले नयाँ खतराको सामना गरिरहेको छ, प्रविधिको दुरुपयोगबाट सिर्जित खतरा । विश्वभरका अनुभवले देखाएको छ कि डिपफेक र सामाजिक सञ्जालको दुरुपयोगले लोकतन्त्रलाई कमजोर बनाउन सक्छ । भारत, पाकिस्तान, बंगलादेशले यो समस्या भोगे । तिनीबाट नेपालले पनि सिक्नुपर्छ ।

सचेत नागरिकहरू नै लोकतन्त्रको सबल आधार हुन् । तपाईंले पाएको हरेक सूचना विश्वास गर्नुअघि सोध्नुहोस्– यो सत्य हो कि होइन ? स्रोत के हो ? प्रमाणित छ कि छैन ? यी साधारण प्रश्नहरूले निर्वाचनलाई विश्वसनीय बनाउन सक्छन् । जेन–जी आन्दोलनपछि देश चुनावमा छ । यसपालि मतदान मात्र नभई मतदाता शिक्षा पनि विशिष्ट खालकै चाहिन्छ । हाम्रो साझा कर्तव्य हो, सबै मिलेर नेपालको लोकतन्त्रलाई डिजिटल युगको नयाँ चुनौतीबाट बचाऔं ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.